धर्तीकी परी

शंकरप्रसाद रिजाल
२७ माघ २०८० ६:४९

कसलाई धर्तीकी परी भनिएको हो कुन्नि! परी त यो संसारमा असंख्य छन्। जलपरी, आकासकी परी, समाजकी परी, मानिसबाट जन्मिएकी मिस नेपाल, मिस इण्डिया र मिस वल्र्डकी ताज पहिरेकी सुन्दरीलाई परी भन्ने कि, इन्द्रको स्वर्गमा शोभा बढाउने १००८ सुन्दरीलाई अप्सरा वा परी भन्ने?

जलको सागरमा अकस्मात देखिएकी आदि मानव र आदि माछाका रुपमा देखिएकी परी। यसलाई परी भन्ने कि। त्यस्तै आकासकी अत्यन्त दुर्लभ चरी ‘स्काइलार्क’ जो हिउँ जस्तो प्वाँखले सजिएकी राजा महाराजका श्रीपेचमा सजिएकीलाई परी भन्ने?

त्यस्तै समाज र मानिसबीचको जुरीबाट वर्षेनी छानिने मिस नेपालकी नम्रता श्रेष्ठ, अनुष्का श्रेष्ठ, इशानी श्रेष्ठ, शृंखला खतिवडा वा भारतका मनशा बरारशी, ऐश्वर्य राय, प्रियंका चोपडा, मानुषी चिल्लार वा नाइजेरियाकी अग्वानी डारेगो, टर्कीकी अजरा अकिन, आयरल्याण्डकी रोजाना डेभिसन, पेरुकी मारियाजुलिया मनटिल्ला, चेको स्लोभाकियाकी तताना कुचुरोलाई परी भन्ने? आज यी सुन्दरी परी पौड हन थालेका छन्।

आज ती सबैको सुन्दरता प्रकृतिले आँफूमा समाहित गरी सकेकी छिन्। समयको घुमन्ते चक्रले ती सबैका अनुहार आज चाउरी परिसकेका छन्। जिउ डालमा खस्रोपना आइसकेका छन्। जीउका नशाहरु बाहिर नागबेली रुपमा देखिइसकेका छन्। सधैं एक नाश कहाँ हुन्छ र? अब के त्यसमा सुन्दरता रहन्छ र? अवश्य रहँदैन।

परीमा त हरदम सुन्दरता रहिरहनु पर्दछ। किनकि सुन्दरता नै एक परीको पर्यायवाची शब्द र नाम हो। एक समय परी वा सुन्दरी बनेर भोलि फेरि गुलाबको फूल झैँ ओइलाई जाने र फेरि अर्कैलाई परी भन्नु पर्ने भएपछि कसलाई परी भन्ने हो निर्णय लिन गाह्रो छ।

सुन्दरी भइ यस संसारमा जन्मिएपछि एकाएक परी कहलाउनेलाई हामी परी भनेर अनेकौं ताज पहिराई विश्वलाई भ्रममा पारेर पछि बुढौलीले सुन्दरताहीन बनेर पछिल्ला आउँदा पिँढीका सुन्दरी परीले खिसी गरी ताज खोसाखोस गर्ने होडबाजी यहाँ प्रशस्त चलेको छ।

ती सबै एकै क्षणका परी मात्र हुन् र जीवन्त नहुने हुँदा त्यसमा आफैंमा पूर्णता नभई एकांकीमात्र प्रस्तुत हुने हुँदा त्यस्तालाई खासै परी वा सुन्दरीको कल्पना र महशुश गर्न सकिँदैन।

परी त त्यो हो, जो सधैं परी नै भएर सयौं वर्षसम्म अमर सुन्दरताको अमर इतिहास बोकेर हिँड्छ। कवि कलाकारको चेतनाबाट सिजृत सुन्दर परीका कल्पना बास्वतमा सच्चा परी हुन् जो सधैं आफ्नो सुन्दरतामा कहिल्यै आँच आउन दिँदैनन्।

आज हेर्नुस् संसारको युरोप, इटाली, ग्रीस र रोमन साम्राज्यका बढे बढे दरबाहरुको शिलिंग र भित्तामा कुँदिएका र पेंटिङ गरिएका स्वर्गका परीको कल्पना र कवि वर्ड्स वर्थकी ‘लुसी ग्रे’ र माहाकवि देवकोटाबाट रचित चम्पा नामक नाटककी ‘चम्पा’ वास्तवमा सच्चा परी हरु हुन्, जो आजसम्मपनि प्रथम कविता र नाटकको वाचनमा उही उमेर, उही सुन्दरता र उही चंचलता अमर बनी रहेका छन्।

ती उही ‘लुसी’ हुन् जो सधैं आफ्नी आमालाई हिउँको सम्म मैदानमा अझै पनि खोजीरहेकी भेटिनछिन्। त्यस्तै कलाकारको अन्तस्तकरणबाट प्रस्फुटित भएका विश्व प्रसिद्ध इटालीका कलाकार लिओनार्दो दाभिन्चीले सोह्र वर्ष लगाई अझै अपुरोमा रहेको सुन्दर ‘मोनालिसाको’ तस्बिर र रोम र इटालीको दरबारमा अंकित साना पखेटा फिँजाई झन्डै उड्नकोलागि तत्पर रहेका ती बाल परीहरुलाई ‘परी’ भन्नु पर्दछ जो सधैं भित्तामा र शिलिङमा सयौं वर्षको इतिहास बोकेर अमर रहेका छन्।

जसलाई जहिले हेरे पनि जस्ताको तस्तै देखिन्छन्। यसैलाई नै कला क्षेत्रमा हामी ‘भेनेसियन ब्युटी’ भन्दछौं। र यो नै सुन्दरता र परीहरुको प्रतिबिम्ब हो।

ठिक त्यस्तै खालका परी हाम्रो हिमवत खण्डको भूगोलमा बैदिक कथन अनुसार उर्वशी, मेनका, रम्भा र तिलोत्तमा जस्ता प्रशस्त थिए। ब्रम्हाजीले र इन्द्रजीले मिलेर अप्सरा परीहरु सृष्टि गरी अनेक ऋषिहरुको दीव्य तपस्याहरु भंग पनि गरेका थिए रे।

जसमध्ये एक कण्डु ऋषि थिए जो ब्रम्हलोचा अप्सराको मायावी जालमा परी जसले आफूलाई थाम्न नसकी उनलाई समाती मदराञ्चल पर्वतको गुफामा ९०७ दिनसम्म लगातार सम्भोग गरी बसेका थिए भन्ने पुराणमा भेटिन्छ। त्यस्तै अप्सरा मेनकाले विश्वामित्रको तपस्यालाई भंग गरेकी थिइन्। उर्बशीले नारदलाई फसाएकी थिइन्, ध्रिताची अप्सराले भारद्वाज ऋषिलाई मायावी जालमा फसाएकी थिइन्।

त्यस्तै पुन्जिकास्थली अप्सराले रावणलाई फसाएकी थिइन्। परी त्यस्ता हुन्छन् जसले सुन्दरताको खानी बोकेका हुन्छन र ‘मै हुँ’ भन्ने सारा देवता ऋषिगणलाई पनि आफ्नो अनेक रुप परिवर्तन गरी आफ्नो वशमा ल्याउन सफल हुन्छन्। अनि प्रेम र वासनाको सुगन्धको चास्नीको चटनीमा सबैलाई चटाउन सफल बन्ने गर्थे। बस पयनैलाई नै हामी परी वा अप्सरा हुन् भनी दर्बिलो प्रमाण प्रस्तुत गर्न सक्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *