संकटमा रिग्दी खोलाका असला माछा, विषादी र करेन्टको प्रयोगले भुरा पनि देख्न मुस्किल

डिसी नेपाल
२३ माघ २०८० १६:५३

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ। यही खोलाको पानीले उनले पानीघट्ट चलाउँदै आएका छन्।

रिग्दीको चिसो पानीमा दैनिक खेल्दै आभएका प्रजाले यहाँको असला माछा खान नपाएको धेरै भइसक्यो। पहिले दैनिकजसो माछा मारेर खाने गरेको अनुभव सुनाउँदै उनले अहिले साना भुरा माछा पनि पाइन छाडेको बताए।

चितवनको अग्लो पहाड सिराइँचुली क्षेत्रको मुहानबाट बग्दै त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी। यो खोला कुनै समय असला माछाका कारण निकै परिचित भएकामा अहिले यहाँका असला माछा संकटमा परेका छन्।

खोलामा जथाभावी विषादीको प्रयोग, विद्युतीय माध्यमबाट माछा मार्ने र डोजरको प्रयोगका कारण खोलामा रैथाने माछा हराउन थालेको स्थानीयवासी बताउँछन्।

निकै स्वादिलो र सबैले रुचाउने माछा संरक्षण नहुँदा हराउँदै गएको पानीघट्ट सञ्चालक प्रजाले बताए। “पहिले–पहिले गाई तर्दा पनि खुरले कुल्चेर माछा मथ्र्यो”, उनले भने, “अहिले भुरा देख्न पनि मुस्किल छ ।”

“विषादी हाल्ने र करेन्ट लगाउनेजस्ता गतिविधिलाई स्थानीय सरकारले रोक्न सक्नुपर्छ”, पानीघट्ट सञ्चालक प्रजाले जोड दिए, “लुकिछिपी अझै यस्ता गतिविधि हुने गरेका छन्। परम्परागत शैलीमा माछा मार्न दिइए र करेन्ट लगाउनेलाई सरकारले कारबाही गर्ने हो भने यहाँको माछा संरक्षण गर्न सकिन्छ। ”

मायाटारका टीकाबहादुर गुरूङले पहिले पहिले जाल खेल्दै जाँदा पाँच/छ पटकमा फुर्लुङ भरिने गरे पनि अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको बताए। स्थानीय सरकारले रिग्दीको असलालाई संरक्षण र यसैलाई ‘ब्रान्ड’ बनाएर समग्र इच्छाकामनालाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा उनले जोड दिए।

गाउँपालिकाले भने खोलामा जथाभावी गर्नेलाई कारबाही गर्दै आएको जनाएको छ । पछिल्लो केही वर्षदेखि खोलामा विषादी नराख्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको भन्दै पहिलेको तुलनामा केही कमी आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए।

“हामीले सूचना पनि जारी गर्दै आएका छौँ । स्थानीयवासीलाई पनि सचेत गराएका छौँ”, उनले भने, “सूचनालाई बेवास्ता गर्नेलाई कारबाही पनि गर्दै आएका छौँ। त्यसकारण पहिलेको तुलनामा असला संरक्षणमा टेवा पुगेको छ।”

आउँदो वर्षदेखि बजेट नै छुट्याएर रिग्दीको असला संरक्षणको योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष गुरूङले बताए।

इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीको वरिपरिबाट बगेका साना दुई खोला तल्लो काउलेमा आएर मिसिएको छ। वडा नं १ पछि वडा नं २ र ७ सँगै त्रिशूलीसम्म आइपुग्दो वडा नं ६ र भरतपुर महानगरपालिकाको वडा नं २९ लाई सिमाना छुट्याएर बगेको छ।

रिग्दीमा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको संरक्षणकर्मीको भनाइ थियो। असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने गँगटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञले बताए।

असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । दसदेखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ।यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ ।

यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक/मङ्सिर र माघ/फागुनमा प्रजनन गर्छ।

मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा छ सयदेखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *