हमासका २४ बटालियनमध्ये १७ वटा बटालियन ध्वस्त
काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्धको चार महिना पूरा हुन लागेको छ । तर दुबै तर्फबाट लगातार आक्रमण जारी छ । इजरायली सेनाले गाजाको उत्तरी र दक्षिणी क्षेत्रमा विनाश मच्चाइरहेको छ । यसमा हमासका लडाकु मात्र मारिएका छैनन्, उनीहरूसँगै सर्वसाधारण पनि मारिएका छन् ।
यसैबीच, इजरायली रक्षा बलले हमासको लुकेको ठाउँ पत्ता लगाएको दावी गरेको छ जहाँ आतंकवादीहरूलाई अक्टोबर ७ को आक्रमणको लागि प्रशिक्षण दिइएको थियो। हमास कमाण्डर मोहम्मद सिनवारको पनि यस बेसमा कार्यालय थियो, जुन सुरुङको नेटवर्कबाट जोडिएको थियो। यससँगै यहाँ ठूलो संख्यामा रकेट र हतियार राखिएको थियो । यसलाई आइडीएफको लागि ठूलो सफलता मानिएको छ।
इजरायली रक्षा बलले आफ्नो आधिकारिक एक्स खातामा एक भिडियो जारी गरेको छ। यसमा आइडीएफ सैनिकहरू सुरुङभित्र पसेको देख्न सकिन्छ। यससँगै सुरुङभित्र विलासी सुविधासहितको कोठा, ठूलो परिमाणमा हतियार र रकेट देख्न सकिन्छ ।
यी सुरुङहरूमा बख्तरबन्द सवारी साधनहरू प्रवेश गर्नको लागि पनि सुविधा छ। आइडीएफले हमासले आफ्ना लडाकुहरूलाई यहाँ तालिम दिएको दाबी गरेको छ। त्यसपछि ती आतंककारीहरूले अक्टोबर ७ मा इजरायलको किबुट्ज सहरमा भीषण हमला गरेका थिए।
यस हमलामा १२०० भन्दा बढी मानिस मारिएका थिए । यससँगै करिब २५० जनालाई आतङ्ककारीले बन्धक बनाएका थिए । त्यसयता युद्ध चलिरहेको छ ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुले ठूलो दाबी गर्दै हमासको २४ बटालियन मध्ये १७ पूरै ध्वस्त भएको बताएका छन् । उनका अनुसार हमासका बाँकी बटालियनहरू दक्षिणी गाजामा छन्। उनीहरुमाथि सैन्य कारबाही पनि भइरहेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, “हाम्रो पहिलो र प्रमुख लक्ष्य हमासको उन्मूलन हो। यो लक्ष्य हासिल गर्न, हमास बटालियनहरू उखेल्नु आवश्यक छ। आजसम्म हामीले २४ वटा बटालियन मध्ये १७ वटा उखेलेका छौँ । बाँकी अधिकांश बटालियनहरू दक्षिणी गाजा र रफाहमा छन्। हामी छिट्टै उनीहरूविरुद्ध पनि सैन्य कारबाही गर्ने छौं।”
यद्यपि नेतान्याहुले आफ्नै घरमा विरोधको सामना गरिरहेका छन्। जनताले उनको सरकारको आलोचना गर्दै युद्ध अन्त्यको माग गरिरहेका छन् । इजरायली बन्धकका परिवारले आइतबार तेल अवीवस्थित रक्षा मन्त्रालय बाहिर कडा प्रदर्शन गरेका छन्। यस क्रममा आन्दोलनकारीले बन्धकहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
Facebook Comment