जनताको साथ र सहयोग पाएको छु, तपाईँहरूको मतको गुन तिर्नुछः स्वास्थ्यमन्त्री बस्नेत
सिन्धुपाल्चोक। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका धेरै जनताको साथ र सहयोग आफूले पाएको भन्दै त्यसको गुन तिर्न बाँकी रहेको बताएका छन्।
सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं २, पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा आज आयोजित नागी टासी छ्योलिङ गुम्बाको शिलान्यासका अवसरमा उनले धेरै जनताको साथ र सहयोग पाएर जनप्रतिनिधि भएको बताउँदै आफू हरतरहले जिल्लामा विकास निर्माणका आयोजना ल्याउन लागिपरेको बताए।
‘छ महिना सञ्चारमन्त्री हुँदा यस जिल्लामा ५२ वटा टेलिफोन टावर बनाएकै हुँ। अहिले स्वास्थ्यमन्त्री भएकाले बेला ३९ वटा स्वास्थ्य संस्थाका भवन यस वर्ष निर्माण हुँदैछन्। अर्को वर्ष बाँकी स्वास्थ्य संस्थाका भवन निर्माण सम्पन्न हुनेछन्’, उनले भने, ‘जनप्रतिनिधि भएपछि मुद्दा मामिलादेखि विकास निर्माणका साथै जनताको आपत्विपद्मा सबै काम गर्नुपर्छ, म त्यसका लागि निरन्तर लाग्ने व्यक्ति हुँ।’
उनले सामाजिक काममा सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए। ‘निर्वाचनका समयमा सामुदायिक भवन, गुम्बा र मठमन्दिर निर्माणमा ध्यान दिन्छौँ भनेका थियौँ, त्यहीअनुसार रु १० लाख बजेट विनियोजन भइसकेको छ भने थप रु २० लाख विनियोजन हुनेक्रममा छ’, उनले भने।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर)ले भूकम्पबाट क्षतिग्रस्त तीन सय वर्ष पुरानो गुम्बा पुनःनिर्माणका लागि निर्वाचनका बेला गरेको प्रतिबद्धताअनुसार आज शिलान्यास भएको बताए। उनले गुम्बा निर्माणका लागि बजेटको चिन्ता नलिन आग्रह गरे।
गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइबाले शिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे। नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरूका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइबा, समाजसेवी शंकर लामालगयतले मन्तव्य राखेका थिए।
Facebook Comment