भारतमा कारले ठक्कर दिँदा साइकलमा चढेका ४ नेपालीको मृत्यु, एक नेपाली गम्भीर
काठमाडौं । हरियाणाको सोनीपतको मामा भञ्जा चोकमा बहलगढबाट आउँदै गरेको तीव्र गतिको फोर्ड इको स्पोर्ट्स कारले साइकल र स्कुटरमा घर फर्किएका नेपालका पाँच युवालाई पछाडिबाट ठक्कर दिँदा ४ जनाको मृत्यु भएको छ।
दुर्घटनामा ४ युवाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन्। कारमा सवार तीन युवक पनि गम्भीर घाइते भएका छन्। यो दुर्घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। भिडियोमा घटना निकै भयानक देखिएको छ।
भारतीय मिडियाले प्रहरीबाट प्राप्त गरेको जानकारी अनुसार यस दुर्घटनामा ज्यान गुमाएका युवाको सनाखत भएको छ। मृत्यु हुने युवाको नाम खिलाबहादुर मगर अमर र कमलबहादुर खत्री रहेका छन् । उनीहरु नेपालको ओखलढुंगाको मोलुङ गाउँपालिका ४ का हुन्। अन्य दुइ मृतक दलबहादुर रायमाझी अर्घाखाँची र अर्जुन सुनुवार सर्लाहीका हुन्। उनीहरुका एक साथी दिलबहादुर गम्भीर घाइते भएका छन् । उनी पनि ओखलढुंगाकै हुन् । कारमा सवार युवा ऋतिक, मोहित र अरुण पनि गम्भीर घाइते भएका छन् ।
घाइतेहरूलाई उपचारको लागि रोहतक पीजीआईमा रिफर गरिएको छ। सबैजना नेपालीहरू वेटरको काम गरेर परिवारको गुजारा चलाउने गर्दथे । घटनाको राति अबेरसम्म एउटा कार्यक्रमबाट घर फर्कदै गर्दा यो दुर्घटना भएको हो । दुर्घटना हुँदा चालकले मादक पदार्थ सेवन गरी तीव्र गतिमा गाडी चलाएका थिए ।
Facebook Comment