‘संघीयताले मधेसलाई के दियो ?’

डिसी नेपाल
५ चैत २०८० २१:३९

सर्लाही। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन्। राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकाको सवालमा प्रमुख भनिने राजनीतिक दलहरु पूर्णतः असफल भएकाले राप्रपा विकल्प सहित जनताको मॅाझमा आएको बताएका छन्।

राप्रपाले सरकार समक्ष पेश गरेको ४० बॅुदे मागका बारे जनतालाई जागरुक तुल्याउन र जनमत सिर्जना गर्न आज सर्लाहीको बरहथवामा पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मधेसको नेतृत्व गर्ने पार्टीहरूले गएको १५ वर्षमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाएको तर मधेसका जनताको लागि काम गर्न नसकेको आरोप लगाएका छन्।

अध्यक्ष लिङ्देनले मधेसले प्रधानमन्त्री बाहेक राष्ट्रपति, उपराष्ट्रपति, महत्वपूर्ण मन्त्रालय प्राप्त परिसक्दा पनि मधेसका जनताको पक्षमा, मधेसी जनताको जीवनस्तर सुधार गर्ने दिशामा कुनै काम हुन नसकेको मात्रै होइन झनझन् कमजोर बन्दै गएको बताएका छन्।

‘अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक नेपाली जनताको भरोसा अरू कुनै राजनीतिक शक्ति छैन। अन्य सबै राजनीतिक शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन्। गलत साबित भइसकेका छन्।’ मेरा शुभेच्छुक र पार्टीका साथीहरुले मलाइ सुझाव दिएका छन्, ‘राजेन्द्र, मधेसमा गएर संघीयताको विरोध नगर्नु है’ आज म तपाइहरुलाई सोध्न चाहन्छु– संघीयताले तपाइलाई के दियो? संघीयता लागू भएपछि तपाईको जीवनस्तर परिवर्तन भएको छ? संघीयताले मधेस सुदृढ भएको छ? संघमा ५० जना र प्रदेशमा त्यति नै हाराहारीमा मन्त्री पाउने बाहेक संघीयताले मधेसलाई केही दिएन, हामी यो कुरा बुझाउन पनि मधेस झरेका हौं,’ अध्यक्ष लिङ्देनले भने।

राप्रपाले आजदेखि चार दिन आठ जिल्लाको कार्यक्रम लिएर तराई मधेस क्षेत्रमा आमसभा, कार्यकर्ता भेला र काठमाण्डौं केन्द्रीत जनप्रदर्शन गर्नुपर्ने आवश्यकता र औचित्य प्रष्ट्याउन जनजागरणका विभिन्न कार्यक्रम तय गरेको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको साथमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशमसेर राणा, महामन्त्री प्रल्हाद साह, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवाल, बागमती प्रदेशका सांसद कुमारी स्यांतान, नेतृ खुस्बु ओली, पार्टी सम्बद्ध युवा, विद्यार्थी, महिला संगठनका अध्यक्षहरु र तराई मधेस क्षेत्रका नेताहरु रहेका छन्।

राप्रपाले आज बिहान जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गरेको हो। राप्रपाले आज नै धनुषामा अगुवा कार्यकर्ता भेला समेत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *