भक्तराजको महाप्रस्थान
सन् २०२४ को शुरुवातसँगै नेपालका दुई अति लोकप्रिय गायकहरू योगेश वैद्य र भक्तराज आचार्यको निधन हुन पुग्यो भने एकजना निकै नाम चलेका साहित्यकार विश्वम्भर चञ्चलको पनि आकस्मिक निधन भयो।
हुन त यी तिनैजनाको निधन हुँदा उनीहरू वृद्धावस्थामा पुगिसकेका थिए, तर पनि आफ्नो क्षेत्रमा ठूलो योगदान दिने यस्ता अद्भुत व्यक्तिहरू अझै बढी बाँचे हुने भन्ने जस्तो मनोआकांक्षा सबैमा हुने रहेछ। त्यस्तै भक्तराज आचार्यको निधन कै दिन हिन्दी तथा उर्दूका महान् गायक पंकज उदास ७२ वर्षको उमेरमा अस्ताए। आज भने हामी भक्तराज आचार्यको चर्चा गरौँ।
२०३० सालमा आयोजित राष्ट्रव्यापी राष्ट्रिय गीत प्रतियोगितामा भक्तराज आचार्यले गाएको गीत ‘होसियार यस बखत समयको मुखलाई चिन’ले प्रथम पुरस्कार पाएको थियो। यो पुरस्कारसँगै उनले रेडियो नेपालमा जागिर समेत पाए।
भक्तराजले ३१ वर्षको उमेरदेखि ४६ वर्षको हुँदासम्म करिव ४५० वटा जति गीत गाएर रेकर्ड गरेका भजन तथा समसामयिक गीतहरू नै नेपाली गीत-संगीतको इतिहासको एक महत्वपूर्ण कोशेढुंगा बन्न पुगे। उनी आफैंले सिर्जना गरेका गीतहरू पनि दुई दर्जन भन्दा बढी थिए।
त्यतिबेलाका संगीतका पारखीदेखि आजका नयाँ पुस्तामासमेत भक्तराजका गीत मन पराउनेहरूको संख्या निकै धेरै छ। उनका ‘जति चोट दिन्छौ देउ मायालु…, सबै बेहोसी नसा पिएर…, मुटु जलिरहेछ…, हजार सपनाहरूको माया लागेर आउँछ…, जीवन भनुँ त घात छ…, हजार आँखा हेर्ने मेरी मायालु…, आँसु जस्तो हो जीवन…, भुल्नै सकिनँ त्यो क्षण मिलनको…’ जस्ता समसामयीक गीतहरू अति नै लोकप्रिय भएका छन्।
‘जहाँ छन् बुद्धका आँखा…’ जस्ता देशभक्तीको गीत र दर्जनौँ धार्मिक भजनहरूले लाखौँ नेपालीहरूलाई मन्त्रमुग्ध पारेका छन्। ‘एक दिन मैले प्रभुसँग सोधेँ…, जय गुरु गणपति…, राम यहीँ छन्…, रहेनछ मेरो कोही भगवान…, दुर्गा देउ भक्ती मलाई…, बजिरहेछ बाँसुरी…’ जस्ता भजनहरू आज पनि विभिन्न धार्मिक कार्यक्रमहरूमा बजिरहेका हुन्छन्।
उनले गाएका कालजयी भजनहरू कै कारण उनलाई भजनशिरोमणीको संज्ञा दिइएको थियो। नेपालका अति वरिष्ठ ध्वनी इन्जिनियर प्रदीप उपाध्यायले भक्तराज आचार्यको शवयात्राको दौरान केही दिन अघि बताए अनुसार भक्तराजले एउटा मात्र नेपाली सिनेमा भाग्य रेखाको लागि एउटा गीत गाएका छन् रे र त्यसको रेकर्ड प्रदीप उपाध्याय आफैंले गरेका हुन् रे।
नेपाली गीत–संगीतमा रेडियोको आधिपत्य र अति धेरै लोकप्रियता भएको त्यो बेला नै नेपालको एक मात्र रेडियो स्टेशन रेडियो नेपालमा गीत गाउन जाने ख्यातीप्राप्त तथा अनुभवी गायकहरूको संख्या ज्यादै धेरै थियो भने उनीहरूबीच ठूलो प्रतिष्पर्धासमेत हुने गर्दथ्यो।
तर भक्तराज आचार्यको गायनको आफ्नै शैली भएको र यो विधामा उनी निकै माझिएका र कर्णप्रिय स्वरका धनी भएकाले उनले नेपाली गायन जगत्मा आफ्नै किसिमको छाप छोड्न सफल भए।
गीतको छनोट तथा त्यसका शब्द-शब्दलाई केलाएर गाउन सक्ने क्षमता भएकै कारण उनका सबैजसा गीतहरू लोकप्रिय बन्न पुगे। उनका गीतहरू गाएर नै कतिपय गायकहरूले ख्याती कमाएका छन्।
वि.सं. १९९९ साल असोज १६ गते धनकुटामा जन्मेका भक्तराज आचार्यले हालै दशैंताका ८२ वर्षमा टेकेका थिए। अंग्रेजको शासनकालदेखि नै नेपालको पूर्वी पहाडमा बसोबास गर्ने धेरै विपन्न तथा निम्न मध्यमवर्गका बासिन्दाहरूको निम्ति भारतको आसाम तथा दार्जिलिङका चिया बगान र त्यही भेगका कृषि क्षेत्र तथा खानीहरूमा रोजगारी तथा खुद्रा व्यापारको अवसर मिल्ने भएकोले उता गएर बस्ने नेपालीहरूको संख्या निकै बढ्दै गएको थियो।
भक्तराज डेढ वर्षका छँदा उनका पिता बलभद्र आचार्यको निधन भएकोले उनकी माता रेणु आचार्य पनि कामको सिलसिलामा आसामको डुवर्समा पुगेकी थिइन् आफ्ना छोरालाई साथैमा लिएर। अनि त्यहीँको चिया बगानमा काम गदै उनले भक्तराजको लालन पालन गरेकी थिइन्। त्यसैले भक्तराजको बाल्यावस्था र प्रारम्भिक शिक्षा उतै हुन गयो।
२०३० सालको दशकमा नेपाल फर्केका भक्तराजको संगीतको खास यात्रा यही बेलादेखि शुरु भयो। हुनत उनी डुअर्स र कालिम्पोङमा अध्ययन गर्दा र बस्दा नै संगीतको साधना गर्नुका साथै विभिन्न कार्यक्रमहरूमा गाउने गर्दथे।
उनी निकै छिटो रिसाउने प्रकृतिका, हठी तथा बाहिरबाट हेर्दा क्षुद्र स्वभावका मानिस थिए। त्यस्तै बानीले गर्दा उनलाई मन पराउने मानिस अति कम हुन्थे भने कतिपय उनका अनुयायी र हितचिन्तकसमेत उनीसँग बोल्न हत्तपत्त डराउँथे।
रेडियो नेपालकै कुरा गर्दा उनको कुरा नातिकाजी, शिवशंकर तथा अन्य सहकर्मीहरूसँग पनि नमिलेर धेरै पटक द्वन्द्वको स्थिति खडा भएको थियो। तर सबै त्यस्ता विवादमा उनी मात्र दोषी भने गर्दैनथे।
फरक यति मात्र थियो कि भक्तराज अन्याय र खुराफात पचाउन सक्दैनथे भने धेरैजसा सोझा गायक, संगीतकार तथा अन्य सहकर्मी त्यहाँ हुने अस्वस्थ प्रतिष्पर्धा र कामकाजी राजनीतिको विरोधमा बोल्ने आँट नगरेर चुप लागेर बस्थे वा त्यही लयमा बग्ने गर्दथे।
नारायण गोपाल जस्ता गायक पनि रेडियो नेपालमा हुने यस्ता कुसंस्कारदेखि अवाक थिए। झनै २०४६ साल पछि त त्यहाँ पार्टीगत राजनीति नै घुसेर असल र सोझाले त टिक्नै नसक्ने अवस्था आएको छ। भक्तराज माथि रेडियो नेपालमा र बाहिर बारम्बार सांघातिक हमलाहरू पनि भएका थिए। उनको अर्को पनि एउटा कमजोरी थियो, अलिक धेरै पिउने।
यस्तैमा गीतसंगीत कै क्षेत्रमा लागेको एकजना नाम चलेको असभ्य र कुसंस्कारी व्यक्तिले केही साथीहरूको सहयोगमा भक्तराज आचार्यलाई २०४५ सालतिर वौद्धमा लगेर रातिको समयमा त्यहाँ कै एउटा सानो रेष्टुरेन्ट (सायद छिरिङ रेष्टुरेन्ट हो क्यार)मा निकै मात्तिने गरि रक्सी पिलाएर मरणाशन्न तवरले पिटेर सडकमा नै फालेर भागेको तर उनलाई स्थानीय बासिन्दा र सुरक्षाकर्मीले समयमा नै वीर अस्पताल पुर्याएकोले उनको ज्यानसम्म बचेको कुरा त्यतिबेला सुन्नमा आएको थियो।
वीरमा उनको उपचार गर्दा उनको टाउकोमा निकै चोट लागेकोले जताततै धेरै टाँका लगाएर उनका घाउ तथा चोटहरूलाई निको तुल्याउनु परेको थियो अरे। त्यस्तै उनको जिब्रोमा लागेको चोटको शल्यक्रिया गर्नको निम्ति रेडियो नेपालका तत्कालीन उच्च तहका अधिकारी साहित्यकार राममणि रिसालको दुई हप्तासम्मको पटक पटकको प्रयास पश्चात् डा. उपेन्द्र देवकोटाले शल्यक्रिया गरेका थिए रे।
उपचारमा भएको ढिलाई र घाउ राम्ररी निको हुन नसकेर जिब्रोको सो घाउ बल्झेर पछि २०४९ सालतिर क्यान्सरमा नै परिणत भएपछि भारतको राजधानी नयाँ दिल्लीमा उनको जिब्रोको क्यान्सरको उपचार शुरु भयो र आखिर जिब्रोको केही भाग काटेर फाल्नु नै पर्यो।
२०५६ सालतिर नेपालस्थित जर्मनीको राजदूतावासले उनको उपचारको निम्ति उनलाई जर्मनीमा पु¥याएर जिब्रो प्रत्यारोपण समेत गराई दियो। त्यतिबेला उनको आवाज पुनः सुन्न पाउने आशामा धेरै गीत-संगीत प्रेमी मानिसहरूले उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका थिए।
यो सब उपचार पछि उनले नयाँ जीवन पाएको भए तापनि उनी गायनमा भने कहिल्यै पनि पहिलेको अवस्थामा पुग्नै सकेनन्। ४६ वर्षको उमेरदेखि उनी जीवनभर गीत गाउन नसक्ने भए। कस्तो भयानक विडम्बना!
एउटा गायकको निम्ति उसको जिब्रो वा गला नै काम नलाग्ने भएर कहिल्यै गाउन नपाउँदा उसलाई कति पीडा हुँदो हो। भाग्यले उनका दुवै छोरा सत्यराज र स्वरुपराजले निकै मेहनत गरेर आफ्ना बुवाका गीतहरू ‘सत्यस्वरुप’को नाममा गाउन थाले भने आज आएर यी दुवै दाजुभाइ स्थापित गायक भएसकेका छन्।
केही वर्ष पहिले सत्यराजको गजलको एल्बम बिमोचन समारोहमा भेट्दा भक्तराजले आफू गाउन नसक्ने भएको भए तापनि आफ्ना सन्तानले निकै ख्याती प्राप्त गर्दै अघि बढिरहेकोमा ज्यादै खुशी र सन्तोष लागेको कुरा बताएका थिए।
उनी माथि उल्लेखित भयानक सांघातिक हमलाबाट बच्न सफल भएपछि रेडियो नेपालमा काम गर्न वा अन्य कुनै काम गर्न पनि नसक्ने भए, त्यसैले घरमा एक प्रकारको आर्थिक संकट नै पर्दैगयो।
तर रेडियो नेपालले उनको प्रतिभा र कामको कदर गर्दै उनकी अर्धांगिनीलाई त्यहाँ प्रशासनिक काम सम्बन्धी जागीरमा लगाएर राम्रै गुन लगायो। त्यसैले छोराहरूको लालनपालन र शिक्षादिक्षामा कुनै अवरोध आउन पाएन।
सिक्किमका ख्यातिप्राप्त सिने निर्माता प्रशान्त रसाइलीले भक्तराज आचार्यको जीवनमा आधारित सिनेमा ‘आचार्य’मा उनकै जेठा छोरा सत्यराज आचार्यलाई नायकको भूमिकामा अभिनय गराएका थिए। यो सिनेमाको निकै प्रसंशा भएको थियो।
भक्तराजको जीवनको यो दर्दनाक घटनाको बेलामा उनका केही विरोधीहरूले सन्तोषको स्वास फेरे होलान् तर नेपालको संगीत जगत् र लाखौँ संगीतप्रेमीहरू यस घटनाबाट निकै स्तब्ध र निराश भए।
उनलाई सांघातिक हमला गर्ने मुख्य नाइके भनिएका संगीत क्षेत्रकै व्यक्ति नेपालमा टिक्न नसकेर हाल अमेरिकामा बस्छन् भन्ने सुन्नमा आएको थियो। तर त्यस्ता अपराधीहरू उम्केर विदेश पलायन गर्दा पनि हाम्रो प्रशासनले मौनता साँधेर बस्नु भनेको यो देशमा न्याय, कानुन तथा शुशासनमा कति कम्जोरी छ भन्ने कुराको प्रमाण बन्नु जस्तै नै हो। जे भएपनि नयाँ पिँढीका गीत-संगीतकर्मीलेसमेत उनको गीत नगाई वा उनको संगीतलाई नबुझी संगीतको असली स्वाद लिन वा दिन पक्कै सक्दैनन्।
केही समय अघि खुल्ने चाँजो पाँजो गरेको गायकहरूको एक संस्थाको सल्लाहकार समुहमा भक्तराज आचार्यको नाम नपरेको पाइए पछि मैले सो समुहका अध्यक्षलाई भक्तराज आचार्यको नाम त छुटेछ त भनेर सम्झाउन खोज्दा उनले त्यहाँ भेला भएका आधा दर्जन भन्दा बढी गायकहरूको अगाडि ‘भक्तराज को हो र त्यसको नाम सल्लाहकारमा राख्ने’ भनेर कड्किँदा मलाई ज्यादै अचम्म र नमज्जा लागेको थियो।
उनी आफैं एक राम्रा र स्थापित गायकमा गनिएका व्यक्तिले आफुभन्दा अग्रज तथा हुनाहार गायक भक्तराजबारे व्यक्त गरेको त्यस्तो नराम्रो अभिव्यक्तिले गर्दा उनी माथिको सबै श्रद्धा मेरो मनबाट हटेर गयो।
मैले पनि झट्ट उनलाई भनेँ कि, ‘अधिकांश कलाकार, साहित्यकार तथा चिन्तकहरू सनकी स्वभावका नै हुन्छन्, चाहे त्यो अम्बर गुरुङ होस्, गोपाल योञ्जन होस्, नारायण गोपाल होस् या भक्तराज आचार्य नै किन नहोस्।
हामीले तिनको सनकलाई नाप्ने कि तिनको गीत-संगीतको ज्ञान, प्रतिभा र प्रस्तुतीलाई नाप्ने?’ यसरी मैले अलिक कडा स्वरमा नै उनलाई यी कुरा भनेपछि भने उनी नाजवाफ हुन पुगे।
भक्तराजले शुरुमा काठमाडौँ आएपछि विभिन्न नीजि विद्यालयहरूमा गीत-संगीतको अध्यापन गर्ने काम पनि गरेका रहेछन्। २०३५ सालतिर उनले ललितपुरस्थित अरनिको बोर्डिङ स्कुलमा ७ वर्षसम्म संगीत शिक्षकका रूपमा अध्यापन गरेका रहेछन्।
त्यतिबेलाका उनका एकजना विद्यार्थीका अनुसार उनी निकै सफा कपडा लगाएर कपाल कोरी चिट्ट परेर हिँड्दथे रे। उनको जुत्ता पनि पालिस लगाएर टल्काइएको हुन्थ्यो रे। कसैले उनको जुत्तामा कुल्ची दिएर फोहर गरिदियो भने उनी निकै रिसाउँथे रे र झट्ट खल्तीबाट रुमाल झिकेर पोछिहाल्थे रे।
कक्षा कोठाका छात्राहरूले कुनै कारणवश बाहिर निस्कन पर्यो भने नमस्कार गरेर र छात्रहरूले सलाम गरेर अनुमति मागेपछि मात्र बाहिर निस्कन पाउँथे रे। यसबाट उनीभित्र रहेको हाँस्यजनक गुण पनि छर्लङ्गिन्छ।
पछि पछि पनि आफ्ना पुराना विद्यार्थीलाई बाटोमा भेट्दा उनले आफ्ना गुरुहरूसँग भेट हुँदा अभिवादन गर्ने गर भनेर सम्झाउँथे रे। यो उनले आफ्ना विद्यार्थीलाई दिने गरेको अनुशासन र संस्कार सम्बन्धी शिक्षा थियो।
बुढेसकालमा पनि आफ्नो काम आफैं गर्ने र कसैले हात समाएर हिँडाउन खोजेको समेत मन नपराउने उनी सानातिना बिरामी पर्दा पनि परिवारजनलाई सकेसम्म थाहा नदिने खालका अपठ्यारा स्वभावका व्यक्ति थिए।
केही महिना पहिले एक पटक घरैमा शारीरिक कमजोरीका कारण उनी लड्दा टाउकोको पछाडि भित्री चोट लागेको रहेछ, तर उनले त्यो कुरा धेरै समयसम्म कसैलाई नभनेर सहेर बसेका थिए रे।
आखिर यस्तै अनेकन अदृश्य चोटहरू तथा अन्य स्वास्थ्य सम्बन्धी समस्याका कारण पनि होला उनलाई एकदिन स्वास फेर्न निकै कठिनाई भएपछि घरपरिवारले झटपट भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालतिर हुइँक्याएछन्।
तर अस्पताल पुग्दा उनको निधन भइसकेको रहेछ। उनकी धर्मपत्नी र छोराबुहारीले उनको हेरचाहमा कहिल्यै कुनै कसर बाँकी राखेका थिएनन्। स्वास्थ्यका कारण गायनबाट वञ्चित भए तापनि उनको बुढेशकाल घरपरिवारको माया र स्याहारले गर्दा निकै सुखद रहेको थियो। उनी हार्मोनियम बजाएर विभिन्न धुनको सिर्जना गरिनै रहन्थे।
निधन भएको भोलिपल्ट उनको पार्थिव शरीर सानोगौचरस्थित संगीत तथा नाट्यकला प्रतिष्ठानको प्राङ्गणमा राखिँदा उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आउने कलाप्रेमीहरूको ठूलै भिड लागेको थियो।
सर्वसाधारणदेखि गीत-संगीत, साहित्य र कलाका सर्जकसम्म त्यहाँ उपस्थित भएका थिए। बिहानीको घामसँगै त्यहाँ उभिइ रहँदा उनका जीवन बारेका विभिन्न पाटाहरू बारे विभिन्न व्यक्तित्वहरूबाट सुन्न पाइएको थियो।
उनको अन्तिम संस्कार राजकीय सम्मानका साथ राज्यले नगरेको भए तापनि त्यहाँ मुलुकका प्रधानमन्त्री तथा पुर्वप्रधानमन्त्री, संस्कृति मन्त्री र अन्य राजनीतिक दलका नेता तथा विभिन्न उच्च पदस्थ व्यक्ति तथा नाम चलेका हस्तीहरूले स्वेच्छा र अति-श्रद्धाबीच उपस्थिति जनाएर उनलाई अन्तिम श्रद्धाञ्जली दिँदा मनमा एक प्रकारको सन्तोषको आभाष भएको थियो।
थोरै भए पनि कला तथा संगीत क्षेत्र र यसका धरोहरहरूलाई राज्यले मान्यता दिएको महसुस समेत भएको थियो। शवयात्रा भन्दा अघि उनका केही कालजयी गीतहरूको सामुहिक गायन भएको थियो भने पशुपतिनाथको मन्दिरमा अवस्थित आर्यघाटमा पनि सयौँ श्रद्धालुहरूले त्यस्तै गीतहरू गाएर र अन्तिम श्रद्धाञ्जली चढाएर बिदा गरेका थिए उनलाई।
उनी हामी बीच नरहे पनि र अब उनीसँग प्रत्यक्ष भेट गर्न वा उनका नयाँ सांगीतिक सिर्जनाहरू सुन्ने अवसर नपाइने भए तापनि भक्तराज आचार्य हाम्रो मन र मस्तिष्कमा सधैँ रहि रहने छन् र उनी नयाँ तथा पुराना पुस्ताका गीत-संगीत साधकहरूका प्रेरणाका श्रोत भइ नै रहेछन्। अलबिदा भजन शिरोमणी भक्तराज आचार्य !!!
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment