रोल्पा, सुन र माओवादी

शरद रिजाल
२ चैत २०८० १४:४२

रोल्पाको सुनछहारीमा सुनखानी रहेको र लुंग्री खोलाको बालुवामा सुन पाइने स्थानीयहरु बताउँछन्। सुनछहारीमा रहेको सुन उत्खनन् गर्ने प्रयत्न गरिएको सुनिए पनि त्यसलाई प्रयोजनमा ल्याउन सकिएको छैन।

सुनछहारी गाउँपालिकामा रहेको त्यस छहरामा सु्न रहेको परापूर्वकाल देखि नै चर्चा हुँदै आएको छ। राज्यस्तरबाट त्यसलाई प्रयोगमा ल्याउने उद्देश्यले निरीक्षण गरिएको भनिए पनि हालसम्म त्यसको उत्खनन गर्न भने असमर्थ बनेको छ।

यही रोल्पाकै लुंग्री खोलामा भने बालुवा चालेर सुन खोजेर जिवीकोपार्जन गर्ने समुदाय रहेको बेलाबखतमा सुनिएकै हो। तर अहिले चर्चा यिनै सुन भएका रोल्पाका स्थलको होइन, अवैध बाटोबाट सुन ल्याउने रोल्पाली माओवादीको राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको छ।

अहिले रोल्पामा रहेका यी सुन खानी भन्दा पनि रोल्पालाई आधार बनाएर सोही भूमिबाट राष्ट्रिय राजनीतिमा उदाएका नेताहरुको सुन तस्करीको धन्दाले सबै रोल्पालीलाई चकित तुल्याएको छ।

रोल्पाका अधिकांश माओवादी नेताहरु सुन तस्करीमा मुछिएपछि कतिपयले रोल्पा, सुन र माओवादीलाई एउटै कोटीमा राखेर एक अर्काका पर्यायका रुपमा चित्रण गर्न थालेका छन्।

अहिले रोल्पालाई सुनकै पर्यायको संज्ञा समेत दिन थाले पनि रोल्पा र सुनको सम्बन्ध भनेको सुनछहारी र लुंग्री खोलाको बालुवामा भेटिने सुन बाहेक अरुसँग कुनै साइनो छैन।

अहिले रोल्पालाई सुनकै पर्यायको संज्ञा समेत दिन थाले पनि रोल्पा र सुनको सम्बन्ध भनेको सुनछहारी र लुंग्री खोलाको बालुवामा भेटिने सुन बाहेक अरुसँग कुनै साइनो छैन।

यी नेताहरुको सुन तस्करी विशुद्ध आफ्नो र पारिवारिक स्वार्थका लागि गरिएकोमा दुई मत हु्न सक्दैन। त्यसलाई रोल्पासँग जोडेर हेर्नु समग्र रोल्पालीका लागि अन्यायपूर्ण हुन जान्छ।

गत वर्ष रोल्पा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं हालका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोल्पा पहेलै देखिएको भन्दै व्यंग्य गरेका थिए। उनले जनयुद्ध लडेको माओवादी अहिले सुनवादीमा परिणत भएको कटाक्ष गर्न भ्याएका थिए।

भर्खरै रोल्पाको जिल्ला अधिवेशनमा पुगेका एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पनि दशवर्षे युद्धले रोल्पालाई सुनका महल दिएको भन्दै व्यंग्य गरेका थिए।

अहिले माओवादी आन्दोलनको विद्रुपीकरणको नमुनाका रुपमा नेताहरुको सु्नतस्करीमा संलग्नताको विषय उठाइने गरेको छ। यसले समग्र माओवादी र जनयुद्धमा रोल्पाले निर्वाह गरेको भूमिकालाई अवमूल्यन गर्न यही अस्त्र प्रयोग गर्न थालिएको छ।

माओवादी जनयुद्धको अन्तरनिहीत उद्देश्य शीर्ष नेताहरुमा जे सुकै रहेपनि रोल्पालीले इमान्दारितापूर्वक परिवर्तनको लागि साथ दिएको हो। तत्कालीन युद्धरत माओवादीका आश्वासन र मुलुुक बदल्ने प्रतिबद्धताले संकटपूर्ण अवस्थामा जिउज्यानको परवाह नगरी साथ दिएको हो।

त्यही जनयुद्धमार्फत आर्जेको राजनीतिक उचाइ र प्राप्त गरेको राजकीय पदकोे दुरुपयोग गर्दै अहिले आफ्नो निहित पारिवारिक लाभ र आर्थिक सम्पन्नताका लागि अवैध सुन तस्करीको धन्दा चलाइनु कुनै पनि रोल्पालीलाई किमार्थ स्वीकार्य हुने विषय होइन।

उसो त यो पंक्तिकार पनि आफैंमा रोल्पाली हो। कतिपयले राजधानीमा व्यंग्य गर्दै तपाईंको रोल्पा त सुनैसुनले भरिएको पो देखिन्छ त? भन्दै प्रहार गरिने व्यंग्यबाणको सामना पनि गुर्नुपरेको तितो यथार्थ भोगिएकै छ।

कतिपयले रोल्पालीको रुपमा परिचय नदिन पनि सुझाइरहेका छन्। यी सबै माओवादी नेताहरुको सुनतस्करीमा संलग्नता एकपछि अर्को गर्दै श्रृंखलाबद्ध रुपमा उजागर भएपछि प्रकट गरिएका व्यंग्य हुन्। यसलाई विगतको जनयुद्धकालीन आदर्शको स्खलनको उच्चतम स्वरुपका रुपमा सबैले चित्रण गरेका छन्।

वर्गीय समानताका लागि दशवर्षे जनयुद्धको शंखघोष गरेको माओवादीको आधार इलाका र त्यहाँका नेताहरुको अर्थोपार्जन र आर्थिक समुन्नतीको आधार सुन तस्करी भएको बाहिरिएपछि सर्वत्र निन्दा हुनु स्वाभाविकै हो।

माओवादीका शीर्ष नेता जनयुद्धकालमा जनमुक्ति सेनाका कमाण्डर रहेका नन्दबहादुर पुन राज्यको दोस्रो उच्च पद उपराष्ट्रपतिमा पुग्न सके।

उनको त्यस उपस्थितिले रोल्पालीले गर्व गर्ने अवसर पनि पाएकै थियो। तथापि पछिल्लो समय उनको परिवार र सचिवालय नै सुन तस्करीमा मुछिएको समाचार सार्वजनिक भएपछि समग्र रोल्पालीलाई नै लज्जित बनाएको छ।

यस्तै पूर्वसभामुख रहेका रोल्पाका कृष्णबहादुर महरा माओवादीको उच्च स्तरका नेता हुन्। उनको पनि सुन तस्करीमा पारिवारिक संलग्नता देखिएको छ। उनका छोरा राहुल महरा पनि भेपमार्फत भित्र्याइएको ९ किलो सुन प्रकरणमा संलग्नताको आरोपमा पुर्पक्षका लागि थुनामा छन्।

महरालाई पनि सुन तस्करी जाँचबुझ गर्न गठित उच्चस्तरीय छानबिन समितिले संलग्नता देखिएको भन्दै मुद्दा चलाउन नै सिफारिस गरिसकेको छ।

यसअघि  ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङसँग माओवादी नेतृ रहेकी रोल्पा थवाङकी अमला रोकाको वैवाहिक सम्बन्ध रहेको खुलासा भएकाे थियो। यिनै रोका दम्पतिको माओवादी नेतासँग समेत पारिवारिक सम्बन्ध रहेको देखिएको थियो।

रोका दम्पतिको पूर्वउपराष्ट्रपति पुन र अर्का माओवादी नेता एवं बहालवाला अर्थमन्त्री वर्षमान पुनसँगको तस्बिर सार्वजनिक भएपछि माओवादी नेताहरुको संदिग्ध भूमिका रहेको भन्दै प्रश्न उठेको थियो। सुन तस्करीको आरोपी दावा पत्नी अमला अहिले फरार छिन्।

हालसालै वर्षमान पुनको पनि सुन तस्करी प्रकरणका आरोपी उपराष्ट्रपतिका सचिवालमा रहेका जीवनकुमार  गुरुङसँग सम्पर्क रहेको भन्दै सञ्चारमाध्यममा समाचार सार्वजनिक भइरहेका छन्।

राजधानीकै प्लाटिनम कलेजका सञ्चालक रहेका गुरुङ उपराष्ट्रपति पुनको सचिवालयमा रहेका थिए। उनी विमानस्थलबाट पक्राउ परेको १४ किलो सुन प्रकरणमा संलग्नताको आरोपमा भन्सार विभागको थुनामा छन्।

अहिलको सनसनीपूर्ण सुन तस्करी प्रकरणमा अधिकांश रोल्पाकै माओवादी नेताहरुकै संलग्नता रहेको उजागर भएपछि सबैतिर अहिले माओवादीकै गम्भीर विचलनको रुपमा अथ्र्याएका छन्।

बन्दुकको गोलीले नढलेका जनयुद्धका सिपाहीहरु सुन तस्करी गरेर आर्थिक उपार्जन गर्ने अवस्थामा पुगेर विगतको गौरवपूर्ण आन्दोलनको उपहास र समग्र रोल्पालीमाथि विश्वासघात गर्ने सिथ्तिमा पुगेका छन्।

माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुली लगायतका क्षेत्रबाट एकैसाथ सुरु गरेको जनयुद्धको प्रभाव क्षेत्र रोल्पा हो। यहाका हजारौंले यस युद्धमा जीवन अर्पण गरेका छन्।

उनीहरुलाई देखाइएको सपना पूरा गर्नु धेरै टाढाको कूरा हो। ती परिवारहरु अहिले पनि जीवन निर्वाहका लागि खाडी मुलुकमा पसिना बगाइरहेका छन्। कतिपयले त युद्धग्रस्त मुलुक रुस पुगेर जोखिमपूर्ण युद्ध लडिरहेका छन् भने कतिले त्यही जीवन गुमाएका छन्।

यता सोही युद्धको सूत्रधार रहेका नेताहरु सु्न तस्करीमा मुछिएको एकपछि अर्को समाचार सार्वजनिक हुनु समग्र रोल्पाको गौरवपूर्ण इतिहास र माओवादी आन्दोलनकै यो विचलनको उत्कर्ष अवस्था हो। यसले समग्र रोल्पा र रोल्पालीकै शिर निहुरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *