चतुरेको चित्कार

कपिल लोहनी
१३ माघ २०८० ८:२६

बालापनमा निकै पुल्पुलिएर हुर्केको चतुरेको युवावस्था विद्यालय नगएर बरालिने तथा नराम्रा आदतहरू सिक्ने कुरामा नै बितेको थियो। घरपरिवारमा दाजुभाइ मध्ये अलिक चलाखमा गनिएकोले उसको वृहत् परिवारमा उ चतुरेको नामले चिनिन थालेको हो।

नामैले चतुरे भएको उ पढाइलेखाइमा जिरो भएपनि व्यावहारिक कुरामा भने चतुर नै छ। सबै दाजुदिदी र भाइबहिना स्कुले समयमा पढ्न र असल कार्यमा नै व्यस्त रहेकाले आज केही नभए पनि राम्रै कामसहितको सामान्य जीवन जिइरहेका छन् भने चतुरे भने न त पढाइलेखाइमा राम्रो हुन सक्यो न नै उसले कुनै इलम नै सिक्ने कोशिश गर्‍यो।

बाआमा होउञ्जेलसम्म लाडप्यारमा हुर्केको उ आज बिहेसम्म पनि हुन नसकेर भाइको परिवार कै आश्रयमा बाँच्न वाध्य भएको छ। उ दाजु भएकोले घरमा कृतिम रूपमा मानसम्मान पाएको भए तापनि कमाई न धमाईको घुमन्ते भएकोले वास्तवमा उसलाई आफ्ना भाञ्जाभाञ्जी र भतिजाभतिजीले पनि उडाउन थालिसके।

तर उ भने यिनका अगाडि महानायक झैं निकै रवाफका साथ विभिन्न विषयका गफ छाँटेर र हँसाएर यिनलाई मनोरञ्जन गराउनमा नै व्यस्त रहने गरेको छ। जे होस् उसले पढ्न नसकेको भए पनि उसमा लागु वा मादक पदार्थ सेवनको भने आदत छैन र उ चिटिक्क भएरै घुमफिर गर्न रुचाउँछ।

चतुरे बेला बखत टोलको चिया पसलमा बसेर अवकास प्राप्त कर्मचारी तथा अन्य मानिसहरूसँग चिया पिउँदै गफिन रुचाउँछ। उ जस्तै पढ्न नसकेका तथा बरालिएरै हिँड्ने कैयन् मानिसहरूसँग पनि उसको निकै उठ्बस् छ, तर नराम्रो नशालु आदत भने उनीहरू कसैको पनि छैन।

बिहानबेलुकी घरमा परिवारका सदस्यहरूसँग गफ गर्न पाउने भए तापनि दिउँसो सबैजना आआफ्ना इलम र शिक्षाको निम्ति बाहिर जाने भएकोले बिहानको खाना खाए पछि चतुरे पनि लखर लखर काठमाडौँका विभिन्न ठाउँमा घुम्न निस्कने गर्दछ। हिजोआज उसलाई मुलुकको अस्तव्यस्तताले निकै सताउने गरेको छ। कैयन् पटक उसले पनि स्थानीय र आम निर्वाचनमा भोट हालेको छ।

तर जुनै जोगी आए पनि कानै चिरेका र अब त कान मात्र चिरेका होइनन् तिनले कानमा हिरा लगाउनेदेखि ज्यानलाई महँगा सुकिलामुकिला लुगाले ढाक्ने र विशाल कुटीको निर्माण गरेर र मुलुक भित्र तथा बाहिरका बैंकमा अकुत रकम जम्मा गरेर सात मात्र होइन सयौँ पुस्तालाई पुग्ने धन आर्जन गर्ने।

तर आम जनताको निम्ति भाषण बाहेक केही नदिने । कुरै गरेर मात्र बस्ने। उ वाक्क भएको छ सरकार, जनप्रतिनिधि तथा मुलुकको प्रशासन र बन्दोबस्ती चलाउनेहरूबाट।

आज उ बसन्तपुर घुम्न गएको थियो। घाम ताप्दै त्यहाँको चहल पहल हेर्दै उ हनुमान ढोकासम्मको चक्कर काटेर नयाँ सडकतिर फर्कँदै थियो। हनुमानढोका तथा बसन्तपुरका काष्ठमण्डप र नौतल्ले दरवार अनि कैयन् मठमन्दिरको पुननिर्माण सकिएको, केहीको जिर्णाद्धार भइरहेको र सडक छेउमा बडेमानका फूलका गमला लहरै राखेर सफाई समेत राम्ररी गरिएकोमा उ निकै खुशी भएको थियो र यस्तै राम्रा कार्य सधैँ भइरहेको देखिरहन पाइयोस् भन्ने चाहिरहेको थियो। विदेशी पर्यटकहरूको संख्या केही बढेको र सो क्षेत्रको सफाई राम्रैसँग भएको देखेर उ प्रसन्न भएको थियो।

तर हेर त्यो दमकल अड्डाको गति! ९० सालको भूकम्प पश्चात् जुद्धशमशेरको शासनकालमा नयाँ सडक क्षेत्रको पुनर्निर्माण भएपछि आगलागीको बेला आगो निभाउने हेतुले निर्माण भएको जुद्ध बारुण यन्त्रशालाको बेला बेलामा हल्का मर्मत सम्भार हुने गरेको भए तापनि ७२ सालको भूकम्पले सो दमकल अड्डा नै प्रयोग हुन नसक्ने गरी खण्डहर भएको पनि वर्षौँ बितिसक्यो।

हालका भन्दा पहिलेका मेयरले त्यो वारुण यन्त्रशालालाई भत्काएर व्यापारिक भवन सहितको नयाँ संरचना बनाउने अव्यावहारिक उद्घोष गरे भने हालकाले त्यतातिर हेर्नै भ्याएका छैनन्।

उता पाटन र भक्तपुरका मेयरले भने भूकम्पले नै ध्वस्त पारेका अग्नि नियन्त्रण सम्बन्धी संरचनाहरूको पुनर्निर्माणको कुराभन्दा काम बढी गरेर सक्काइ सके। वास्तवमा काठमाडौँ सबैभन्दा ठूलो पालिका भएर हो वा यो पालिकाले चतुरेले जस्तै पुल्पुलिने र बढी महत्व पाउने गरेको भएर हो, खै कुन्नि किन पो हो, यहाँका पी.एल., केशव, विद्या, बालेन लगायत अधिकांश मेयरहरू कामभन्दा बढी कुरा नै गर्दछन्। त्यो पनि निकै ठूला ठूला। चन्द्रमा छुने।

स्वच्छ, सुन्दर, हराभरा काठमाडौँदेखि यत्रतत्र स्मार्ट शौचालय र पार्क भएको रमणीय काठमाडौँ यहाँका बासिन्दाको दन्त्य कथाको पुस्तकमा मात्र सीमित छन्।

आज त चतुरेले एकछिन भएपनि समय कटाउने मसला भेट्यो। इन्द्रचोकदेखि नयाँ सडकसम्मका सडकमा सवारी साधन पार्किङ गर्न नदिने भएकोले पालिकाका प्रहरी र स्थानीय व्यापारी तथा चालकहरू सबै आआफ्ना डम्फु बजाएर उफ्रिरहेका। क्या मज्जा। जाडोको घाममा बस्न त्यसै त रमाइलो झनै….।

दुबै तर्फको जुहारी हेरेर चतुरे तथा उ जस्तै निकम्माहरू निकै रमाइरहेका। न त उनिहरूको सवारी साधन छ, न नै त्यहाँ गएर केही किन्नु छ। घुम्यो, तमासा होर्‍यो अनि बाटो ततायो।

पछि रञ्जनाको गल्लीमा कागती सोडा खाँदै चतुरेले यसो बिचार गर्दा वास्तवमा पालिकाको यो कदम उसलाई राम्रै लाग्यो। त्यहाँ सोडा पिइरहेका केही मानिसहरू पनि कमसेकम सडकमा हुने विशाल भिडभाड र चरम अस्तव्यस्ततामा केही कमी त आयो भनेर खुशी नै देखिन्थे।

यत्तिकैमा एक जना भलाद्मीले ‘के त्यहाँ रोक्ने सवारी साधनहरूको निम्ति व्यवस्थित पार्किङस्थलको निर्माण गर्न सकेको छ त पालिकाले? वैकल्पिक व्यवस्था छ भने त ठीक छ।

अनि के यस्ता नयाँ नयाँ व्यवस्थाहरू दीगो रूपमा चलिरहने कुनै संयन्त्रको विकास हुन सकेको छ त?’ भनी प्रश्न उठाउँदा भने चतुरेको दिमागमा पनि यी कुराले राम्रै झटका दिए।

उ यिनै कुराहरूका उनुत्तरित ती प्रश्नहरू मनमा राख्दै वीर अस्पतालतिर लाग्यो। नेपालको सबैभन्दा पुरानो अस्पताल। काठमाडौँको मुटुमा रहेकोे महत्वपूर्ण अस्पताल।

आधुनिक ट्रमा सेन्टरदेखि सबै प्रकारका सेवा-सुविधाले सम्पन्न विशाल अस्पताल। तर सरकारी अस्तव्यस्तता र भ्रष्टाचारले चुर्लुम्म डुबेर फोहर पानीमा तैरिइरहेको जस्तो र कुनै पनि बेला डुब्न सक्ने बुढो अस्पताल। निकै फोहर र भाँडभैलो वातावरण ।

चतुरे सानो छँदा मुलुकका ठूलाबडा पनि बिरामी पर्दा त्यहीँ ओषती गर्न जान्थे। चरम गरिवीको कारण सो अस्पताल बाहिर त्यतिबेला रगत बेच्ने भरिया जस्ता मानिसहरूको ताँती नै लाग्दथ्यो। अहिलेजस्तो रक्तदानको फेसन कहाँ थियो र?

त्यतिबेला निकै बिग्रेको चतुरे पनि एक पटक रगत बेच्न भनेर जाँदा त्यहाँका डाक्टरको निकै खप्की खाएको रहेछ। पुरानो कुरा सम्झेर उ एकपटक फेरि झसङ्ग भयो। अनि त्यतिबेलाको सो क्षेत्रको शान्त वातावरण, सिमित गाडीहरू चल्ने तथा जनसंख्या पनि कम भएको जमाना, अस्पतालको पुर्वपट्टि हरित रत्नपार्क र हरिया घाँससहितको खुलामञ्च।

स्वच्छ रानीपोखरी पारीबाट घण्टाघरले समयको घोषणा गर्दै छोड्ने मधुर संगीत। सैनिक मञ्चमा सैनिकहरू परेड खेली रहेका। क्या जमाना थियो। चतुरे दङ्ग पर्छ पुरानो कुरा सम्झेर।

खासगरी नेपालमा प्रजातन्त्रको पुनर्वहालीसँगै खुलामञ्चमा दिनहुँजसो हुने भाषण र भेलाको ध्वनीले अस्पतालमा हुने प्रदूषणको कारण त्यहाँका बिरामीलाई असर परेको र एकचोटी चतुरे आफैंले पनि आफ्ना बालाई अस्पतालमा उपचारको निम्ति राख्दा कुर्न बसेको बेला भोगेको असहज कोलाहलको परिस्थितिको झझल्को उसलाई आयो।

पछि त छिटै जनताले भन्दा पनि शासकवर्गले धेरै विकास गरेकोले त्यो खुलामञ्च नेताहरूका लागि उपयुक्त भाषण गर्ने थलो हुन नसकेर भाषण जति सबै पाँच तारे होटेलका वातानुकुलित भव्य कक्षहरूमा सर्‍यो भने त्यो बिचरो खुलामञ्च कहिले नाङले पसल र व्यापार गर्ने थलो त कहिले बस पार्क र कहिले निर्माण सामग्री थुपार्ने फोहर ठाउँ बन्न पुग्यो।

आखिर मेयर बालेनले यसको सफाई गर्न लगाएर यसलाई हरित पार्कमा परिणत गर्ने गज्जबको कुरा राख्दा धेरै मानिस खुशी भएका थिए भने हाल केही समय पछि नै फेरि फुटबल मैदान बनाउने सनक छाएकोले चतुरेसहित अधिकांश मानिसहरू स्तब्ध हुन पुगेका छन्।

चतुरेले मनमनै सोच्यो, फुटबल वा अन्य खेला खेल्ने मैदान त अरू ठाउँमा र हालको लागि तिनकुनेमा नै पनि त बनाउन सकिन्छ नि। भएका सानोगौचर, सिफल र अन्य ठाउँका फुटबल मैदानको स्तरोन्नती गरेको चाहिँ खै त?

बरु खुलामञ्चलाई वृहत हरित रत्नपार्क कै रूपमा संगीत, कला र साहित्यको आनन्द लिने एक साँस्कृतिक डबली बनाउने बिचार कसैको पनि गिदीमा किन नआएको होला? यस्ता सबै राम्रा र सृजनशील कुरा उनै चतुरेको दिमागमा मात्र किन आउने होला भनेर उ छक्क प¥यो।

घुम्ने नै क्रममा एक दिन बागमतीको किनारै किनार थापाथलीतिर हिँड्दा त्यहाँ कति धेरै खाली जग्गा देखेको थियो चतुरेले। ससाना छाप्रा बनाएर पुरै बागमती किनारा ओगटेर त्यहीँ चर्च बनाएर धर्म प्रचार र परिवर्तन गरेर बसेका मान्छे र त्यहीँ अगाडि थानामा आँखामा पट्टि बाँधेर बसेका प्रहरी र बागमतीको भकारी समेत आफुतिर पारेर बनाइएका ठूला ठूला घरहरू समेत चतुरेले देखेको थियो।

तर त्यहाँ राजनैतिक संरक्षण मिलेकोले बालेनको पनि केही सिप नलागेको तर अन्य धेरै ठाउँमा भने लठैतहरूले स्थानीय बासिन्दाको चित्कारसमेत सुन्न नमानेर तोडफोडकारी कार्यहरू गरेको पनि त्यही चतुरेकै दोषी आँखाले देख्नु पर्ने।

कस्तो विडम्बना। बरु नदीका सबै भागका किनारालाई व्यवस्थित बनाउँदै त्यस्ता ठाउँमा पनि खेलकुदका स्थल, उद्यान र साना व्यापारिक स्थल र सन्ध्याकालीन खानपानका स्थल बनाएर नगरवासीलाई थोरै भएपनि मनोरञ्जन हुने काम गर्नु नि।

दश-बाह्र जना दिग्गज सल्लाहकार छन् अरे पालिकामा तर यस्ता कुरा चतुरेको दिमागमा मात्र रहनु पर्ने र उसले एउटा पनि सल्लाहकारलाई भेटेर यस्ता कुरा सुझाउने मौका चाहिँ नपाउने। त्यस माथि चतुरे जस्तो घुमन्ते र आवारा पहिरनको अशिक्षित व्यक्तिको कुरा कसले पो सुन्ने।

चिल्ला गाडी चढ्ने सुकिला मुकिलाहरू पो त विद्वान, कला, साहित्य र संस्कृतिविद् र सबै थोक बुझेका हुन्छन्। बिचरा चतुरेको के हैसियत र। खै के हो के हो भन्या।

केही दिन अघि मात्र चतुरे सिंहदरबारतिर घुम्न गएको रहेछ। सिंहदरबारको चारैतिरको धेरै क्षेत्र केही वर्ष पहिलेसम्म पनि खाली नै थियो। तर सबै मन्त्रालय सोही परिसरमा सार्ने बहानामा न्यायपालिका र व्यवस्थापिका तथा सेनाका कार्यालयहरू समेतका लागि विशाल भवनहरू निर्माण गर्ने क्रममा अब त्यहाँ खाली ठाउँ नै बाँकी नहुने भएको छ।

उत्तर-पुर्वमा विशाल संसद भवन बन्दै छ भने दक्षिण-पश्चिममा सर्वोच्च अदालत। त्यस्तै उत्तर–पश्चिममा सेनाको कार्यालय। चतुरे आफैं पनि ७२ सालको भूकम्पको बेलामा कैयन् हप्तासम्म सिंहदरबारको उत्तर-पश्चिममा अवस्थित खाली जमिनमा सयौँ मानिसहरूसँगै आश्रय लिएर सुरक्षित रहन सकेको थियो। माइतीघर र त्यहाँबाट भद्रकाली जाने बाटोका खाली जग्गा पनि घरै बनाएर सक्कायो सरकारले।

आखिर सरकारले, सेनाले प्रहरीले वा अन्य परशासन, वरशासन सबैले वर्षेनी घरै मात्र बनाएर उनलाई के फाइदा हुँदो रहेछ, त्यो चतुरेको दिमागले बुझ्नै सकेन। अब फेरि त्यस्तो विपत्ति आएमा स्थानीय बासिन्दाले कहाँ गएर सुरक्षित महसुस गर्ने होला भन्ने कुरा चतुरेको दिमागमा एक्कासी आयो।

यो अलकापुरी कान्तिपुरी नगरीको कुरा गरेर त साध्य नै छैन। चतुरेले केही महिना अघि कतै सुनेको रहेछ कि महानगरले २ अर्ब रुपैयाँ खर्चेर सडकका पेटीहरूको निर्माण र सुधार गर्दैछ भनेर।

त्यतिबेला चतुरे नेपालमा तेल वा ग्यास पत्ता लागेर अचानक मुलुक समृद्ध त भएको छैन, कसरी यत्रा धेरै पैसा पेटी बनाउनमा नै खर्चने हैसियत भयो त हाम्रो नेपालको? भनेर छक्क परेको थियो। तैपनि अब छिटै सुरक्षित पेटीमा हिँड्न पाइने भयो भनेर चतुरे निकै हौसिएको थियो।

तर पनि विभिन्न ठाउँका सद्दे पेटीहरू समेत भत्काएर नयाँ बनाउने नाममा करोडौँ रुपैयाँ बराबरका पुराना बलिया टायलहरू उप्काउँदै कता गायब गरिँदै छन् भन्ने कुरा भने चतुरेले बुझ्नै सकेको छैन। अर्कोतर्फ राजधानीको मुटुमा रहेका सडकहरूको जिर्ण पेटीहरू भने मर्मतको पर्खाइमा नै छन्।

त्यस्तै कैयन् सडकमा पेटी नै छैनन्। दिनहुँ दर्जनौँ बटुवा पेटीमा नै ठेस लागेर र पेटी नभएका ठाउँमा दुर्घटनामा परेर हातखुट्टा तथा अन्य भागको उपचारमा अस्पताल धाउनु पर्ने बााध्यता छ।

आजै चतुरेले पेटीबाट उप्काएका टायल ट्रकमा लोड गरेर लग्न लागेका एक ठेकेदार जस्ता व्यक्तिलाई सोध्दा उनले अन्कनाउँदै यी टायल सेना र प्रहरीको ब्यारेकमा छाप्न लग्न लागेको भन्ने जवाफ दिएका थिए।

तर उसलाई ताज्जुप लागेको कुरा चाहिँ के भने काठमाडौँ भरीका पेटीका टायल उप्काएर पुनः छाप्ने ठाउँ पुलिस र मिलिटरीसँग कति छन् र। बरु सार्वजनिक पार्कहरूमा साँझबिहान व्यायामको निम्ति हिँडुने ट्र्याकहरू बनाएर त्यहाँ छाप्नु यी पुराना टायल, बढी भएका अन्य पालिकालाई दिनु र अझै बढी भए सस्तो मूल्यमा सर्वसाधारणलाई नै बेचिदिनु। तर त्यसो गरे त यहाँ राम राज्य भइहाल्छ नि। कसैको आँखा नपर्ने गरी करोडौँको रकम बाँडीचुँडी खाने उपाय नै यस्तै हुन्। के गर्नु।

भृकुटीमण्डप क्षेत्रमा पेटीलाई अझ चौडा पारेर सुरक्षित र फराकिलो बनाउने काम हुँदै गरेकोमा भने चतुरेलाई ज्यादै खुशी लागेको छ। तर थोरै मात्र मर्मत गरेर काम चल्ने राम्रै पेटीहरू पनि भत्काउँदै नयाँ बनाउने कार्य भएकोमा भने उ पटक्कै खुशी छैन।

यो सब कुरामा उसलाई मात्र पिर परेको हो वा अरूलाई पनि परेको छ, उ बुझ्नै सक्दैन। यति धेरै रकम खर्चिएर निर्माण भइरहेका परियोजनाहरू पनि ज्यादै गुपचुपको स्थितिमा किन राखिन्छन्, उ छक्क परेको छ।

हिजो आज पहिले नै सेटिङ हुने भएर होला भ्रष्टाचार र जनतासँग सरोकार राख्ने अहम् मुद्दाबारे अधिकांश सञ्चार माध्यममा यस्ता समाचारले ठाउँ नै पाउँदैनन्।

बरू आफ्ना व्यक्तिगत र संस्थागत शत्रुको निरन्तर खेदो खन्ने र अन्य मुद्दा जस्तै कुनै एक विदेशी सेनामा नेपालीलाई भर्ती हुनबाट रोक लगाउनु पर्ने तर अन्य आफ्ना हिमायती राष्ट्रका सेनामा भर्ती भएर नेपाली मरे भने पनि त्यस्ता समाचार नछाप्ने महान् नीति लिएर बसेका छन् केही धनाढ्य सञ्चार माध्यमहरू।

चतुरेको बालापनको भृकुटीमण्डप त्यतिबेलाका बालबालिकाहरूको मनोरञ्जनको एक प्रमुख थलो थियो। रमाइलो मेला, दशैँ बजार तथा विभिन्न वस्तुको प्रदर्शनी हुने त्यो स्थल आज ज्यादै बाक्लो जनघनत्व भएको तथा अस्तव्यस्त र असुरक्षित व्यापारिक स्थलमा परिणत भएको छ।

त्यहाँ आज बालबच्चाहरूका लागि ज्यादै नगण्य खेल तथा मनोरञ्जनहरू आयोजना हुन्छन्। विद्यासुन्दर भन्ने एकजना मेयरले केही वर्ष अघि त्यहाँका सबै संरचना भत्काएर मेगाहल बनाउँछु भनेर बहुलाउँदै हिँड्दा सो कार्यको विरोधमा चतुरेसमेत निकै पटक सडकमा उत्रिएको थियो।

तै त्यो विद्याले चुनाव लड्नै पाएन र उसको ठाउँमा लड्ने अर्को लहडी स्थापित पनि बिस्थापित हुन गयो। तर बालेन आएपछि अब त्यो भृकुटीमण्डपलाई साँच्चैको नमुना बालउद्यान, प्रदर्शनीस्थल र पुरानै ढाँचाको मनोरञ्जनको स्थल बनाउँछ भनेको त उसले पनि कानमा तेल हालेर बस्न थालेछ र धमला जस्ता पत्रुकार र व्यापारीले त्यहाँ अझसम्म पनि स्टलहरू नगण्य रकममा भाँडामा लिएर हालीमुहाली गरिरहेका रहेछन्। यस्तो बेकाइदा देख्दा चतुरेको चित्कार मन भित्र भित्र निकै गुन्जिन थाल्छ। तर सुन्ने को पो छ र?

फोहरमैलाको त्यस्तै हाल छ। हो अहिले टोल तथा सडकबाट फोहरमैला निश्चित समयमा उठाएर लग्ने राम्रो व्यवस्था भएको छ। तर फोहरको अन्तिम गन्तव्यमा शहर भरीको सबै फोहर लगेर मिल्काउने गर्नाले एकातिर डम्पिङ साइट छिटो छिटो भरिँदै गएको छ भने अर्को तर्फ त्यस भेगका स्थानीय जनता पनि आन्दोलित भएका छन्।

फोहरको प्रशोधन गरेर त्यसबाट विभिन्न वस्तु उत्पादन गर्न पालिकाले सम्बन्धित निकायहरूसँग मिलेर काम गर्ने हो भने एकातिर फोहरको अन्तिम गन्तव्य पनि छिटो भरिने थिएन भने अर्को तर्फ फोहरबाट मोहर पनि कमाउन सक्ने थियो पालिकाले।

चतुरे सबैको भलो चिताउने असल व्यक्तित्व भएकोले उसको दिमागमा यस्ता कुराहरू खेलिरहन्छन्। तर उसका यस्ता कुरा सुनेपछि पढेलेखेका व्यक्तिहरू पनि उसलाई बहुलाहा भनेर उबाट टाढा हुन थाल्छन्।

आज पनि चतुरे घर फर्कँदा साँझ पर्न थालिसकेको थियो। तर सडकमा न बत्ती छन् न सडक हिँड्न लायक कै नै छ। जताततै खनेको सडकमा त्यस माथि अँध्यारो भएपछि त कसरी हिँड्नु। उ पनि झण्डै खाल्टामा परेको थियो आज।

उसले सुने अनुसार नेपालमा हिजोआज निकै धेरै बिजुली उत्पादन भएको छ अरे। बेच्न नसकेर बिजुली खेर पनि गएको छ अरे। तर आमजनताको निम्ति न त सरकारले बिजुलीको भाउ घटाएको छ न बिजुलीबाट पकाउन मिल्ने चुल्हो र भाँडाहरू खरिद गर्न नै प्रोत्साहित गरेको छ।

अर्कोतर्फ बिजुली अड्डा र पालिकाले सडकमा बिजुली बत्ती बाल्न पैसा तिर्ने कि मुफतमा पाउने भन्ने कुरामा जुहारी नै खेल्ने गरेको देख्दा चतुरे छक्कै पर्दछ। के बिजुली अड्डा र पालिका एउटै आमाका दुई बच्चा होइनन् र? यिनको साझा उद्देश्य पनि जनतालाई सेवा दिनु नै होइन र?

अनि यिनीहरूको बेकारको झगडा सुन्दै अँध्यारो बाटोमा हामी जनताले किन हिँड्नु पर्ने होला त। यस्तै कुरा सोच्दै चतुरे आफ्नो घर पुग्छ र घरकालाई यी सबै कुरा सुनाउँछ। उसको कुरालाई कुनै भाउ दिनुको सट्टा घरका सबैले ‘अब अर्को पटक चतुरे काका मेयर!!!’ भनेर हाँसेर उडाइ दिन्छन्।

चतुरे अक्क न बक्क भएर भित्र भित्र मुर्मुरिन थाल्दछ। अनि खिसिक्क हाँसेर उसले आफैंलाई ‘तँ जस्तै सबै चतुरेहरूको यस्तै हाल छ, चुप लागेर भात खा मोरा चतुरे’ भनेर सपासप भात खाएर मुख चुठ्दै उ आफ्नो खोपीको बिछौनातिर मिठो सपना देख्न जान्छ। इति श्री नेपाल भूमीये स्कन्द पुराणेँ।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *