एसपीमा बढुवा रोकेर डिएसपीको सरुवा

डिसी नेपाल
८ चैत २०८० ८:४०

काठमाडौं । प्रहरी प्रधानकार्यालयले ६ महिनादेखि आठ डिएसपीको एसपीमा बढुवा रोकेर सरुवा गरेको छ ।

डिएसपीबाट एसपीका लागि आठ पद रिक्त रहेको छ । तर उनीहरुको बढुवा ६ महिनादेखि हुन सकेको छैन । यस्तो अवस्थामा प्रहरी प्रधानकार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको सूचनामा उल्लेख छ । प्रहरी प्रधानकार्यालयस्थित मानवस्रोत विभागले बढुवाका लागि पटक पटक गृहमन्त्रालयसँग सहमति लिएर पनि रोकिएको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले नयाँ गृहमन्त्रीसँग ६ महिनादेखि रोकिएको डिएसपीको बढुवा र सरुवा गर्ने विषयमा छलफल गरेका थिए । केही दिनयता उनीहरूबीच सरुवा बढुवा खुलाउने विषयमा लगातार छलफल भएको थियो । प्रहरी महानिरीक्षकको ब्रिफिङपछि केही दिनभित्रै सरुवा–बढुवा गर्न अनुमति पाएका भएपनि के मा रोकिएको भन्ने बारेमा केही सार्वजनिक भएको छैन ।

प्रहरीमा महिनौंदेखि एसपीका आठ पद रिक्त छन् । जसमा १४ जना प्रतिस्पर्धी हुँदा नेताका पिएसओलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको थिएन । तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री प्रचण्डका पिएसओलाई बढुवा गर्न खोज्दा रोकिएको थियो । जसले गर्दा अन्य आकांक्षीहरुमाथि अन्याय भएको छ ।

साउनमा एसपीहरू दानबहादुर मल्ल र वामदेव गौतम अवकाश पाएपछि दुई पद रिक्त भएको थियो । त्यस्तै गत कात्तिक २४ गते पाँच जान एसपीहरू बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरबहादुर ओली र चन्द्रदेव राईलाई एसएसपीमा बढुवा गरेपछि पनि पद रिक्त भएको छ । त्यस्तै एसपी रमेश बस्नेतको गत माघ ७ गते एसएसपीमा बढुवा भएसँगै जम्मा रिक्त पद संख्या ८ पुगेको हो ।

नेपाल प्रहरी ऐन तथा प्रहरी नियमावलीअनुसार एसपीको पद रिक्त भएको तीन महिनाभित्रै पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । ८ एसपी बन्न १२ डीएसपी प्रतिस्पर्धामा छन् । एसपीको प्रतिस्पर्धामा रहेकाहरू ०६१ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरू छन् । उनीहरू ०७२ साउन १ गते डीएसपी बनेका थिए । यो ब्याचकाहरूको तीन चरणमा बढुवा भएर एसपी बन्नेछन ।

१२ डीएसपीमध्येबाट आठ जना एसपीमा बढुवा हुनेछन् भने थप चारजना छुट्ने छन् । आठ जनामध्ये हाल बढुवाको पहिलो नम्बरमा डीएसपी प्रदीपबहादुर क्षेत्री छन् । अंगुर जीसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरञ्जनदत्त भट्ट छन । यस्तै, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्त शर्मा र विनोद घिमिरे एसपीको मुख्य प्रतिस्पर्धी हुन् ।

आठ वटा वृत्तका इन्चार्ज फेरिए

काठमाडौँ, भक्तपुर र ललितपुर स्थित ८ वटा वृत्तका इन्चार्ज पनि परिवर्तन भएका छन् । प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराई प्रहरी वृत्त सातदोबाटो, डिल बहादुर मल्ल प्रहरी वृत्त चापागाउँ र प्रेम सागर केसीलाई प्रहरी वृत्त थिमीमा सरुवा गरिएको छ । प्रहरी वृत्त कीर्तिपुरमा भुवनेश्वर शाह, नगर प्रहरी कार्यालयमा मदनजित महरा र प्रहरी वृत्त बालाजुमा राम कुमार दानीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त जनसेवामा रुकेश तन्डुकारलाई पठाइएको छ । प्रहरी वृत्त कालीमाटीमा रूपक खड्काको सरुवा भएको छ । प्रहरी वृत्त थानकोटमा सूर्य प्रकाश सुवेदीलाई पठाइएको छ । यसअघि काजमा प्रहरी वृत्त लैनचौरमा पठाइएका सत्यनारायण थापा र वृत्त सिंहदरबारमा गएका चक्रबहादुर शाहको सोही ठाउँमा दरबन्दी कायम गरिएको छ ।

पूर्वी रुकुमको इन्चार्जमा माधवराज खरेल, दोलखामा युवराज खड्का, तेह्रथुममा रञ्जन कुमार दाहाल, ताप्लेजुङमा रवि रावल र हुम्लामा रवीन्द्र खनाललाई सरुवा गरिएको छ । डोल्पामा हरिकृष्ण केसीलाई पठाइएको छ ।

कृष्ण खड्कालाई जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र केशव भट्टराईलाई जिल्ला प्रहरी कार्यालय रसुवामा सरुवा गरिएको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय रोल्पामा भरत लामा, म्याग्दीमा भरत श्रेष्ठ र रामेछापमा प्रदीप कुमार सिंहलाई सरुवा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *