यमनका प्रधानमन्त्री माइन बर्खास्त
काठमाडौं । यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई अभूतपूर्व कदममा बर्खास्त गरेको छ। उनी सन् २०१८ देखि यमनका प्रधानमन्त्री थिए।
यो निर्णय यस्तो समयमा आएको हो जब अमेरिकी नेतृत्वको सैन्य गठबन्धनले यमनमा इरान समर्थित हुथी विद्रोहीलाई निशाना बनाइरहेको छ।
यमनको राष्ट्रपतीय परिषद्ले विदेशमन्त्री अहमद अवाद बिन मुबारकलाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेको छ । बिन मुबारकलाई साउदी अरेबियाको निकट मानिन्छ।
राष्ट्रपतीय परिषद्ले यो हेरफेरको कारण खुलाएको छैन। यमन सन् २०१४ देखि गृहयुद्धमा फसेको छ जतिबेला इरान समर्थित हुथी विद्रोहीले राजधानी साना र उत्तरको अधिकांश भाग कब्जा गरेका थिए ।
साउदी अरेबियाको नेतृत्वमा रहेको सैन्य गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गर्यो र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई सत्तामा पुर्नस्थापित गर्न प्रयास गर्न सन् २०१५ देखि हुथी विद्रोही समूहसँग लडिरहेको छ।
झण्डै एक दशकदेखि चलिरहेको यो गृहयुद्धले पहिलेदेखि नै गरिब अरब राष्ट्र यमनलाई झनै तहसनहस बनाएको छ । हुथी लडाकु र सर्वसाधारण सहित १ लाख ५० हजार भन्दा बढी मानिस मारिएका छन्।
यमनमा गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले हालैका महिनाहरूमा हुथी र साउदी अरबबीच वार्ता भएको छ। दुवै पक्षले युद्धविरामका लागि सकारात्मक छलफल भएको बताएका छन् । हुथी-साउदी वार्ता यमनमा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्ने फराकिलो प्रयासको हिस्सा रहेको छ।
गत वर्षको अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि शान्ति प्रयासमा बाधा पुगेको छ । हुथी विद्रोहीहरूले लाल सागरमा जहाज मार्गहरूमा आक्रमण गरेका छन्। उनीहरूले लाल सागरमा आफ्ना कार्यहरू प्यालेस्टाइन र हमास विरुद्ध इजरायलको सैन्य अभियानको प्रतिक्रिया भएको बताएका छन्।
हुथी जस्तै हमास पनि इरान समर्थित सशस्त्र संगठन हो । लाल सागरमा व्यापारी जहाजहरूमा हुथी आक्रमणहरूले अमेरिका र बेलायतलाई यमनमा विद्रोही नियन्त्रित क्षेत्रहरूमा हवाई आक्रमण गर्न प्रेरित गरेको छ।
Facebook Comment