इरानको सीमा क्षेत्रमा अज्ञात आक्रमणकारीद्वारा ९ पाकिस्तानीको हत्या
काठमाडौं । पाकिस्तानमा इरानले हवाई हमला गरेको केही दिनपछि दुई देशबीचको तनाव फेरि बढेको छ । शनिबार अज्ञात बन्दुकधारीहरूले पाकिस्तानसँग जोडिएको इरानको दक्षिण-पूर्वी सीमा क्षेत्रमा नौ जनाको गोली हानी हत्या गरेका छन्।
यो घटनाको इरानका लागि पाकिस्तानी राजदूतले पुष्टि गरेका छन् । इरानी मिडियाले गोलीबारी पछि घटनास्थलबाट भागेका तीन बन्दुकधारीलाई प्रहरीले खोजिरहेको जनाएको छ।
यस घटनाका सम्बन्धमा पाकिस्तानी राजदूत मुहम्मद मुदस्सिर टिपुले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘सरावनमा ९ पाकिस्तानीहरूको भयानक हत्याबाट गहिरो स्तब्ध भएका छौं। उनीहरूको निधनप्रति दूतावासले शोक व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । हामीले इरानलाई यस विषयमा पूर्ण सहयोग गर्न अनुरोध गरेका छौं।’
गोलीकाण्डको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन । बलुच अधिकार समूह हलवाशले आफ्नो वेबसाइटमा भनेअनुसार पीडितहरू पाकिस्तानी मजदुरहरू थिए जो एक अटो मर्मत पसलमा काम गर्थे र त्यहाँ बस्ने गर्थे। यस घटनामा ९ पाकिस्तानीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।
पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले भने, ‘यो भयानक र घृणित घटना हो र हामी यसको निन्दा गर्दछौं। हामी इरानी अधिकारीहरूसँग सम्पर्कमा छौं र घटनाको तुरुन्त अनुसन्धान गर्न र यसमा संलग्नहरूलाई जवाफदेही बनाउन आवश्यक छ।’
Facebook Comment