विश्व सिमसार दिवस

मानव कल्याणलाई सिमसार कल्याण

आज विश्व सिमसार दिवस। “मानवकल्याणलाई सिमसार (वेटल्याण्ड एण्ड ह्युमन वेलबिइङ) नारा लगाएर आज विश्वभरि यो महत्वपूर्ण दिवस मनाइँदै छ।

सधैं झैं यो वर्ष पनि अति महत्वपूर्ण र संबेदनशील यो दिवसको मर्म र भावनालाई सम्मान गर्न यो आलेख पस्किएको छु। मेरो लेख विज्ञतामा होइन, प्रकृति अवलोकनको हुट्हुटीमा सिमसारमा स्वयम् पुगेर देखेको भोगेको स्वअनुभवमा आधारित/केन्द्रित हुनेछ।

सिमसार गर्व

सानो देश नेपाल सिमसार र पानीमा बिशिष्ट, बिशाल र धनी छ। सगरमाथाको जग नेपालको बिचित्रको भौगोलिक विविधता अनुसार सिमसारमा २३२३ हिमताल, ३५५२ हिमनदी, ५३५८ ताल, अनगिन्ती कुण्ड, दह, पोखरी, झिल, कुवा, धारा, नदीनाला, नहर, बाँध, दलदल, धाप, सिम पर्दछन्।

पुग्न र पत्ता लाउन बाँकी हिमताल, ताल, झरना धेरै बाँकी छन् भनिएको छ। जुम्लादेखि जमुनिया, कालापानीदेखि केचना र कंचनजञ्घादेखि कञ्चनपुर (चाँदनी दोधरी) सम्मको धान खेतपनि सिमसारमा पर्दछन्।

सिमसारमा जल, थल र जीवनको सुन्दर र बिशिष्ट जीवनचक्र हुन्छ। सिमसार पृथ्वीकै सर्बोत्तम जैविक विविधताको खानी हो। विश्वमा सिमसारले ४० प्रतिशत बढी जीवजन्तु र वनस्पतिलाई आश्रय दिएको छ।

सिमसारले प्राकृतिक प्रक्रियाबाट जल फिल्टर र शुद्धिकरण गरेर हामीलाई स्वच्छ सफा कञ्चन पानी दिने भएकोले यसलाई पृथ्वीको मृगौला पनि भनिन्छ।
पर्यावरणीय, पर्यटकीय, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक दृष्टिले सिमसार सबैभन्दा सुन्दर, सुविधायुक्त र अमूल्य प्राकृतिक सम्पत्ति हुन्। मानव सभ्यताका उद्गम र संगमस्थल हुन्।

पृथ्वीको ७० प्रतिशत हिस्सा पानीले ओगटेको भएपनि ९७ प्रतिशत पानी पिउन योग्य छैन। पिउन योग्य पानीको श्रोत हिमखण्ड (वाटर टावर) हामीसँग छ। हाम्रा हिमताल, कुण्ड, ताल, झरना, नदीनाला, कुवा, धारो, भूमिगत जल पिउन योग्य पानीका मूल्यवान श्रोत हुन्।

निकुञ्ज, आरक्ष र संरक्षणक्षेत्र पृथ्वीको सबसे मूल्यवान पवित्र पूण्यभूमि, ध्यानभूमि, अध्ययनभूमि, अनुसन्धानभूमि र ज्ञानभूमि हुन्। आजका दिनमा यी सबैभन्दा धेरै सुन्दर शान्त र महँगा भूमि हुन्। जैबिक विविधताको खानी यी भूमिको महत्व, औचित्य र माग भविष्यमा झन् धेरै हुने निश्चित छ।

हेक्का रहोस्, पानी बिना निकुञ्ज आरक्षको कल्पना गर्न पनि सकिँदैन। पानी र सिमसार निकुञ्जका मुटु (रगत) हुन्। निकुञ्जलाई सजीव र गतिशील राख्ने बहुमूल्य इन्धन हुन्।

रामसार गर्व

रामसार इरानको सुन्दर सहरको नाम हो, जुन क्यास्पियन सागर किनारमा अवस्थित छ। सन् १९७१ फेब्रुअरी २ आजकै दिनमा त्यहाँ सिमसार संरक्षण गर्न विश्व सम्मेलन भएको थियो। रामसार नामको त्यही महासन्धीले एक देश न्यूनतम १ रामसार साइट्को अपेक्षा राख्दै सिमसारहरुको संरक्षण गरिछाड्ने संकल्प गर्‍यो।

आज विश्वमा १७२ देशका २५ सय मध्ये सानो पर्वतीय देश नेपालमा १० वटा सिमसार रामसारमा दर्ता भइसकेका छन्। हामी तात्ने जाग्ने र संरक्षण त्याग गर्ने हो भने अरु रामसार साइट् थप्न सक्ने सम्भावना छ।

कोशीटप्पु, बीसहजारी, जगदिशपुर, घोडाघोडी, रारा, से-फोक्सुण्डो, गोसाइकुण्ड, गोक्यो, माइपोखरी र ९ वटा तालैतालको सुन्दर नगरी पोखरा हाम्रा गौरवशाली रामसार साइट् हुन्।

अन्तर्राष्ट्रिय पहिचान, मान-शान र सम्मान पाएका विश्व सम्पदा हुन्। असंख्य र अथाह जैविक विविधताका भण्डार हुन्। अन्तर्राष्ट्रिय पंक्षी संसारका साझा घर हुन्।

यती धेरै विश्व सम्पदा रामसार साइट्को प्राकृतिक माला लगाएर बसेकी मूल्यवान मातृभूमिका अमूल्य नागरिक हौं हामी। हामीले हाम्रो मूल्य जति घटाएपनि विश्व मानचित्रमा हाम्रो प्राकृतिक स्थान र मूल्य उच्च कोटीमा दर्ज छ। हामी बहुमूल्य सिमसार याने कि सेतो सुनका मालिक हौं।

देखेको यथार्थ

यो वर्षभरिमा मैले घोडाघोडीताल, जगदिशपुरताल, फेवा वेगनासताल, सुनकोशी बेसिन कोशीटप्पु, बागमती, धापबाँध, भरतताल, झापाको पाँच पोखरी र टौदहको भ्रमण गरें। त्यहाँका जलजीवीहरुसँग भलाकुसारी गरें। तिनकै होमस्टेमा रात बिताए।

कोशी टप्पुमा माछा छैन। त्यो विश्व प्रशिद्ध सिमसार उर्बर, गतिशील, उत्पादनशील र सुन्दर हुँदाहुँदै पनि न पंक्षीलाई माछा बाँकी छ, न त्यहाँमात्र पाइने अर्नालाई पर्याप्त घाँस र शान्ति छ। मानव र घरपालुवा गाईभैसी अतिक्रमणले कोशीटप्पु गुणस्तरहीन छ।

एकै उडानमा साइबेरियादेखि हजारौं माइल उडान भरेर सगरमाथा पार गरि आउने भोका थाकेका पानीहाँस, चखेवा, कर्‍याङकुरुङ लगायतका पंक्षीहरुले के आहार खाएर पेट भर्ने? कुन तागतले अर्को लामो उडान भर्न तयार हुने?

जब कि कोशीटप्पुले वर्षेनी २६० प्रजातिका अतिथि पंक्षीहरुलाई अस्थायी आश्रय दिनुपर्दछ। जहाँ रैथानेसहित ४६५ बढी प्रजातिका पंक्षीहरु बिचरण गर्दछन्। समग्रमा ५० हजार बढी जचलचर पंक्षीहरुलाई यो रामसारले आश्रय दिन्छ।

उता सिमसारजीबीहरु सधैं गरिबीको रेखामुनी छन्। कुमाल, थारु, दनुवार, दुसँध, दराई, माझी, केवट, बोटे, मल्लाह र मुसारको उत्थान र उन्नयनमा प्रभावकारी योजना नहुनु उस्तै दुःखद छ।

अझ, राष्ट्रिय सर्वेक्षण र गणनाले नचिनेका जलजीबीहरु कुशर, कछारे, झाँगड, गोंगी, मुखिया, पोडे, वरहामुस, बाँतर, सहनी, सुनाहा लोपोन्मुख छन्। दुर्लभ अर्ना, पंक्षी, जलचर सँगसँगै सिमसार ज्ञानका खानी जलजीबीहरु पनि लोप भएपछि त्यो रामसारको के शोभा र अर्थ?

तिनले आर्जेको बिशिष्ट सीप, परम्परागत प्रविधिलगायत घाँस, बाँस, पराल, पटेर, पात, बेत, सिटाबाट कलात्मक तरिकाले बुन्ने डोका, नाम्ला, डाला, ढकिया, गुन्द्री चकटी, मुडा हराउँदै गएका छन्। तिनको जलचर, बनस्पति, फलफूल, लेउझ्याउ, जडिबुटी, कन्दमुलको अमूल्य औषधि ज्ञान, उपचार सीप, खानाको परिकार तीब्र लोपोन्मुख छन्।

राज्यको सिमसार ब्यवस्थापनले मुलुकको सिमसारमा आश्रित यी आदिबासीहरुको प्राकृतिक र परम्परागत ज्ञान, सीप, अनुभव र अभ्यासको कदर र संरक्षण गर्दै बिशेष कार्यक्रममार्फत राष्ट्रिय मुलधारमा समावेश गर्न बिलम्ब भइसकेको छ। समावेशीकरणको कागजी घोडाले सीमान्तकृत त्यो समूहलाई चिनेको देखिन।

पंक्षीप्रेमी र पंक्षी फोटोग्राफरहरु यो वर्ष ज्यादै निराश छन्। पंक्षी बिनाको उजाड सिमसार मृत मिर्गौला हो। निर्जीब जस्तै। पंक्षीले भरिएका सिमसारमात्र सजीव, स्वस्थ, गुणस्तरीय र सुन्दर मानिन्छन्।

पंक्षी नआउनु, नबाच्नु, भाग्नु, हराउनु भनेको अनिष्टको संकेत हो। पर्लयको पूर्ब सूचना हो। किन हामी अनिष्ट र पर्लयको यात्रा गरिरहेका छौं?

माइपोखरीबाट मौलिक गलैचा झ्याउ फ्याँकिएछ। वरिपरका रैथाने गुँरास, कटुस, चाँप, खस्रु, काउलो, पैयुको मिश्रित प्राकृतिक छटालाई अग्ला सुरिला जापानिज धुपीले बिस्थापित गरेछन्। सुन्दर ठकठके (पानी गोहोरो), असला माछालाई रंगीन माछाले विस्थापित गरेछन्।

नगर विकास कोषदेखि सांसद कोषसम्म खर्च गरि बनाएको सिमेण्टको बाँध, पक्की सडक, सिंढी, फलामे रेलिङ, पिकनिक सेड, वातावरण अमैत्री पूर्बाधारले रामसारलाई नष्ट र ध्वस्तको बाटोमा राखेको भान भयो। वरिपरिको ढुंगा खानीले माइपोखरी सुकाउने निश्चित छ।

जलकुम्भी र मिचाहा प्रजातिले फेवाताललगायत धेरै तालहरु सुकाएको दुर्भाग्य छँदै छ। अतिक्रमण र फोहोरको दुर्दशा भन्नै परेन।

बागमतीको खेर गएको पानी र स्याल डराउने उजाड जमिनको उपयोग गरेर एकजना अमुक व्यक्तिले बनाएको भरततालको पंक्षी आश्रय, पर्या–पर्यटन, रोजगार र आर्थिक गतिबिधि देखेर उर्जा भरियो।

झापाको सुनसान शान्त ५ पोखरीमा पुग्दा स्वर्गमा पुगेको अनुभूत भयो। ५ पोखरी हाँसले भरिएको थियो र हात्तीको उत्तम बिचरण क्षेत्र थियो।

चुनौती

विश्वले निकट भविष्यमा अकल्पनीय खाद्य र पिउने पानीको संकट भोग्ने बिज्ञहरुको उद्घोष संवेदनशील छ। भविष्यको युद्ध पानीको लागि हुनेछ भन्ने दाबीमा पनि सत्यता देखिन्छ। यी खतरा खाद्य र पानी संकटबाट नेपाल अछुतो रहने कुरा आउँदैन।

प्रकृतिले दिएको सेतो सुनको संरक्षण, ब्यवस्थापन र सदुपयोग गर्न हामी चुकिरहेका छौं। र, पानीको हकमा हामीले पुच्छरदेखि शिरसम्म नदीहरु बेचिसकेका छौं। राजनीतिक इच्छाशक्ति, नेतृत्वको नैतिकता, भिजन, मिसन प्रकृति बिरोधी छ।

ताल, नदीनालाको अतिक्रमण दोहन र बिक्री बितरणपछि निकुञ्ज भित्रका नदीनाला, ताल ताक्ने, कब्जा गर्ने बर्तमान सरकारी दुष्प्रयास होस् वा सिमसारको गहना पाटेबाघ सिकार गर्नु गराउनु पर्दछ भन्ने मन्त्रीको शंखनाद, ती सबै अन्तर्राष्ट्रिय सन्धी बिपरीतका अनैतिक सोच र हर्कत् हुन्।

भुँइमान्छे र तिनको प्रकृति लुटेर खोसेर मासेर बिचौलिया तस्कर पोस्ने चोरबाटोबाट ल्याएका कार्यविधि अक्षम्य अपराध हुन्। समग्रतामा जल जंगल लुट्ने लुटाउने सक्ने काममा राजनीतिक नेतृत्व कम्मर कसेर लागेको छ। सिमसार अतिक्रमण, दोहन, बिनास, बिक्री बितरण उसैका कर्तुत हुन्।

सिमसारअमैत्री भद्दा बिकास पूर्वाधार निर्माण, खानेपानी र सिंचाई आयोजनाले सरकारको नियत र हैसियत प्रकट गरेकै छन्। विज्ञानले हरेक कुरा आबिष्कार गरे पनि रारा तालमा मात्र पाइने माछा, कोशीटप्पुमा मात्र पाइने सुन्दर पंक्षी, सिमसारमा रमाउने खरमयुर, माई पोखरीको रैथाने सुन गोहोरो सृष्टि गर्न सक्दैन। यी दुर्लभ प्राणीहरु लोप भएपछि पुनः फर्काउन सक्ने सुत्र र मन्त्र केही पनि छैन।

कुशासनजन्य रोग भोक गरिबी बेरोजगार र अशिक्षा सिमसारलाई गम्भीर चुनौती हुन्। दोष जलवायु परिबर्तनलाई दिएर प्रकृतिको प्राण पानीमाथि मान्छेले गरेको अन्याय नै सबैभन्दा ठूलो चुनौती हो।

समाधान

आजका सचेत जनताले सिमसारको रक्षा कल्याण सम्मानमा एकजुट् भई जुट्न अपरिहार्य छ। आफ्ना नदीनाला, ताल, निकुञ्ज बेच्ने सरकारलाई खवरदारी, निगरानी र नियन्त्रण गर्न जरुरी छ।

मेलम्ची जस्तै नागमती बाँधको जोखिमपूण निर्माण अनिवार्य रोकेर उपत्यका वरिपरि साना र मझौला सयौं, हजारौं पोखरीहरु निर्माण गरि पर्यावरणीय अनुकूलन र सन्तुलन गर्न जरुरी छ।

प्रकृतिप्रेमी धर्तीपुत्रहरुले भरतताल जस्ता हजारौं पोखरीको माला तराईमा बनाउन्। अर्को लाइन पोखरीको माला चुरेको फेदी मधेसको शिरमा बनाउन्। चुरेको खोंच-खोंच र पत्र-पत्रभित्र साना र मझौला पोखरी नै पोखरी हुन्।

ठूलठूला नदीलाई थुनेर, घुमाएर, बटारेर, फर्काएर, चुरे र महाभारतका फेदीमा बिभिन्न आकारका ताल तलैया, नहर बनाउन्। तराई, चुरे, महाभारत हुँदै हिमालसम्म पत्रपत्र, तहतह धेरै तल्ले पोखरीहरु निर्माण हुन्।

धेरै लगानीका कमिसनखोर अपूरा ठूला परियोजना भन्दा साना लगानीका स–साना आयोजना सुरक्षित र प्रभावकारी हुनेछन्। भूमिगत जल पुनरभरणमा योगदान गर्ने छन्।

स्मरण रहोस्, नेपालको संबिधानले सिमसार संरक्षण, सम्बद्र्धन, व्यवस्थापन र दिगो उपयोग गर्न स्थानीय सरकारलाई यथेष्ट अधिकार दिएको छ। आ-आफ्ना सिमसारको रक्षा कल्याण सम्मान गर्न स्थानीय सरकार संचालन ऐनले आवस्यक अधिकार र जिम्मेवारी तोकेको छ।

कतै स्थानीय सरकारलाई यी सम्पदा मास्ने र बेचिखाने संघीय सरकारको भुतप्रेत नचढोस्। भद्दा र कुरुप पूर्वाधार विकासले सिमसार नष्ट गर्ने दुस्साहस नआवस ।

देशभरि समानुपातिक तैनाथ नेपाली सेना र सबै सुरक्षा निकायका पोष्ट, ब्यारेक, हेड्क्वाटरमा भएका पोखरीहरु मरामत संभार पुनरभरण गरेर जलमग्न बनाउन अपरिहार्य छ।लाखौंलाख बृक्षारोपण गर्न र नयाँ पोखरी थपेर फायर फाइटिङलाई पानीको बन्दोबस्त गरिराख्न माथिको लिखित आदेश चाहिँदैन।

पृतना अड्डामा इटहरीको जस्तो ४ पोखरी, बाहिनी अड्डामा बालाजु र झापाको जस्तो ३ पोखरी, गणमा सिरहा र लक्ष्मीनिवासको जस्तो २ पोखरी तथा गुल्म र पोष्टहरुमा कम्तीमा १/१ पोखरी अनिवार्य बनाउने सिमसारमैत्री नीतिले देशमा हजारौंहजार सिमसार एवं पंक्षी र जलचरहरु थपिने छन्।

फायर फाइटिङ तयारीलाई फौज आत्मनिर्भर हुने छ। वाताबरणलाई अनुकूलन, सन्तुलन र सौन्दर्यताका फाइदाहरु कति कति। वरिपरि माईलौ टाढाटाढाका पानीका श्रोतहरु रिचार्ज हुनेछन्।

डिच्कम्बण्ड प्रतिरक्षा (डिसिबि डिफेन्स) को अवधारणा अनुसार पूर्व पश्चिम राजमार्गको समानान्तर बहुउपयोगी सानदार नहर निर्माण गरेर कोशीहरुको पानी सदुपयोग गर्ने सामरिक रणनीति तर्जुमा र कार्यान्वयन गर्न ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनाले सरकारलाई दबाबकारी सुझाव दिन सक्दछ।

खण्ड खण्डमा निर्माण गरिने यस्तो नहर जलयातायातको लागि उपयुक्त हुनुका साथै कृषि विकासका लागि कायापलट गर्ने माध्यम हुन सक्दछ।
महानगरपालिकाले घरनक्शा पास गर्दा बर्सातको पानी जम्मा गरि अनिवार्य भूमिगत जल पुनरभरण गर्नुपर्ने बाध्यकारी ब्यवस्था लागू गर्न सक्दछन्।

चित्ताकर्षक गर्ने लाखौं चुट्टी नै चुट्टी भएको हिमालप्रधान र पहाडप्रधान देशमा उपयोगहीन, उत्पादनहीन, भद्दा, वातावरणअमैत्री आरसीसी भिउटावर र अर्थहीन स्मृति गेटमा अर्बौं र करोडौं लगानी गरेर विकासको खिल्ली उडाउनु भन्दा हजारौं भरततालहरु निर्माण गरेर वातावरणीय, पर्यटकीय, आर्थिक, साँस्कृतिक, धार्मिक, सामाजिक, ब्यापारिक लाभ उठाउनु बुद्धिमानी हुनेछ।

ताल वरिपरि पुष्पबाटिका, हरित उद्यान, पंक्षीबास र वनजंगल बनाएर सुन्दर शान्त स्वर्ग सृजना गर्न अवको स्थानीय ध्यान र लगानी केन्द्रित हनुपर्दछ। त्यसले भविष्यका सन्ततीलाई वातावरण रक्षादेखि मनोरञ्जन र आर्थिक समृद्धिसँग जोडिदिने छ।

तसर्थ, ७ प्रदेशले ७/७ वटा ठूला तालहरु, ६ महानगरपालिकाहरुले ६/६ वटा, ११ उपमहानगरपालिकाहरुले ५/५ वटा, २१६ नगरपालिकाहरुले ४/४ वटा, ४६० गाउपालिकाहरुले ३/३ वटा र ६७४३ वडा कार्यालयहरुले २/२ मझौला र साना पोखरीहरु निर्माण गर्ने सिमसारमैत्री योजना बनाउन।

त्यसको लागि स्वीकृति, श्रोत–साधन, श्रम, सीप र बजेटको अभाव हुने छैन। इच्छाशक्ति र हिम्मत भए पुग्दछ।

अन्त्यमा, “मानव कल्याणका लागि सिमसार” नारा कागजमा सीमित नभई ब्यवहारमा उतार्न सकियोस्। प्रकृतिले दिएको अथाह उच्च कोटीको पानी संरक्षण, व्यवस्थापन र सदुपयोगमा वर्तमान र भावी पिँढीको बिशेष ध्यान जावस्। र, यती महत्वपूर्ण दिवस वर्षको एकपटक होइन हरेक दिन मनाइयोस्।

सिमसार फोटोहरु उपलब्ध गराउने फोटोग्राफर उत्सवजंग थापालाई हार्दिक आभार।

विश्व सिमसार दिवसलाई शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *