इन्डोनेसियाका रक्षामन्त्री प्राबोवो सुब्यान्टो देशको भावी राष्ट्रपति हुने
काठमाडौं । इन्डोनेसियाका रक्षामन्त्री तथा पूर्व सैन्य अधिकारी प्राबोवो सुब्यान्टो देशको भावी राष्ट्रपति हुने भएका छन् ।
विश्वको तेस्रो ठूलो लोकतन्त्रको राष्ट्रपति पदका लागि गत फेब्रुअरी १४ मा भएको मतदानमा सुब्यान्टोले ५८ दशमलव ५९ प्रतिशत मत प्राप्त गरेका थिए ।
उनका दुवै प्रतिद्वन्द्वी अनीस बास्वेदनले २५ प्रतिशत र गञ्जर प्रणोभोले १६ प्रतिशत मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगले नतिजा सार्वजनिक गरेपछि सुब्यान्टोले भने, “हामीलाई भोट नदिनेहरूले मौका दिएका छन्। हामी यस्तो राष्ट्रपति र उपराष्ट्रपति हौं भनेर प्रमाणित गर्नेछौं जसले इन्डोनेसियाका जनताको हितका लागि सक्दो प्रयास गर्नेछन्।”
तर, उनका दुवै प्रतिद्वन्द्वी अनीस बास्वेदन र गञ्जर प्रणोभोले यो नतिजालाई चुनौती दिने घोषणा गरेका छन् ।
७२ वर्षीय प्राबोवो सुब्यान्टोलाई सेनामा कार्यरत हुँदा धेरै मानवअधिकार उल्लङ्घनको आरोप लागेको थियो ।
तर राष्ट्रपति चुनावको प्रचारका क्रममा उनले सामाजिक सञ्जालमा आफ्नो छवि सुधार्न निकै मेहनत गरेका थिए । उनको अभियानमा युवाहरुलाई आकर्षित गर्न धेरै प्रयास गरिएको थियो।
प्रबोवो सुब्यान्टोले यसै वर्षको अक्टोबरमा वर्तमान राष्ट्रपति जोको विडोडोबाट यो पदको जिम्मेवारी सम्हाल्नेछन् ।
इन्डोनेसियाका २० करोड ५० लाख मतदातामध्ये ८० प्रतिशतले १४ फेब्रुअरीमा मतदान गरेका थिए।
Facebook Comment