धर्म र राजनीति

कपिल लोहनी
२० माघ २०८० ८:०८

समाजमा हुने विभिन्न प्रकारका बिकृतिलाई न्युनिकरण गर्न, खराब काम गर्ने सोचलाई दुरुत्साहित गर्न तथा मानव जातिको अभिभावकत्वको लागि, सुरक्षा र समृद्धिको प्रतिकको रूपमा विश्वका विभिन्न ठाउँमा विभिन्न नाममा ‘ईश्वर’ को कल्पना गरियो र पुज्न थालियो।

ईश्वरलाई कसैले पनि नदेखेको भए तापनि विभिन्न ठाउँमा आ-आफ्ना धर्मकर्महरूको प्रतिपादन गरेर आ-आफ्ना आस्थाका ईश्वरलाई पुज्न थालियो। दुःख तथा संकट पर्दा, एकान्तमा बस्दा, आफ्ना अभिभावक र प्यारा व्यक्तिहरू गुमाउँदा एवम् समृद्धिको आशामा पनि मानिसले आ-आफ्ना धर्म मुताविक ईश्वरलाई सम्झन्छन् र आराधना गर्दछन्।

आजभन्दा हजारौँ वर्ष पहिलेसम्म कुनै एक क्षेत्रमा रहेका मुलुक तथा समुदायको एउटै प्रकारको धर्म हुने गर्दथ्यो। जसले गर्दा धर्म कै लागि काटमार त्यतिबेला सायद हुँदैनथ्यो होला।

तर त्यतिबेलाका धर्मगुरु तथा धर्मका मसिहाहरूले आफ्ना मनमा सिर्जिएका विभिन्न विचारलाई नै ईश्वरको विचार वा ईश्वरीय वाणी भन्दै प्रचार गर्ने गर्नाले उनीहरूले भनेका कुरामा विश्वास गर्न करै लाग्दथ्यो।

हाम्रा वेद, पुराण, महाभारत लगायत सबै धर्मका ग्रन्थहरू मानिसले नै लेखेका हुन् र समयको प्रवाहसँगै पुस्तकाकारमा आउने युगभन्दा अघिसम्मका सबै सम्वाहकहरूले यी धर्मग्रन्थको आ-आफ्नै प्रकारले व्याख्या तथा काटछाँट र वर्णन गर्दै जनमानसमा पु¥याएका हुन्।

त्यसैले एउटै धर्मभित्र पनि विभिन्न प्रकारका मान्यतासहितका अनेक समूह तथा आस्था अनि विश्वासहरू बन्न थाले। धार्मिक आस्थामा विभाजित यस्ता भिन्दा भिन्दै सम्प्रदायहरू बीच आफ्नै विश्वास र विचार मात्रै ठीक भन्ने धारणाले गर्दा विवाद र झैझगडा बढ्दै जान थाल्यो।

धर्म र राजनीति एकापसबाट अलग हुन नसके पनि धर्म कै निम्ति विश्वको कुनै पनि भागमा हिंसा तथा अशान्ति नहोस् र आउँदा दिनहरूमा सबै धर्ममा विश्वास गर्ने मानिसहरू बीच धार्मिक सहिष्णुता रहोस् तथा राजनीति गर्नको लागि धर्मको दुरुपयोग नहोस् भन्ने कामना छ।

फलस्वरुप समाज एउटै धर्मका पनि विभिन्न हाँगाबिँगा सहितका मुलुक र समूदायमा विभाजन हुन थाल्यो। यिनै विश्वासको आडमा जनतालाई नेतृत्व दिन सक्ने व्यक्तिहरू ती ससाना मुलुक, कविला र समूदायका शासक नै हुन पुगे।

धर्मगुरुहरूका कुरालाई विश्वास नगरेर आफ्नो मौलिक विचार राखेर बोल्ने त्यतिबेलाका निष्पक्ष विद्वानहरू झनै काफिर वा नाश्तिकमा गनिएर चरम यातना वा मृत्युदण्डकै शिकारसम्म हुन पुगे।

एउटै मुलुकमा पनि धार्मिक कट्टरपन्थी विचारकहरूले नयाँ नयाँ सोच र धारणाको विकास गरेर शासकवर्गलाई उनको विचार मान्न वाध्य तुल्याउँथे। यसरी नै शासन र राजनीतिमा धर्मको प्रभाव पर्दै नै गएको हो।

परापूर्वकालमा विज्ञान तथा प्रविधि र आधुनिक व्यवस्थापनले जरो पनि नहालिसकेको अवस्थाले गर्दा त्यतिबेलाका महात्मा, ऋषिमुनि तथा धर्मगुरुहरू विद्याका सर्वेसर्वामा गनिन्थे। राजा-महाराजादेखि रङ्कसम्म उनैको आश्रममा गएर विद्या र ज्ञान हासिल गर्दथे। त्यहीँ कुटनीति र राजनीतिको समेत शिक्षा हासिल गर्दथे।

सैन्य तथा शस्त्रास्त्रको तालिम समेत त्यहीँबाट प्राप्त गर्दथे। त्यस्ता ऋषिमुनीहरू छिमेकका अन्य मुलुकमा पनि आवत जावत गरिरहने र उनको प्रभाव क्षेत्र ठूलो हुने भएकोले छिमेकी मुलुकका कैयन् झगडाहरू उनिहरूकै माध्यमबाट पनि सुल्झिने गर्दथे। यो परम्परा पूर्वीय संस्कृतिमा मात्र नभई पश्चिमा संस्कृतिमा पनि हावी नै थियो।

राजा-महाराजाहरू आफ्नो राज्य विस्तारको क्रममा विभिन्न यज्ञ तथा पाठपूजा गराएर ऋषिमुनीको आशीर्वाद थापेर युद्धमा सामेल हुन्थे । जनताले पनि धर्मपालक राजाको साथ दिने गर्दथे। यसरी नै वीरताको जग बस्दै गएको हो।

पछिपछि मध्य एशिया र दक्षिण तथा दक्षिणपूर्वी एशियामा सनातन धर्म तथा वौद्ध धर्म शान्तिप्रिय तवरले नै फैलँदै गएको भए पनि क्रिश्चियन धर्म र इश्लाम धर्म भने धेरै ठाउँमा बलजफ्ती लादिँदै गएका हुन्। बेलायत तथा अन्य युरोपेली राष्ट्रहरूले आफ्ना साम्राज्यहरूमा बलजफ्ती नै धर्म फैलाएका थिए।

त्यस्तै अष्ट्रेलिया, न्युजिल्याण्ड, तथा उत्तर र दक्षिण अमेरिका तथा क्यानाडामा पनि साम्राज्य खडा गरेर र त्यहाँका आदीवासीहरूको निर्मम दमनसहित क्रिश्चियन धर्म फैलाएका हुन्।

पछिल्लो समयमा भने फिलिपिन्स, कोरिया, दक्षिण अफ्रिका जस्ता मुलुकमा राजनीतिक प्रभावका साथै विकास परियोजना सञ्चालन गर्ने निहुमा धर्मप्रचारकहरू पठाएर त्यहाँका सिधासाधा गरिव जनतालाई धर्म परिवर्तन गर्न उक्साएका थिए भने अधिकांश जनसंख्याले नै धर्म परिवर्तन गरेको थियो।

भारतमा बेलायतको साम्राज्य कायम भएपछि त्यसरी सिधा वा जबर्जस्ती ढङ्गले आफ्नो धर्म लाद्न नसके पनि दलित, उत्पीडित, अछुत र विपन्न वर्गका मानिसहरूलाई भने ललाई फकाई गरेर इशाइ धर्म मान्न उक्साएका हुन्।

त्यस्तै नेपालमा राणाशासनको पतन पश्चात आर्थिक विकासको क्रम शुरु भएपछि विकासमा सघाउन आएका धेरै विदेशी विकासे संस्थाहरू धर्म प्रचार गर्ने धन्दामा लागेका हुन् र आज झनै यो क्रम बढ्दो छ।

इश्लाम धर्म पनि मध्यपूर्वबाट दक्षिण एशिया, मध्य एशिया र अफ्रिकामा त्यतिबेलाका अरब र फारसी शासकहरूले त्यहाँ हमला गरेर बिजय हासिल गर्दै पुराना सभ्यता, धर्म र संस्कृतिलाई ध्वस्त पार्दै नै फैलाएका हुन्।

पूर्वमा इन्डोनेशियासम्म र उत्तरमा मध्य एशिया तथा चीन र मंगोलियासम्म अनि अफ्रिकाको झण्डै आधा भूभागमा ईस्लाम धर्म पैmलियो। भारत वर्षमा पनि करिव एक हजार वर्षअघिदेखि हिन्दू तथा वौद्ध र अन्य धर्म र आस्थालाई ध्वस्त पारेर नै इस्लाम धर्मले जग हालेको हो।

आज आएर हजार वर्षको इस्लामिक इतिहास बोकिसकेको दक्षिण एशियाबाट इस्लाम धर्मलाई निमिट्यान्न पारेर फेरि हिन्दूत्व वा वौद्धत्वको उत्थान गर्न असम्भव छ। आजको एक्काइसौँ शताब्दीमा पनि भारत जस्तो विशाल मुलुकले कुनै एउटा धर्मको उत्थानको निम्ति कट्टरपन्थी सिद्धान्त अपनाउनु त्यति शोभनीय हुँदैन।

तर उसले हाल गरिरहेको हिन्दू धर्मको उत्थान र रक्षा हुने कार्यबाट अन्य धर्मलाई कुनै आपत्ति र असहजता नहुने हो भने दक्षिण एशियाको पुरानो सभ्यतालाई जोगाउन यसले राम्रै मद्दत पुग्ने छ, भलै यो चुनावी स्टन्ट नै किन नहोस्।

तर हिन्दू र वौद्ध धर्म र संस्कृति हाम्रो क्षेत्र यानी दक्षिण एशियामा सँगसँगै जानु पर्ने कुरालाई भने बिर्सनु हुँदैन। विश्वको सबैभन्दा बढी अर्थात् २७.५ करोड मुसलमान जनसंख्या रहेको इन्डोनेशिया पछि दक्षिण एशियाका पाकिस्तान (२० करोड), भारत (१९.५ करोड) र बंगलादेश (१५.४ करोड) दोस्रो, तेस्रो र चौथो बरियतामा पर्दछन्। त्यसैले यो विशाल मुश्लिम जनसंख्यासँग मिलेर नै अघि बढ्नु उचित हुन जान्छ।

बेलायतले आजभन्दा करिव ७६ वर्ष पहिले भारतलाई स्वतन्त्रता प्रदान गर्न वाध्य भएपछि त्यहाँ हिन्दू र मुश्लिम जनताबीच विवाद उत्पन्न गराएर यी दुई धर्मावलम्वीको भिन्दा भिन्दै राज्य नै बनाउनुका साथै वौद्ध धर्म मान्ने बर्मालाई पनि भारतबाट अलग गरेर भारतलाई तीन विशाल टुक्रामा बाँडिदियो।

महात्मा गान्धी एक सच्चा हिन्दू भए पनि उनले हिन्दू, वौद्ध तथा मुसलमानहरूको अधिकार र भारतवर्षमा शान्ति र समृद्धिको निम्ति यो ऐतिहासिक तर निकै दुखद विभाजनलाई पनि स्विकारेकाले नै आखिर उनको हत्या एक कट्टरपन्थी हिन्दूबाट नै हुन गयो।

उतिबेलाका गान्धी, नेहरु, सुवास, शास्त्री आदि नेताहरू राजनीतिको निम्ति धर्मको आड लिँदैनथे। आज भारतमा हिन्दूत्व चरम उत्कर्षमा पुगेको बेलामा केही कट्टरपन्थी समुहले महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई महान् बनाउन समेत पछि परेका छैनन्।

मुसलमानहरूको भिन्दै राज्य पाकिस्तान बनेकोले पनि त्यहाँ कट्टरपन्थी र उदारवादी मुसलमानहरूबीच शुरुदेखि नै मतभिन्नता र भिडन्त भइ नै रहेको छ। मुसलमान राष्ट्र बनेर पनि पाकिस्तानले आफ्ना राज्यहरूमा राजनीतिक समान व्यवहार गर्न नसकेर पूर्वी पाकिस्तान टुक्रिन पुग्यो भने उदारवादी तर निकै महत्वाकांक्षी नेता जुल्फीकार अलि भुट्टो फाँसीको तख्तामा झुण्डीन पुगे।

त्यस्तै अन्य पाकिस्तानी प्रधानमन्त्रीहरू लियाकत अलि खान र बेनजीर भुट्टोको पनि हत्या भयो। उता पाकिस्तानबाट टुक्रिएर बनेको नयाँ राष्ट्र वंगलादेशका राष्ट्रपिता तथा प्रथम राष्ट्रपति शेख मुजिबुर रहमान पनि आफ्ना परिवारका अधिकांश सदस्यहरूसहित अति निर्मम हत्याकाण्डमा मारिए।

खासगरी निरङ्कुश शासकहरूले धर्म, राष्ट्रियता र सैनिक बलमा शासन गर्ने गर्दछन्। पाकिस्तानमा पनि जनरल जियाउल हकले धार्मिक कट्टरपन्थ र चरम राष्ट्रियताको वकालत गरेर नै शासन गरे।

अर्को तर्फ अयुव खान, याह्या खान र मुसर्रफजस्ता धार्मिक हिसाबले निकै उदारवादी सैनिक शासकहरूको भने धार्मिक कट्टरपन्थीहरूको विरोध कै कारण पतन हुन गयो। इरानका शाह रेजा पहल्वी पनि धार्मिक कट्टरपन्थकै फेलामा परेर देश छोड्न वाध्य भएका थिए भने त्यहाँ हालसम्म पनि आयातुल्ला रुहुल्ला खोमेनीकै पक्षधरहरूको इश्लिामिक शासन छ।

उता अफगानिस्तानका उदार राजा जहिर शाहलाई वामपन्थी विचारधारा भएका आफ्नै नजिकका भारदारहरूले पदच्युत गरेका थिए भने पछि रुसी हमला र त्यसपछि तालिवानको शासनले यो मुलुक पनि धार्मिक कट्टरपन्थको राजनीतिले गर्दा बर्बादीबाट उम्कन नै सकेको छैन।

वर्मा, थाइल्याण्ड, श्रीलङ्का जस्ता वौद्ध धर्मावलम्वीहरूको वाहुल्य भएका मुलुकमा शान्तिप्रिय बौद्ध धर्मको समेत दुरुपयोग गरेर राजनीति गर्ने चलन छ। राजनीतिक मतभेदका कारण कैयन् वौद्ध भिक्षुहरूले आत्मदाहसम्म गरेका छन् भने कैयन्लाई सेना तथा क्रुर शासकहरूले दमन गरेर मारेका पनि उदाहरणहरू छन्।

कम्बोडियामा उग्रवादी कम्युनिष्टहरूले हजारौँ भिक्षुहरूको हत्या गरेको थियो भने आज आएर ती भिक्षुहरूको आवाज समेत राजनीतिमा सुन्नु पर्ने वाध्यता छ। मुसलमानहरूको आगमनभन्दा पहिले भारतवर्षमा र मध्यएशियासम्म पनि वौद्ध धर्म र संस्कृति तथा राज्य फैलँदै गएको थियो। तर मुसलमानहरूको आक्रमणमा वौद्ध धर्म, संस्कृति र स्मारकहरू निकै नै ध्वस्त हुन पुगे।

अफगानिस्तानका तालिवानले वौद्ध सभ्यताको केन्द्र वामियानमा भएका वौद्ध कलाकृतिहरूलाई ध्वस्त पारेर आफ्नो धर्म र राजनीति उच्च रहेको सन्देश दुनियालाई दिन खोजेका थिए र यसको विरोध पुरै विश्वले गरेको थियो।

तर यहाँ ध्यान दिनु पर्ने कुरा के पनि छ भने करिव डेढ सय वर्ष जति पहिले बेलायतले भारतलाई आफ्नो साम्राज्य बनाउने क्रममा दिल्लीको लालकिल्ला लगायत मुसलमानहरूका थुप्रै संरचना र कलाकृति ध्वस्त पारेको थियो।

त्यस्तै चीनमा सांस्कृतिक क्रान्ति गर्ने भनेर राजनीतिलाई आफ्नो पक्षमा ल्याउन माओले त्यहाँका अधिकांश धार्मिक केन्द्रहरू ध्वस्त पार्ने कार्य गरिरहँदा उनलाई सम्झाउन र त्यस्तो कार्यको अन्त गर्न सुधारवादी नेता चाउ एन लाई जस्तालाई निकै मेहनत गर्नु परेको थियो।

भन्नुको तात्पर्य के हो भने, राजनीतिक स्वार्थकै निम्ति धर्मको प्रयोग गरेर कला, संस्कृति र स्मारकहरूको हानि नोक्सानी आजका विकसित मुलुकहरूबाट समेत भएको छ। हालको इजरायली बदलाको भावनाले हुँदै गरेको विध्वङ्श समेत यसको उदाहरण हुन्।

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह हिन्दू धर्ममा प्रगाढ आस्था राख्ने राजा भए पनि उनले स्वदेशमा नै बन्दुक, तोप र बारुद उत्पादन गर्नको लागि लखनउदेखि मुसलमान कारिगरहरू ल्याएर सेनामा भर्ती गरेका थिए।

तर उनले धर्म नै प्रचार गर्नको निम्ति पस्न खोजेका बेलायती पादरीहरूलाई भने निकै कडाईका साथ फिर्ता पठाउने निर्देशन दिएका थिए। राणा प्रधानमन्त्रीहरू पनि निकै क्रुर तथा आफू आफूमा नै शासनको निम्ति खुन खराबा गर्नमा माहिर भए पनि उनीहरू हिन्दू धर्मका कडा अनुयायी थिए।

आफूले गर्ने गरेका हत्या हिंसाको पाप मोचन गर्न उनीहरू राज्यकै ढुकुटीबाट धन खर्चेर प्रायच्चित्त दान गर्न पनि पछि हट्दैन थिए। चन्द्रशमशेरको शासनकालमा नेपालका मुसलमानहरूलाई खदेड्ने योजनासहित उनले शुरु गरेको मुसलमानहरूको जनगणना टर्किस साम्राज्यका सम्राटको विरोधपत्र आएपछि तुहिएको कुरा इतिहासमा पढिएको थियो।

धार्मिक कट्टरपना तथा सत्ताको निरन्तरताकै लागि जङ्गबहादुरदेखि अन्य राणा शाषकहरू पनि भारत वा बेलायतकै भ्रमणमा जाँदा पनि भान्से र खाद्यान्न यतैबाट लगेर हिन्दूले नै पकाएको मात्र खान्थे।

जात जाने तथा भाइभारदार र दुनियाको नजरबाट निष्ठाकर्म नगर्ने अधर्मीको संज्ञा पाइएर सत्ताच्युत हुनु पर्ला भनेर फिरङ्गीलाई सकेसम्म छुन पनि डराउँथे त्यतिबेलाका राणाशासकहरू। आज आएर यस्ता कुरा सुन्दा दन्त्य कथा जस्तो लाग्छ।

नेपालमा धार्मिक कट्टरपना वा राजनीतिमा धर्म त्यति हावी नभएको भए पनि खासगरी पञ्चायती व्यवस्था र पछिल्लो समयको राजतन्त्र पनि धर्म, राष्ट्रियता र सेनाको बलमा नै टिकेको थियो।

मुलुकमा अनुशासन ल्याउन र राष्ट्रियताको भावनाको विकास गर्न पनि एक किसिमले त्यस्तो परिपाटी ठीकै हो तर आजको वैज्ञानिक र सबै क्षेत्रमा स्वतन्त्रताको आशा गरिने युगमा राजनीतिलाई धर्मसँग जोडेर अघि बढाउनु त्यति उपयुक्त हुँदैन।

आज हामी धर्म निरपेक्ष राष्ट्र भयौँ भन्दैमा आर्थिक प्रलोभनकै भरमा आफ्नो धार्मिक आस्थालाई टुटाउने तथा मुलुकको धार्मिक सहिष्णुतामा आँच आउने कुकार्य पनि कुनै पक्षबाट पनि हुनु हुँदैन।

आज आएर धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट सिद्धान्तलाई पालना गरिरहेको अभिनय गरिरहेका नेपालका धेरै तथाकथित वामपन्थीहरू कुनै बेला धर्मको ठूला विरोधी थिए भने आज उनीहरू पनि धर्मको आडमा राजनीति गर्ने हैसियतमा पुगेका छन्।

पशुपतिनाथदेखि नेपाल र भारतका विभिन्न मठमन्दिरको दर्शन गर्ने तथा वेद र पुराणका ज्ञाता जसरी नै बोल्ने आँट गर्ने यी नेताहरू नेपालका जुनसुकै समूदायका धार्मिक चाडपर्वमा पनि सार्वजनिक बिदा दिन चुक्दैनन् भने नेपालका चार वीर शहिदहरूलाई सोह्र हजारको हाराहारीमा मारिएर शहिद घोषणा भएका व्यक्तिहरूसँगै मिसाउने र शहिद दिवसको बिदा समेत काट्ने भइसके।

हालै सुन्नमा आए अनुसार लुम्बिनीका कैयन् वौद्ध धर्मका पुरातन स्थलहरू उत्खनन गर्ने वहानामा गैरसरकारी निकायलाई १०० वर्षको निम्ति भाँडामा दिने जस्ता अति नै गैरजिम्मेवार कदम पनि चाल्न थालिसके। यसरी पुरातात्विक महत्वका स्थल भाडामा दिने चलन विश्वको कुनै मुलुकमा पनि हुँदैन।

एकजना वामपन्थी पूर्वप्रधानमन्त्री नेपालका धर्म र संस्कृतिका प्रकाण्ड विद्वानहरूलाई समेत माथ दिने गरि धर्म र संस्कृतिका वेत्ता र महान् दार्शनिक सरी प्रवचन दिन नहिच्किचाउने भएका छन्।

झनै केही वर्ष पहिले भारतको कट्टर हिन्दूवादी सत्तारुढ पार्टी भाजपालाई समेत निकै उत्तेजित पार्दै उनले अयोध्या नेपालमा थियो र राम नेपालमा जन्मेका हुन् भनेर भन्दा एउटा राजनीतिक हलचल नै मच्चिएको थियो।

आज कुनै पनि छिमेकीलाई नगन्ने भारतका शासकहरूलाई त्यस्ता कुरा सुन्दा कत्तिको पीडा महसुस हुनुका साथै क्रोध पैदा भयो होला। अर्का वामपन्थी प्रधानमन्त्रीले पनि हालै मात्र नेपाल र भारतका तिर्थस्थलमा गेरु वस्त्र लगाएर पूजा गरेको तथा पुरै मन्त्रिपरिषद्का सदस्यलाई पशुपतिनाथको मन्दिर दर्शन गर्न लगेको देख्दा राजनीतिमा धर्मको महत्ता अझै पनि कति धेरै रहेछ भन्ने कुरा स्पष्ट हुन जान्छ।

हुनत चन्द्रमामा मान्छे पठाइसकेको अमेरिकाको राष्ट्रपतिले आफ्नो पदको शपथग्रहण गर्दा पनि चर्चमा गएर प्रार्थना गरेको वा बेलायतका नयाँ राजा चाल्र्सले चर्चमा प्रार्थना गरेर बाइबल छोएर शपथ लिएको देख्दा आजको आधुनिक युगमा पनि आ–आफ्नो धर्मले समाज र राजनीतिमा कस्तो प्रभाव पारेको हुन्छ भन्ने कुरा छर्लङ्गसँग बुझ्न सकिन्छ।

पुरानो जमानामा धर्मकै आधारमा राज्य विस्तार गर्न ठूला ठूला युद्ध हुने गरेको भएता पनि आज आएर राजनीतिको निम्ति धर्मलाई हतियार बनाउने गरिएका उदाहरणहरू विश्वभर देखिने गरेका छन्। इजरायल र प्यालेस्टान वा अरब कै विगत धेरै दशकदेखि जारी युद्ध पनि धर्मको लागि भएको युद्ध नै हो।

यो युद्धमा सधैँ अमेरिका र युरोपको साथ इजरायललाई नै हुने गरेको छ। धर्मको नाममा नै टुक्रिएका पाकिस्तान र भारत कै विगतका ३ युद्ध र आजसम्मका तिक्तता मुसलमान बाहुल्यता भएको कास्मिरको प्राप्तिको निम्ति नै भएको हो।

भारतमा सन् १९९० को भाजपाको लालकृष्ण आडवाणी नेतृत्वको देशव्यापी रथयात्रादेखि हालको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको राम मन्दिरको प्राण प्रतिष्ठासम्मको घटनाक्रमले भारत अब हिन्दूत्वको परमभूमिको रूपमा पुनः चिनिन पुगेको छ भने मोदीलाई हिन्दूत्वको नेतृत्वदायी राजमुकुट प्राप्त भएको छ।

विगत दुई चुनावी कार्यकालमा उनले र उनको सरकारले भारतलाई महान् बनाउन निकै धेरै काम गरेको भए तापनि यसपालीको राम मन्दिरको प्राण प्रतिष्ठाको विश्वव्यापी रूपमा प्रचारित तथा टेलिभिजनबाट विश्वभर सिधा प्रसारण गरिएको समाचार दृश्यले पनि उनको निम्ति २०२४ मा फेरि अझ बढी सफलताका साथ तेस्रो पटक भारतलाई हाँक्ने मौका मिल्ने पक्का जस्तै भएको छ।

रामको प्राण प्रतिष्ठा गर्दा सिताको नाम उच्चारण भएको नसुनिए तापनि र अन्य अल्पसंख्यक धर्मावलम्वीहरूको खासै चर्चा नभए पनि भारतले महिला हक अधिकार र अन्य धर्महरूको सम्मान र अन्य धार्मिक तथा सांस्कृतिक स्मारक तथा मान्यताको पनि सम्वद्र्धन गर्ने छ भन्ने आशा गर्नु उचित हुन्छ।

राजनीतिको कुनै पनि पाइलाबाट विरोध, विध्वङ्श र असंलग्नता र अस्विकृतिको आवाज उठ्ने वातावरण नबन्नु नै उत्तम हुन्छ। राजा महेन्द्रदेखि राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रबाट पहिरिएको हिन्दू सम्राटको श्रीपेच आज नरेन्द्र दामोदरदास मोदीको शिरमा पुगेको छ। राजनीतिमा धर्मको प्रभाव यसबाट पनि प्रष्टिन्छ।

धर्म र राजनीति एकापसबाट अलग हुन नसके पनि धर्म कै निम्ति विश्वको कुनै पनि भागमा हिंशा तथा अशान्ति नहोस् र आउँदा दिनहरूमा सबै धर्ममा विश्वास गर्ने मानिसहरू बीच धार्मिक सहिष्णुता रहोस् तथा राजनीति गर्नको लागि धर्मको दुरुपयोग नहोस् भन्ने कामना छ।

 

 

८ लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।
२०८० साल माघ २० गते




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *