राजनीतिमा सुहाङको ‘डेब्यु’, बुवाको विरासत जोगाउने चुनौती
काठमाडौं। नेकपा (एमाले)ले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि एमालेले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार चयन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। सुहाङ एमाले नेता स्वर्गीय सुवास नेम्वाङका छोरा हुन्। नेम्वाङको भदौ २५ गते निधन भएको थियो। उनको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
एमालेका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष तथा पूर्वसभामुख नेम्वाङका कान्छा छोरा सुहाङ बुबाकै निर्वाचन क्षेत्रबाट राजनीतिमा ‘डेब्यु’ गरेका छन्। सुहाङ अधिवक्ता पनि हुन्।
यसअघि फुटबल क्लब र आफ्नै वकालती फर्म चलाइसकेका भएका सुहाङले बुवा सुवासको पदचाप पछ्याउँदै राजनीतिमा पाइला राखेका हुन्। ३५ वर्ष पनि नपुग्दै उनी बुबाले निरन्तर जितेको निर्वाचन क्षेत्रबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्।
सुहाङमा बुवा सुवासजस्तै धेरै स्वभाव र रुचि मिल्छन्। शक्तिशाली बुबाको निर्वाचन क्षेत्रमा एमालेले ‘हेभिवेट’ नेताका रूपमा सुहाङलाई उठाएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। ‘हाम्रो उम्मेदवार योग्य पनि हुनुहुन्छ। धेरै हिसाबले डिजर्भ गर्नुहुन्छ,’ ज्ञवालीले भने, ‘सहयोग गर्नुस् भन्ने हाम्रो अपिल हुन्छ।’
यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम-२ का लागि सुहाङसँगै नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राईको नाम पनि सिफारिस गरेको थियो। तर, सुहाङले एमालेका सचिवालयका सबैको मन जित्न सफल भए। सिफारिस भएका अरूलाई पाखा लगाउँदै सुहाङ उम्मेदवार बन्न सफल भएका हुन्।
आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदै छ। प्रतिनिधिसभा र प्रदेश सभाका एक-एक क्षेत्रमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो। प्रतिनिधि सभाको इलाम-२ र प्रदेश सभाको बझाङ प्रदेश-१ मा उपनिर्वाचन हुँदै छ।
उपनिर्वाचनलाई राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिष्ठाको विषय बनाएका छन्। फेरिएको सत्ता समीकरण, नयाँ राजनीतिक दल, पहिचानवादी मुद्दा र स्वतन्त्र उम्मेदवारको चर्चाले इलामको चुनाव रोचक हुने देखिएको छ।
इलाम-२ विगत झण्डै साढे दुई दशकदेखि एमालेले जितिरहेको क्षेत्र हो। इलाम २ मा २०५६ सालदेखि एमाले नेता सुवास नेम्वाङले जित्दै आएका थिए। २४ वर्षदेखिको प्रभाव र पकड कायम राख्नुपर्ने जिम्मेवारी सुहाङको काँधमा आएको छ।
२०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर जितेका थिए। बुवाको निधनपछि सोही क्षेत्रबाट छोरा सुहाङ उम्मेदवार बनेका छन्। सुहाङको मुख्य चुनौती भनेको बुवा (सुवास)को विरासत जोगाउनु हो।
एमालेले इलाम-२ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुरोध गर्ने भएको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्न आह्वान गरिने बताए।
‘उहाँ डिजर्भिङ उम्मेदवार भएकाले जिताउन रास्वपासँग आग्रह गर्छौं। नत्र मित्रवत प्रतिस्पर्धामा जान्छौं,’ उनले भने। रास्वपाले भने आफ्नै उम्मेदवार उठाउने बताउँदै आएको छ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले आफूलाई उम्मेदवार बनाउने निर्णयले आफू उत्साहित भएको सुहाङ नेम्वाङले बताएका छन्। पार्टीको निर्णयपछि सुहाङले भने, ‘मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाउने निर्णय गर्यो यसमा उत्साहित छु। उत्साहितसँगै जिम्मेवारी पनि थपिएको महसुस गरेको छु।’
उनले आफू इलाम २ बाट उम्मेदवार बन्दै गर्दा नेकपा एमालेको तर्फबाट मात्रै नभएर सिंगो इलामका जनताकै भावना समेट्ने गरेर अगाडि बढ्ने पनि जिकिर गरे। ‘म सिंगो इलामका जनताको भावना समेट्ने गरी अघि बढ्ने प्रयास गर्छु’, सुहाङले भने, ‘सबैजना मैदानमा उत्रँदा जित्छु भनेरै उत्रने हो । म पनि जनताको विकास र समृद्धिका एजेण्डा बोकेर जनतामाझ जान्छु।’
हिमालय टाइम्स दैनिकबाट
Facebook Comment