गाजामा भोकमरीका कारण बालबालिका मरिरहेका छन् : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उत्तरी गाजामा भोकमरीका कारण बालबालिकाको मृत्यु भइरहेको बताएको छ ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले उत्तरी गाजाको भ्रमणका क्रममा डब्ल्यूएचओको टोलीले खाद्यान्न अभाव भएको फेला पारेको बताएका छन्।
यसै साता यहाँका दुई अस्पताल अल–अव्दा र कमल अदवानको भ्रमणका क्रममा टोलीले खानाको अभावमा १० बालबालिकाको मृत्यु भएको थाहा पाए । खाद्यान्न अभावका कारण चरम कुपोषणको समस्या उत्पन्न भएको छ ।
यहाँको अवस्थालाई सन्दर्भ गर्दै, गेब्रेसियसले एक्समा लेखे, “स्थिति धेरै गम्भीर छ। बालबालिका कुपोषणको सिकार भएका छन् र भोकले मरिरहेका छन् । यहाँ खाद्यान्न, इन्धन र चिकित्सा सामग्रीको ठूलो अभाव छ । अस्पतालका भवनहरु ध्वस्त भएका छन् । यहाँ कम्तिमा तीन लाख मानिस बसोबास गरिरहेका छन् र उनीहरूका लागि खानेकुरा र सफा पानी निकै कम छ ।”
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले कम्तिमा १५ बालबालिकाको कुपोषण र निर्जलीकरणका कारण कमल अड्वान अस्पतालमा मृत्यु भएको बताएको छ । सोह्रौं बच्चाको पनि आइतबार रफाहको एक अस्पतालमा मृत्यु भएको थियो।
Facebook Comment