नियात्रा

ह्वाइट हाउसले तन्काएको मन

राजेन्द्रप्रसाद अर्याल
१९ फागुन २०८० ६:४४

ट्रेनबाट ओर्लियौँ हामी र ह्वाइट हाउसलाई लक्ष्य गर्दै वासिङ्टन डी.सी.को सडकमा केही बेर हिँड्यौं। जुलाई महिनाको सुरुवाती दिन। सूर्यले आफ्नो प्रचण्ड तेज सर्वत्र फालेको छ। गर्मीले आफलताफल हुँदै अनि व्यस्त सडकका कुना र कुइनेटाहरू पार गर्दै पेन्सिलभानिया एभेन्युलाई समात्यौं।

यसबीचमा हामी नयाँ यात्रीले अवलोकन गर्न मिल्ने धेरै विषयवस्तुहरू नभएका होइनन् अपितु बग्गीको घोडासरि सोही एभेन्युको १६०० नम्बरको घर अर्थात ह्वाइट हाउसतर्फ नै हामी एकोहोरिएका छौं। मानौं त्यहाँ ठूलो जात्रा लागेको छ।

एकातिर मेरो मथिङ्गलमा ह्वाइट हाउससँग सम्बन्धित यावत् किस्सा र किंवदन्तीहरू छड्किरहेका थिए। अर्कोतर्फ विश्व हल्लाउने घर हेर्न जाँदै छु भन्ने जिज्ञासा, उत्साह र कौतूहलले मलाई चिमोटिरहेथ्यो।

एकैछिनपछि उत्तरतर्फ फर्केको सेतो घरलाई अंकित गर्दै रेजिना पण्डितले हाँसिमजाको शैलीमा हामीलाई भनिन्- “ल अंकल, संसारका मुखिया बाको निवास यही हो। याने कि ह्वाइट हाउस यही हो।”

ह्वाइट हाउस मेरो मात्र नभई धेरैका बचपनदेखिको सम्झनाका तन्तुहरूमा निरन्तर उनिँदै आएको विषयवस्तुमा पर्दछ। विश्वको पहिलो शक्तिकेन्द्र भएर नै सम्झनामा उनिन सफल भएको होला।

यस्तो प्रमुख शक्तिस्रोतरुपी भवनको स्वरूप अमेरिकी उन्नत भौतिक समृद्धि र विकासको अनुपातमा नै उभ्याइएको होला भनी जोकोहीले पनि कल्पना गर्नु स्वाभाविक हो। तर जब मैले बाहिरबाट हेर्दा दुई तला मात्र अग्लो, सामान्य कारिगरीमा निर्मित सेतो भवन जसलाई अति सामान्य फलामे होचा बारले घेरेको वा कम्पाउन्ड लगाएको देखेँ तब मेरा सारा कल्पनाहरू बाफ बनेर हररर उडे।

म झस्केँ। हृदयमा आश्चर्यमिश्रित भावनाका अनेक तरंगहरू पनि उठे। आफूले हेर्न, छाम्न, अनुभूत गर्न हतारिएको र विश्वमा नै प्रख्यात ह्वाइट हाउस यही नै हो भनी पत्याइहाल्न निकै कठिन भयो मलाई। यथार्थमा भन्नुपर्दा बाहिरी दृश्यको हिसाबले मेरो कल्पनाको ह्वाइट हाउस छर्लङ्ग उभिन सकेन। मेरो मनको मयूर सोचेजति नाच्न सकेन त्यहाँ।

अमेरिकी वैभव, सम्पन्नता, लोभलाग्दो भौतिक सौन्दर्य र चरम विकासको झल्झलकार छाँया यो सेतो घरको बाहिरी आकृतिमा परेको एकातर्फ खासै अनुभूति हुँदैनथ्यो, अर्कोतर्फ सोही घरको ठ्याक्कै अगाडि विश्वशान्तिको लागि लामो समयदेखि प्रार्थनारत वृद्ध महिला बस्ने फुङ्ग उडेको प्लास्टिकको कारुणिक छाप्रोले सुकुम्बासी बस्तीको उराठिलो झल्को ओकलिरहेथ्यो।

गरिब र विपन्न मुलुकमा हाम्रा राजा महाराजा बस्ने झकिझकाउ दरबारहरू ठूला कम्पाउन्ड वाल तथा अग्ला र मोटा फलामे डन्डीले गिर्दा घेरिएको पाउँथ्यौं हामी। ह्वाइट हाउसको अति सामान्य स्वरूप देखेपछि ती महाराजाहरूका सबै कडा सुरक्षाका भौतिक महँगा संरचनाहरू तिनका कमजोरीप्रतिको रक्षाकवच मात्र रहेछ पो भन्न मन लाग्यो मलाई।

ह्वाइट हाउस

लोकहित विपरीतका कार्य र पाखण्डी चरित्र चिन्तनबाट तर्सेर सुरक्षाका नाममा आत्मशान्ति प्राप्त गर्ने एउटा कमजोर मानसिक मेलो मात्र रहेछ कि क्या हो त्यो। गरिब देशको प्रमुखको त्यस्ता आलिसान महल, त्यसमा प्रयुक्त महँगा कालिगढी र उत्ताउलो तडकभडकमा अभ्यस्त आँखाले संसार हल्लाउने अमेरिकी राष्ट्र प्रमुखको निवास यस्तो सरल र शान्त प्रकृतिको देखेपछि आश्चर्य चकित को नहोला र ?

जे होस्, ह्वाइट हाउसले  “सामान्य जीवन उच्च विचारको” आदर्शलाई व्यवहारमा लागू गरेको पाउँदा भने खुसी लाग्यो मलाई। बाहिरबाट हेर्दा उत्ताउलो, उन्मादी र तामसी लागेन त्यो सेतो घर। मेरो मनमा कुराहरू फुरिरहेछन्।

ह्वाइट हाउसको बाहिरी सृजना हेर्दा त्यति ठूलो कलाकारिताको नमुना नदेखिए तापनि महान् कलाले भन्दा प्रख्याति पाएको छ यसले। आफू कलाविहीन भएर के भयो र? पुरै अमेरिकालाई महान् कलाको सभ्य र विकसित सङ्ग्रहालय बनाउन सक्षम भयो ह्वाइट हाउस। त्यसैले भन्न सकिन्छ, रूपमा भन्दा आचरण र व्यवहारको कसीमा खारिएको रहेछ ह्वाइट हाउस । सामान्य कलाको मात्र उपस्थितिमा पनि महान् कलाको अनुभूति गराउन सक्षम छ ह्वाइट हाउस।

ह्वाइट हाउसको अग्रभागलाई हामीले धेरै बेर नियाल्यौं। भवनको वरिपरि हरिया चौरहरू चिरिच्याट्ट पारेर छाँटिएका थिए भने फक्रक्क फुलेका फूलहरूभित्र अमेरिकीको हाँसो लुकेको प्रतीत भयो मलाई। बहुसङ्ख्याले सुनेको र हेर्न मन गरेको यस भवन अघाउन्जेल हेर्ने क्रममा रूखका हाँगाका चेप-चेपबाट, फलामे बारको प्वाल-प्वालबाट धेरैपटक, लामो समयसम्म नियालिरह्यौँ ।

भवनलाई पृष्ठभूमिमा पारेर एकल, समूहगत फोटाहरू सम्झनाका लागि प्रशस्त खिच्यौँ । विविध रूपरंगका अनुहारहरूको मेला लागेको छ त्यहाँ। मानिसको अथाह घचारो छ। इच्छुक मान्छेजति साराले भिसा पाउने हो भने संसार सोहरिने थियो होला यो आँगनमा।

लामो समयपछि प्रेमीप्रेमिका भेटिएसरि सबै प्रफुल्ल छन्। उज्याला र हर्षित देखिन्छन्। आँखाको तिर्सना मेट्न सबै हतारिएका छन्। सबैको शरीरमा खुसीको भेल प्रवाहित भएको अनुभूति गरिरहेछु म।

आकाश सफा छ। ठाउँ ठाउँमा बादलका धब्बाहरू अनेक बुट्टा बनेर पसारिएका देखिन्छन्। मध्य दिन। सूर्य बौलाएको छ। उष्णताले चारैतिर फँडा उचालेको छ। सिङ्गो आकाशमा आगो सल्केसरह प्रचण्ड गर्मी छ तर त्यसको पर्वाह छैन कसैलाई।

मैले ह्वाइट हाउस मात्र हेरिरहेछु जस्तो लागिरहेथ्यो । होइन रहेछ । त्यो मूल वस्तु नियाल्ने क्रममा गहिरिएर सोच्ने हो भने अनेक संस्कार, संस्कृति र भाषा, भेष पनि देखिँदा रहेछन् त्यहाँ। गर्मीको कुरा गरिरहँदा भेषलाई ल्याएर जोड्न उद्यत हुन्छ मेरो मन।

ह्वाइट हाउसको प्राङ्गणमा देखिएको विविध रंगकामानव सागरमध्ये विषेशतः केही महिलाहरूको भेष याने लवाइले नचाहेर पनि ध्यान केन्द्रित हुन पुग्छ। कुन्तको अमेरिकी खुल्ला समाज, त्यसमाथि प्रचण्ड गर्मीको रामराज्य। कतिपय महिलाहरूका कपडाले धर्म छाड्लाजस्तो अनुभूति हुन्छ।

शरीरमा भएको दुई टुक्रा टालो पनि दुवैतिर खुम्चिँदो छ। गर्मीको मात्रा अझै बढेमा ती कपडाको रूप कहाँ आइपुग्लान्? हुन त यसलाई म श्लील र अश्लीलको सर्तमा लिन, बुझ्न चाहन्नँ किनकि यो नितान्त आआफ्नो रीतिरिवाज अनि संस्कार र संस्कृतिमा भर पर्ने कुरा हो। मैले त केवल स्थितिबोध गराउने प्रयत्न गरेको मात्र हुँ।

पुरुषभन्दा महिला छोटा लुगामा रम्न किन चाहन्छन् ? कुन रसायनको असर होला त्यो ? अङ्ग प्रदर्शनले व्यक्तित्व उच्च पार्छ भन्ने सोच्दा हुन् कि कसो? पुरुष अकर्षणको लागि मात्र छोटा लुगा छानेका होलान्? छोटा लुगाको अर्थ वक्षस्थल र गुप्तांगको हल्का प्रशर्दन मोह होला कि अन्य चाह?

जोगीको वैरागी मन पनि भोगतिर हाम फाल्ने गरी किन प्रस्तुत हुन चाहन्छन् यसरी ? लज्जा पनि एउटा सौन्दर्य हो, गहना हो जसको अभावमा विरूप भइन्छ, बुच्चो भइन्छ भन्ने कुरा किन बुझ्दैनन्? मेरो मनमा यस्तै-यस्तै अनेक प्रश्नहरू ओहोर-दोहोर गरिरहे, आइ-जाइ भइरहे त्यस बखत।

ह्वाइट हाउस कम्पाउन्डभित्रको चौरको ठीक बीचमा एउटा सानो गोलो पोखरी बाहिरैबाट हल्का अनुभव हुन्छ। त्यही पोखरीबीचबाट अँगालोभरिको हिउँजस्तो सेतो कञ्चन पानीको फोहोरा केही माथिसम्म उर्लिरहेको देखिन्छ। लाग्दछ सम्पन्नताको यो फोहोरामा अमेरिकी जनता नुहाइरहेका छन्।

ह्वाइट हाउसको सुरक्षा व्यवस्था अत्यन्तै चुस्त अवश्य छ तथापि बाहिरबाट हेर्दा न त ठूलो चौघेरा न त संगीन लिई उभिएका सेनाको निरन्तर पहरा। सायद विनाबर्दीका सुरक्षाकर्मीको उपस्थिति अवश्य बाक्लो होला।

कम्पाउन्डभित्रको अग्रभागको क्रियाकलापलाई लामो समयसम्म गहिरिएर नियाल्छु म। तर चरोमुसो कोही टुप्लुकिँदैनन् त्यहाँ। मानिस आइजाइ गर्ने भाग त्यो होइन होला सायद।

न्युयोर्कको सङ्क्षिप्त भ्रमणपछि हामी हिजो बास बस्न भर्जिनिया फियर याक्समा आएका थियौं। बिहान मेट्रो स्टेसनमा गाडी पार्क गरी मेट्रोबाटै डी.सी.आइपुगेका हौं। हाम्रो यो भ्रमणमा हामीलाई पुरै साथ दिने मेरी छोरीकी साथी रेजिना पण्डित थिइन्।

हुन पनि हो, उनलाई यस भूभागको सन्दर्भमा राम्रो ज्ञान रहेछ। विषयवस्तुहरूसँग परिचित पनि रहिछन्। प्रसंगवश उनी भन्दै थिइन्, “अंकल, म यो क्षेत्रमा करिब एक वर्ष बसें। यहाँबाट मैल धेरै अनुभव गरें। बाबुआमाको थाप्लोमा गिर खेलेर हुर्कन पल्किएका हामी गधापच्चिसेहरूलाई यो र यस्तै ठाउँहरूले धेरै कुरा सिकाउँदो रहेछ। जीवनरूपी गाडी हाँक्न बेल्नारूपी समयमा कसरी पेलिनुपर्दो रहेछ भनेर राम्रै अनुभव गरें अंकल मैले यहाँ। नेपालमा नसिकेको जीवन धान्ने कला यो एक वर्षमा अमेरिकामा सिकेँ मैले। अनेक हन्डर र ठक्कर मात्र खाइएन, जीवन र जगत्का बारेमा पनि बोध गरायो यो ठाउँले।”

हुन त ह्वाइट हाउसलाई अनगिन्तिपटक छापा र टेलिभिजनमा नदेखेको होइन मैले तर हाल प्रत्यक्ष देख्दा यसको सरल भौतिक स्वरुपको सन्दर्भमा यिनै रेजिनालाई आफ्नो उत्सुकता खोलें। “हो अंकल, एकातर्फ यी गोराहरू ठूला मान्छे बस्ने निवासको सन्दर्भमा उत्ताउलो र भड्किलो संरचना देखाउनु सभ्य नहुनु हो भन्ने ठान्दछन् अर्कोतर्फ बाहिरबाट हाल हामीले देखेको जस्तो मात्रै पनि छैन यो ह्वाइट हाउस। अमेरिकी राष्ट्रपतिको औपचारिक निवास र मुख्य कार्यथलो हो ह्वाइट हाउस। यो घरमा ६ तल्लाहरू छन्। माथिल्ला २ मा परिवारसहित राष्ट्रपति बस्छन् भने बीचका २ फ्लोर पब्लिक फ्लोर हुन् र बाँकी २ बेसमेन्ट फ्लोर हुन्।”

यसरी रेजिनाले यसका कोठा, चोटा, उचाइ, लम्बाइ र त्यस कम्पाउन्डभित्रका स्विमिङ पुलदेखि बेसबलकोटसम्मका अनेकन् जानकारी पस्किइन् मलाई। मैले पछि अध्ययन गर्दा अनुभव भयो कि उनले दिएका सूचनाहरू भरपर्दा रहेछन्।

उनको प्रस्तुतिमा ज्ञानको प्रभाव मात्र थिएन, व्यवहारको कसीमा पनि उनी पारङ्गत भएकी आभास झल्कन्थ्यो। सायद अमेरिका आएपछि उनले पाएको अनेक हन्डर, ठक्कर, र चेतावनीहरूबाट उत्सर्जित व्यावहारिक ज्ञानको प्रभाव म अनुभव गरिरहेको छु उनमा।

ह्वाइट हाउसले धेरै घामपानी बेहोर्दै आएका घटनाहरूको जानकारी मिल्यो त्यहाँ। ब्रिटिससँगको लडाइँमा यसले पनि केही क्षति बेहोरेको रहेछ। साथै कुनै समयमा आगलागीबाट पनि केही भाग नष्ट हुन गएछ। यस्ता पटक पटकको क्षतिलाई पुनः निर्माण गर्दै र अन्य आवश्यकीय भाग थप हुँदै आजको अवस्थामा आएको रहेछ यो भवन।

गर्मी हावाको फुइकी एकातिर वातावरणमा चलिरहेको छ। अर्कोतर्फ मेरो मनमा ह्वाइट हाउससँग सम्बन्धित विविध कुराहरू फत्किरहेका छन्। तर्कनाको यस्तै भुवादार बादलमा मेरो मन उडिरहेछ।

यो घर सेतो रङ्गको हुनाले नै ह्वाइट हाउस भनिएको होला कि, अर्थ अर्कै होला ? हुन त यो भवन ह्वाइट हाउस नामकरण गर्नुअगाडि पनि सेतै रंगकाे रहेछ। सन् १९०१ देखि मात्र औपचारिक रूपमा ह्वाइट हाउस नामकरण गरिएको जानकारी मिल्यो। त्यसपूर्व यसलाई राष्ट्रपति दरबार वा राष्ट्रपति भवन भनिँदो रहेछ।

हातमा चिसो सोडाको बोटल लिएर पिइरहेका छौं। अगाडिको सडकमा गाडी गुड्ने अनुमति रहेनछ। मानिसको भीड क्रमशः सडकभरि बढ्दो छ। कुनै कुनाको शीतल छहारी पाएर सुस्ताउँदै ह्वाइट हाउस अगाडिको गतिविधि निरन्तर नियालिरहेछौं।

भर्खरको यौवना जोडी हतार हतार लम्कँदै छ। ह्वाइट हाउसको आग्रभागमा आएपछि पालैपालो फोटाहरू खिचे आफू आफूमा। त्यसपछि प्रफुल्ल हुँदै थुतुनो जोडेर चुम्बनमा लीन मात्र भएनन्, अंकमालमा पनि रमाए, बाँधिए। अंकमाल यति कसिलो लाग्थ्यो मानौं ती दुई छालासरि आपसमा टाँसिएका छन्।

दिलको कुनै कुनामा यो भवनप्रतिको सद्भाव सोडापानी उम्ले झैँ एक्कासि हुसुसुसु हुँदै माथि माथि आयो। संसारभर यस घरको प्रभावमा हुन गएका सकारात्मक परिवर्तनहरू डकुमेन्ट्रीको रूपमा मनको भित्तामा नाच्न थाले।

अमेरिकी वैभव, ऐश्वर्य र संवृद्धिको मुहानको रूपमा मात्र यो भवन रहेको छैन। संसारभर प्रजातन्त्र र स्वतन्त्रताको संवाहकको रूपमा समेत रहेको छ। कतिपय पापीहरू, आततायीहरू, भ्रष्टहरू अर्थात् मानवरूपी दानवहरूको शासन सत्ता पल्टाएर करोडौं जनताको हितमा निर्णय लिएको छ अनि प्रजातन्त्र स्थापनामा सबैलाई उक्साउँदै, हौस्याउँदै र अग्रसर बनाउँदै ल्याएको पनि छ।

आफ्नो थातथलो गुमाएका दीनदुःखीहरूलाई पनि शरण दिएर भरणपोषण गरेकै छ। मलाई यो पनि भन्न मन लाग्यो कि कर्मठ, देशभक्त, राष्ट्रप्रेमी अनि अनुशासित अमेरिकी जनता जसको मिहिनेतले आज अमेरिका उच्च शिखरमा पुगेको छ, हो तिनै जनताका प्रमुख प्रतिनिधि वा नेताको निवास हो ह्वाइट हाउस। यसरी सोच्दै ल्याउँदा मेरो हृदय यस भवनप्रतिको आदरभावले टन्न भरिन पुग्छ।

मलाई अझै त्यो भवन हेर्ने भोक मेटिएकै छैन। पुनः दृष्टि त्यतैतिर लैजान्छु। यसपटक मेरो नजर भवनको बीचको टुप्पामा रहेको अग्लो पोलमा फरफराइरहेको ५० तारा अंकित झन्डामा केन्द्रित हुन्छ। त्यो झन्डा फरफर-फरफर हुँदाको आवाज कानमा ठोकिएको आभास भैरहेछ। त्यसबाट प्रवाहित हावा संसारभर कतै चक्रवातको रूपमा त कतै सञ्जीवनी अक्सिजनको रूपमा पुगेको अनुभव गर्न पुग्छु म।

सीता, म, छोरी राशिका र उनकी पनि सानी छोरी ईप्सा अनि रेजिनासमेत हाम्रो टोलीमा पाँच जना छौं। दुई वर्षकी नातिनी ईप्सालाई स्टोलरमा गुडाउँदै ह्वाइट हाउसको आग्रभागमा कहिले यता त कहिले उता पुगेका छौं।

मान्छे आउने जाने क्रम निरन्तर चलिरहेछ। अनेक किसिमका भाषाको अस्पष्ट आवाज कानमा गुन्जिरहेका छन्। मानौं मिटर जुधेको रेडियो क्यारक्यार-कुरकुर गरिरहेछ। मलाई ज्ञान भएन तिनले कुन भाषा बोलिरहेका छन्।

यसै क्रममा लामा लामा लेन्सयुक्त क्यामरा घाँटीमा झुन्डाउँदै जापानी पर्यटकको समूह त्यही प्रांगणमा आइपुग्यो। तत्क्षण यता ममा रोमाञ्चकता भरिएको अतीतको घटना झल्याँस्स उप्कियो अनि त्यस घटनाका अध्यायहरू प्याजजस्तै पत्र पत्र हुँदै खुल्दै आए।

मथिङ्गलमा भुमरी पर्दै गयो। उता जापानीहरू एकातर्फ जिरोवाटको बत्तीजस्तो मलिन देखिन्थे अर्कोतर्फ पानी मरेको घट्ट झैँ सबै चुपचाप थिए। उनीहरूकै अनुहारमा आँखा बिसाएर टोलाइ मात्र रहिनँ, मनमा प्रश्नहरूको गुजुल्टो निस्कन थाल्यो।

ह्वाइट हाउस देख्नेबित्तिकै ती जापानीहरूको हृदयमा के कस्तो भावनाका तरङ्गहरू उठे होलान् ? के सोचाइ आयो होला? सबैको मनमा एउटै बिम्ब नाच्यो होला कि फरक-फरक ? म सोचमग्न हुँदै सम्झनारूपी बाकस उघार्न पुग्छु।

एकातर्फ हिरोसिमा र नागासाकीमा आणविक बम प्रहारको नाइके बसेको घर ह्वाइट हाउस, अर्कोतर्फ हाउसकै अगाडि सेतो प्लास्टिकको छाप्रोमा आणविक हतियारविरुद्ध ३५ वर्षदेखि धर्नारत वृद्ध महिला। यी दुई आम्नेसाम्ने रहेको स्थितिलाई यी जापानीहरूले कसरी लिए होलान्?

यी जापानी पर्यटकहरूका मनमा उब्जन सक्ने तरङ्गहरूलाई मैले तीन वर्गमा विभाजित गरेँ। पहिलो त त्यो घर देख्नेबित्तिकै दोस्रो विश्वयुध्दको सम्झना गर्दै नमीठोसँग बिगत उग्राए। यिनमा पीडा र वेदनाले छाती पोल्यो अनि आक्रोश र प्रतिशोधको ज्वारभाटा उठ्यो होला। नउठोस् पनि किन? हिरोसिमा र नागासाकीको नरसंहार इतिहासमा मात्र सीमित रहेन। विकिरणको दुष्प्रभावले वर्तमानसमेत पीडित छ र भविष्यको कुनै ग्यारेन्टी छैन, कति अवधिसम्म यसले सताइरहने हो।

दोस्रो, इतिहासका नालायक आफ्ना राजनेताहरूको अदूरदर्शी निर्णय सम्झेर धिक्कारे होलान्। हुन पनि हो, दोस्रो विश्वयुद्धको क्रममा अमेरिकी हवाई टापुमा जापानी आक्रमण युद्ध उन्मादको नजिता थियो।

परिणामस्वरूप सुतिरहेको बाघ अर्थात युद्धमा असंलग्न अमेरिकालाई आफ्नैविरुद्ध उठाउने काम भयो। प्रतिशोधमा आणविक बम प्रहार मात्र भएन, अमेरिकी सर्तअनुसारको सम्झौतामा कालान्तरसम्म नराम्रोसँग बाँधिन विवश भयो जापान।

तेस्रो, जापानी र अमेरिकीबीच वर्तमानमा विकास हुँदै गरेको न्यानो मित्रतापूर्ण सम्बन्धले इतिहासलाई केही हदसम्म ओझेल पारेको सम्झे र त अमेरिकी वैभवको महासागरमा घुमफिर गर्न आइपुगे यिनीहरू। यसै क्रममा अणविक हतियारविरुद्धको धर्नामा रहेकी ती वृद्ध महिलालाई नमन गर्नु आफ्नो कर्तव्य सम्झे होलान् जापानी पर्यटकहरूले।

म पुनः सोही सेतो घरलाई हेर्दै विवेचना गर्न पुग्छु । आज संसारको दृष्टि सोही सेतो घरतर्फ एकोहोरिएको छ। बल्छीमा परेको माछो झैँ सबै त्यतै सोहोरिएका छन्। सबै-सबै यसको प्राङ्गणमा रम्न चाहन्छन्।

यस घरको रोसनीमा देखिन पाए सुरक्षित अनुभव गर्छन् सबै। यसरी शक्तिको स्रोत मात्र होइन, प्रतीक पनि भएको छ यो सेतो घर । यस्तो भाव मनमा आइरहँदा यस घरसँग पुनः तस्वीर लिन मन लाग्यो मलाई।

यस घरलाई बहुकोणबाट नियाल्ने क्रममा यसप्रतिका केही आक्षेपहरू, नकारात्मक सोचाइहरू, शृङ्खलाबद्ध हुन पुग्छन्। बन्न त यो सेतो घर शक्तिको स्रोत र प्रतीक बन्यो तर त्यसको भित्ताहरूमा करौडौं जनको पसिना र रगत लत्पतिएको छ।

संसारका निर्दोष, निमुखाहरूको रोदन र चीत्कार ह्वाइट हाउसको प्राङ्गणभरि गुन्जिरहेको छ। मजदुर र उनका लालाबालाको आँसुको भेल जमेको छ ह्वाइट हाउसको जगमा। लुटको सम्पत्तिको रवाफमा टलक्क टल्केको छ सेतो घर।

सानो स्वार्थले अर्काको देशै जलाइदिएको छ यसले। संसारभर पैसा र शक्तिको व्यापक दुरुपयोग गरिरहेको छ अमेरिकाले आदि आदि। यस्ता आक्षेपहरू प्रमाणित हुन सकेका छैनन् र त चुरोटको पातलो धुवाँ झैँ हावामा फास्सफुस्स हराएर गएको पाउँछौँ अहिले।

भनिन्छ, लटरम्म फलेको आँपको रुखमा ढुङ्गा हान्ने धेरै हुन्छन्। थारो रुखतर्फ कसको ध्यान जान्छ र ? यसरी पनि अर्थ्याउन सकिन्छ यी आरोपहरूलाई। जे होस्, यी आक्षेपहरूमा सत्यता कति छ ? एक दिन बाहिर आउने नै छ। मलाई विश्वास छ सत्यको अन्त्य कहिल्यै हुँदैन र सत्य कहिल्यै असत्यसँग पराजित पनि हुँदैन।

यस सेतो घरले मलाई लोकतन्त्र र निरङ्कुश तन्त्रबीचको विभेदसम्बन्धी एउटा अतीतको कथा सम्झायो । यो कथामा लोकतन्त्रको सौन्दर्य र निरङ्कुशतन्त्रको कुरूपताको छोटो तर मार्मिक प्रसङ्ग छ।

ह्वाइट हाउसकी एक महिला कर्मचारी मोनिका लेविन्स्की र तत्कालीन राष्ट्रपति विल ल्किन्टनबीच भएको यौनकाण्डको पर्दाफास वाक् स्वतन्त्रताको उदाहरण थियो । एकातर्फ संसार हल्लाउने अमेरिकी राष्ट्रपति, अर्कोतर्फ उनै मातहतकी अति सामान्य एक कर्मचारी।

मोनिकाले यो काण्ड सार्वजनिक गर्न आफूलाई किञ्चित असुरक्षित ठानिनन् र गरिन् पनि। यसले गर्दा राष्ट्रपति विल क्लिन्टनको आसन मात्र डग्मगाएन, स्वयं मोनिका अपर्झट अन्तर्राष्ट्रिय सेलिब्रेटी बनिन्। यस काण्डको प्रसंगमा पुस्तक लेखियो। ठूलो राजनैतिक हंगामा भयो।

टेलिभिजन अन्तर्वार्ता र विविध कार्यक्रमहरू भए। त्यसबाट कुस्तौं डलरसमेत कमाइन् मोनिकाले। उता विल क्लिन्टनले बल्ल बल्ल पद त जोगाए तर त्यसपछिको राष्ट्रिय चुनावमा उनको पार्टीले नराम्रो पराजय भोग्यो।

एकातर्फ यसरी एउटा सामान्य व्यक्तिले पनि गलत व्यवहारको विरुद्ध अति उच्च व्यक्तित्वसँग पौँठेजोरी खेल्न सक्छ, टक्कर लिन सक्छ। अन्यायको विरुद्ध आवाज उठाउन सक्छ प्रजातान्त्रिक व्यवस्थामा। अर्कोतर्फ तत्कालीन पञ्चायती निरङ्कुशताले गाँजेको निरीह मेरो मुलुकको सर्वशक्तिमान् दरबार जहाँ यौनउन्मादका वीभत्स घटनाहरू कति दबाइए होलान्।

निर्मम समयले लतारेर कतिलाई यौन दुराचारको कहालीलाग्दो पहिरोले पुर्यो होला। नमिता-सुमिता काण्ड त बलात् बाहिर देखिएको जघन्य यौन अत्याचारको प्रतिनिधि परिणति थियो।

कठै बिचरा, यी दुई किशोरीहरूलाई आफ्नो फक्रँदो बैँस र उच्च सौन्दर्य स्वयंकै वीभत्स काल बनेर आउलान् भन्ने के थाहा ? डरको मारे चुँसम्म बोल्न सक्ने अवस्था कसैलाई थिएन। यतिसम्म कि आफ्ना हृदयको टुक्राको वीभत्स हत्या हुँदा पनि यिनका बाबुआमाले समेत डाँको छोडेर अघाउन्जी रुन सकेनन्।

हामी त्यस भवनअगाडि घुमफिर गरिरहँदा एउटा अग्ला गोरा व्यक्ति कहिले यता कहिले उता गरिरहेका थिए। उनी पर्यटक नभई सायद यही भवनसँग नै सम्बन्धित व्यक्ति पनि हुन सक्ने मैलै अडकल काटेँ र यथोचित जवाफ पाउन सक्ने अनुमान गरेँ। यदि सजिलै हुने रहेछ भने किन मौका गुमाउने भन्ने ठानेर नम्रतापूर्वक सोधिहालें।

उनले सहज रूपमा भन्न थाले- “हो, यो भवनभित्र अवलोकन गर्न पाइने नियम नभएको होइन तर अमेरिकी नागरिकले कङ्ग्रेस सदस्यको सिफारिसमा र विदेशी नागरिकले आ–आफ्ना दूतावासमार्फत निश्चित प्रक्रिया पुर्याएमा अनुमति मिल्न सक्छ ।”

ती सबै प्रक्रिया पुर्याउने समय हामीसँग नभए पनि नियमको जानकारी हुन आयो। लामो समय बितायौँ ह्वाइट हाउसमा हामीले। धित पुर्‍याउन्जेल नै हेर्‍याैं। त्यसकै देब्रेतर्फ अगाडि बढ्दै पुरै एक फन्को घुम्यौं हामी । ह्वाइट हाउसभन्दा त्यसैसँग सम्बन्धित एक्ज्युकेटिभ भवनहरू बाहिरी रूपमा अग्ला, ठूला र आकर्षक देखिन्थे ।

हाल:- विस्कन्सन, अमेरिका ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *