कथा : बेगलकाँटे

खेमराज पोखरेल
३ चैत २०८० ७:११

‘ग्यास बन्द हुन्छ रे’

‘कलेजले छोराको नाम काट्ने रे’

‘दोकाने साहुले मान्छे पठाको’थ्यो’

‘छोरीले खोकेको महिना बितिसक्यो’

‘यो सक्रान्तिमा त खसीकै मासु खाऊँ न हौ’

मलाई स्वास्नी छोराछोरीले हिजो पनि यी कुराहरू भनेकै थिए । अस्ति पनि भनेकै थिए। सधैँ भनिरहने कुरो हो यो। तर म बोलिनँ। बोल्नु पर्ने कुरै होइन। चुप बस्नु नै फाइदा छ।

छोरो आयो। घुँडामा च्यातेर प्यान्ट लगाएको थियो। मलाई नहेरी बर्बराउँदै थियो। त्यो मैले सुनिनँ। र पनि मलाई थाहा छ। छोरो पक्का पक्की भन्दै छः

‘ह्याँ यो बाउ त मक्खीचुस्। महाँ कन्जुस। सबै साथीहरूले दिइसके। जाबो २००० त हो नि । पिकनिक जाने दिन आइसक्यो। सुरसारै छैन’

म फेरि पनि बोलिनँ। बोल्ने कुरै छैन। अफिसमा हाकिमले ‘अब त पेस्की पाउनु हुन्न है दर्शनजी’ भनेको हिजै मात्र हो। हाकिमले पनि कति दिऊन् पेश्की। कहिलेकाहिँ हाकिम मलाई भन्थेः ‘मालदार अफिसमा गए त यसरी पेस्की लिनै पर्दैन। तपाईँ आफैँ बेगलकाँटे अनि म के गरूँ?’

मैले आफ्ना मरेका बाबुलाई सम्झेँ। मरेकी आमालाई सम्झेँ। आमाबा दुवै आदर्शवादी हुनुहुन्थ्यो। साँच्चै धार्मिक हुनुहुन्थ्यो। मैले सुब्बा जागिर पास गरेपछि बाआमा दुवैले भन्नु भएथ्योः ‘बाबु, तँ सरकारी जागिरे भइस्। तर घुस कहिल्यै नखाएस् है। जनता मारेर धुस खाइस् भने हाम्रो काट्टो सरह हुने छ’ ।

मैले आमाबाका अगाडि नै प्रतिज्ञा गरेको थिएँ कि म घुस कहिल्यै खान्न। त्यसैले म घुस खान नपर्ने अफिस खोजी खोजी सरुवा गराउँदै हिँडिरहेको छु।
श्रीमती कहिलेकाहिँ भन्छे। एकदम खुसी भएको बेला ऊ मलाई ‘तिमी’ भन्छेः

‘तिम्ले घुस खान्नौ भन्ने जानेको भए त मेरा आमा बाले मलाई तिम्रा जिम्मा लाउने थिएनन्। सुब्बा हो। पैसाको फ्याउरी लाउँछ भन्दै दिइ पठाए’

मैले समय कटाउन ‘भिजिट पोखरा’ लेखेको सेतो रंगको झोला टक्टक्याएँ। धुलो गौँथली जस्तो फुर्र उड्यो। काँधमा झुन्ड्याएँ। र बाहिर लागेँ। श्रीमती भन्दै थिईः ‘सरकारले बिदा दिएको दिन पनि कहाँ जानु पर्ने हो कुन्नि?, आउँदा एक धार्नी आलु ल्याउनु है। भरे आलुको पक्कु खानु पर्छ’

म मनमनै भन्दै थिएँः ‘यो सरकारले बिदा मात्र दिन जानेको छ कि क्या हो?, बिनाबित्थाँमा’। मैले रिस सरकारलाई फेरेँ। खासमा म समस्यालाई पर धकेल्ने सुरमा थिएँ। म समस्या बिर्सन चाहन्थेँ। आह, एकैछिन भएपनि। एकै निमेष भएपनि। मनलाई यी समस्याका भारिबाट बेगल बनाउन चाहन्थेँ। मलाई यसरी वैराग्य चलेको छ कि कुनै दुर्गम ठाउँमा गएर जोगी बनूँ वा एकाएक हराऊँ। गुमनाम हूँ। जहाँ शान्ति होस्। चैन होस्।

मलाई किन किन मान्छे बेगलकाँटे भन्छन्। म सोचिरहेको छु। भोगिरहेको छु। अनुभव गरिरहेको छु। मान्छे आखिर बेगलकाँटे त हुन्छ नि। श्रीमतीलाई सम्झेँ। श्रीमती पनि त बेगलकाँटे त हो नि। गमेँ। बाबु, आमा, स्वास्नी, छोरो, छोरी, माल्दाइ, धने, हाकिम, ईश्वर बाबु, रमिता र त्यो साहुनी सबै बेगलकाँटे त हुन् नि।

वसुन्धरामा रिंगरोडको गाडी चढेँ। कतै जानु थिएन। केही काम थिएन। तर पनि समय बिताउन म गाडी चढेँ। झोलाबाट मास्क झिकेँ। लाउँदा लाउँदा एकापट्टि कालो हुन खोजे छ। उल्ट्याएँ । लगाएँ। मास्क गन्हायो। र पनि लगाएँ। बिचतिरको सिटमा बसेँ। झ्यालतिर। बाहिर हेर्न थालेँ। म चढ्दा बस खालि नै थियो। तर चक्रपथ पारि पुग्दा ड्याम्मै बस भरियो। मान्छे ठेलामठेल गरेर चढ्दै थिए। खलासीका कृपाले बडो मुस्किलले बसभित्र चढेकी एकजना आमै अर्को स्टपमा अरू मान्छे चढ्न खोजेको देखेर

चिच्याइन्ः ‘कति खाँदेको होला गुन्द्रुकजस्तो। यी बसवालाहरूलाई कत्ति भे’नि पैसा नपुग्ने’।

मैले ती महिलालाई गौर गरेर हेरेँ। मलाई उनी बेगलकाँटे लाग्यो। उनले भनेका कुरा पनि ठिक छन्। तर उनी आपूm जस्तै भिड भएपनि चढ्ने अर्को चढ्न खोज्दा कराउने। यो कस्तो दोहोरो चरित्र होला मान्छेको। यो कस्तो बेगलकाँटे सोच हो।

धुलाम्य छ सडक। चाबेलको धुलोले काठमाडौँमा चर्चा पाएको छ। बसभरिका मान्छेले एकैपल्ट सरकारलाई गाली गरेका छन्। तर सरकार भए पो सुन्छ। सरकार सिंहदरवारमा छ। सरकारी गाडीभित्र हिँड्छ। धुलो पर्छ भनेर गाडीको सिसा लगाउँछ। एसी चलाउँछ। मलाई किनकिन यो सरकार पनि बेगलकाँटे लाग्छ। सरकार त जनप्रतिनिधिको हो। तर सरकारलाई जनता बिर्सने रोग लागेको छ। क्या मज्जा।

मैले सोचेँ। म पनि त सरकारलेझैँ काम, कर्तव्य, दायित्वलाई बिर्सन खोज्दै छु। टार्न खोज्दै छु। बग्रेल्ती समस्यालाई सरकारलेझैँ वास्ता नगरेझै वास्ता गर्न नपरे पनि त हुन्थ्यो नि जस्तो लागेको छ।

गौशालामा पशुपतिका निरिह तीर्थयात्रीहरू निधारभरि लतपतिएको टीको लगाएर बसमा खाँदिएका छन्। एकजना महिला एकाएक चिच्याइनः

‘आच्या, कन्डामा पयट लगाएर पो ठेल्छ यो मुन्छे’

हो त नि त्यो भिडले ती महिलालाई किन ठेल्यो होला? त्यो भिड ठेल्न बाध्य छ कि बहाना हो? जेभए पनि अभिशप्त ठेलिएर यात्रा गर्न बाध्य छन्। महिला। पुरुष। केटाकेटी। बृद्ध। सबै। र म सरकार खोज्दै छु। नपाउने सरकार खोज्दै छु। मलाई लागिरहेको छ यो सरकार कस्तो मग्नमस्तीको छ। बेपरवाह छ। लापर्वाह छ। अहो म पनि समस्यामा बेपर्वाह हुन पाए त हुन्थ्यो होला।

तिलगंगाको सडकपेटीमा कवाडीका सामानहरू थुपारिएका छन्। त्यसकै छेउमा फोहोरका डुंगुर छन्। कुकुरहरू फोहोरभित्र खानेकुरा खोज्दैछन्। फोहोर सडकमा छर्दैछन्। बस एयरपोर्टको जाममा जाम भएको छ। कुकुरले छरेको फोहोरको अमिलो हरक धुवाँ र धुलोमा मिसिएर बसभित्र छिर्यो। बस दुर्गन्धित भयो। एउटा मङ्गोल देखिने भद्र पुरुष नाक थुनेर निस्सासिँदै कराएः

‘ओ हो हो, यो काठमान्डुको मुन्छे त सुँगुर नै पो हो कि क्या हो हाउ, हाम्रो धरान त यस्तो छैन पो’।

म सोच्न थालेको छु। के यो काठमाडौँ सुँगुरको खोरजस्तै भएको छ?, के हामी काठमाडौँका सुँगुर भएका छौं त?

एयरपोर्टमा केही झरे। हुल चढे। बस हावा भरेको बेलुनजस्तै पोटिलो हुन्थ्यो होला। तर त्यो फलामको थियो। बसभित्र सिटमा बसेकाको पनि हविगत निक्लेको थियो। बसमा खलाँसी फोनमा ठूलो स्वरले कराउँदै थियोः

‘तेरा खप्परमा दाउरो बजाउन नसके त, थुक्क। चिर्पटोले नबजाइ त तेरो, तैँले भन्ने बित्तिकै पैसा दिन्छ साहुले?, साहु तेरो बाउ हो। लैजा तेरा छाउरा छाउरी, डाक्टरकोमा लानेकि काँ लाने। अहिले मुख चलाउँछेस्, तेरो थुतुनो च्याति दिऊँ?’।

सायद ऊ आफ्नी श्रीमतीलाई कराउँदै थियो। सायद ऊ सधैं यसैगरी कराउँदो हो। वा अभिशप्त बाँच्न बाध्य छे उसकी स्वास्नी। चिर्पट खाएर बाँच्न पर्छ उसले। यो कस्तो बेगलकाँटे जिन्दगी होला त्यो बिचरीको। मैले पर एउटा होर्डिङ बोर्ड देखेँ।

लेखिएको थियोः ‘महिला हिंसा अपराध हो’। तर ऊ हाकाहाकी हिंसा गरिरहेको थियो। त्यो पनि सार्वजनिक ठाउँमा। मान्छे टनाटन थिए बसमा। कोही बोलेका थिएनन्। सायद ठान्दा हौँ हामीलाई के मतलव?। बसमा पनि सिटको माथि ‘महिलाको सम्मान गरौँ’ लेखिएको थियो। त्यो सम्मान पालना गराउने उही खलाँसी थियो। त्यो खलाँसी पनि बेगलकाँटे त हो नि।

बसमा एकजना मधेसी मूलका बृद्ध थिए। उनको धोतीको फेर पर पुगेको थियो। चप्पल जोगाउँदै थिए। खलाँसी करायोः ‘ए बुढा, पछाडि पछाडि’
उनी भन्दै थिएः ‘जगह छैन भइ, केनाके सर्नु?’

खलाँसी झन् कराउन थाल्योः ‘खुकुलो चाहिनेले आफ्नै गाडी चढ्नु पर्छ’

म सोचिरहेको छु। त्यो खलाँसी पनि गरिव छ र पनि ऊ आम नेपालीको गरिवीलाई मजाक बनाइरहेको छ। खोई नेपालीमा वर्गीय चेत? गाडी चढ्ने हैसियत भए कोही यो थोत्रो बस चढ्दो हो।

ती बृद्ध असिन पसिन हुँदै कोटेश्वरमा झरे। उनी भन्दै थिएः

‘अगो बा, हमरा बराबरके सोना देते तैयो नै बैठ्वे यी काठमन्डुमे’

सातदेबाटोमा एक हुल मान्छे झरे। त्यो हुलका एकजना मान्छे भन्दै थिएः

‘के गरी बस्ता हुन् यो काठमाडौंमा मान्छे?’

अर्को वयस्क मान्छे उत्तर दिँदै थिएः

‘क्या अर्ने त नि, यो च्यान ठाउँमा नआई धर छैन क्यारे’

मलाई पनि लाग्यो। यो च्यान ठाउँमा नआई धर छैन। यहीँ नबसी धर छैन मान्छेलाई। किन यस्तो भएको होला काठमाडौं। किन सामन्त जस्तै भएको होला यो सहर?

मैले बसको अर्को सिटमा हेरेँ। स्कुले केटाकेटी टाँस्सिएर बसेका थिए। केटो केटीको निधारको कपाल पन्साउँदै थियो। हात मात्र होइन पाखुरा नै समाएका थिए। त्यसोगर्दा केटाको कुँइनुले केटीको स्तनमा छुन्थ्यो। बसको घच्याक घुचुकमा यो बेग तिब्र हुन्थ्यो। मसँगै बसेको बुज्रुक मसँग फुसफुसाएः ‘यी किन टाँसिएका हुन् कुन्नि? सार्वजनिक ठाउँमा। लाज पचेकाहरू’

म एकछिन सोचिरहेँ। यी स्कुलेहरू बेगलकाँटे हुन् कि ती बुज्रुक?। ती बुज्रुकले पनि त त्यही यात्रा गरेका होलान्। अझै सिटमा सँगै बसेकी महिलासँग नजानिदो पाराले ठेलेकै होलान्। थाहा नपाएजस्तो गरेर ठेल्न हुने। भन्न नहुने र आफूलाई एकदम भलाद्मी देखाउनु पर्ने यो कस्तो बेगलकाँटे सोच होला।

केही केटाहरू सानेपामा चढेर बल्खुको पुलमा ओर्ले। मलाई लाग्यो कि नेपाली कस्तो शौखिन भएको छ। दश मिनेटमा पुगिने यात्रालाई आधा घन्टा बस कुर्छ। एकाएक ढोका छेउमै उभिएकी एकजना तीसे पैँतीसे देखिने महिला कराइनः ‘आच्या, मेरो मोबाइल छैन त कसले चोर्यो?, सानेपामा नै बुढासँग कुरा गरेकी थिएँ। अस्ति मात्र ३०००० मा किनेको नयाँ । अब मलाई बुढोले मार्छ। म के गरू?’

सबैले ती केटाहरूलाई दोष लाए। मान्छेले उनलाई अर्ती पनि दिए। अलि बिचतिरबाट एकजना बुज्रुक कराएः

‘यी चोरसँग यो खलाँसी पनि मिलेको हुन्छ। पुलिस पनि मिलेको हुन्छ। मिलेरै सिध्याउने भए’

उनी भने रोइरहेकी थिइन्।

कलङकीमा बस रोकएको थियो। एउटी भद्र महिलाले तरकारी साइकलमा डोर्‍याउनेलाई सोधिन्ः ‘ए भैया, काउली कसरी छ?’
तरकारीवाल रिसायोः ‘हमको किन भैया भन्छ?’

भैया आखिर दाजु भनेको त हो नि। दाजु पनि भन्न नपाइने कस्तो व्यवस्था बनायौँ हामीले। तरकारीवाला पनि बेगलकाँटे रहेछ। बेगलकाँटे बनाइएको रहेछ। सिकाइएको रहेछ। राम्रो कुरा भन्दा पनि किन रिसाउँछ कुन्नि मान्छे?

स्वयम्भुमा ठुलो जुलुस थियो। बस जाम भो। घन्टौँ मान्छे उभ्याएर अधिकार खोज्छ मान्छे। काम बिताउन बाध्य पारेर पहिचान खोज्छ मान्छे। प्लेकार्ड बोकेका मान्छेहरू जिन्दावाद र मुर्दावाद भनिरहेछन्। सायद ती मान्छेलाई जिन्दावाद र मुर्दावादको अर्थ पनि थाहा छैन होला। बसभित्रबाट एकजना मान्छे बोलेः ‘छु मनु ख?’

उसै समुहको एकजना पाका मान्छेले भनेः ‘मनु मखु, जुलुस ख’

पाका मान्छेको कुरा मलाई खुव जँच्यो। वास्तवमा ती मान्छे होइनन्। जुलुुस हो। जुलुस मान्छे होइन। जुलुुसमा हिँडेका यी रोबोट मान्छेहरू अहिले त मक्ख छन्। तर जब उनीहरू नै कुनै यात्रामा रोबोट होइन मान्छे बन्छन्। यात्रामा निस्केको बेला यस्तै जुलुस भेटेर जाममा पर्छन्। बेलामा काममा नपुगेपछि कराउन थाल्छन्ः ‘यो देशमा कहिल्यै यो जुलुस नसकिने भो, मान्छेमा खोई चेतना?’

बेगलकाँटेहरू।

घन्टौंपछि जाम खुलेको छ। नयाँ बसपार्कका रेलिङमा भद्दा मेकअप गरेका चिचिला नानीहरू र केही वयस्क महिलाहरू देखिन्छन्। म नजिकै बसेको भद्र मान्छे भन्छन्ः ‘यी सबै नगरबधु हुन्, बिचरा कमाइ खान सहर पसेका, सपना साँचेर खाल्डो छिरेका’

कसरी थाहा पाए ती भद्रले। म सोचमग्न भएँ। ती नानीहरू स्वेच्छाले नगरबधु भएका हुन् र?, के बाध्यता होला? सायद भातकै बाध्यता होला। सायद एकजोर राम्रा कपडाको बाध्यता होला।

सायद आफन्तले भोगेर पन्छाइदिएका होलान्। सडकमा पुर्याइ दिएका होलान्। जागिर खोज्ने लामबाट थाकेर भोक मारेका होलान्। वा महँगो मोबाइलको आशाले रेलिङ् समाउन पुगे होलान्।

बसुन्धरामा ओर्लेको छु। एउटा साथी आयो। गाडीमा आयो। करको सुब्बा हो ऊ। उसले र मैले सँगै सुब्बा पास गरेका हौं। उसले मलाई भन्योः ‘ए गुरु, अड्डा जाने हो?, दमदार मारबाड्नी छे’

साथीको अड्डा म जान्न भन्ने उसलाई थाहा छ। तर पनि ऊ मलाई जिस्कयाउँछः ‘जाबो पाँच सात हजारको त कुरो हो गुरु’

म हाँसेँ। ऊ मलाई भन्दै हिँड्योः ‘लगौँटी कसेर नै सकिने भो यो गुरु’

उसले भनेको मलाई त्यति नराम्रो लाग्दैन। बालसखा हो। ऊ श्रीमतीको इच्छाबेगर कहिल्यै दुःख दिँदैन रे। बरु ऊ नै मलाई भन्ने गर्छ सधैँभरिः ‘बुढी भ’की श्रीमतीलाई कति दुःख दिन्छौ हौ गुरु? पापै लाग्छ’।

हो त नि मैले श्रीमतीसँग यसै निहुँमा कैयौँपल्ट झगडा गरेको छु। बोलीचाली नै बन्द भएको छ। महिला हिँसा नै गरेको छु। वचनले। व्यवहारले। हिँड्दा नबोली हिँडेको छु। तर त्यो साथी भने जहिले पनि श्रीमतीसँग लपक्क पर्छ यार। एकदिन उसकी श्रीमतीलाई मैले भनेँथेँः ‘भाउजू, ल है यो शंकरे त ढिलो आउँछ है घर। ख्याल गर्नु है’
भाउजूले उल्टै मलाई भन्नुभएथ्योः ‘करको काम हो बाबु, दुई चार पैसाको कुरो छ, ओभरटाइम गर्नु हुन्छ नि’

मलाई शंकरका यी कुनै कुराले पनि असर गर्दैन। तर जाबो पाँच सात हजार भनेको कुरा चाहिँ मनभरि चसक्क हुन्छ। म वसुन्धराबाट उही घरतर्फ लागेँ। घर उही थियो। बाटो उही थियो। गल्ली उही थियो। भाग्य उही थियो। कर्म उही थियो। गेट खोलेर घरभित्र पसेँ।

स्वास्नी उही थिई। छोरो उही थियो। छोरी उही थिई। समस्या उही थियो। छोराले च्यातेरै प्यान्ट लाएको थियो। छोरीले पनि उदाङगिएकै लुगा लगाएकी थिई। दाजुलाई पछ्याएकी थिई। श्रीमती उदाश भएर मैलाई हेरिरहेकी थिई। म सटासट कोठाभित्र पसें। श्रीमती कालो चिया लिएर आई। सँगै बसी। मेरो टाउकोका रौँलाई हातले खेलाई।

म आज्ञाकारी बालकजस्तै चुपचाप बसेँ। उसैले भनीः ‘कमलका बा, तपाईँको साथी शंकर बाबुलाई त अख्तियारले भर्खरै गंगबुबाट समाते छ। कर छली अभियोग छ रे। टि.भी.को फ्ल्यास न्युजमा भन्दै छ हेर्नु त’

मैले भर्खर भेटेको शंकर टोयोटामा बसपार्कतिर लागेको थियो। कस्तो अचम्म। मैले निन्याउरो अनुहार लगाएँ। तर यसबेला पनि मैले मेरा दिवंगत बाबु आमालाई सम्झेँ। सायद म धन्यवाद दिँदै थिएँ। ऊ मेरो कपाल चलाइरहेकी छे। यसो गर्दा मलाई आनन्द लाग्छ भन्ने उसलाई थाहा छ। अनि ऊ फेरि बोल्न थालीः

‘कमलका बा, आखिर हामीले बाँच्नै पर्छ। नेपाल गए कपाल सँगै, बर्मा गए कर्म सँगै। अहिलेसम्म हामी बाँचेकै छौँ क्यार। जीवन चलेकै छ क्यार। हुनेले पनि सुन खान्नन्’
मैले उसको अनुहारमा हेरेँ। टिठ लाग्दी भएकी छे बिचरा। त्यस्तो चहकवाल अनुहारलाई चाया र पोतोले ढुट्याएको छ। कपाल पातलिएका छन्।

निधारमा रौँहरू अलमस्त छरिएका छन्। स्वास फेर्दा पनि नाकका पोरा फुलाउन थालेकी छे। उसका हातहरू समाएर हेरेँ। हत्केलामा फुटेका धर्साभित्र पसेको मोसो निक्लिएको छैन। त्यसैत्यसै माया लागेर आयो मलाई।

त्यसैत्यसै दया पलाएर आयो मलाई। सायद उसले मेरो मनस्थिति बुझी कि क्या हो? ऊ फेरि भन्न थालेकी छेः ‘कमलका बा, तिमी छौ र पो म छु। म छु र पो तिमी छौ। हामी छौँ र पो संसार छ’।

मैले अनायास उसलाई तानेर काखमा राखेको छु। ऊ उषाको किरणजस्तै उज्यालिएकी छे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *