नेकपा एसभित्र जबजमा मतभेद

निरन्तरताको पक्षमा माधव नेपाल, औचित्य सकिएको झलनाथको जिकिर

शरद रिजाल
१८ माघ २०८० ७:३४

काठमाडौं। एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीमा पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज)लाई लिएर मतभेद सिर्जना भएको छ।

जबजको विषयमा पार्टीमा दुई धार देखा परेको छ। पूर्ववत् दल एमाले हुँदै अहिले पनि अंगीकार गरिँदै आएको मार्गदर्शक सिद्धान्त जबजलाई नै निरन्तरता दिनुपर्ने पक्षमा अध्यक्ष माधव नेपाल देखिएका छन्।

उनले यस अघि एमाले कालमै मदन भण्डारीद्वारा प्रतिपादित जबजको सान्दर्भिकता अझै कायम रहेको भन्दै यसको निरन्तरतामा जोड दिइरहेका छन्।

अर्का सम्मानित नेता झलनाथ खनाल भने पार्टी विभाजनको औचित्य पुष्टि गर्न पनि अहिलेको समय अनुरुपको नयाँ कार्यदिशा तय गर्नुपर्ने मत प्रकट गरिरहेका छन्।

उनले अहिलेको परिवर्तित राजनीतिक परिस्थितिमा जबजको सान्दर्भिकता नरहेको बताउँदै पार्टीले नयाँ कार्यदिशा तय गर्नुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन्।

एमालेबाट विभाजित भएर नयाँ दल गठन गरेको दुई वर्ष पुगे पनि राजनीतिक र कार्यक्रमिक रुपमा विभाजनको औचित्य पुष्टि गर्न नसकिएको जनाउँदै खनाल पार्टी नेतृत्वसँग असन्तुष्ट छन्।

जबजलाई नै मार्गदर्शक सिद्धान्त अनुशरण गर्ने हो भने एमालेबाट विभाजन भएर नयाँ दल गठनको औचित्य नरहने उनको प्रष्टोक्ति छ। त्यसैले अहिलेको बदलिदो परिस्थिति अनुरुप पार्टीको राजनैतिक कार्यशिदशा तय गरिनुपर्नेमा उनले जोड दिएका छन्।

नेता खनाल जबजको सुरुदेखि नै विरोधी हुन्। उनले तत्कालीन एमालेको  २०४९ मा भएको पाँचौ महाधिवेशनमा समेत जबजमा असहमति जाहेर गरेका थिए।

२०४७ सालमा तत्कालीन माले र माक्र्सवादीबीचको एकता पछि बनेको एमालेले पाँचौ महाधिवेशनबाट जबजलाई पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा अंगीकार गर्दै आएको हो।

सोही एमालेको मूलघटकको रुपमा दाबी गर्दै त्यसको राजनीतिक स्वामित्व लिएको एकीकृत समाजवादीले दशौं महाधिवेनशन गर्ने निर्णय गरेको छ।

यस अघि एमालेले गरेको दशौं महाधिवेशनलाई अस्वीकार गरेको उक्त पार्टीले आगामी महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिँदै आगामी जेठको पहिलो सातादेखि महाधिवेशनको घोषणा गरेको हो।

महाधिवेशनमा जबज सान्दर्भिकताको बहस निकै पेचिलो रुपमा प्रवेश गर्ने आँकलन गरिएको छ। पार्टीमा सांगठनिक र वैचारिक विषयमा विमति राख्दै आएका सम्मानित नेता खनालले जबजको कार्यदिशाविरुद्ध फरक सैद्धान्तिक प्रस्ताव राख्ने नेताहरु औंल्याउँछन्।

यी नेताद्वयको सैद्धान्तिक मतभेद अब महाधिवेशनमा प्रकट हु्ने राजनीतिक वृत्तमा चर्चा छ। आगामी महाधिवेशनमा अध्यक्ष नेपाल र नेता खनालको सैद्धान्तिक टकराव एवं पार्टी नेतृत्वको दाबेदारीे सतहमा आउने बताइन्छ।

एमालेबाट विभाजन भएपछि सोही दलकै विधान अबलम्बन गर्दै आएको एकीकृत समाजवादीले विधान संशोधन गर्दै उमेर हद हटाएको छ। पुराना नेताहरुकै नेतृत्वमै दाहोरिने आकांक्षाले ७० वर्षे उमेर हद हटाइएको बताइएको छ।

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आजको सन्दर्भमा पनि जबजको सान्दर्भिकता अझै कायम रहेको बताउँछन्। उनले राजनीतिक कार्यक्रमका रुपमा पार्टीले जबजको विकल्प अहिल्यै तय नगर्नेे बताए। उनले जबजको सवल पक्षलाई स्वीकार्दै केही परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए।

‘आजको नयाँ सन्दर्भमा जबजकोे सान्दर्भिकता सकिँदैन परिमार्जन गर्दै अघि बढ्ने अहिलेको आवश्यकता हो। पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेकाले समाजवादको भ्रुण जबजमा छ।’, उनले भने, ‘अबको समाजवादी यात्रामा त्यसको आधार तयार गर्ने कार्यनीतिका लागि जबजका आधारभूत पक्ष अंगीकार गर्दै थप परिमार्जनको जरुरी छ।’

समाजवादी अर्थ व्यवस्थाको ढाँचा अनुरुप जबजमा रहेका सकारात्मक पक्षलाई समट्दै महाधिवेशनमा नयाँ कार्यदिशा तय गरिने खतिवडाले जनाए।

पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएकाले अब समाजवादी कार्यक्रमका लागि जबजमा केही परिमार्जनको जरुरी रहेको तर सान्दर्भिकता नसकिएको उनको तर्क छ।

जबजको असान्दर्भिकताका बारेमा पार्टीमा कुनै छलफल नभएको उनले जिकिर गरे। सम्मानित नेता खनालले पनि जबजको विकल्पमा नयाँ राजनीतिक कार्यदिशा आगामी महाधिवेशनमा पेश गरे त्यसमा छलफल हुने प्रवक्ता खतिवडाको भनाइ छ।

‘हाम्रो पार्टी गठनदेखि सातौं केन्द्रीय समितिको बैठकसम्ममा आउँदा अहिलेसम्म जबजको असान्दर्भिकता बारे संस्थागत रुपमा कुनै छलफल भएको छैन’, पार्टी सचिवसमेत रहेका उनले भने, ‘कसैलाई व्यक्तिगत रुपमा असान्दर्भिक लागेको भए आगामी महाधिवेशनमा नयाँ प्रस्ताव लिएर आउन सक्नुहुन्छ।’

शान्तिपूर्ण प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्दै सरकारमा पुगेर जनपक्षीय काम गर्ने तत्कालीन सन्दर्भमा जबजको आवश्यकता रहेपनि अहिले औचित्य सकिएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य रामेश्वर श्रेष्ठ औंल्याउँछन्। अहिलेको बदलिएको परिपेक्ष्यमा जबजको सान्दर्भिकता नरहेको उनको जिकिर छ।

उनी भन्छन्,‘जबजको औचित्य सकिएको छ। अहिलेको राजनीतिक परिवर्तनलाई जबजले परिकल्पना गरेको थिएन। त्यसैले सान्दर्भिकता सकियो, अब समाजवादी कार्यक्रम लक्षित नयाँ कार्यदिशामा जोड दिनुपर्छ।’

आगामी महाधिवेशनमा जबजको विकल्पमा नयाँ राजनीतिक कार्यक्रम तय गरिने उनी दाबी गर्छन्। जबजले विद्यमान नेपाली समाजको यथार्थ चित्रण नगरेको उनको ठम्याइ छ।

जबजको औचित्य सकिएकाले नयाँ समाजवादी राजनीतिक कार्यक्रम तय गर्नुको विकल्प नरहेको नेता श्रेष्ठको प्रष्टोक्ति छ । आगामी महाधिवेशनमा अध्यक्ष नेपाल पनि जबजको विकल्पका लागि सहमत हुने उनको विश्वास छ।

‘जबजको परिकल्पना भन्दा नेपाली समाज धेरै अघि बढीसक्यो, अहिले धरातलीय यथार्थता भिन्न छ। जबजले निर्देशित गरेको कार्यक्रमले अब मार्गनिर्देशन गर्न सक्दैन।’, नेता श्रेष्ठले भने, ‘मुलुकको संविधानले समेत समाजवादलाई अंगीकार गरिसकेकाले अब पार्टीको सैद्धान्तिक कार्यक्रम समाजवादी क्रान्तिलाई मार्गनिर्देशित गर्ने नयाँ पथप्रदर्शक सिद्धान्त तय गर्नुपर्छ।’

पार्टी निर्माणकै क्रममा रहेकाले उमेर हद हटाउने बाध्यात्मक अवस्था आएको उल्लेख गर्दै उनले आगामी महाधिवेशन पछि नेतृत्वमा शीर्ष तहका नेताहरुकै सम्भावना रहेको औंल्याए।

सबैको सहमतिमा अहिले अंगीकार गरेको जबजको विकल्पमा आगामी महाधिवेशनबाट समाजवादी कार्यक्रमसहितको नयाँ राजनीतिक कार्यदिशा तय गरिने नेता श्रेष्ठको भनाइ छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *