अझै दुई दिन पानी पर्ने

डिसी नेपाल
७ चैत २०८० २२:३३

काठमाडौं। पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेषगरी कोशी, मधेस र बागमती प्रदेशमा वर्षा भएको छ। काठमाडौं उपत्यकामा दिनभर निरन्तर वर्षा भएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले आज कोशी, मधेस र बागमती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा भएको जानकारी दिए। उनले आगामी तीन दिनसम्म वर्षाको सम्भावना रहेको बताए। ‘आज काठमाडौँमा  दिनभर नै वर्षा भएको छ, आगामी तीन दिनसम्म उल्लेख्य रुपमा मौसममा सुधार हुने देखिँदैन तर आजको जस्तो झरी हुँदैन। तीन दिनपछि पनि नयाँ मौसमी प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ।

मौसमविद् अधिकारीले भोलि बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरे। उनका अनुसार आज राति पनि देशका विभिन्न स्थानमा वर्षा हुनेछ भने तुलनात्मक रुपमा भोलि बिहीबार कम वर्षा हुनेछ।

महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौंमा नौ दशमलव आठ मिलिमिटर वर्षा भएको छ। सबैभन्दा धेरै जनकपुरमा १५ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यस्तै सिमरा र ओखलढुंगामा समान १० मिलिमिटर तथा ताप्लेजुङमा आठ दशमलव पाँच, धनकुटा र जनकपुरमा पनि समान पाँच मिलिमिटर वर्षा भएको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण अहिले  कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित  छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ भने ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

आज राति कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा, गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित  छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *