समृद्धि र स्थायित्वका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री महासेठ

डिसी नेपाल
२ चैत २०८० २१:५८

लुम्बिनी। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले मुलुकको समृद्धि र राजनीतिक स्थायित्वका लागि मात्र अहिलेको सरकार बनेको बताएका छन्। उनले बढ्दो आर्थिक संकट कम गर्न र देशलाई राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धन बनाउनुपरेको बताए।

बुटवलमा आजदेखि सुरु भएको रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले नयाँ सरकारलाई काम गर्न चुनौती भएपनि सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि स्पष्ट योजनाका साथ गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने स्पष्ट पारे।

उनले विगतमा बजेट निर्माणदेखि कार्यान्वयनमा भएका कमजोरीका कारण अहिले देशका अधिकांश ठूला आयोजना अलपत्र परेको बताए। ‘सुरु भएका ठूला योजना सबै अलपत्र छन्, न्यून बजेट राखिएपछि यस्तो भएको हो’, उनले भने, ‘अलपत्र र अधुरा आयोजनालाई छिटो निर्माण गराउने र सरकारको सेवालाई प्राथमिकता दिने सरकारको मुख्य जिम्मेवारी रहेको छ।’

उपप्रधानमन्त्री महासेठले भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलसहितका ठूला आयोजना निर्माण भएर पूर्ण सञ्चालनका लागि सरकारले यथाशक्य छिटो सञ्चालन र पूर्ण निर्माणको योजनाका साथ अघि बढ्ने बताए।

देशले निकै धेरै आर्थिक संकटको सामना गर्नुपरेको अवस्थामा त्यसलाई ट्रयाकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उनले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक सङ्घसंस्थाले साथ दिनुपर्ने आग्रह गरे।

सम्मेलनमा नेपाल र भुटानका दुई हजार रोटरियनहरु बुटवलमा जम्मा भएको सम्मेलन आयोजक समितिका संयोजक एजाज आलमले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *