गृहमन्त्रीको राजीनामा माग्दै कांग्रेसले नाराबाजी गरेपछि संसद बैठक स्थगित
काठमाडौं। गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै कांग्रेसले नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ।
शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै प्रमुख प्रतिपक्षी दल कांग्रेसले नाराबाजी गरेको हो।
कांग्रेसको नाराबाजीपछि सभामुखले आजको कार्यसूचीमा रहेका कार्यक्रम सूचीबाट हटाउँदै आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन्।
आजको बैठकमा गृहमन्त्रीमा लामिछानेको नियुक्तिका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेसले प्रधानमन्त्री दाहालको जवाफ माग गरेको हो। बैठक शुरू हुने बित्तिकै कांग्रेस सांसदले उभिएर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्न समय दिएका थिए। बैठकमा बोल्दै सांसद पौडेलले प्रधानमन्त्री प्रश्नबाट भागेर हिंडिरहेको भन्दै असन्तुष्टि जनाए।
गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरेर प्रधानमन्त्री दाहालले दोहोरो मापदण्ड अपनाएको उनको भनाइ थियो। देशभरका सहकारीपीडितले सहकारी संचालकको सम्पत्तिबाट आफ्नो बचत रकम फिर्ता गर्न माग गरिरहेको बताउँदै उनले गृहमन्त्री लामिछानेमाथि पनि सहकारीको रकम हिनामिनाको विषयमा छानबिन भइरहेकाले यस विषयमा प्रधानमन्त्री दाहालले संसद्मा जवाफ दिनुपर्ने बताए।
सांसद पौडेलले अनुसन्धानको घेरामा रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारीपीडितको माग कसरी पूरा हुन्छ भन्ने प्रश्न गरे। सुन तस्करी प्रकरणमा प्रहरीले राजनीतिक व्यक्तिलाई जोगाएको गृहमन्त्री लामिछानेले नै स्वीकार गरेको पौडेलले स्मरण गराए।
यस्तो अवस्थामा गृहमन्त्री लामिछानेमाथिको अनुसन्धान प्रभावित हुने उनको भनाइ थियो। त्यसपछि सभामुख घिमिरेले आफ्नो ध्यानाकर्षण भएको र सरकारले पनि यसमा जवाफ दिने बताए। बिहीबारको बैठकमा पनि कांग्रेसले गृहमन्त्रीको सम्बन्धमा प्रश्न उठाउँदै प्रधानमन्त्रीको जवाफ मागेको थियो।
Facebook Comment