नाइजेरियामा मुस्लिम गाेठाला र कृषक इसाइ समूहबीच हिंसात्मक झडपमा ३० जनाको मृत्यु
नाइजेरिया। नाइजेरियाको पठार राज्यमा पछिल्लो समय भएकाे हिंसामा ३० जनाको मृत्यु भएको छ। नाइजेरियाको केन्द्रीय पठार राज्यमा भएकाे थप नयाँ हिंसामा कम्तिमा ३० जनाको मृत्यु भएको हाे।
मंगलबार र बुधबारको पछिल्लो हिंसा यस क्षेत्रमा क्रिसमस डे आक्रमणपछि आएको हो, यसअघिको हिंसामा कम्तिमा १ सय ४० जनाको मृत्यु भएको थियो।
सो राज्यका मुस्लिम गोठालाहरू र खेती गर्ने इसाइ समुदायहरू बीच वर्षौंदेखि झडप भइरहेका छन्, साेही क्रममा पछिल्लाे साे घटना घटेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।
पठारको मङ्गु जिल्लामा गत मंगलबार २४ घण्टे कर्फ्यू लगाइएको भएता पनि विद्यालय, पूजास्थल र घरमा आगजनी र तोडफोडसहित थप आक्रमण भएको इसाइ समुदायका नेताहरूले बताएका छन्। इसाई समुदायका अनुसार फुलानीका मुस्लिम गोठालाहरूले क्वाहास्लालेक गाउँमा आक्रमण गरेको र लगभग ३० जनाको ज्यान लिएका हुन्।
‘अहिले हाम्रा मानिसहरूलाई ईश्वरको कृपामा छोडिएको छ र उनीहरूले आत्मरक्षामा थोरै मात्रै गर्न सक्छन्, स्थित भयावह रहेकाे छ,’ स्थानीय इसाइ संघले एक विज्ञप्तिमार्फत भनेको छ। सो घटनामा परी अहिलेसम्म १०० भन्दा बढी घाइते भएकाे भ्वाे न्युजले जनाएकाे छ।
तर, सुरक्षाकर्मीहरूले हालैका आक्रमणहरूमा मृत्यु हुनेहरूको संख्याबारे टिप्पणी गरेका छैनन्। तर, विस्थापितहरूका लागि मङ्गु सहरमा करिब १५ सय मानिसहरूका लागि दुईवटा शिविर स्थापना गरिएको नाइजेरिया रेडक्रसका स्थानीय अध्यक्ष नुरुदीन हुसैनी मगजीले बताए।
Facebook Comment