माओवादीबाट धोका पाएको कांग्रेसलाई सुध्रिने मौका

शंकरप्रसाद रिजाल
२३ फागुन २०८० ११:२०

दोस्रो विश्वयुद्ध पश्चात सन् १९४५ मा युद्धमा बिजयी प्राप्त गरेका अमेरिका, बेलायत, फ्रान्स र रसिया मिलेर पराजित भएको जर्मनलार्ई चार भागमा विभाजन गरी आधिपत्य जमाउन खोज्दा प्रजातान्त्रिक विचारबाट फरक रहेको देश रसियाको आपसी मतभेदको कारण अन्त्यमा बर्लिन पर्खाल निर्माण हुन पुग्यो।

त्यसपछि वेस्ट जर्मनी र ईष्ट जर्मनीबीच बनेको यो पर्खाल आखिर जनताको अत्याधिक दवाबले सन् १९८९ मा फेरि त्यो बर्लिनको पर्खाल एकाएक भत्किन पुग्यो र पुन एकीकरण भयो।

यसरी एकाएक ठडिएको पर्खाल ६२ बर्षपछि एकाएक भत्किन पुगेर पुनः जर्मनको एकीकरण हुन पुग्यो भने नेपालको समीकरणको परिणामले बन्ने भत्कने समीकरण र गठबन्धनको तुरतुरे सरकार ढल्नुमा कुनै आश्चर्य छैन।

अपत्यारिलो सरकारको संरचनाको गठबन्धन कुनैपनि बेला टुट्ने निश्चय नै थियो। गठबन्धन हुँदा यही सरकार १० वर्षसम्म चलेर जानेछ भनेर कांग्रेस र माओवाादीबीचमा तुनाको रुपमा अल्झेको एकीकृत समाजवादीका नेताहरु कुर्लेर बसेका थिए।

पहिले नै गठबन्धन गरेर पाँच वर्षसम्म प्रधानमन्त्री पद खाइरहने परिपाटीको सरकारको संरचना भत्किने यसरी नै हो। नीति, सिद्धान्त र आदर्श केही पनि नमल्निे दलहरुको अप्राकृतिक गठबन्धन यसरी भत्किँदा कोही सचेत नागरिक अचम्ममा परेनन्। किनभने यो नितान्त स्वार्थको गठबन्धन थियो।

देश र जनताको लागि भन्दा पनि आफू सधैं सत्तामा टिकिरहन गरिने यस्ता अप्राकृतिक गठबन्धनले केही सीमित नेतालाई बाहेक कसैलाई पनि फाइदा गर्दैन।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको देखि ०७४ सालमा कांग्रेससँग सरकारमा सहभागी भएर एमालेसँग चुनावी तालमेल गरेर ०७८ मा कांग्रेससँग चुनावी गठबन्धन गरेर एमालेको सहयोगमा प्रधानमन्त्री बन्दासमेत कांग्रेसले प्रचण्ड इमान्दार नै देख्यो। अहिले विभिन्न बहानामा फेरि गठबन्धन टुटाएर एमालेसँग कुम जोड्न जाँदा बल्ल कांग्रेसको चेत खुलेको जस्तो देखिन्छ।

विपी कोइरालाले स्थापना गरेको नेपाली कांग्रेस कुनै बेला आफूलाई बर्गशत्रु किटान गरेको र आफ्ना दशौं हजार कार्यकर्ताको हत्या गर्ने दलसँग गठजोड गरेर चुनावमा जानु र यसैलाई सरकारको चावी सुम्पिनुले कांग्रेसका इमान्दार कार्यकर्ताको मन रोहेको थियो।

अहिले प्रचण्डले कांग्रेससँगको गठबन्धन तोड्दा असली कांग्रेस कार्यकर्ता खुशी भएका छन्। विपी कोइराला जस्तो सुकै परिस्थितिमा पनि कम्युनिष्टसँग सहकार्य गर्न तयार भएनन्। बरु उनले राजासँग आफ्नो घाँटी जोडिएको छ भने र्निवासनबाट स्वदेश फर्किए।

विपीको अवशान पनि गणेशमान सिंहको पहलमा प्रजातन्त्र प्राप्तिका खातिर बामपन्थीसँग सहकार्य गरेर प्रजातन्त्रको उदय गराएपनि गणेशमानले कम्युनिष्टसँग मिलेर सरकार सञ्चालन गर्ने उदारता देखाएनन्। पार्टीमा आफूले भनेको केही चनल्ने भएपछि उनले जीवनको उत्तरार्धमा पार्टी नै परित्याग गरेको घोषणा गरे।

दुई पटक एकल बहुमत ल्याउन सफल भएको मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी आज आफ्नो सिद्धान्त र आदर्शबाट च्युत हुँदा पाँच दलसँग गठबन्धन गर्दासमेत ८८ सिटमा खुम्चिनु परेको छ।

कम्युनिष्ट मिले भने आफू कमजोर हुने मनोविज्ञानले कांग्रेस नेतृत्व झन् कमजोर भएको छ। सत्ता भन्दा दोस्रो विकल्प नदेख्ने सोचका कारण आज कांग्रेस यो हविगतमा पुगेको हो।

यो अप्राकृतिक गठबन्धन टुट्दा कांग्रेसका असली कार्यकर्ता खुशी भएका छन्, तर नेतृत्वमा बेचैनी सुरु भइसक्यो। मुखैमा आएको प्रधानमन्त्री पद गुमेको पीडा सभापति शेरबहादुर देउवामा देख्न सकिन्छ।

पार्टीभित्रको गुट उपगुटलाई मिलाएर अन्तर विरोध कम गर्दै जाने र मुलुकमा सनातन हिन्दु राज्यको पक्षमा वकालत गर्ने हो भने आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई ठूलो दल बन्नबाट रोक्न कसैले पनि सक्दैन।

विगतमा आफूले गरेको गल्ती कमजोरीलाई सच्याउँदै आगामी दिनमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने हो भने कांग्रेस नै मुलुकको पहिलो पार्टी बन्नेमा कुनै द्विविधा नहोला।

कांग्रेसले सोच्नुपर्ने विषय के हो भने यसले विगत तीन वर्षदेखि माओवादीसँग कांग्रेसले गठबन्धन गर्दा कांग्रेसले के पायो? माओवादीबाट बारम्बार धोका पाएको कांग्रेस अब किन नसुध्रिने?

बेला बेलामा कांग्रेसका नेताहरु माओवादीसँग मिलेर कांग्रेस ठूलो दल बनेको तर्क गर्दै आएका छन्। सरकार बनाउन चाहिने १३८ सिट मध्ये कांग्रेसले पाएको मात्र ८९ सिट न हो। फेरि कांग्रेस ठूलो दल भएपनि सरकारको नेतृत्व गर्न किन पाएन? विपी कोइरालाले त्यसै कम्युनिष्टको विश्वास नगरेको हो र!

प्रचण्डले गठबन्धन टुटाएपछि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले माओवादी अस्थिर र प्रचण्ड धोकेबाज भएको निष्कर्ष निकाले छ। ढिलै भएपनि कांग्रेसले सही निष्कर्ष निकालेको छ।

किनभने गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएको देखि ०७४ सालमा कांग्रेससँग सरकारमा सहभागी भएर एमालेसँग चुनावी तालमेल गरेर ०७८ मा कांग्रेससँग चुनावी गठबन्धन गरेर एमालेको सहयोगमा प्रधानमन्त्री बन्दासमेत कांग्रेसले प्रचण्ड इमान्दार नै देख्यो। अहिले विभिन्न बहानामा फेरि गठबन्धन टुटाएर एमालेसँग कुम जोड्न जाँदा बल्ल कांग्रेसको चेत खुलेको जस्तो देखिन्छ।

अहिले तत्काल हेर्दा कांग्रेसलाई घाटा लागे जस्तो देखिएपनि दीर्घकालनी रुपमा कांग्रेसलाई फाइदा पुग्छ। अब सरकार बनाउने र गिराउने खेलमा नलागी पार्टीलाई एकताबद्ध बनाएर लैजाने दिशामा कांग्रेस नेतृत्वले काम गर्न सके आगामी दिनमा कांग्रेसको एकल सरकार बन्ने सम्भावना कायमै छ। तर त्यसका लागि यसले विगतमा आफूले गरेको गल्तीलाई सच्याउनु आवश्यक छ।

विश्वको एकमात्र हिन्दु मुलुकलाई विदेशीको दबावमा धर्म निरपेक्ष राज्य बनाउने, राष्ट्रिय एकताको प्रतीकको रुपमा रहेको राजसंस्थालाई फाल्ने काम कांग्रेसले गरेका गम्भीर गल्ती हुन्। यी दुई ठूला गल्तीलाई अब कांग्रेसले ढिला नगरी सच्याउनु पर्छ।

माओवादीको व्यवहारले अहिले सारा प्रजातान्त्रिक शक्तिहरु नतमस्तक बनेका छन्। विदेशी भूमिका बसेर आफ्ना देशका सोझा सिधा जनताको हत्या गरेर सत्ताको स्वाद चाखेको माओवादीलाई बोकेर हिँड्ने दलहरु अब सचेत हुनुपर्छ।

अहिलेको व्यवस्थामा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने भएकाले कुनै न कुनै दलसँग मिल्नुको विकल्प नभएको नेताहरुले तर्क गर्दै आएका छन्। यदि यस्तो अस्थिरता सधैं रहिराख्ने हो भने संविधान संशोधनमार्फत यसलाई सुधार गर्न सकिन्छ। पुरानो दलहरुले आफूलाई सर्वोसर्वा ठान्ने हो भने नयाँ आएका दलहरुले उनीहरुलाई माथ गर्न सक्छन्।

देश र जनताप्रति उत्तरदायी नहुने, सधैं सत्ताको स्वाद मात्रै चाख्ने, आफू र आसेपासेलाई मोजमस्ती गर्ने अनि सोधा सिधा जनता खाडीको तातोमा पसिना बनाउने व्यवस्था रहेसम्म मुलुक बन्ने सम्भावना हुँदैन। अरु मुलुक असफल बन्ने खतरा भने कामय रहन्छ।

वर्तमान व्यवस्था र अवस्थाप्रति जनता वाक् दिक भइसकेका छन्। जुन दिन जनताको धैर्यको बाँध टुट्ट, त्यो दिन आफूलाई प्रमुख दलका नेता भन्नेहरुले भागेर ज्यान बनाउनु पर्ने दिन नआउला भन्न सकिन्न। त्यसैले बेलैमा त्यसतर्फ सोच्नु आवश्यक छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *