एमालेको घोषित रणनीति : गठबन्धन फुटाउने, जसलाई सकिन्छ उसैलाई तान्ने

मदन कोइराला
१७ माघ २०८० ११:५७

काठमाडौं। कोशी प्रदेशमा माओवादी उम्मेदवार हारेपछि माओवादीले कांग्रेसमाथि ‘बेइमानी’को आरोप लगाइरहेका बेला यो किचलोको फाइदा उठाउन एमालेले ढोक्सा थाप्ने तयारी गरेको छ।

कांग्रेस माओवादी सम्बन्धमा चिसोपन बढ्न थालेका बेला एमालेले दुईमध्ये एक दललाई आफूतिर तान्ने र आफू सरकारमा जाने च्याखे दाउ खेल्न थालेको छ। पछिल्लो समय कांग्रेसभित्र दुई धार छन्। संस्थापन पक्ष माओवादीसँगको गठबन्धन तोड्न नहुने पक्षमा छ।

अर्का प्रभावशाली नेता शेखर कोइराला नेतृत्वको पक्ष भने यो गठबन्धनको समीक्षा गर्नुपर्ने र आवश्यक परे गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउँदै कांग्रेस स्वयंले सरकारको नेतृत्व गर्नुपर्ने वकालत गर्दै आएको छ।

एमालेले यही दोस्रो धारलाई लक्षित गरिरहेको छ। केही दिनअघि कांग्रेसका नेताहरु  शंकर भण्डारी, सुजाता कोइराला, बालकृष्ण खाणलगायत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। यो भेटमा एमाले र कांग्रेसबीच नयाँ गठबन्धन बनाउने विषयमा पनि छलफल भएको स्रोतको दावी छ।

यसबाहेक एमालेले माओवादीको पनि दोस्रो पक्षसँग छलफल गरिरहेको छ। वर्षमान पुन लगायतका नेताहरुको यो समूह पहिलेको एमाले-माओवादी गठबन्धन नै ठिक भएको दावी गर्ने समूह हो।

एमाले यो गठबन्धनको पक्षमा छैन। यो सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन। राजनीतिक अराजकता झन लम्बिएर जान्छ। त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो।

अहिले राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवार पराजित भएका बेला सिंगो माओवादीले कांग्रेसले बेइमानी गरेको भन्दै गर्दा पार्टीभित्र यो समूहको पल्ला भारी छ। यसको फाइदा एमालेले उठाउन चाहन्छ।

कांग्रेस नेता शंकर भण्डारी गठबन्धन तोड्ने विषयमा एमाले अध्यक्ष ओलीसँग कुनै छलफल नभएको बताए।

‘कुनै पनि नेतासँग भेटघाट हुने सामान्य कुरा हो। तर गठबन्धनका विषयमा छलफल गर्न एमाले अध्यक्षसँग कुनै छलफल भएको छैन,’ भण्डारीले डिसी नेपालसँग भने, ‘अहिले गठबन्धन तोड्ने पक्षमा हामी छैनौं। तर सरकारको कामप्रति हामी सहमत पनि छैनौं।’

केही समयअघि एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलबीच सरकारविरुद्ध सडक आन्दोलन गर्ने बारेमा अनौपचारिक छलफल भएको थियो। तर, आन्दोलनको निश्चित एजेण्डा नपाउँदा यो विषय अघि बढ्न समेको थिएन।

तर, अहिले माओवादीले कांग्रेसमाथि आरोप लगाउने र विभिन्न नेताहरुले गठबन्धनको समीक्षा गर्नुपर्ने अभिव्यक्ति दिएका बेला एमालेले यसलाई गठबन्धन फुटाउने मौकाको रुपमा हेरिरहेको छ।

अहिले आन्दोलनमा जाने निश्चित एजेण्डा नभएको भन्दै आन्दोलनमा जाँदा पार्टीनै क्षति हुने देखिएपछि एमालेले आफ्नो रणनीति परिवर्तन गरेको बताइएको छ।
यतिबेला एमालेले समानान्तर रुपमा माओवादी र कांग्रेसका नेतासँग छलफल चलाइरहेको स्रोत बताउँछ।

‘एमालेको पहिलो प्राथमिकता कांग्रेससँगको गठबन्धन हो,’ स्रोत भन्छ, ‘तर कांग्रेसको संस्थापन पक्ष तत्काल गठबन्धन छोड्ने पक्षमा छैन, त्यसैले हामी माओवादीसँग पनि निरन्तर सम्वादमा छौं।’

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम वर्तमान सत्ता गठबन्धन फुटाउने एमालेको घोषित नीति रहेको बताउँछन्। ‘एमाले यो गठबन्धनको पक्षमा छैन,’ गौतमले डिसी नेपालसँग भने, ‘यो सरकार जबसम्म रहन्छ, तबसम्म मुलुकले आर्थिक सफलता हासिल गर्न सक्दैन। राजनीतिक अराजकता झन लम्बिएर जान्छ। त्यसैले यो गठबन्धन टुटाउने, फुटाउने हाम्रो घोषित उद्देश्य नै हो।’

गठबन्धन फुटाउने विषयमा अध्यक्ष ओलीले कांग्रेसका नेतासँग भेट गरेको हो भन्ने प्रश्नको जवाफमा गौतमले भने, ‘प्रतिपक्ष दलको नेतासँग हुने राजनीतिक भेटघाटलाई सामान्य रुपमा लिनुपर्छ।’

उनले फागुनबाट सरकार विरुद्ध आन्दोलनको ‘वार्मअप’ गर्न लागिएको उनले जनाए।

सरकारले सुशासन कायम गर्न नसेकेको, कर्मचारीलाई तलव खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था उत्पन्न भएको, अराजकता र अस्थिरताले मुलुक आक्रान्त बनेको आरोप लगाउँदै उनले सदन र सडकमार्फत सरकारको ध्यानाकर्षण गराउने उनले जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *