सबै नेताको एउटै उद्देश्य, सत्ताभोग

बंशीकुमार शर्मा
२२ फागुन २०८० १०:५४

नेपालको भविष्य र गन्त्यव्य अन्यौल छ। सैद्धान्तिक बिचलनका कारण राजनीतिक दलहरु उद्देश्यविहीन भएका छन्। कुनै पनि मुलुकको उत्थान र पतन त्यस देशका जनता र नेतृत्व वर्गमा भर पर्दछ। नेतृत्व वर्ग दूरदृष्टि भएमा मुलुकको उत्थान हुनेमा समय लाग्दैन यदि नेतृत्व वर्ग स्वार्थपरक भएमा मुलुक नै नरहने अवस्थाको सिर्जना पनि हुन सक्छ।

एक जमानाका विश्व प्रसिद्ध नेता मार्शल टिटोको देश युगोस्लाभिया इतिहासमा मात्र सीमित छ। यस्तै गरी कंगो, इथोपिया, सुडान, हैटी जस्ता मुलुकहरु नेतृत्व कै कारण तहसनहस अवस्थामा पुगेका छन्। त्यहाँका जनताको के दोष?

विश्वको इतिहास हेर्दा नेतृत्व वर्गकै कारण मुलुक उथलपुथल भएका छन्। नेतृत्व वर्ग दूरदृष्टि भएका मुलुकहरु आज विश्वका शक्ति महाशक्ति राष्ट्रमा कहलिएका छन् भने नेतृत्व वर्ग कै कारण मुलुक तहस नहस भएका मुलुकहरु प्रशस्तै छन्।

हाम्रा छिमेकी मुलुक भारत र चीन आज विश्वकै विकसित मुलुकहरुको अग्रपंक्तिमा उभिएका छन् भने सिक्किम नेतृत्व वर्ग कै कारण हराएर गएको छ। आज इतिहासमा मात्र सीमित छ।

जनता सबै शिक्षित र चेतनशील हुन्छ भन्न सकिँदैन। त्यसकारण मुलुकको भविष्य निर्माता नेतृत्व वर्ग नै हो। नेतृत्ववर्गले जनताहरुलाई निश्चित राजनीतिको साँधुरो घेराभित्र कैद गराएका छन भने बौद्धिकवर्ग पनि त्यसैमा अलमलाएका छन्। यदि नअलमलाउने हो भने जुनसुकै दल वा सरकार भए पनि राष्ट्र र जनताको लागि कुनै पनि फरक पर्दैन।

मुलुकमा, प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आएकै तीन दशक भैइसक्यो कसैलाई दोष दिन ठाउ छैन। तर नेताहरुले जनतालाई गुमराहमा राख्दै मनपरी ढंगले अरुलाई दोष दिइरहेका छन्।

पश्चगामी र बिदेशी शक्तिले काम गर्न दिएन बहाना बनाउछँन्। त्यसैलाई सोझा नेपाली जनताले पत्याइ दिन्छन्। नेताहरुको स्वेच्छाचारीताको सीमा बढेको छ। लोकतान्त्रिक सिद्धान्त अनुसार सिद्धान्तमा बहस हुन्छ राट्रियतामा बहस हुँदैन।

मुलुकको उन्नती र प्रगतिको लागि नेतृत्व वर्ग जति जिम्मेवार छन् त्यति नै मात्रामा जनता नै जिम्मेवार छन्। तर सवै जनता शिक्षित छैनन्। त्यसैले नेतृत्व वर्गहरुलाई लगाम लगाउने काम जनताहरुले गर्न सकेनन्।

राजनीति आज दिशाहीन अवस्थामा छ। यो दिशाहीनताको मुख्य कारण राजनीतिलाई डो¥याउने जिम्मेवारी लिएकाको हो। साम्यवादी र समाजवादी सिद्धान्त अपनाई प्रस्तुत भएका पार्टीहरुले आ-आफ्नो विचारको विस्तार गरे, त्यस अनुसार सांगठनिक क्रियाकलाप पनि जारी राखे। विचारले समय सापेक्ष साथ नदिए पनि संगठन र नारा कायम राखिराखेका छन्।

विगतका अस्वभाविक रुपले परिवर्तन ल्याउने प्रयास वामपन्थी पार्टीहरुले गरे। जनताहरुका माझमा साम्यवादी नारा दिएर संगठन गरे, आश्वासन दिए। जनाहरुलाई आन्दोलनमा उत्प्रेरित गरे जब सत्ता प्राप्त भयो ती सबै नाराहरु नारामा नै सीमित भए ती सबै वामपन्थी पार्टीहरु साम्यवाद सिद्धान्तमा होइन मध्यमवर्गी खेमा, उदारवादी खेमामा उभिन पुगे।

वामपन्थीहरुमा पनि आफूलाई बढी क्रान्तिकारी राजनैतिक दलमा दावी गर्ने पार्टी पनि मध्यमार्गी धारमा नै परिवर्तन भए। किनकि साम्यवादी सिद्धान्त लागू हुने अवस्था पहिले यहाँ थिएन पनि र आउने लामो समयसम्मको लागि छैन। यो यथार्थ हो, यथार्थतालाई कसैले अस्विकार गर्न सक्दैन। किनकि नेपालमा सिद्ध भइसकेको छ।

वामपन्थीहरु २०४६ सालमा नै सत्ताको साझेदारको रुपमा प्रस्तुत भइसकेका थिए। तर उनीहरुले कम्युनिजम सिद्धान्त लागू हुने अवस्था नदेखेर बहुदलीय जनवादको नारा दिए। बहुदलीय जनवादको कम्युनिजममा ऐतिहासिक एवं द्वन्द्वात्मक इतिहास छैन।

त्यो केवल समाजवादीहरुले उदारवादको मैदानमा प्रवेश गर्ने बाटो खुला गरेका मात्र हुन्। बहुदलीय जनवादको कम्युनिजमसँग कुनै सम्बन्ध छैन। बहुदलीय जनवाद एउटा कल्पना मात्र थियो कतै श्रृंखला नजोडिने व्याख्या थियो। त्यसैले कम्युनिजमलाई नै नबुझिने बनाइदियो। तैपनि ती नामले कम्युनिष्ट रहिरहे व्यवहारमा उनीहरुले बाटो परिवर्तन गरिसके।

त्यस्तै क्रान्तिकारी नाम दिएर उपस्थित भएको वामपन्थी दल नेकपा माओवादीसँग नेपाली जनताले धेरै आशा राखेका थिए। नेपाल कम्युनिष्ट पार्टी माओवादी आएपछि देशमा शान्ति स्थापना हुन्छ भन्ने आम नेपाली जनताको आशा थियो।

त्यतिमात्र नभइ, नेकपा माओवादी सरकारमा आएपछि मानिसका आधारभूत आवश्यकता शान्ति, शुव्यस्था, गरिखाने अधिकार सबैले पाउँछन्, सुगम-दुर्गम क्षेत्रमा समान रुपले विकास हुन्छ।

भ्रष्टाचार नियन्त्रण हुन्छ, गरिब निमुखाको प्रतिनिधित्व हुन्छ भन्ने आशा थियो दुर्भाग्यवश नेकपा माओवादीसँग जनताका आधारभूत आवश्यकताहरु जस्तो गास, बास, कपास, शिक्षा रोजगारको बन्दोबस्त गर्ने कुनै नयाँ कार्य नीति रहेनछ, कार्यक्रम रहेनछ।

उनका त कुरा मात्र रहेछन्। काम गर्ने ढंग पनि त्यति देखिएन। हुनतः त्यसैका आफ्नै वैचारिक कारण होलान् तर समय परिस्थिति अनुसार लागू गर्न सकेनन् या लागू गर्न पनि चाहेन। त्यस्तै गरी समाजवादको वकालत गर्ने नेपाली काँग्रेसले पनि सत्ता चलाउन सैद्धान्तिक अनुसार गर्न सकिएको देखिएन।

तैपनि नेपाली काँग्रेसले सत्ता चलाउने कार्य नीति कार्य शैली र वापन्थीहरुले चलाउने कार्यशैलीमा कुनै फरक देखिएन। देखियो फरक नाम मात्र किनकि क्रान्तिकारी वामपन्थीहरु पनि समकालीन विश्व पूँजीवाद र साम्राज्यवादको धारभन्दा अलग रहन सकेनन्।

क्रान्तिकारी वामपन्थीहरु प्रधानमन्त्री, अर्थमन्त्री भएर सत्तामा गएर त्यही काम गरे जुन काम समाजबादी, उदारवादीहरुले गरेका थिए। उदारवादी, समाजबादी, साम्यबादी र क्रान्तिकारी नेताहरुले सत्ता सञ्चालन गर्ने कार्यशैलीमा कुनै भिन्नता देखिएन।

पछिल्लो चरणमा सैद्धान्तिक भन्दा सत्ता केद्रित राजनीतिले प्रश्रय पायो। अब नेपालमा रहेका बिभिन्न ब्राण्डका राजनीतिक दलहरु एउटै प्रकृतिका भए नाम मात्र फरक। सबै एउटै भए पनि नेपाली जनतालाई झुक्याउने बिभिन्न ब्राण्डका नामहरु कायम राखेका छन्।

नेपाली जनताहरुले सबैलाई एकै दृष्टिकोणले हेर्न थालेका छन्। हेर्नु पनि अस्वाभाविक होइन। किनकि सवैको जीवन शैली काम गर्न शैलीमा भिन्नता देखिएन। सबैले विलासिताको जीवन व्यतित गर्ने, विदेशबाट महंगा गाडी झिकाउने, महंगा सामान किन्ने, स-परिवार विदेश घुम्ने जस्ता काम गरे त्यसैले सबै नेताहरुको छवि बीचमा खास फरक देखिएन। त्यसैले नेपाली जनताले आशा राख्ने र नेपाली जनताका मुक्तिको लागि आवाज उठाउने राजनैतिक दलका आवश्यकता टड्कारो रुपमा देखिन आएको छ।

जो विश्व परिवेशसँग मेल खाने समाजलाई यथास्थितिबाट परिवर्तन गर्न सक्ने त्यो परिर्वनलाई आत्मसात गर्न सक्ने समाजको निर्माण गर्ने होस् त्यस्तो राजनैतिक दलले राष्ट्रियता, प्रजातन्त्रलाई सर्वोपरि सिद्धान्त ठानोस् किनकि राष्ट्रियता र प्रजातन्त्र एक अर्काका परिपूरक हुन र त्यसै अनुसार प्रजातन्त्रको विकास गर्नुपर्छ।

नेपालमा प्रजातन्त्रको नेपाली राष्ट्रियताको विकास गर्नुपर्दछ। नेपालको प्रजातन्त्रले नेपाली राष्ट्रियताको विकासलाई आधार दिनुपर्दछ। यही नै समय सान्दर्भिक छ। प्रजातन्त्र नयाँ हो, राष्ट्रियता त हाम्रो इतिहासको परम्परादेखिको आधार, संस्कार पहिचान हो।

तर अहिले राष्ट्रियता र प्रजातन्त्रलाई एक अर्काका परिपूरकका रुपमा विकसित गर्दै लग्नु पर्दछ। राष्ट्रियता अडिने एक मात्र आधार जनता हुन्। राष्ट्रप्रति त्यसको समाज निष्ठा र भक्तिको अपेक्षा गरिन्छ। प्रजातन्त्रमामात्रै जनतालाई समान दायित्व र अधिकार हुन्छ।

नेपालमा प्रजातन्त्र नेपाली राष्ट्रियता सापेक्ष हुनुपर्दछ। तसर्थ प्रजातन्त्र देशकै राष्ट्रियता र संस्कृतिको विकासको प्रवद्र्धकको रुपमा लिइनुपर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *