राष्ट्रिय सहमतिको आधार पृथ्वीविचार
नेपालमा यति धेरै राष्ट्रिय सहमतिको राग अलापी रहेका छन् नेताहरु। तर किन पुग्न सकिरहेको छैनन् त नेताहरु कुनै सहमतिमा? छलफलको मूल विषय यसैलाई बनाउँ आज। यसको मूल कारण हो नेताहरुले सहमतिको मूल आधार फेला पार्न सकेका छैनन्।
सत्ता बाँडफाँट, नियुक्तिमा कोटा बाँडफाँट, सम्पत्ति सुविधामा काले काले मिलेर खाउँ भालेलाई सहमति चिनाउँदै आएका छन् नेपालका ठूला दल र नेताहरुले व्यवहारबाट चाहिँ। सहमति भनेको साझा विचार बनाउनु र एक भएर मुलुकलाई अगाडि बढाउनु हो।
तर नेपालका दल तथा नेताहरुले सहमतिको आधार फेला पार्न नसकेर आ आफ्नो डम्फू मात्र बजाई रहेका छन्। यो पाराले दलहरु कहिल्यै सहमतिमा पुग्न सक्तैनन्।
राष्ट्रिय सहमति भनेको साझा मुलुकको हितमा साझा विचार साझा लक्ष साझा नीति कार्यक्रमलाई बुझ्नु पर्दछ।
संविधान यही भावनालाई मूर्तरुप दिने साझा दस्तावेज हुनु पर्दछ। मुलुकलाई बाँड्ने जनतालाई भाँड्ने र राष्ट्रिय एकतालाई कमजोर पार्ने विचार राष्ट्रिय सहमतिको आधार हुन सक्तैन। मुलुकलाई जोड्ने गरिबी, असमानता विकृति विसंगति भ्रष्टाचारलाई तोड्ने विचार खोज्ने र त्यसैलाई राष्ट्रिय सहमतिको आधार बनाउने हो।
अमूर्त राग अलापेर राष्ट्रिय सहमतिको आधार फेला पार्न सकिँदैन। राष्ट्रिय चिन्तनधारमा आधारित भएको सहमतिको विचारमार्गले मात्र नेपाल र नेपालीलाई बलियो बनाउने हुँदा अहिलेको राष्ट्रिय आवश्यकता भनेको त्यस्तो मार्ग पहिल्याउनु नै हो। यहाँ त्यही सहमतिको विचारमार्गको खोजी गर्ने कोशिस गरौं।
पंक्तिकारको २०५८ सालमा नै तेस्रो विश्वको प्रजातन्त्र भन्न सकिने सहमतिको राष्ट्रिय प्रजातन्त्रको व्याख्या सहित लेख प्रकाशित भएको थियो एक सप्ताहिकमा। त्यस यता नेपाली राजनीतिमा भाषण र लेखमा सहमति शब्द नभएको शायदै होला। मानो सहमति नून हो जो हरेकका हरेक भाषणका तरकारीमा यो अनिवार्य होस्।
सहमतीय प्रजातन्त्र भनेको कसैका केही छोड्दै कसैका केही जोड्दै साझा घोषणा पत्रबाट मुलुक तथा सरकार चलाउने विधिलाई सहमतीय प्रजातन्त्र बुझिनु पर्दछ। संसदमा प्रतिनिधित्व सबैको सरकारमा विचार सबैको सिद्धान्तबाट सहमतीय प्रजातन्त्र सञ्चालित हुने हो। अनैतिक र बेइमान दल तथा नेताहरु भए भने सहमतीय प्रजातान्त्र मात्र होइन मुलुक पनि असफल हुन्छ। नेपाललाई त्यही दिशातिर धकेल्दै छन अयोग्यहरुले।
तर सहमतिको नाममा दल तथा नेताहरुका स्वार्थका दस्तावेजहरु संविधनमा थोपार्न खोजियो भने चाहिँ त्यो मुलुकको लागि संविधान हुँदैन। संविधान कुनै दलहरुको स्वार्थ पकाएको खिचडी होइन जो सहमतिको आवरणमा मुलुकको लागि दुर्गतिको कारण होस्। र मुलुक पनि कुनै दल वा नेता विशेषको कोठेबारी होइन जहाँ उनीहरुका निजी स्वार्थको मात्र खेती गरियोस् र बाली उमारियोस्।
संविधान राष्ट्रिय स्वार्थको समष्ठिको दस्तावेज हुनपर्छ जसले एकैपल्ट देश र जनतालाई सुरक्षा, खुशी र समृद्धिको आधार दिन सकोस्। बाह्य, दलीय र निजी स्वार्थ समेतको जालोमा जेलिएको कारणले नेपालमा सहमतिको संविधान बन्न नसकेको हो।
यदि सहमतिको नाममा यी स्वार्थहरुको साझा सहमतिको दस्ताबेज भएर आएको संविधान नेपालको न हित ठहर्छ न जित ठहर्छ केवल नेपाल सक्ने बिष मात्र ठहर्छ। यसैको लागि नेपाली जनताले अभूतपूर्व चनाखो र संगठित हुनुपर्ने दिन आएको छ देश र दुनियाँको भविश्य जोगाउनको लागि।
नेता तथा दलहरुको आवरण नक्कली भएसम्म सहमतिको राग अलाप्नुको कुनै अर्थ हुँदैन। आवरण नक्कली, देखाउने सपना पनि नक्कली भएपछि सहमतिको देखाउने दाँत पनि नक्कली हुने नै भयो। एउटा दक्षिण जानै पर्ने अर्को उत्तर जानै पर्ने अर्को पूर्व र अर्को पश्चिम जानै पर्ने जिद्दीमा कुन दिशामा सहमति हुने?
अहिले नेपालको राजनीति यस्तो चौबाटोमा उभिएको छ। यसको मुल कारण भनेको नेता तथा दलहरु परवादी हुनु नै हो। परहरुको इशारामा नाच्ने दलहरुको सोच र व्यवहारमा आमुल परिवर्तन नआएसम्म संविधान, शान्ति विकास र समृध्दि नेपाली जनताको लागि अकासको फल आँखा तरी मर भइरहेको हुनेछ।
जबसम्म नेपालका नेता तथा दलहरु नेपालको विकास शान्ति समृद्धि र राष्ट्रिय एकताको लागि सहमतिको मार्ग राष्ट्रिय चिन्तनधारलाई बनाउन सक्दैनन् तबसम्म यी सबै फोस्रो राग भइरहन्छन्। नेपाली जनताले केही पाउन सक्तैनन्। दुख मात्र पाइरहन्छन्। सुखको बाटो छैन त नेपालीसँग? छ अवस्य छ।
नेपालको राजनीतिमा लामो समयदेखि नेतृत्वदायी हैसियत बनाइरहन सफल नेपाली कांग्रेस विपीको विचारमा सबैथोक छ। वीपीको विचारलाई राष्ट्रिय सहमति र समृध्दिको आधार बनाउन चाहन्छ। सबै कम्युनिष्टको मत एकै ठाउँमा राख्ने हो भने नेपालमा सबभन्दा ठूलो जनमत कम्युनिष्टहरुको हुन्छ।
उनीहरु माक्र्सवाद लेनिनवाद वा माओवाद आदिको वरिपरि मात्र समृद्धि र सहमतिको आधार देख्छन्। कोही जातको, कोही समतलको कोही क्षेत्रको कोही राष्ट्रवादको राजनीतिमा रमाउने र त्यसैमा सहमति र समृद्धि देख्नेहरु पनि छन्। यी सबैमा आंशिक सत्यता भेटिन्छ।
नेपालका ठूला साना सबै राजनीति दलहरुका सकारात्मक पक्षलाई एकैठाउँमा राख्ने हो भने एउटा साझा विचारको आधार फेला पार्न सकिन्छ। के हुन सक्छ त्यो साझा विचार?
पृथ्वीविचार हुनसक्छ साझा विचारको आधार। सबै दलका न्यूनतम लक्ष चाहनालाई पृथ्वीविचारले सम्बोधन गर्न सक्ने हुनाले यो मात्र राष्ट्रिय सहमतिको आधार हुनसक्छ। राष्ट्रिय सहमतिको राग अलापेर नथाक्ने कसैको पनि यतातिर ध्यान गएको छैन। अब जानु पर्दछ।
नेपाल सबै जातको फूलबारीको मर्म सबैको हक र हैसियत बराबरी हो भन्ने राष्ट्र«निर्माता पृथ्वीनारायण शाहको बहुचर्चित भनाइलाई पक्रेर नेपालमा सहमतिको आधार फेला पार्न सकिन्छ। यो आफैंमा समानता, समावेसी एकताको विचार हो बहुजाति, बहुभाषा, र बहुसाँस्कृति भएको नेपालमा।
दलहरु सरकारमा जान चाहन्छन् सुशासन र समृद्धि दिन चाहन्छ सामजिक न्याय दिन चाहन्छन् सबै किसिमले बलिया जनताको बलियो मुलुक बनाउन चाहन्छन् भने यो सबै पृथ्वीविचारमा छ। छिमेकीसँग सन्तुलित सम्बन्ध नेपालको हितमा छ भन्ने उनको विचारमा असहमति जनाउने को होला?
जनतालाई सीप सिकाएर गुणस्तरीय उत्पादन गर्ने,स्वदेशी उत्पादको प्रयोग गर्ने, निर्यात गर्ने विदेशी मुद्रा आर्जन गर्ने उनको स्वदेशी अर्थतन्त्रलाई बलियो बनाउने विचार किन हुन सक्तैन आर्थिक सहमतिको आधार।
बहुसंख्यक जनताले रुचाएको सबै भन्दा योग्यले नेतृत्व र सुशासन दिने योग्य लोकतन्त्र प्रति कसको पनि नहोला असहमति। आफ्ना देशका सबै भाषा, धर्म, रीति रिवाज, संस्कृति विस्तार र विकासमा जोड दिने पृथ्वीविचार सबैको साझा र स्वीकार्य विचार हुनसक्छ सबैको लागि यो क्षेत्रमा पनि।
राष्ट्रप्रति इमान्दर छन् भने दल र नेताहरु पृथ्वीविचारमा सहमतिको आधार खोज्नु सक्छन्। इमान्दार छैनन् भने दुखियाको नाममा अनेक नाम र पहिचानका यी भ्रष्ट परवादी शोषक मुखियाहरुले देश दुनिया बर्बाद पार्ने खेल खेलिरहन्छन्।
नेपालका दल तथा नेताहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक भ्रष्टाचारमा आफ्नो हिस्सेदार जाहेर नगर्ने हो भने सहमतिको साथ भ्रष्टाचार विरोधी पृथ्वीविचारको झण्डा फहराउन यिनलाई कुनै आइतबार नहुनु पर्ने हो।
तर आवरणमा होइन सारमा भ्रष्टाचारका सरदार दल तथा नेता नै भएकोले यिनीहरु भ्रष्टाचार विरोधी पृथ्वीविचारलाई सहमतिको आधार बनाउन चाहँदैनन्। आर्थिक क्रान्ति, दिगो विकास, सुशासनको आधार पृथ्वीविचार हुनसक्छ।
पृथ्वीविचार सबै भ्रष्ट दरबार माथिको धारिलो तरबार भएकोले नेताहरुले यसलाई आफूमाथिको पनि तरबार ठान्ने हुनाले यसलाई सामान्ति विचार भनेर टाढा धकेल्नु नै आफ्नो हितमा भएको सम्झन्छन्।
नेपालका नेताहरु पनि अचम्मका छन् जहाँ सहमतिको आधार भेटिन्छ त्यहाँ सहमतिको खोजी गर्दैनन्। जहाँ सहमतिको आधारै हुँदैन त्यहाँ सहमतिको नाटक गरेर दुनियाँलाई मूर्ख बनाउँछन्। कुमतिका नेताहरुमा सुमति नआएसम्न न सुशासन न सहमति नै हुनसक्छ।
स्वतन्त्र नेपालमा स्वभिमानी र सम्पन्न भएर चन्द्र सूर्य अंकित झण्डा फहराएर युगौं युगसम्म रमाएर बस्न चाहने सबै नेपालीको चाहनालाई मूर्तरुप दिने हाम्रो राम्रो पृथ्वीविचार हो। यही नै साझा राष्ट्रिय सहमतिको आधार हो सबैमा चेतना भया।
Facebook Comment