देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता गर्दिनँ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन कायम गर्न कुनै पनि सम्झौता नगर्ने बताएका छन्।
आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले देशमा सुशासन कायम गर्न सम्झौता नगर्ने बताएका हुन्।
विभिन्न प्रकरणमा देखिएका दोषीमाथि कारबाही प्रक्रिया भइरहेको सबैलाई अवगत भइरहेको भन्दै उनले दोषी नछुटून् र निर्दाेष नपरून् भन्ने धेयसाथ सरकारले काम गरिरहेको बताए।
“सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,” प्रधानमन्त्री दाहालले भने, “यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ। यदि अनुसन्धानबाट कैफियत देखिएमा कसैलाई पनि कारबाही गर्न कुनै पनि कुराले रोक्ने छैन।”
सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाएको विषयमा प्रधानमन्त्री दाहालले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन।”
प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ’ भएको सदनलाई जानकारी गराए।
Facebook Comment