सामाजिक सञ्जालको दुरुपयोग : भ्युज बटुल्ने बहानामा अश्लिलता प्रदर्शन, पारिवारिक बिग्रह निम्त्याउँदै
काठमाडौं। अहिले सूचना प्रविधिको सर्वसुलभताले आम मान्छेको पहुँचमा सामाजिक सञ्जाल पुगेको छ।
आजको सन्दर्भमा सामाजिक सञ्जाल उल्लेखनीय सूचना आदान प्रदान गर्ने उपयुक्त माध्यम भएपनि यसको दुरुपयोग बढ्दो छ।
नेपालमा सामाजिक सञ्जालको प्रयोग मार्फत चर्चित अर्थात् भाइरल बन्नेको लर्को नै लागेको छ । यद्यपि तिनीहरुको स्थायित्व भने खासै भएको देखिएको छैन।
आजकाल मानिसहरुले प्रायजसो तत्काल कुनै घटना विशेषको जानकारी लिने अपेक्षा गर्दछन्। उनीहरुको अपेक्षा अनुरुप कतिपय सोसल मिडियाले जानकारी सम्प्रेषण पनि गरेकै हुन्छन्।
तर, अपुष्ट र मनोरञ्जनको बहानामा सामाजिक सञ्जाल मार्फत सम्प्रेषित सामग्रीले भने समग्र सञ्चार जगतकै उपहास गरेको छ। यसले समग्र सञ्चारमाध्यमको विश्वसनियतामाथि नै प्रश्न उठाएको छ।
समय अनुरुप चल्ने बहानामा सामाजिक सञ्जाल या युट्युबमा आउने अन्तर्वार्ता र मनोरञ्जनमूलक सामग्रीले ज्ञान भन्दा पनि ध्यान आकृष्ट गर्न सफल भएका छन्। ती प्रसारित विषय विशुद्ध मनोरञ्जन र कतिपयमा त अश्लिलता नै प्रकट गरिएका हुन्छन्।
अहिले सोसल मिडियाका निकै छाएका पात्रले साच्चिकै सर्जकलाई ओझेलमा समेत पारेका छन्। निकै मेहनतपूर्वक प्रष्फुटित सिर्जनात्मक सामग्री भन्दा भाइरल म्यानहरुको आवाज रसास्वादन गर्ने जमात बढ्दो छ।
अहिले टेलिभिजनलाई विस्तारै युट्यूबले विस्थापन गर्न लागेको छ भने छापा पत्रकारितालाई अनलाइनले उछिनेको छ। यो प्रविधिको सर्वसूलभताको उपज हो। तर यसलाई मर्यादित गराउने चुनौती मिडियाकर्मीलाई सामाजिक सञ्जालको दुरुपयोगले खडा गरिदिएको छ।
अधिकांश कलाकारिताको सिर्जनालाई पनि पछिल्लो समय भाइरलहरुको जमातले ओझेलमा पारेको छ। यी भाइरलहरुसँग कुनै खास विषयमा सिर्जनात्मक क्षमता केही पनि छैन।
तथापि सामाजिक सञ्जालमा उनीहरुकै बोलवाला छ। सिर्जनशील क्षमताका कलाकार एवं सर्जकहरुका सिर्जना अहिले ओझेलमा परेका छन्।
हाल देशभर महोत्सवको याम चलेको छ। ती महोत्सवहरुमा भेलु बाजे र चाउमिनवालाहरुको माग बढ्दो छ। सर्जक एवं कलाकारहरु गुमनाम छन्।
चर्चा कमाउने र लोकप्रिय हुनु दुबै अलग विषय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत औंल्याएका थिए।
भाइरल एक प्रकारको संक्रमण हो भन्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको कार्यक्रममा कलाकारलाई लोकप्रिय बन्न सुझाएका थिए।
तर, राज्यले सामाजिक सञ्जाल प्रयोगको बलियो नियामक निकाय नबनाउँदा लोकप्रियता र भाइरललाई एउटै कसीमा राख्ने प्रचलन समेत बढेको छ।
यसअघि दुरुपयोग बढेको बताउँदै सरकारले टिकटकको प्रयोगमा रोक लगाएको थियो। यसको नियमन प्रभावकारी नबनाएरै बन्द गराइएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ।
प्रस्तुतीको वर्गीकरण गरी सिर्जनात्मक विषयको भेद नछुट्टिदा सर्र्र्जकहरु कोपभाजनमा परेका छन्। अहिलेको सामाजिक सञ्जालले लोकप्रियता र भाइरललाई समानअर्थी शब्दको रुपमा नयाँ भाष्य स्थापित गरेको छ।
आम मानिसहरुको रोजाइमा भाइरलहरु नै परेका छन्। उनीहरुको अश्लिलता मानिसहरुलाई मनोरञ्जनको साधन बनेको छ।
भलै, त्यसको कुनै सामाजिक सन्देश र उद्देश्य नहोस्। तर पनि मानिसहरु भाइरलकै पछि कुदिरहेको दृष्टान्त व्याप्त छ। भ्युजको आधारमा लोकप्रियता मापन गर्ने पछिल्लो सामाजिक सञ्जालको प्रवृत्तिले उनीहरुलाई लोकप्रिय नै ठान्दछ।
अहिले पछिल्लो समय हाँस्य कलाकार पवन खतिवडाको पारिवारिक कारणले सिर्जित समस्या सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ।
व्यक्तिका विशुद्ध पारिवारिक विषय सोसल मिडियामार्फत उजागर वैयक्तिक निजत्व हनन् गरिदिने कार्य सामाजिक सञ्जाल र कथित अभियान्ताहरुको नियमित धन्दा बनेको छ।
कलाकार खतिवडाको वैयक्तिक जीवनका विषयमा स्वघोषित न्यायमूर्ती बन्दै शर्मिला वाइवाले झनै बिग्रह ल्याएको दृष्य अहिले उजागर भइरहेको छ।
उनकी श्रीमती सुम्निमा खालिङसँगको पारिवारिक बेमेलबाट उत्पन्न तनावमा दोस्रो पक्षका रुपमा स्वघोषित अभियान्ताको प्रवेशले निजात्मक विषय सार्वजनिक गर्ने थलोका रुपमा चित्रित गर्ने प्रयत्न गरिएको छ।
यसले पनि सामाजिक सञ्जालको साख झनै गिराएको छ। व्यक्तिका निजी विषय सोसल मिडियामार्फत छताछुल्ल पार्ने प्रवृत्तिले कालान्तरमा कसैका पनि वैयक्तिक विषय गोपनिय नरहने संकेत गरेको छ।
तथाकथित अभियान्ताको कमाउ धन्दाका रुपमा रहेको सामाजिक सञ्जाल एवं युट्यूबको भ्यूज बटुल्ने लोभमा सामाजिक अराजकता र बिग्रहलाई यसले प्रश्रय दिइरहेको छ।
सरकारकले बलियो नियमनकारी निकायमार्फत सामाजिक सञ्जाल तथा युट्यूबको बढ्दो दुरुपयोग नियन्त्रण गर्न नसक्ने हो भने समयक्रममा यसबाट उत्पन्न हुने सामाजिक एवं पारिवारिक बिग्रहले भयाबह स्थिति निम्त्याउने प्रबल सम्भावना छ।
टिकटक बन्द गरेर सरकारले राम्रो गर्दा त आलोचना र बिरोधको सामना गरिरहेको छ, अब यू ट्यूबलाई पनि नियम बनाउनु पर्छ!सस्तो समचार र काम न लाग्ने भिडियोहरू धेरै छन्।