मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत प्राप्त
धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत पाएका छन्।
आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमामा मुख्यमन्त्री यादवलाई ६९ जना प्रदेशसभा सदस्यहरुले मतदान गरे भने विपक्षमा ३५ जना प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए। मतदानमा १ सय ४ जना प्रदेशसभा सदस्यहरुले भाग लिएका थिए।
यस अघि दुई पटक सिंगो सदनको मत प्राप्त गरेका मुख्यमन्त्री यादवको विपक्षमा यस पटक नेकपा एमाले र जनमत पार्टीले मतदान गरेको हो। मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राप्रपा र नेपाल संघिय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले मतदान गरे।
१ सय ७ सदस्यीय मधेसको प्रदेशसभामा नेकपा एमालेको २४, नेपाली कांग्रेसको २२, नेपाली कांग्रेस १९, जनतम १३, लोकतान्त्रिक समाजवादी पार्टी तथा माओवादी केन्द्र ९-९, नेकपा एकिकृत समाजवादी पार्टी ७, राप्रपा, नागरिक उन्मुक्ति पार्टी तथा नेपाल संघीय समाजवादी पार्टीको १-१ जना प्रदेशसभा सदस्य रहेका छन्। त्यस्तै मधेस प्रदेशसभा सदस्य एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन्।
२०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका सरोजकुमार यादवले पहिलो पटक २०७९ माघ ४ गते १ सय २ प्रदेशसभा सदस्यहरुको मत सहित सिंगो सदनको विश्वासको मत प्राप्त गरेका थिए। त्यस्तै दोस्रो पटक २०८० जेठ ३० गते १ सय ३ प्रदेशसभा सदस्यहरुको मत सहित सिंगो सदनको मत प्राप्त गरेका थिए।
Facebook Comment