कविता: जीवन शैली
![कविता: जीवन शैली](https://www.dcnepal.com/wp-content/uploads/2024/03/c6baf466-be36-4eaa-a023-d9145dbac0e7.jpg)
बिहानीको घाम जस्तै हरेक दिन प्रण गर्छु
मलिनो मायाको अनेकौं तरंगहरू छर्न सकुँ
दिनभरमा अनेकौं आशाहरूमा आफैंलाई
बिबिध नाटकहरूमा क्रमशः पस्किई रहनुपर्छ
कसैले मिठो मानेर मलाई स्वादमा खाइदिन्छन्
कसैले नमिठोसँग गिजोली निमोठिरहन्छन्।
हरेक पात्रहरूको बिम्बमा म अवसर जस्तै
हरेक भूमिकाका लागि तयार हुन सक्नुपर्छ
अन्यथा कथाका पात्रहरू ममा खोट देख्छन्
अनिबेगल्ती बिकृतिका अबशेषहरू देखिन्छन्
कसैले कथाको मियोमा आगो हालिदिन्छन्
कसैले कथाको पात्रमा बेस्वाद पस्किदिन्छन्।
कस्तो प्रकारको अनौठो जीवन शैली ब्यप्त छ
कस्तो प्रकारको अनौठो जीवन भोगाई रहेछ
खुशीका गीतहरू पनि गाउने तरिकामा फरक
दुखकाआबृतीहरू पनि कथाहरूमा फरक छ
देख्दा अनि भोग्दा पनि जीवन शैली फरक छ
मौसम एकै छ र पनि आवृत्तिहरू फरक छन्।
जीवन शैली परिवर्तनमा छ कि जडत्वमा
बुझाईमा अनि भोगाईमा फरकता छ कि
कि त जीवन शैली आफ्नै स्वादमा पो छ कि
आफ्नै लागि स्वरहरूमा छ कि जीवन शैली
बुझ्नेहरूका लागि बुझाई भित्र पो छ कि
कहीँ न कतै अबशेषहरूमा फरकपन छ।
कोही जीवन शैली छन नशालु भाव जस्तै
कोही भूलभुलैयामा जीवन शैली भोगिरहेछन्
बुझाई अनि भोगाईमा पनि जीवन शैली छ
आफ्नो आफ्नो जीवन शैलीको गाथा छ
आफ्नो आफ्नो जीवन शैलीको ब्यथा छ
अपार र अनन्त छन् जीवन शैलीको कथाहरू।
Facebook Comment