जनयुद्ध दिवसको शुभकामना म कसरी दिउँ कमरेड?
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० सुत्रीय माग सम्बोधन नभएपछि नेकपा मशालबाट नेकपा माओवादी नाम परिवर्तन गरेर २०५२ फाल्गुन १ गते बाट औपचारिक जनयुद्धको घोषणा गरेर सशस्त्र संघर्षमा होमिएको माओवादी नेतृत्वले बुर्जुवा शिक्षाको कुनै औचित्य नभएको भन्दै सारा विद्यार्थीलाई बैज्ञानिक शिक्षा प्राप्तिका निम्ति संघर्षको जरुरत छ भन्दै जनयुद्धमा सामेल गराए।
विधार्थी मात्रै होइन किसान, मजदुरलगाएत सम्पूर्ण उत्पीडित वर्ग जाति भाषा क्षेत्र धर्म लिंग सबैलाई युद्धमा होमिन अपिल र हौसला दिँदै उक्साउने काम भएसँगै सबै क्षेत्रमा जनयुद्धमा ठूलो सहभागीता भयो। त्योसँगै छापामार युद्धको आफ्नै नियम अनुसार युद्ध रक्षा, सन्तुलन हुँदै रणनीतिक प्रत्याक्रमणको चरणमा प्रवेश गर्याे।
रणनीतिक प्रत्याक्रमणको पनि पहिलो दोस्रो चरण पार गरेर तेस्रो चरणमा प्रवेश गरेसँगै तत्कालीन सात राजनीतिक दलसँगको छलफल बहस पश्चात् युद्धविराम हुँदै १२ बुँदे सहमति विस्तृत शान्ति सम्झौता हुँदै जनयुद्धको औपचारिक अन्त्य भएको घोषणा गरेर माओवादी पुर्ण रूपमा शान्ति प्रक्रियामा प्रवेश गर्याे।
युद्धको समयमा दुबै पक्षबाट ठूलो मात्रामा जनधनको क्षति भयो। तत्कालीन शाही नेपाली सेना र बिद्रोही पक्षसँगै सबैभन्दा ठूलो पीडा र यातना आमनागरिकले भोग्नु र सामना गर्नुपर्याे। यसका थुप्रै पाटा छन्। युद्ध स्वाभाविकैले अनपेक्षित र निर्मम हुन्छ।
त्यो कुरा जनयुद्धमा सत्ता बिद्रोही पक्ष दुबैमा लागू भयो। अझ भनौं राज्य अझ धेरै क्रुर र हिंस्रक बन्यो बिद्रोही भन्दा राज्य पक्षबाट धेरै निर्दोष नागरिकको अमानवीय तरिकाले हत्या र बेपत्ता बनाउने काम भयो यो निक्कै नै दु:खद कुरा थियो।
आज जनयुद्ध सुरुवातको २९ औं दिवसमा प्रवेश गर्दैगर्दा शान्ति प्रक्रिया सुरुवात भएको १८ औं वर्ष पूरा गरि १९ वर्ष लाग्दै गर्दा आज पनि हजारौं बेपत्ता योद्धाका परिवारहरु आफ्ना आफन्तको लास वा सास चाहियाे भन्दै आन्दोलनमा छन्।
युद्धमा दुबै पक्षबाट बेपत्ता पारिएकाको अत्तोपत्तो छैन। हजारौं हजार घाइते योद्धाहरु आज पनि शरीरमा बमका छर्रा र बन्दुकका गोली लिएर पीडादायी जीवन बिताइरहेका छन्, उनीहरुको उपचारको अत्तोपत्तो छैन।
जनयुद्ध लड्नेहरु आज पनि सडकमा घरबारविहीन भएर भौंतारी रहेका छन्। देश चरम भ्रष्टाचार, दलाल माफिया कमिशनखोर र नवदलाल हरुको सिकार बनेको छ। जनताको दैनिकी अझ कस्टकर भयानक कहालीलाग्दो अवस्थातिर जाँदैछ।
जनयुद्धका उद्देश्य मूल्य मान्यता केही मान्छेहरुको मोजमस्ती गर्ने थलोमा परीणत भए। हिजो बुर्जुवा शिक्षा चाहिँदैन भनेर बन्दुक बोकाउन प्रेरणा दिनेहरू आज सानो जागीर लगाइदेउ न भनेर कसैले आग्रह गरे सबैभन्दा पनि कति पढेको छौ सर्टीफिकेट लेउ भन्छन्।
अब यो कहालीलाग्दो दु:खदायी र आतदायी अवस्थामा जनयुद्धका कार्यकर्ता जनता र देशको अवस्था आएको बेला तपाईं नै भन्नुहोस् म कुन नैतिकता र धरातलमा टेकेर तपाईंलाई जनयुद्ध दिवसको शुभकामना दिउँ कमरेड।
Facebook Comment