गुप्तचरको भर, गुप्तचरको डर
नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह विजय प्राप्त गर्न र विजयलाई कायम राखिरहन गुप्तचर माथि साह्रै भर पर्दथे। त्यसैले उनले गुप्तचरलाई राज्ययन्त्रको अति महत्वपूर्ण अंग बनाएर परिचालन गरेका थिए र सकारात्मक परिणाम हात पारेका थिए।
उनी आफ्ना गुप्तचरमाथि भर पर्दा पर्दै पनि विदेशी गुप्तचर माथि भने त्यतिकै सतर्क पनि थिए। उनलाई आफ्ना गुप्तचर माथि भर भए जस्तै विदेशी गुप्तचर माथि भने त्यतिकै डर पनि लिएका हुन्थे।
आफ्ना गुप्तचरलाई गुप्त राख्दै परहरुका गुप्तचर, गुप्त योजना गुप्त किसिमले पत्ता लगाउने र गुप्तकिसिमले भताभुंग बनाइहाल्न खप्पिस थिए पृथ्वीनारायण शाह। गुप्तचर परिचालन र गुप्तकिसिमले षडयन्त्र माथि ऐनमौकामा प्रहारमा माहिर थिए पृथ्वीनारायण शाह। उनका गुप्तचर,गुप्तचरको परिचालन र परिणाम बारे केहि दृष्टान्त सहित छलफल चलाऔं।
पृथ्वीनारायण शाह गुप्तकाम गर्न गुप्त भेषमा जान्थे। कतिपय मामिला र स्थानमा कतिपय उद्देश्यमा पृथ्वीनारायण शाह स्वयं पनि गुप्त भेषमा हिँडेका उदाहरण पाइन्छन्। उनी मकवानपुर ससुरालीमा डोला लिन गएको बेला जेठान दिक्बन्धनसेनसँग मतभेद भएको थियो। उनले डोला लिएर फर्कन पाएनन्। त्यो मौकामा राजनीति तथा भौगोलिक जानकारीको लाभ लिने विचार आयो पृथ्वीनारायण शाहमा।
त्यसैले उनी मकवानपुरको खोलाको तिरबाट उपत्यका हेर्न भनेर चन्द्रगिरी तिर लागे। चन्द्रगिरितिर लाग्दा बाटामा गोरखाका राजाको परिचय लुकाउन उनी स्वयँले आफूलाई गुप्त भेषमा बदलेको बताएका छन्। चन्द्रगिरि आउँदा नेपाले राजाले चिन्लान् र पक्रलानन् भन्ने डरले उनी गुप्त भेषमा हिँडेका थिए।
उनले आफूलाई स्याषुले छोपेका थिए। अर्थात् स्याषु ओढेर हिडेका थिए। स्याषु भनेको घुम वा घुम जस्तो ओढानेलाई भन्दारहेछन् त्यसबेला। “नेपाले. राजाले चिन्नन् र पक्रनन्.भनी स्याषु वडी रापतिका तिरैतिर भानु जैसी कुलानन्द जैसी अरु थरघर पनि साथैमा थिया।” यसरी पृथ्वीनारायण शाहले आफ्नो राजनीति उद्देश्यको लागि आफूलाई गुप्त भेषमा ढालेको यो पहिलो उदाहरण हो।
नुवाकोटबाट नेपाल एकीकरण अभियानको सुरुवात गर्दा पनि पृथ्वीनारायण शाहको गुप्त योजना प्रभावकारी र सफल किसिमले अघि बढाएका थिए। उनले नुवाकोट विजय गर्नको लागि पहिलेका असफलतालाई सफलतामा परिणत गर्नु थियो।
त्यसैले उनले नुवाकोट विजयको योजना गुप्त किसिमले बनाएका थिए। उनले जतिसक्दो धेरै गोरखाली सेनालाई नुवाकोट भित्र छिराउनु थियो। त्यो गुप्त भेषमा मात्रै संभव थियो। लडाकु सेनाको आवरणमा यो संभव थिएन।
त्यसैले गोरखाली सेनालाई कुलो खन्ने खेताला, ज्यामीको रुपमा नुवाकोट छिराएका थिए पृथ्वीनारयण शाहले। अर्थात् कुलो खन्ने ज्यामीको आवरणमा धेरै गोरखाली लडाकाहरु नुवाकोट छिरिसकेका थिए। उनीहरु दिनभर कुलो खन्थे। अनेक खाद्य पदार्थ किन्ने बहानामा फेरि सुचना पनि लिइरहेका हुन्थे।
आक्रमण गर्न स्थानको बाटोको किल्लाको चौकीको अध्यायन पनि गरिरहेका हुन्थे। एकैपल्ट सैनिक आक्रमणको भौतिक तयारी, गुप्तचरको गुप्त किसिमले सूचनाको तयारी कुलोखन्ने खेतालाको आवरणमा पूरा गरे पृथ्वीनारायणले। यसको सुँइको पनि पाएनन् जयप्रकाश मल्ल वा उनका सेनाले।
“उसै घरी को सायत गरि रात दिन गरि सरासरी आया र सिमलचौर चौतारामा थर्पु हाली बस्या को थीञा दावा भन्या नुहाकोट्को बहना भन्या षिच्यात्को कुलाकाटी षेत विराउनको गरी राष्याथ्या”।
यसरी गुप्त योजनाको सफल कार्यन्वयन, गुप्तचरको गुप्त परिचालन र गुप्त किसिमले रातको समयमा आक्रमणले नेपाल एकीकरणको पहिलो पाइलो सफलताको साथ अघि बढेको थियो पृथ्वीनारायण शाहको।
प्रसुराम थापा प्रकरणमा पनि पृथ्वीनारयण शाहले गुप्तचरबाट भरपर्दो सूचना प्राप्त गर्न सकेको छन् र त्यही सूचनाको आधारमा आफ्नो गुप्त योजना सफलताको साथ कार्यन्वयन गरेका छन्। यसले पनि जाहेर गर्दछ कि पृथ्वीनारायण शाहका गुप्तचर र गुप्तचरका सूचनाहरु भरपर्दा हुदा रहेछन्।
प्रसुराम थापाले पृथ्वीनारायण शाहलाई एकतिर नेपाल हान्न आउ भनेर निम्तो गरो भने अर्कोतिर आवश्यक पैसा दिएर वाइसी चौविसी राज्यहरुलाई गोरखामाथि आक्रमण गर्न भनेर उक्साउन आफ्नो भाइलाई तेता पठाएको रहेछ।
पृथ्वीनारायण शाहलाई गुप्तचरले बेलैमा सही सूचना दिन सकेकोले पृथ्वीनारायण शाहले षडयन्त्रलाई ध्वस्त पार्न बेलैमा सफल भएका थिए। उनको निम्न भनाइले यो कुरालाई पुष्टि गर्दछ।
“ककनी शिवपुरीमा ठानाहाली मुर्चा लाई राषथ्यउ मलाई प्रसुराम थापाले नेपाल हान्न आउ भनि हात दिई राष्याथ्यो आफ्ना भाइलाई लाख विषि पुर्याउनु वाइसी-चौविसी उठाई पछाडि हान्नु भनि पठाया छ र मैले थाहा पाञा र कहाँ प्रक्याको छ भनि सुध्याञा र पोषराको हटिया मा डेरा गरिवस्याको छ भनि सुन्या र त्यसलाई बैठाई आउनको सकौला भनि सल्लाहा गर्दा कसैले पनि ठहराउन सकेन र मैले भन्या झागल गरुं भनि डाकी अह्राई मेरा कम्मरको कोता षान् दिया र गयो र पुगि गाइनेको भेष गरी हातमा बल्छी को टाँगो काषिमा सारङ्गी च्यापी २-४ धार्नीको सहर लैगी अरु उसका लस्करहरु भात षान्या वषत्मा अवसर हेरि बैठाई आयो”।
विपक्षीका सूचना र षडयन्त्र ऐन मौकामा प्राप्त गर्न र तिनलाई गुप्त र छापामार किसिमले ध्वस्त पारिहाल्न पृथ्वीनारायण शाहको गुप्तचर सनयन्त्र कति छरितो र भरपर्दो रहेछ भन्ने यसले प्रमाणित गर्दछ।
भरपर्दो सूचना बेलैमा प्राप्त गर्न सक्ने छरितो र विश्वासिलो सनयन्त्र पृथ्वीनारायण शाहसँग भएको र विलम्व नगरी त्यो षड्यन्त्र माथि जाइलाग्ने निर्णय क्षमता समेत उनमा भएकोले उनका सबै कामहरु योजना मुताविक सफलताको सिढी चढ्न या अघि बढ्न सकेका हुन्।
जयप्रकाश मल्लले झिकाएका अंग्रेज पल्टनको आगमनको सूचना पृथ्वीनारायण शाहलाई उनका गुप्तचर संयन्त्रले बेलैमा दिन सकेको कारणले नै उनले अंग्रेज माथि छापामार आक्रमणको योजना बेलैमा बनाउन सकेको कारण नै हो अंग्रेज शक्ति माथिको गोरखाली सेनाको विजयको प्रमुख आधार।
त्यस्तै जयप्रकाश मल्लले बोलाएको नागा वैरागीहरु माथिको गोरखाली आक्रमण र विजयको आधार पनि त्यही नै हो। त्यस्तै मिरकासिम माथि पनि समयमा सूचना पाउन सकेको कारण नै विजयको आधार हो भनेर भन्न सकिन्छ। नत्र समयमा नै सबै सही सूचना पृथ्वीनारायण शाहले पाउन सकेका थिएनन् भने सबै परिणाम पृथ्वीनारायणको विपक्षमा जानसक्ने प्रवल संभावना थिए।
गुप्तचरको शक्ति बुझेका पृथ्वीनारायण शाह शत्रुपक्षको गुप्तचरले दिनसक्ने क्षतिप्रति पनि त्यतिकै सचेत देखिन्छन्। अनेक भेष र आवरणका गुप्तचरहरुको घुषपैठ प्रति पनि उनी सचेत गराउँदछन्।
अनेक आवरणमा छिरेर देशको भेद खोल्न सक्ने विदेशी वा शत्रुपक्षका गुप्तचरहरुबाट सतर्क हुन सबैलाई होशियार हुन भन्छन् पृथ्वीनारायण शाह। पृथ्वीनारायण शाहले कलाकारको भेषमा बढी आफ्ना गुप्तचरहरु परिचालन गरेको हुनाले विदेशी वा शत्रुपक्षका गुप्तचरहरु पनि सोही भेषमा आउन सक्ने खतरा प्रति उनी सचेत देखिन्छन् र सबैलाई यो मामिलामा सतर्क रहन भन्छन्।
पृथ्वीनारायण शाहले आफ्ना गुप्तचरहरुलाई अनेक भेष पेशा र आवरणमा परिचालित गरेका थिए र पर्याप्त सही सूचनाहरु संकलन गरेका थिए। तिनै सूचना माथि उभिएर आफ्ना रणनीति बनाएका थिए।
उनले कतै गाइनेहरुलाई परिचालित गरेका थिए भने कतै फेरी लगाउने जोगीहरुलाई। कतै उपचार गर्ने धामी,झाँक्री वैद्य हरुलाई भनै कतै अनेक चिजविजका खरिद बिक्री गर्ने व्यापारीहरुलाई।
उनका गुप्तचरहरु उनी र राज्यप्रति इमानदार र बफदार थिए। अहिलेका विदेशीको पैसामा विक्ने जस्ता वेइमान गुप्तचर उनका थिएनन्। पृथ्वीनारायण शाहलाई तेसैबेला नै सूचनाको शक्ति थाहा थियो। तेसैले उनले विपक्षीका सवल पक्ष र दूर्वल पक्ष के के छन् कति पानी माथि उभिएका छन् भनेर सकेसम्म सबै सूचना लिएका हुन्थे उनी आफ्ना भरपर्दा गुप्तचरहरु मार्फत।
राज्यको अभिन्नि अंग गुप्तचरलाई राज्यको पक्षमा कसरी प्रभावकारी बनाएर राज्यले चाहेको सूचना प्राप्त गर्ने र सूचनाबाट लाभ लिने विषयमा पृथ्वीनारायण शाहबाट सिक्नु पर्दछ।
राज्यका गुप्तचरहरु विदेशीका गुप्तचर बनेर वा गुप्त सूचना बेचेर राज्य उपर बेइमान र घात गरिरहेका हुनसक्छन् भनेर राज्य सचेत भएन भने राज्य क्रमश खोक्रो भएर समाप्तिको दिशामा जानसक्छ।
गुप्तचर सेवा पनि राज्यको बलियो शक्ति हो। राज्यको गुप्तचर शक्ति सँग व्यवसायिक शक्ति संगसंगै देशभक्ति पनि अनिवार्य चाहिन्छ। देशभक्ति नभएको जतिसुकै व्यवसायिक दक्षता भएपनि त्यस्तो गुप्तचरशक्ति कहिल्यै राज्यको शक्ति मानिने छैन। सबैलाई चेतना भया।
Facebook Comment