राजनीतिमा नैतिकता

बंशीकुमार शर्मा
२२ माघ २०८० १३:१७

संसार नैतिकता र बिश्वासले अडेको छ। धर्म संस्कृति  सबैमा नैतिकता चाहिन्छ। सवै नीतिको  नीति राजनीतिमा  नैतिकता चाहिन्छ। नैतिकता बिनाको राजनीतिको कल्पना गर्न सकिँदैन तर नेपाली नेताहरुमा देखिएको सत्तामोहको कारण नैतिकतमा ह्रास आएको छ। पदको लागि नेताहरु नैतिकता बेचिरहेका छन्।

नैतिकता कै कारण अहिले दलहरुबीच बढ्दै गएको  आन्तरिक वैमनष्यता  भुसको आगोझैं दन्किरहेको छ। देख्लास् र पख्लास्को राजनीतिमा नेपाली जनता नराम्ररी पिल्सिएका छन्। स्वार्थ मिलेमा सहमति, सहकार्य, एकताको रटान गर्दै सहमति गर्छन्।

स्वार्थ नमिलेमा  बखेडा झिकेर राजनीतिक अराजकतालाई मलजल गर्न अभ्यस्त भइसकेका छन्।

जनता, राष्ट्र र राष्ट्रियताका लागि फाइदाजनक के छ भनेर सामूहिक छलफल र निष्कर्षमा पुग्नुको साटो आफू र आफ्नो  गुटको मान्छेलाई कसरी पदमा ल्याउने  भन्ने दाउमा राजनीतिकदलका नेताहरु अल्झिरहेका छन्, जसलाई राजनीतिक दलभित्र बढ्दै गएको तीव्र तृष्णा मान्न सकिन्छ।

त्यही तृष्णाले नै मान्छेलाई गरिब र दुःखी गराउँछ। परिणामस्वरुप विचार, सिद्धान्तका जति धनी भए पनि राजनीतिक दलका नेताहरु व्यवहारमा त्यति नै गरिब तथा दरिद्र बन्दै गएका छन्।

राजतन्त्रलाई किनारा गरेर गणतन्त्रको अपेक्षा, आशा तथा चाहनाको बिजारोपण गर्न पाउँदा नेपाली जनतामा देखिएको उत्साह, हर्ष, जोश वर्तमान अवस्थामा ओइलाउँदै गएको छ। राजनीतिक दलहरुमा बढ्दै गएको भुलको राजनीतिले नेपाली जनताले आशा गरेको नयाँ युगमा कुठाराघात हुँदै गएको प्रष्ट देखिन्छ।

देशलाई अहिले कुनै सिद्धान्तले डोहोर्‍याएको छैन, सिद्धान्त नभएको अवस्थामा नेतृत्वको अभाव हुनु स्वभाविकै छ। राजनीतिमा सिद्धान्त नै लगाम हो। सिद्धान्त बिनाको नेतृत्वले राजनीतिमा अराजकता थप्ने शिवाय अरु काम गर्न सक्ने देखिएन। राजनीतिमा सिद्धान्त, नैतीकता सर्वोपरि गुण हुन्।

सहमति र सहकार्यका नाममा सिर्जना गरिने विभिन्न खाले षड्यन्त्रले जनमानसमा धमिराको काम गरिरहेका छन्। फलस्वरुप एक्काइसौं शताब्दीको नयाँ युगमा ग्रहण लाग्दै गएको छ। दलहरुमा बढ्दै गएको वैमनष्यताले सौताको रिसले पोइको काखमा……..गर्नु सिवाय केही संकेत गर्न सक्दैन।

जनताले अपेक्षा गरेको जवाफ आरोप प्रत्यारोप होइन तर दलहरु सही जवाफमा हिच्किचाएका छन्। आरोप-प्रत्यारोपको यन्त्र प्रयोग गरेर तै चुप मै चुप गरेका छन्।

छलफलमा आरोप प्रत्यारोपबाट माझिएर बाहिर हातेमालो गर्नुको साटो भित्र अंकमाल र बाहिर एक अर्काका विरुद्धमा कड्किने दलीय चरित्रले नेपाली राजनीतिमा खतराको संकेत आएको छ। नेपाली राजनीति अहिले दुई ध्रुर्वमा  बगेको छ।

यसलाई दलहरुले कहिल्यै सुल्झाउने चेष्टा गरेनन्। एउटा राष्ट्रभक्त व्यक्तिले राष्ट्रका लागि प्राण उत्सर्ग गर्न सक्छ तर ऊ एक्लैले राष्ट्र र यसको संस्कृतिलाई बचाउन सक्दैन। स्वघोषित र विकसित सभ्य व्यक्ति र राष्ट्रले उपरी सतहभित्र बगिरहेको यस्तो भित्री धारलाई बुझ्नुपर्छ, जुन अहिले कहीँ कतै मात्र झुलुक्क देखिने गरेको छ।

कसैका लागि यी कुराहरू तुच्छ र गौण लाग्लान् तर पीडित जनको यही नै सही अभिव्यक्ति हो। तर यस समूहको कुनै आवाज छैन। न यसले सञ्चार जगतलाई आफ्नो अनुकूल तुल्याउन सक्छ, न त आफ्ना दुखेसाहरूको प्रतिनिधित्व गर्ने सही व्यक्ति आउन सक्छ।

चारैतिर स्वघोषितको  बाहुल्यता रहेको हुन्छ।  अब राजनीतिक रथ कसरी अगाडि गुड्ने हो त्यसमा आ-आफ्नै किसिमले अड्कल काटिँदै छ। जनताको सहायतामा सडकबाट सदनसम्म पुगेका राजनीतिक दल सदनमै विराजमान हुने हुन् या सडकमा पछारिने हुन्, त्यो पनि अहिले भन्न सकिने अवस्था छैन किनकि नेपाली राजनीति कहिल्यै स्वतन्त्र र स्वाधीन हुन सकेको छैन।

नेपाली जनताका मुख्य समस्याहरु ओझेलमा परेका छन्। कारण दलहरुले जनमतलाई गलत अर्थमा बुझे। जनमत दिगो विकास र समृद्धिकोे लागि थियो तर नेताहरुले शासन गर्नको लागि मात्र बुझे। भइहाल्छ मा चलेको राजनीति अब भइहाल्छ मा चल्न सक्दैन भन्ने बलियो प्रमाण पनि दलहरुले पाएका छन्।

जनभावनालाई बेवास्ता गरेर अगाडि बढ्न गएमा सत्ता क्षणिक हुने थियो। अब नेताहरु जनताको कठघरामा  पर्नुपर्दछ। आफूले गरेका त्रुटि अरुमाथि थोपर्ने होइन सच्चिन प्रयास गर्नु नै लाभदायी हुनेछ। यदि सत्चिएनन् भने सकिने छन्।

त्यसैले राजनीतिक अस्थिरताको कारण उत्पन्न समस्या र असफलताको चित्त बुझ्दो जवाफ दिन जरुरी छ। देशलाई अहिले कुनै सिद्धान्तले डोहोर्‍याएको छैन, सिद्धान्त नभएको अवस्थामा नेतृत्वको अभाव हुनु स्वभाविकै छ। राजनीतिमा सिद्धान्त नै लगाम हो।

सिद्धान्त बिनाको नेतृत्वले राजनीतिमा अराजकता थप्ने शिवाय अरु काम गर्न सक्ने देखिएन। राजनीतिमा सिद्धान्त, नैतीकता सर्वोपरि गुण हुन्। नैतिकता अगाडि सत्ता गौण हो तर नेपालि नेताहरुमा  नैतिकताको खडेरी नै छ। नेपाली नेताहरुले नैतिक शिक्षा पढ्ने र ज्ञानगुणका कुरा अध्ययन गर्दा वेश होला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *