इजरायलले लेबनानमा आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु
काठमाडौं । लेबनानले आफ्नो सैन्य कमाण्डको मुख्यालयमा आक्रमण गरेपछि इजरायलले बुधबार ठूलो जवाफी हवाई हमला गरेको छ। अहिलेसम्म यी आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार लेबनानी अधिकारीहरूले दक्षिणी लेबनानमा बुधबार भएको आक्रमणमा एकै परिवारका पाँच जनाको मृत्यु भएको र एक बालकलाई भग्नावशेषबाट जिउँदै निकालिएको जानकारी दिएका छन्।
लेबनानको आधिकारिक मिडिया र हिजबुल्लाहले बुधबारको आक्रमणमा कुल १० जनाको मृत्यु भएको जनाएका छन्, जसमध्ये आठ जना सर्वसाधारण थिए।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार नाबतीह क्षेत्रमा रहेको तीन तले अपार्टमेन्ट भवनमा भएको आक्रमणमा एकै परिवारका कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
मिडिया रिपोर्टका अनुसार आक्रमणमा यो भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।
अक्टोबरमा इजरायलमा हमासले गरेको आक्रमण र गाजामा इजरायलको प्रतिकारात्मक सैन्य कारबाही सुरु भएदेखि लेबनानी चरमपन्थी संगठन हिजबुल्लाह र इजरायली सेनाबीच झडप जारी छ।
हिजबुल्लाहले बुधबार इजरायली आक्रमणमा आफ्ना दुई लडाकु मारिएको जनाएको छ।
हिजबुल्लाहका एक शीर्ष अधिकारीले इजरायलले सर्वसाधारणको मृत्युको मूल्य चुकाउनु पर्ने बताएका छन् ।
इजरायली सैनिक शिविरमा भएको आक्रमणमा एक महिला सैनिकको मृत्यु भएको छ । यद्यपि हिजबुल्लाहले यस रकेट आक्रमणको आधिकारिक रूपमा जिम्मेवारी लिएको छैन।
इजरायल र हिजबुल्लाहबीचको भिडन्त सुरु भएदेखि लेबनानी पक्षमा ३८ नागरिकसहित २५४ जनाको मृत्यु भएको छ भने इजरायली पक्षमा १० सैनिक र ६ नागरिकको मृत्यु भएको छ ।
Facebook Comment