अध्यात्मवाद र भौतिकवाद : भ्रम कि यथार्थ

शंकरप्रसाद रिजाल
२७ फागुन २०८० ७:५१

ईश्रवादीहरु भन्छन्-यो संसार सबै ईश्वरको सृष्टि हो। यहाँ मानिसको कुनै देन छैन। यिनीहरु पनि आखिर ईश्वरका नै सृष्टि हुन् भनी आफ्नो आध्यात्म चिन्तनको दुरुपयोग गरिरहेका छन्। यदि ईश्वरको सृष्टि नै हो भने किन कान नसुन्ने, आँखा नदेख्ने, हिँड्न नसक्ने, काला गोरा, थेप्चा, नेप्टा र चुच्चे नाकेको जन्म भइरहेको छ?

किन गरीब, धनि र लोभी पापी, दूराचारीको धमाधम जन्म भइरहेको छ? किन ईश्वरले ईश्वर जस्तै मान्छेको सृष्टि मिलाउन सकेनन्? किन आध्यात्मवादीहरु अरुको कुरा सुन्दैनन्? किन आफ्नो मात्र डम्फु बजाई सारा संसारका मानिसलाई निराकार बस्तुको पाण्डित्य छाँटेर अमूर्त चिजको कुरा गरिरहेका छन्?

ईश्वर भन्ने कुरा ‘जान्ने मात्र हो र मनन गर्ने मात्र हो’। अरु सब काम कर्म र परिश्रम त मानिसले नै गर्ने हो। संसार मानिस र समाजमा आधारित छ। यो संसारमा यदि मानिस, जीव जन्तु नहुने हो भने कल्पना गरौँ संसार कस्तो हुने थियो होला?

अतः साकार भौतिक तत्व र यसभित्र सृजित असंख्य बस्तुलाई उपेक्षा गरी खाली ईश्वरको सुमिरणमात्र गर्ने हो भने ईश्वरले सृष्टि गरी दिएको प्रकृति प्रदत्त चिजहरु जस्ताको त्यस्तै हुने थियो र मानिसको जीवन अधुरो, असभ्य र अज्ञानी बनी लाखौँ बर्ष अगाडिको आदिम सभ्यतामा फर्किन पर्दथ्यो।

तर साकार भौतिकवादीहरुले त्यसो गर्न दिएनन्। बिस्तारै बिस्तारै आफ्नो दिमाग र चेतनालाई साकार रुप दिई ढुंगे युगबाट कृषि युगमा आइ कृषि युगबाट औद्योगिक युगमा प्रवेश गरी सभ्य बन्दै गए। समयको परिवर्तनको साथै नयाँ नयाँ प्रविधिको विकासले आज मानिसलाई कहाँबाट कहाँ पुर्‍याइ दियो।

बिजुली, कम्प्युटरको निर्माण, हरेक क्षेत्रमा ठूल्ठूला दर्शनको निर्माण, चन्द्रमामा मानिसको प्रवेश, हरेक मानिसलाई चाहिने बस्तुको निर्माणले गर्दा आज मानिसको जीवन कति उल्लासमय बनेको छ, कल्पनाभन्दा बाहिरको कुरा भइसकेको छ।्र यो सबै साकार भौतिकवादको नै उपलब्धी हो।

यदि यो सब बिकास र प्रगतिलाई अध्यात्मवादीहरु भ्रम भनेर डण्का पिटेर हिँड्छन् र सत्य केवल प्रभु र प्रभुको अनुकम्पामात्र हो भन्छन्। अमूर्त बस्तुलाई जीवनभरी भजीरहन्छन् भने साकार भौतिकवादीहरुको भन्नु केही छैन। ईश्वरको काम के सृष्टि पश्चात तमाशा हेर्ने हो?

भाग र भोगको हिसाब निकाली मानिसलाई दुःख पीडा, भोक र चिन्ताको खाडलमा कतिसम्म तड्पाई राख्ने र तमासा हेर्ने हो भने यो के ईश्वीरयता हो? अनि जीवनभर राम नाम जपी निरर्थक जीवन किन बिताउने?

दुःखमा हामी हाम्रा सृष्टिकर्ता माता पिता र ज्ञानदाताको र गुरुवर्गलाई किन सम्झिँदैनौं र यसबाट राहत लिने जमर्को गर्दैनौ? सबैले आफ्नो माता पिता र गुरुबर्गलाई पुज्ने हो भने के उनीहरु ईश्वर नभएपनि ईश्वर समान हुन सक्दैनन् र?

ईश्वर अमुक, अदृश्य र नित्य छ भन्छन्। अमुक र अदृश्य चिजको एकछिन बेला बेलामा ध्यान मात्र नगरी मानिसबाट निर्माण र प्रदत्त चिजलाई पनि मानिसका हजारौं चिजबस्तुलाई सम्मान किन दिन सक्दैनन्? सम्पूर्ण मानवका पुजारीलाई किन पूजिँदैन?

किन मुर्ति र फोटोलाई मात्र पुजिन्छ? हो, यहाँ बोल्नेलाई पूजिँदैन बरु नबोल्नेलाई बोलाउन अथक परिश्रम गरिन्छ। ईश्वर पनि छ र त्यस्तै साकार भौतिकताको अस्तित्व पनि छ। नभए दुवै या भ्रम हो या दुवै सत्य हो भनी भन्न सक्दैनन्। अन्धविश्वासमा कुनै पनि कुरा साकार हुन सक्दैन। भक्त त त्यो हो जो सधैं मानव कल्ल्याणमा समर्पित हुन्छ।

संसारमा बिभिन्न औषधिका आविष्कार, रेल मोटर, हवाई जहाज, कपडाका निर्माता, बिजुलीका आविष्कार, नदी खोलाबाट घर घरमा पानीको सुविधाहरु पुर्याउनेलाई आज अध्यात्मवादीहरु किन सम्झिँदैनन्?

किन अमुल्य र क्षणभंगुर जीवनलाई सार्थकता प्रदान गर्न पण्डितहरु अग्रसर हुँदैनन्? यस्तो कुरालाई बेवास्ता गरी खाली ईश्वरको भजन गर्नेले ईश्वरलाई साकार रुपमा पाउने कुरा नसोचे हुन्छ। गरीब, कुपोषण र घरबारविहीन मानिसले ईश्वरको पूजा दिनानुदिन गर्लान् त?

तसर्थ यो पृथ्वि भित्र निक्कै बिबादमा रहेको भौतिकवाद र अध्यात्मवाद या त दुवै सत्य हो या दुवै भ्रम हो। यो कसले पत्ता लगाई संसारको सामुन्ने स्पष्ट रुपमा राख्ने, आज यो गम्भीर बिषय बनेको छ। कसले सत्य भेट्टाएर परलोक गमन गरे? यो भन्न गाह्रो छ।

सत्य भेट्टाइ परलोक गमन गर्नेलाई एउटा प्रश्न छ-सत्य के हो? एउटाले देखेको सत्यलाई देखाउन नसक्नु सत्य देख्नेको एक अर्को कमजोरी हो, जुन आफैंमा राखेर संसारबाट विलीन हुन्छन्।

भगवान गौतम बुद्ध परलोक गमन गर्दा उनका ती आत्मालाई पनि परलोक संचालनकर्ताले चिन्न सकेनन् र भन्थे-को गौतम बुद्ध म जान्दिन’। आखिर बुद्ध आत्मालाई पनि स्वर्ग र नर्कको अगाडि दुईद्वारमा लगेर द्वार छान्न लगाए।

बिचरा महात्मा गौतम बुद्ध आत्मा आफू बाचुन्जेल उज्यालोको खोजीमा हिँडेका उनको आत्माले उज्यालो नै रोज्यो र उज्यालो द्वार तिर प्रवेश गरी जाँदा बिस्तारै उज्यालो अध्यारोमा परिणत हुन पुग्यो। अनि शून्य अन्धकारमा परेर बाटो बिराएका थिए रे भने के हो त त्यो सत्य भनेको? यसको खोजी गर्न बाँकी नै छ।

छोटकरीमा प्रत्येक जीवले जीवनमा सुखनै खोज्ने हो। सधैं तपस्या गरी योग गरी कोही बस्न सक्दैनन्। यो संसारमा व्याबहारिक पनि छैन। संसार त मिश्रणको एक खेल हो। यहाँ धर्मकर्म ज्ञान विज्ञान, आदान प्रदान, मद्दत, दयामाया, क्षमा, करुणा आदि सबै चल्छ र चल्नु पनि पर्दछ, यो धर्तीमा आफूलाई प्रकृति र प्रकृतिमा बनेका हजारौं चिजबिजसँग खेलीखेली जीवन गुजार्नु नै ईश्वरसँग बसी रमाउने हो। ईश्वर मानिस होइन, मुर्ति होइन, फोटोपनि होइन। बेदमा लेखिएको छ- “ना तस्य प्रतिमा अस्ती’।

यसको रुप रंग र साकारता कुनै छैन। यो एक सिर्फ भाव र अनुभूति मात्र हो। सारा संसारलाई अखिरमा कुप्लुक्क निल्ने र खाने एक कालो प्वाल मात्र हो जहाँ गएपछि फर्किने सम्भाबना रहँदैन।

ईश्वर वास्तवमा बाहिर होइन, मन्दिरमा होइन ईश्वर त केवल ध्यान हो। जहाँबाट आनन्द आउँछ बस त्यही ईश्वर हो। आफू हरदम हाँसी अरुलाइ पनि सधैं हसाई राख्न सक्नु नै ईश्वरीयता हो। ईश्वर तिर होइन ईश्वरीयताको गुणतिर लाग्नु नै ईश्वर प्राप्त गर्नु हो।

तर भौतिकवाद पनि कम छैन। भएको संसारलाई झलमल्ल र झकी झकाउ गरी साकार रुपमा पूर्ण आनन्दमा प्रवेश गराउने यो एउटा आर्को ईश्वरीयता हो जसले आनन्दमात्र प्रदान गर्दछ। तसर्थ जीवनलाई उत्सर्गमा लाने हो भने दुबैलाई स्वीकार गरी मध्यममार्गी बनी बुद्ध जस्तो बनेमा मानिसको जीवन सुखमय बन्ने छ।

सूर्यले चन्द्रमालाई वा चन्द्रले सूर्यलाई खोजे जस्तो गरी कहिले नभेटिने श्रष्टाको पछि नलागी सिर्फ द्रष्टा बनी जीवनमा दुवै दर्शनलाई स्विकार्दै जानु सबैभन्दा उत्तम ठहरिन्छ। दुवै भौतिक साकार पनि हामीलाई चाहिन्छ र साथ साथै निराकार अध्यात्मतिर पनि खोज गर्नु र जान्नु एक अपरिहार्य बिषय हो। तसर्थ कि यो दुवै भ्रम हो या दुवै सत्य हो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *