विभाजनको संघारमा नेसपा, बाबुरामले बोलाएको बैठक महिन्द्रराय पक्षद्वारा बहिष्कार
काठमाडौं। नेपाल समाजवादी पार्टी(नेसपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। माओवादीसँग एकताको तयारी गरिरहेको उक्त दलमा पछिल्लो समय बढेको विवादले विभाजनको सन्निकट पुर्याएको छ।
दुई अध्यक्ष रहेको नेसपामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बोलाएको केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षले बहिष्कार गर्ने जनाएपछि आन्तरिक विवाद विभाजनको तहमा पुगेको बताइन्छ।
यही चैत ४ र ५ गते अध्यक्ष बाबुरामले बोलाएको केन्द्रीय समिति र कार्यकारिणी समितिको बैठक अर्का अध्यक्ष महिन्द्रराय पक्षधरले बहिष्कार गर्ने विज्ञप्तिमार्फत जनाएका छन्।
महिन्द्रराय पक्षका महासचिव रमेशप्रसाद यादवद्वारा बिहीबार जारी विज्ञप्तिमा एकतर्फी रुपमा बैठक बोलाइएको भन्दै सो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जिकिर गरिएको छ।
‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र केन्द्रीय समितिको चैत्र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ।’, विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा. बाबुराम भट्टराईको निर्देशनमा ४ र ५ गते बोलाइएको उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु।’
नेसपामा बाबुराम पक्षधरले माओवादीसँग एकता गर्न नहुने अडान लिएपछि अर्का अध्यक्ष महिन्द्रराय पक्षधरसँग किचलो बढ्दै गएको हो। महिन्द्ररायसँगै सहअध्यक्ष रहेका गंगानारायण श्रेष्ठ पनि माओवादीसँग एकता गर्नुपर्ने पक्षमा उभिएका छन्।
यसअघि मंसिर ६ मा बसेको नेसपाको केन्द्रीय समितिको बैठकले पार्टी एकता गर्ने निर्णय गर्दै बाबुरामकै नेतृत्वमा संयोजन समिति गठन गरेको थियो।
यद्यपि पछिल्लो समय बाबुराम प्रचण्डसँग पार्टी एकता गर्न रुचि देखाएका छैनन्।
उनले सार्वजनिक रुपमा कम्युनिष्ट पार्टीको आगामी भविष्य नरहेको बताउँदै आफूले परित्याग गरिसकेको कम्युनिष्ट विचार पुनः अंगिकार नगर्ने आशयको अभिव्यक्ति दिँदै आइरहेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एकताका लागि अनिच्छा प्रकट गर्दै उनले हाल आफूले छाडेको गोरखा २ मा आगामी निर्वाचनमा उम्मेदवारी दिने जनाएका थिए।
बाबुरामले आफ्ना निकटस्थ रहेका राजनीतिक सहयोगी एव्ां पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेमार्फत आगामी २०८४ को निर्वाचनमा उम्मेदवारी दिने जानकारी गराएका थिए।
यसले माओवादीसँग एकता प्रक्रिया अवरुद्ध गराएको बताइन्छ। उनले पार्टी निर्माण गर्दै अघि बढ्ने प्रण गरे पनि अर्का अध्यक्ष महिन्द्ररायले माओवादीसँगको एकतामा जोड दिइरहेका छन्।
अहिले नेसपामा देखिएको मतभेद चरम उत्कर्षमा पुगेको छ। पार्टीका बैठक बहिष्कार गर्ने अवस्थामा पुगेपछि उक्त पार्टीमा संकट निम्तिएको बताइन्छ।
बाबुरामले पार्टीका अर्का अध्यक्षले बैठक बहिष्कार गर्ने र माओवादीसँग आफू बेगर एकताको अन्तिम तयारीमा रहेको जानकारी पाएपछि पुराना दलसँग सहकायको नीति आत्मघाति हुने निष्कर्षमा पुगेको जनाएका छन्।
उनले यसअघि नयाँ शक्ति गठन गरेर थालिएको वैकल्पिक राजनीतिको यात्रा पुराना पार्टीसँगको सहकार्यले आत्मघाती भएको निष्कर्षमा पुगेको सामाजिक सञ्जालमार्फत बताएका छन्।
उनले लेखेका छन्, ‘नयॉ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको हाम्रो करीब एक दशकको प्रयोग र अनुभवले भन्छ–अग्रगामी वैकल्पिक शक्ति निर्माणकानिम्ति पुराना शक्तिहरूसंगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती हुन्छ।’,
उनले पुराना दलहरुमा व्याप्त सत्तालिप्सा र भ्रष्टाचारले नयाँ वैकल्पिक शक्तिकले सहकार्य गर्दा आफूजस्तै संक्रमित बनाएको निष्कर्ष निकालेका छन्।
उनले अगाडि लेखेका छन्, ‘कोरोना भाइरस जस्तै पुराना शक्तिहरूको निजी सत्तालिप्सा र भ्रष्टाचारको भाइरस यति खतरनाक छ त्यसले नयाँ उदीयमान वैकल्पिक शक्तिहरूहरूलाई पनि संक्रमित नगरी छाड्दैन।’
बाबुरामले गत निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुम्पिएका थिए। उनले प्रचण्डलाई गोरखा सुम्पिएर छोरी मानुषी यमीलाई काठमाडौं ७ मा उम्मेदवार बनाएका थिए।
तथापि माओवादीको तर्फबाट उम्मेदवारी दिएकी मानुषीले काठमाडौं ७ मा पराजय व्यहोरेकी थिइन्। रास्वपाका गणेश पराजुली विजयी भएको उक्त क्षेत्रमा मानुषी तेस्रो स्थानमा रहेकी थिइन्।
एकातिर निर्वाचनको सम्मुखमा निर्वाचन क्षेत्रको खोजीमा भौतारिएका प्रचण्डलाई आफ्नो क्षेत्र छाडेर गुन लगाए पनि त्यस पछि प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई उपेक्षा गरेको निचोड बाबुरामको थियो।
प्रचण्डले आफूप्रति गरेको उपेक्षाको उपज उनले गोरखा २ मा पुन चुनाव लड्ने जानकारी गराएको उनी निकट नेताहरु बताउँछन्। त्यस अघि युवा पु्स्तालाई राजनीतिमा अवसर दिनुपर्ने बताउँदै आगामी निर्वाचनमा आफू चुनाव नलड्ने घोषणा गरेका थिए।
प्रचण्ड बाबुरामको तिक्तता गत वर्षको निर्वाचन पछि नै बढ्दै गएको हो। आफूलाई भन्दा जसपाका उपेन्द्र यादवलाई प्रचण्डले प्रश्रय दिएपछि उनी रुष्ट बन्दै गएको जानकारहरु बताउँछन्।
बाबुरामकै अवधारणा अनुसार गठन गरिएको समाजवादी मोर्चामा उपेन्द्रलाई सहभागी गराएर आफूलाई सामेल नगराइए पछि बाबुराम प्रचण्डसँग क्रुद्ध बनेका थिए।
त्यसयता निरन्तर तिक्तता बढ्दै गएपछि बाबुरामले पछिल्लो फागुन २१ मा परिवर्तित गठबन्धनलाई अवसरवादको संज्ञा दिँदै पूर्वसहकर्मी प्रचण्डप्रति कडा व्यंग्य प्रहार गर्दै आइरहेका छन्।
अहिले नेसपामा बाबुरामलाई बेवास्ता गरेर अर्का अध्यक्ष महिन्द्ररायलाई हौसाउँदै पार्टी एकताका लागि प्रचण्डले निरन्तर दवाब दिइरहेको माओवादी नेताहरु बताउँछन्। त्यसैले उनले पुराना दलसँगको सहकार्य आत्मघाती भएको निष्कर्ष निकालेका हुन्।
प्रचण्डले यस अघि आफ्नै सरकारमा खानेपानी मन्त्री रहेका अर्का अध्यक्ष महिन्द्ररायलाई एकताका लागि हौसाएर आफूलाई एक्ल्याउने रणनीति बनाएको बुझेपछि बाबुराम थप रुष्ट बनेको माओवादी स्रोत बताउँछ।
प्रचण्डको आग्रहले उनै महिन्द्ररायले माओवादीसँग तत्काल एकता गर्न बाबुरामलाई दबाब दिँदै एकतामा नगए आफूसहितका नेताहरुले एकता गर्ने चेतावनी दिएपछि बाबुराम प्रचण्डसँग थप रुष्ट बनेका हुन्।
Facebook Comment