विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिकालाई सुपुर्दगी गर्ने मुद्दामा अदालतबाट राहत

डिसी नेपाल
१४ चैत २०८० १३:३३

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जले मंगलबार अमेरिकामा सुपुर्दगी विरुद्धको लडाइँ जारी राख्ने मौका पाएका छन्। लन्डनस्थित उच्च अदालतले यस विषयमा अमेरिकाले थप आश्वासन दिनु पर्ने बताएको छ। अमेरिकी अभियोजकहरूले विकिलिक्सको तर्फबाट गोप्य अमेरिकी सैन्य रेकर्डहरू प्रकाशित गरेको हाइप्रोफाइल मुद्दामा ५२ वर्षीय असान्जलाई १८ अभियोगमा मुद्दा चलाउन खोजिरहेका छन्।

असान्जका वकिलहरूले फेब्रुअरीमा अमेरिकामा सुपुर्दगीको स्वीकृतिलाई अदालतमा चुनौती दिन बेलायतसँग अनुमति मागेका थिए। असान्जमाथिको अभियोग राजनीतिक प्रेरित भएको उनीहरूको तर्क थियो । आफ्नो निर्णयमा दुई वरिष्ठ न्यायाधीशहरूले सुपुर्दगी विरुद्ध धेरै आधारमा अपील गर्ने सम्भावना रहेको बताए।

भिक्टोरिया शार्प र जेरेमी जोनसनले अमेरिकालाई तीन हप्ताको समय दिएका छन् । यस अवधिमा अमेरिकाले असान्ज अमेरिकी नागरिक नभएकोले उनीमाथि भेदभाव हुन सक्ने र दोषी पाइएमा मृत्युदण्ड दिइन सक्ने चिन्ताको बारेमा बेलायतलाई आश्वस्त पार्नुपर्नेछ । यदि यी चिन्ताहरूमा अमेरिकाले आश्वासन दिएन भने, असान्जलाई अपील गर्न अनुमति दिइनेछ। मुद्दाको अर्को सुनुवाई मे २० मा हुनेछ।

विकिलिक्सका खुलासाहरूले आफ्ना एजेन्टहरूको जीवनलाई खतरामा पारेको र यस अपराधको लागि कुनै बहाना नभएको अमेरिकाको तर्क छ । असान्जका धेरै समर्थकहरूले उनलाई ‘स्थापना विरोधी नायक’ मान्दछन्, जो पत्रकार भए पनि अमेरिकाको गल्ती र कथित युद्ध अपराधको पर्दाफास गरेकोमा सताइएका छन्।

विकिलिक्स एक गैर-लाभकारी संस्था हो जुन २००६ मा पेशेवर पत्रकार र ह्याकर जुलियन असान्ज द्वारा सुरु गरिएको थियो। यो गुप्तचर जानकारी, समाचार चुहावट र अज्ञात स्रोतबाट प्राप्त गोप्य जानकारी प्रकाशित गर्ने संस्थाको रूपमा चिनिन्छ। २००६ मा यो वेबसाइट सुरु भएको एक वर्ष भित्र, १२ लाख भन्दा बढी कागजातहरूको डाटाबेस तयार भयो।

यस वेबसाइटले यस्ता कागजातहरू सार्वजनिक गरेको थियो जसले विश्वभर हलचल मच्चाएको थियो। चाहे त्यो अफगानिस्तान र इराक युद्धको गोप्य जानकारी होस् वा हिलारी क्लिन्टनका गोप्य इमेलहरू २०१६ को राष्ट्रपतीय चुनावको क्रममा लीक भएको मामला होस् । स्वयंसेवकको सहयोगमा सञ्चालित यस वेबसाइटमा सन् २००९ मा नै १२ सय स्वयंसेवक दर्ता भएका थिए ।

२०१० मा, विकिलिक्सले अमेरिकी सेनाका केही अति गोप्य कागजातहरू लीक गरेपछि यस वेबसाइटका संस्थापक जुलियन असान्ज विश्वभर हेडलाइन्सको हिस्सा बने। नोभेम्बर २०१० मा, स्वीडेन सरकारले असान्ज विरुद्ध एक गिरफ्तारी वारेन्ट जारी गर्यो। उनीमाथि दुई बालिकालाई बलात्कार गरेको आरोप लागेको थियो । यी आरोपहरू अस्वीकार गर्दै असान्जले भनेका थिए ‘वास्तवमा यो वारेन्ट अमेरिकाको लागि बहाना हो । अमेरिकी सैन्य गुप्तचर कागजातहरू चुहावटमा आफ्नो भूमिकाबाट अमेरिका लज्जित छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *