सिंहदरबारको शिरमा तरबार
गोकर्णेश्वर नगरपालिका-१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा धाप बाँध (ड्याम्) निर्माणको काम सम्पन्न हुनासाथ त्यही निकुञ्जभित्र उही जलाशयको नजिकै अर्को बिशाल ठूलो बाँध बाँधेर दोश्रो जलाशय बनाउने प्रश्ताव अन्तिम चरणमा पुगेको छ।
निड् टू नो आधारमा गोपनीयता कायम राखेर अगाडि बढाइएको यो महत्वकांक्षी आयोजना सेटिङमा तयार पारिएको उँटजस्तो अण्टाटण्टा वाताबरण प्रभाव मूल्याकंन (ईआईए) प्रतिबेदन कुरेर बसेको छ। जुन छिट्टै आउने प्रस्तावकको अपेक्षा छ।
राजधानीको शिरमा तरबार भनेर वातावरणविद् र संरक्षणविद्हरुले भद्र र घोर बिरोध गर्दागर्दै बनेको पहिलो धाप बाँधले बागमतीलाई सफा, सुन्दर, स्वच्छ र पवित्र बनाएको तर्क अघि सारिएको छ।
९ वटा चाडपर्वमा जम्मा १४ दिन त्यो बाँधको पानीले बागमती सफा गर्ने गरेको गौरव ब्याख्या गरिएको छ। पर्यटक बढेको, वन्यजन्तु र जैविक विविधता तथा पर्यावरण सौन्दर्यता र संरक्षणमा टेवा पुगेको दाबी पनि गरिएको छ।
कमिसनखोर भ्रष्ट सरकारको भ्रष्ट बिचौलिया, दलाल र ठेकेदारले निर्माण गर्ने गुणस्तरहीन यो बिशाल बाँध फुटेमा तल्लो नदी तटीय क्षेत्रमा आउने अकल्पनीय बिपद् र क्षतिको जिम्मा कसले लिने? १५ देखि ३० मिनेट भित्र काठमाडौं, ललितपुर, कीर्तिपुरमा ४० फिट अग्लो फ्ल्यास फ्लड् आएर ५० लाखको जीवनलिला समाप्त भएमा जिम्मेवार को हुने?
७ वर्ष लगाएर बाँध निर्माण हुनासाथ तुरुन्त फाइदै फाइदाको मिथ्या पुलिन्दा बुनेर अर्को जलाशय प्रस्ताव गर्नुलाई संरक्षणविद्हरुले बिकास होइन बिनासकाले बिपरीत बुद्धिको संज्ञा दिएका छन्।
प्रस्तावित दोश्रो बागमती बाँध आवस्यकता कि जोखिमयुक्त शिरको तरबार भन्ने बिवेचना गर्न यो आलेख पस्किएको छु। बिकास, विपद र संरक्षण सरोकारवालाहरु सबैको समयमै ध्यानाकर्षण र बिचार बिमर्श भएर मात्र यो आयोजनाले मुर्तरुप लियोस् भन्ने यो लेखको उद्देश्य हो।
बागमती बाँध आयोजनाको नाली बेली
एशियाली बिकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्ने यो बाँधको लागत २५ अर्ब ७ करोड १८ लाख २० हजार छ। पुरानो २४ मिटर अग्लो बाँधको तुलनामा यो बाँधको उचाई ९४.५ मिटर हुनेछ।
जब कि धरहराको उचाई ७२ मि. छ। बाँधको पर्खाल करिब ४० तले घर जत्रो अग्लो हुने छ। ९ अर्ब लिटर क्षमताको यो जलाशय निर्माणलाई ६५ हेक्टर (९४४.५ रोपनी) निकुञ्जको जग्गा आवस्यक पर्दछ।
ठूला रुख ७ हजार साना ८५ हजार कटान हुने भएता पनि सडक, पार्किङ, बिबिध पूर्वाधार निर्माणको लागि १ लाख बढी रुख कटान हुने बिज्ञहरुको सोझो अनुमान छ।
एक वर्षमा पूरा हुने यो बाँधलाई उही राष्ट्रिय गौरवको आयोजना भनेर बर्गीकरण र प्राथमिकीकरण गरिएको छ।
फुलबुट्टे उद्देश्यमा बागमतीमा स्वच्छ पानी प्रवाह गर्ने, मेलम्ची खानेपानी प्रशोधन केन्द्रमा पिउने पानी खसाउने, १.८६ मेगावाटको जलबिद्युत उत्पादन गर्ने, ६ सय स्थानीयवासीहरुको रोजिरोटी चल्ने र तिनले यातायात सुविधा पाउने लगायतको ललिपप् समावेश गरिएको छ। अझ रोचक हरफ छ-“बर्षातको पानी संकलन गरेर हिउँदमा बागमतीको पानी २ फिट बढाई वातावरणीय पारिस्थितिकीय प्रणालीमा सुधार ल्याउने।”
अर्को रोचक र जग हसाउने हरफ छ- “बर्षामा बगेर निःशुल्क भारतमा खेर जाने अमूल्य पानीको रोकथाम र सदुपयोग गर्ने ।”
यो आयोजनाको औचित्य, महत्व र आवस्यकता पुष्ट्याईँ गर्ने सेटिङ बृत्तका पूर्व र बहाल कर्मचारी, वकिल, संचारकर्मीहरुको बर्णन झन् सुन्दर र चामत्कारिक छ। तुरुन्त समृद्धि आएर देश र देशवासीको कायापलट हुने मन्त्रजडित छ।
बाँध सम्बृद्धिको आधार कि शिरको तरबार
पहिलो: पिलाइट्स, मार्बल, क्वार्जाइज, निस् जातका चट्टानले बनेको शिवपुरी जलाधारको भिरालो जमिन भित्रको भौगोलिक पदार्थ काँचको सिसा जस्तो कमजोर छ। संभावित भिर पहिरोलाई त्यहाँको हरियो वन जंगलले मात्र समातेको र अडाएको हो।
जंगल फाँडेर भिमकाय मेसिनहरुले सडक र पूर्वाधारलाई कमजोर जमिन उथलपुथल पार्ने बित्तिकै पानीको श्रोत सुक्ने र भिर पहिरोको संभावना ह्वात्तै बढ्ने छ। अत्यधिक बर्षा हुने यो निकुञ्जमा बर्षातमा पूरै पींध देखि चुट्टी सम्म लतक्कै गलेको हुन्छ।
दोश्रो: विज्ञहरुको भबिष्यवाणी छ, शिवपुरी पहाड उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्दछ। २०७२ सालको महाभूकम्पको क्षतिले त्यसलाई प्रमाणित गरिसकेको छ र त्यो महाभूकम्पबाट पूरा ग्यास र उर्जा निस्कन बाँकी नेपालको मध्य पहाडी भाग वा शिवपुरी सधैं अर्को बिनासकारी भूकम्प आउने त्रासै त्रासमा छ। ढिलो चाँडो त्यो विपद् आउने भूकम्पविद्हरुको दाबी छ।
तेश्रो: माथिका दुबै शास्वत् सत्यले छर्लङ पार्दछ कि त्यती अग्लो, ठूलो, बिशाल जलाशयको वजन, चाप, दबाबलाई प्राकृतिक रुपमै भिरालो, कमजोर, भिजेको चिसो जमिनले कसरी धान्ला? भारबहन कसरी लिन सक्ला?
चौथो: कथित् मेलम्ची गौरवको आयोजनाले सुरुङका नाममा भित्रभित्र थिलथिलो पारिसकेको भुगर्भ र यो बाँध क्षेत्रको बीचमा अप्राकृतिक खैलाबैला सम्बन्ध भए के होला? बाँध चुहुने फुट्ने संभावनामा बढोत्तरी आउला।
पाँचौं: जलवायु परिवर्तनको प्रभावले मनसुनको समय र बर्षाको प्रकार तथा मात्रालाई पूरै अनिश्चित बनाएको छ। अकल्पनीय बर्षा हुँदा ढलमा परिणत बागमतीले गरेको विगतका उपद्रव सम्झे पुग्दछ। खडेरी लागे बाँध कसरी भरिएला?
अब लाटो अनुमान लगाउँ, कमिसनखोर भ्रष्ट सरकारको भ्रष्ट बिचौलिया, दलाल र ठेकेदारले निर्माण गर्ने गुणस्तरहीन यो बिशाल बाँध फुटेमा तल्लो नदी तटीय क्षेत्रमा आउने अकल्पनीय बिपद् र क्षतिको जिम्मा कसले लिने? १५ देखि ३० मिनेट भित्र काठमाडौं, ललितपुर, कीर्तिपुरमा ४० फिट अग्लो फ्ल्यास फ्लड् आएर ५० लाखको जीवनलिला समाप्त भएमा जिम्मेवार को हुने?
आफ्नै देशको सेती फ्ल्यास फ्लड, मेलम्ची फ्ल्यास फ्लड र भारतको टिष्टा नदीमा हालै आएको फ्ल्यास फ्लडबाट हामीले पाठ सिक्ने कि नसिक्ने?
टिष्टा नदी अतिक्रमित थिएन।
बागमती नदी चरम अतिक्रमण भएर कुलो र ढलमा परिणत भएको दुर्भाग्य छ। बर्षातको सामान्य पानीको बहाव बोक्न धान्न असमर्थ छ। बाँध फुटेमा बागमती किनारका ऐतिहासिक धार्मिक स्थल, सम्पदा र सभ्यता छिनभरमा ध्वस्त हुनेछन्।
एउटा कथित् राष्ट्रिय गौरवको आयोजना फुट्दा नेपाली सेनाले बनाइरहेको अर्को राष्ट्रिय गौरवको काठमाडौं-निजगढ द्रुत्तर मार्ग तहसनहस र ध्वस्त हुनेछ। अल्कपनीय बाढीले त्यो सडक काटिने, भत्किने, पुरिने र काम नलाग्ने हुनेछ।
उता, मरुभूमिमा परिणत सर्लाही र रौतहट बग्ने छन्। सदरमुकाम पुरिने छन्। त्यसपछि त्यो बाढीले भारतलाई हान्ने छ। बिषम परिस्थिति (वस्र्ट केस् सिनारियो) मा त्यो बाँधजन्य विपद्ले ल्याउने दुष्परिणाम र क्षतिको परिदृश्य यही हो।
९ वर्षे निर्माण अवधिमा रुख कटान, पहुँच सडक निर्माणका नाममा चट्टान र जमिन कटान, लाखौंलाख टनमा रड्, सिमेण्ट, कंक्रिट, रासायनिक पदार्थ ढुवानी गर्दा मानव स्वास्थ्य र संरक्षित जैविक विविधतामा पर्ने वातावरणीय प्रभाव, थुप्रिने फोहोर र प्रदुषण उडेर बगेर पुनः राजधानीमा फिर्ता आउने भारी प्रदुषण, राजधानीको फोक्सो (अक्सिजन भण्डार)को नष्ट हुँदा पर्ने नकरात्मक असरको खुद्रा बिबेचना गर्नै परेन।
प्रायोजित आयोजनाको अन्तर्यमा के छ
५२ करोड लागतको धाप बाँधले ढलमा परिणत अतिक्रमित बागमती कति पवित्र स्वच्छ सफा र सुन्दर भयो जगजाहेर छ। मेलम्ची खानेपानी आयोजनाको भूत वर्तमान र भविष्य कसलाई थाहा नहोला र?
५२ करोड लागतको धाप बाँधले भ्रष्ट पेटको जुका सलवलाएपछि तुरुन्त त्यहीँ २५ अर्ब प्लसको अर्काे मेगा आयोजना नभई नहुने कारण पनि बिबेचना गरिहरनुपर्ने आवस्यकता देख्दिन। प्रस्तावित आयोजनाले वातावरणविद् र संरक्षणविद्हरुलाई मर्माहत् त बनाएको छ नै, आम जनसमुदायलाई पनि सशंकित, स्तब्ध, त्रशित र आक्रोशित बनाउने छ।
एकै ठाउमा त्यती धेरै रुख काटेर दुइ दुईवटा जलायस किन चाहियो ? देश विकासलाई होइन सत्ता, दल र व्यक्तिगत स्वार्थसिद्धका लागि संचालित राष्ट्रिय गौरवका आयोजनाहरु एकपछि अर्को तुहिरहेको र मुलुकलाई टाट पल्टाएको नजीरका अगाडि अर्को ऋणको भारी बोक्नुपर्ने किन? जसको बार्षिक ब्याजदर दायित्व मात्र २ अर्व ५८ करोड ७ लाख १३ हजार ४७८ रुपैयाँ हुन आउँदछ।
प्रधानमन्त्री, मन्त्रीको यो मह उद्योगमा कर्मचारीतन्त्र किन मौन र मुकदर्शक छ र अझ निकुञ्जकै कार्यकारी हेड्क्वाटर निकुञ्ज बिभाग आफैं किन यो प्रकृति विरोधी, धर्ती विरोधी, संस्कृति विरोधी, मानव विरोधी, आयोजनालाई सहजिकरण र स्वीकृति दिन प्राण फ्याँकेर लागिरहेको छ?
अन्तर्यको अनैतिक दरिद्र हर्कतको क्रमशः पर्दाफास हुँदै जाने छ। संरक्षणको मूल मर्म र भावनामा यो भन्दा चोटिलो प्रहार अरु हुन सक्दैन। संरक्षण क्षेत्रको मृत्यु पत्रमा हस्ताक्षर गर्ने निकुञ्ज विभागको नेतृत्व सवैभन्दा बढी दोषी छ। अरु अनुत्तरित प्रश्नहरु हजारौं छन्। र, समयको गतिसँगै ती फलामे प्रश्नहरु तेर्सिरहने छन्।
राष्ट्रिय गौरवको आयोजनाको नाम सुन्न नचाहने जनताले दातृ निकायहरुको लोभी पापी कमिसन स्वार्थ पनि बुझिसकेका छन्। जसरी हुन्छ ऋण प्रवाह गर्ने र बिचौलिय पोस्ने। सरकार चलाउने बिचौलियाले दातृ निकायलाई पनि भ्रष्टाचारको पाठ सिकाई सकेका छन्।
यही प्रपञ्चको लागि बिचौलियाले निकुञ्ज समूहका खम्बा कर्मचारीहरुलाई निकुञ्ज बाहिर लेखेटेर बिभागमा दलालका भरिया, व्यापारिक, बिचौलियाहरुको सरुवा नियुक्तिको सेटिङ मिलाएको छ। माथि मन्त्रालय देखि विभाग हुँदै फिल्ड सम्मको सेण्डिकेट् र सेटिङ ब्यापारी तस्करहरुको मनमौजी मुताविक भएको गुनासो छ।
प्रकृति संरक्षणको लामो र बलिदानीपूर्ण इतिहासमा निकुञ्ज विभागले संरक्षणको मर्म धर्म नारा सार्वजनिक रुपमा त्यागेर प्राकृतिक श्रोतको व्यवस्थापन, उपयोग र समृद्धिको गुलियो सपना फलाक्दै ब्यापारी मन्त्री र तस्करहरुको पुच्छर र ढाल बनेको यो पहिलो कालो कलंक हो।
केही पूर्व सचिवहरु समेत बिचौलिया भएर निकुञ्ज ऐन भत्काउने, तस्कर पोस्ने कार्यबिधि बनाई दिने र आयोजनामा टांसिने अनैतिक हर्कत गर्नु पद र ओहोदाको चरम दुरुपयोग हो। प्रकृतिद्रोह हो। अक्षम्म अपराध हो।
नेपाली सेनाको ध्यानाकर्षण जरुरी
अबको बिचौलिया ब्यापार नेपाली सेनालाई दास बनाउने हो। ट्रष्टको गोकर्ण जंगल यतिको स्वामित्वमा जादा यतीले त्यहाँ तैनाथ नेपाली सेना निःशुल्क पाए जस्तै ७ वर्ष निर्माण अवधिभर धाप बाँधको ठेकेदारले निकुञ्ज सुरक्षार्थ सेनाको ३ अर्व २८ करोड मूल्य बराबरको सानदार सुरक्षा पायो।
निकुञ्ज भित्र अब काल पल्किनेछ। तस्करहरुको कालो धनको ब्यापार संजाल हुलिने छ। निकुञ्जहरु क्रमशः निजीकरण हुँदै जादा तस्करहरुले नेपाली सेनाको अमूल्य सुरक्षा सेवा र शान मान निःशुल्क पाउनेछन्। विश्व सम्पदा सगरमाथाको क्वाङदे होटलले सेनाको गार्ड पोष्ट पाए जस्तै।
छाता संगठन निकुञ्ज बिभाग धरमराउदा फिल्डलाई उत्प्रेरित गरेर ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले ३ गुना धेरै मिहेनत् र त्याग गर्नुपर्दछ। स्थानीय युवाहरुको साथ र सहयोग लिनु पर्दछ।
उद्धारको फष्ट रेस्पोण्डर नेपाली सेनाले प्रस्तावित बाँधको संभावित पहिचान, खतराको स्वअध्ययन र मूल्यांकन गर्न जरुरी छ। सबै सुरक्षा निकायहरुको मिटिङ राखेर बिज्ञहरुसँग सघन छलफल गर्न, राय लिन र बाँध निर्माण रोक्न जरुरी छ।
अन्यथा, भोलि विपद्मा मर्नेहरु भनेको सुरक्षा निकायहरु, बालबालिका, बृद्धबृद्धा र बिपन्न बर्ग नै हो। यो बाँध फुट्दा घरको कौसीहरु समेत डुबाउने छ। २५ प्रतिशतको मात्र ज्यान जाँदा पनि कम्तीमा १० लाख मान्छेको मृत्यु हुनेछ।
नाइके बिचौलियाहरु हेलिकोप्टर चढेर भाग्ने छन्। घरमा डुंगा राख्नेहरु नौका बिहार गरेर बाच्लान्। आजसम्म भगवान भरोसामा टिकेको नेपाल खाल्डोमा बाढीको पहिलो धक्कामै नदीतट्मा अवस्थित आराध्यदेव भगवान श्री पशुपतिनाथको उठिवास् लाग्ने छ। यो विपद्मा बचाउने कोही बाँकी रहने छैनन्।
उपसंहार
निकुञ्जको नियम कानून मर्म धर्म नजानेको तर बिचौलियाको सेटिङबाट व्यापारिक सेण्डिकेटमा आएका निकुञ्ज विभागका महानिर्देशकले निकुञ्जस्थित बिकट पोष्टहरुको भ्रमण गरुन्।
र, फिल्ड फ्रण्टलाईन कर्मचारी (हात्तीसारे, गेमस्काउट, सिपाही) हरुको अन्धकार चुहुने छानो, धमिलो पिउने पानी, हात्तीले भत्काएको भान्छाघर हेरुन्। घर परिवार त्यागेर संरक्षणको खातिर जीउ जोखिममा राखेर अहोरात्र गरेको संरक्षण डिउटीको मूल्य हेरिदिउन्।
संरक्षण मूल्य चुकाउदा घाइते अपांग भएका संरक्षणकर्मीहरु तथा पुर्खाको थात्थलो निकुञ्जलाई सुम्पेर अन्यत्र स्थानान्तरण भएका संरक्षणप्रेमी गरिव जनताहरुको मुटुको ढुक्ढुकी सुनेर तिनको संरक्षण त्याग र समर्पणको कदर गरुन्।
सभासय बढी संरक्षण शहीद र तिनका परिवारको आत्मालाई साक्षी राखेर मात्र निकुञ्जभित्र पूर्वाधारका नाममा हाइड्रोपावर, केवलकार, विलासी होटल, ब्यापार छिराउने लज्जास्पद स्वीकृति अथवा संरक्षणको मृत्यु पत्रमा हस्ताक्षर गरुन्।
प्रकृतिप्रेमी, संरक्षणप्रेमी केही अपवाद बन मन्त्रीहरुले आफ्नो संरक्षण त्यागको बचाउ गर्न बैठक बसेर साझा धारणा सार्वजनिक गर्न जरुरी छ। बिक्न बाँकी त्यागी नैतिकवान पूर्व सचिव, प्रशासक, कर्मचारी, प्राविधिकले संरक्षण निगरानी र खबरदारी मञ्च खडा गर्न जरुरी छ।
विश्व संरक्षण संघ, वातावरण कानून संघ, विश्व बन प्राविधिक संघ, वातावरण पत्रकार संघ, प्रोटेक्टेड एरिया संरक्षण कमिसन र नागरिक समाज तथा संरक्षणका खातिर मरिमेटी लाग्ने स्थानीय समुदाय प्रकृति संरक्षणको रक्षार्थ एक ढिक्का भई गोलबद्ध हुन जरुरी छ।
संरक्षणका नाममा संरक्षणका खातिर स्थापित संरक्षण साझेदार संघ-संस्थाहरु ब्यापार, विनास र अपारदर्शी कालो विकास होइन संरक्षणको पक्षमा उभिएर आफ्नो आवाज मुखरित गर्न जरुरी छ।
बाँध बनाउँ। बिकासको मूल फुटाउँ। तर निकुञ्जको अति संवेदनशील कोर इलाका बाहिर मध्यवर्ती क्षेत्र (बफर जोन) मा। प्रत्यक्षरुपमा स्थानीयबासीहरु लाभान्वित हुने शर्त र मूल्यमा। बिरोध तालको होइन। बिरोध खराब नीति र नियतको हो। बिरोध मातृभूमि र प्रकृतिको कलेजो मुटु खाने स्वेत भ्रष्टाचारको हो।
निकुञ्जको कोर एरियाको संरक्षण मर्म रक्षा गरेर विकासका पूर्वाधार निर्माण गरौं। विपद् जोखिम निम्त्याउने एउटा विशाल जलाशयको बोझ भन्दा १ सय वटा साना पोखरीहरुको माला बनाएर राजधानीको फोक्सो शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको जलाधारलाई सफासुग्घर राखौं र भावी सन्ततीलाई पुग्ने गरि दिगो संरक्षण गरिदिउँ।
पूर्वाधार बिकासले निकुञ्जको कोर इलाका ताक्नु र त्यहाँ कालो धनवाला ३/४ जना व्यापारीहरुको बाँडीचुँडी खाने प्रपञ्च प्रायोजित हुनु सरासर अक्षम्म छ। घोर आपत्तिजनक छ। प्राकृतिक न्यायको विपरीत छ। समानुपातिक वितरणको सिद्धान्त बिपरीत छ।
फिल्डको सिफारिस लत्याएर निकुञ्ज बिभाग चिप्लिसकेको हो भने यो आयोजना पुनरावलोकनको निमित्त वन मन्त्रालयको वातावरण महाशाखाले पहलकदमी लिदियोस्। महाशाखा पनि सेटिङको अभिन्न अंग हो भने सरल, शालीन, स्वच्छ छबि भएका वन सचिवले यो आयोजनालाई कार्यान्वयनमा जान नदिउन्।
अन्त्यमा, निकुञ्जको कोर एरियाको संरक्षण मर्म रक्षा गरेर विकासका पूर्वाधार निर्माण गरौं। विपद् जोखिम निम्त्याउने एउटा विशाल जलाशयको बोझ भन्दा १ सय वटा साना पोखरीहरुको माला बनाएर राजधानीको फोक्सो शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको जलाधारलाई सफासुग्घर राखौं र भावी सन्ततीलाई पुग्ने गरि दिगो संरक्षण गरिदिउँ।
त्यो लगानीले पुर्खाले लगाइदिएको पर्खाललाई ग्रेटवाल बनाएर पर्खाल माथि बिद्युत रेल, बस चलाएर पर्यटकहरुलाई भरपूर मनोरञ्जन दिउँ। पर्खाल बाहिर-भित्र साइकल मार्ग, पदमार्ग बनाएर राजधानीबासीलाई दैनिक प्रकृतिसँग जोडिदिने आकर्षक बिकल्प खोजौं।
ठूला जलाशयहरु पर्खाल बाहिर समतल क्षेत्रमा निर्माण गरेर बफरजोनलाई पैसा छाप्ने पर्यापर्यटनको अवसर दिउँ। प्रकृतिलाई बिगारेर मासेर होइन रक्षा कल्याण सम्मान गरेर र अमुक व्यक्ति बिशेषलाई होइन, पीँधका बिपन्न स्थानीय समुदायलाई समृद्ध बनाउने प्रकृति र जलवायु अनुकूलन बिकास मोडल रोजौं।
एक मात्र बाँकी अन्तिम साझा राष्ट्रिय पूँजि निकुञ्जहरुको कोर इलाका संरक्षणमा सम्वन्धित सरोकारवाला सबैको ध्यान आकर्षण होस्।
जय प्रकृति संरक्षण ।
Facebook Comment