कविता : म बिचित्रको चित्र

सुशील लामा
१३ फागुन २०८० ११:१२

म कुनै अबोध बच्चाको
सुकोमल एक जोडी हातले
लामो समयसम्म केर्दै-कोर्दै फालिए पछि
बनेको बिचित्रको चित्र
मलाई ति बच्चाले आफू सँग
हुँदै नभएको अनगिन्ती
रंगहरु खोजीखोजी मलाई रंगाइ दिन्छ।
मलाई उनले
बिचित्रको चित्र बनाउन
आफ्नै आँशुमा अंगार घोटेर कालो मसी बनाउँछ,
आफ्नो नांगाे शरीर
उतारेर मलाई लगाइदिन्छ।
मलाई सास दिन
उनी आफ्नो सास फेरि रहन्छ।
मलाई आशा र भरोसा दिलाउन
आफ्नो आशा र भरोसाको मुहान
मन माथि खनाउँछ।
म बिचित्रको चित्र
र उनले भन्ने गर्छ
तिमी मेरो बिपनामा कोरेको
बिचित्र को सपनामयि चित्र हो
उनको सपना पूरा गर्न
म बनेको थियो।
तर-
म थिएँ त
केवल फगत चित्र
स्वर्ग जस्तै धर्तिको सुन्दर
छहरा-पहरा सहितको क्यानभासमा बन्दै गरेको
बिचित्रको चित्र
जसको चित्र बनाउनेको चित्र नै
आकर्षक भन्दापनि
अस्तब्यस्त थियो उनी।
चिसो छलेर न्यानो हुन नपाएको
मसिना औंलामा अड्केको
मसिनो पेन्टिङ ब्रस
उनले बनाएको आकर्षक चित्र म
म कसरी उनको सपना पूरा गर्न सक्थेँ?
म स्वार्थी बन्दै-बन्दै
आफ्नो सपना पूरा गर्ने धुनमा
सबैकुरा बिर्सेर जान्थेँ।
जसरी-
बिर्सेर जान्छन्
‘सम्झिनुपर्छ भन्ने थाहा हुँदाहुँदैको सम्झनाहरू’
ती अबोध बच्चा त
चाहन्थे होला।
‘म पनि कुनै बिख्यात चित्रकारको क्यानभासमा
सबले मन पराउने रङ्गिन चित्र बनूँ’
“भिन्चिको मोनालिसा जस्तै-
तर।
उनले पहिले सोचेको कल्पना
बिस्तारै मेरो बिपनाको ओझेलमा परि सकेको थियो।
अब उनले
नयाँ रंग कहाँबाट ल्याउनू
मेरो फेरिएको रहरको क्यानभास
उनले कुन नयाँ रंगले लिप्ने हो?
सुन्दैछु।
उनले आफै्लाई इन्द्रेणी बैंकमा धितो राखेर
चित्रलाई नपुग्ने रंग किन्दै छन् रे!
अन्तिममा केही उपाय नलागे भने
उनले धुलोले रंगाई दिने छ।
धुलो हावाले उडाइ लग्लान्
धुलो समयसँगै बिलि जालन्
‘धूलो’-
रातको शीतले नै यसरी खाँदी दिन्छ,
धुलो अब कहिल्यै उड्न नसक्ने गरि दबिन्छ
धर्तीमा….
उनको सुन्दर क्यानभासमा
र अन्त्यमा बाँकी रहने छ,
त्यही पहिले कोरेका चित्रको आकृति मात्र
म फेरि केवल कोरेको चित्र मात्र बन्नेछु
म फेरि त्यही बच्चा जस्तै हुनेछु,
जस्लाई उनले ठूलो सपना सोचेर कोरेका थिएँ
बच्चाले आफ्नो सब सपना खर्चेर
जो सङ्ग रङ छैन
र-पनि दिन चाहन्छ
खोजेर रङ
जो सँग, सपना छैन
र, पनि दिन चाहन्छ-
‘आफ्नो सपना पूरा गर्ने आश कसैको’
अब म
एक बच्चा उ जस्तै बनेर
कोर्छु बिचित्र को आफ्नै चित्र
सास,आश अनि रंगिन मसी रहेसम्म
र निकाल्छु अन्तिम स्वस्थ चित्र
र,त्यो निक्लेको चित्र पनि यसरी नै बिलाउँ छन् होला
अर्को चित्र कोर्ने आशमा’
जसरी बिलाइजान्छ!
पत्तै, नपाइनेगरी
जमिनमा घिस्रेर हिँड्नेहरूको तारा छुने सपना जस्तै….
म बिचित्रको चित्र!

हाल- लिमासोल,साईप्रस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *