हुण्डी कारोबारमा संलग्न दुर्गा प्रसाईका भाइसहित दुई जना पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईका भाइ युवराज प्रसाई पक्राउ परेका छन् ।
बिहिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले युवराजलाई काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित घरबाट पक्राउ गरेको हो । यस अगाडि पनि हुण्डी कारोबार कै मुद्दा लागेर धरौटीमा छुटेका युवराज फेरि हुण्डी कारोबार गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
न्युरोडका कपडा ब्यापारी उनलाई प्रहरीले घरको कपडा गोदामबाट समातेको हो । सी आईबीको टोलीले पक्राउ गर्दा हुण्डी कारोबारको प्रमाण भएको मोबाइल र महत्तवपूर्ण कागजात भएको झोला भने प्रसाईले फालेका थिए । उनले मोबाइल फोन शौचालयमा र पर्स फोहोरको भाडामा फ्यालेर प्रहरीलाई झुक्याएका थिए ।
युवराजको घरमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्युरोको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीस्थित ३० वर्षीय विश्वास राईको सटरबाट नगद रु ३० लाख १८ हजार, ल्यापटप दुई थान र मोबाइल पाँच थान बरामद गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
Facebook Comment