नरेन्द्र मोदी जो विवादास्पद राजनीति गर्दै भारतको सत्तामा उदाए

जुबैर अहमद
१५ चैत २०८० ७:१७

बीबीसी। यो वर्ष विश्वका दर्जनौँ देशमा निर्वाचन हुन लागेको छ। इन्डोनेशिया बाङ्ग्लादेश, ताइवान र पाकिस्तानमा चुनाव भइसकेको छ भने यूके र अमेरिका वर्षको अन्त्यतिर निर्वाचन गर्ने तयारीमा छन्।

भारतमा आगामी महिना सुरु हुने गरी निर्वाचनको मिति घोषणा भइसकेको छ। भारतमा मतदानका लागि एक अर्ब मानिस योग्य छन्। त्यहाँको निर्वाचनलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास हो।

मोदी १० वर्ष सत्तामा बसिसके। उनी भारतको राजनीतिमा हावी छन्। सरकारी वेबसाइट, रेडिओ, टेलिभिजन, बिलबोर्ड र रेल्वे स्टेशनमा राखिएका स्क्रीनमा समेत मोदी नै छन्। यहाँ अरू नेताका लागि खासै ठाउँ छैन।

मोदी अहिले ७३ वर्षका भए। उनी सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता हुन्। भाजपाको चुनावी प्रचारका लागि उनी मुख्य निधि हुन्।

उनी यूट्यूब, फेसबुक, इन्स्टाग्राम र एक्समा विश्वमै सबैभन्दा धेरै मानिसले फलो गर्ने नेता पनि हुन्। सामाजिक सञ्जालमा उनको बलियो उपस्थिति छ। एक अर्ब ४० करोड जनसङ्ख्या भएको देशमा उनको यो विशेषता प्रतिस्पर्धाहरूका लागि ईर्ष्याको विषय बनेको देखिन्छ।

भारतमा संसदीय शासन व्यवस्था छ। तर मोदीको चुनावी अभियानको भिन्न शैलीले अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानको झल्को दिन्छ।

उनको हिन्दू राष्ट्रवादी चुनावी प्रचारले भारतमा ध्रुवीकरण निम्त्याएको भए पनि भारतीय जनता पार्टी सन् २०१४ र २०१९ का सजिलै विजयी बन्यो। आगामी निर्वाचन पनि मोदीकै दलले जित्ने आकलन गरिएको छ।

उनका समर्थकहरू मोदीलाई प्रभावकारी कुराकानी गर्न सक्ने नेता र कुशल वक्ता मान्छन्।

उनी सर्वसाधारण मानिसहरूसँग जोडिने गरी भाषण गर्छन्। उनको यो कलाको विपक्षीहरूले पनि प्रशंसा गरेका छन्। भारतको प्रतिपक्षी कांग्रेस पार्टीका नेता शशी थरुर एक पटक मोदीको शैलीमा प्रचार गर्न जाँदा आफ्नो कार्यकर्ताको कोपभाजनमा परेका थिए।

ब्र्यान्ड प्रवर्धनसम्बन्धी विज्ञ सन्तोष देसाईका अनुसार मोदीले प्रचारका कस्तो मञ्च प्रयोग गर्ने भन्ने कुरा राम्ररी बुझेका छन्। उनी यसमा जी२० देशहरूको सम्मेलनको उदाहरण दिन्छन्। भारतले गत वर्ष उक्त सम्मेलनको आयोजना गरेको थियो।

“सदस्यराष्ट्रहरूले पालैपालो सम्मेलनको आयोजना गर्छन्। तर आयोजना गर्नु मात्रै उपलब्धि होइन। भारतभन्दा अगाडि पनि इन्डोनेशियाले आयोजना गरेको थियो र अर्को पटक ब्रजिलको पालो छ,” उनी भन्छन्।

उनका अनुसार मोदी सरकारले जी२० सम्मेलनलाई प्रधानमन्त्री मोदीको सफलताको रूपमा प्रचार गर्‍यो। तर देशको प्रधानमन्त्री जोसुकै भए पनि यो सम्मेलन आफ्नो पालोमा भारतले आयोजना गर्नैपर्थ्यो।

“मोदीले यसलाई विभिन्न कोणबाट एउटा ठूलो कार्यक्रमको स्वरूप दिए। उनी कार्यक्रम के हो र त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भन्ने राम्रोसँग बुझ्छन्।”

जानकारहरू मोदीको सञ्चारशैलीलाई उनको वक्तृत्वकलाभन्दा बलियो रहेको बताउँछन्। मानिसहरूको भावना छुने गरी सञ्चार गर्ने क्षमता उनीसँग छ। सार्वजनिक स्थानमै आँसु खसाउँदा उनी समर्थकका आँखामा दयावान् देखिन्छन्। त्यसो हुँदा उनको बलियो पुरुषको छवि पनि बिग्रिँदैन।

यसबाहेक पनि उनी ठाउँअनुसारको क्षेत्रीय पहिरन लगाइदिन्छन्। त्यसो गर्दा उनलाई समाजका विभिन्न समुदायसँग जोडिन सजिलो हुन्छ।

मोदीको राजनीतिक जीवनयात्रा लामो समयदेखि नियाल्दै आएका गुजरातका पत्रकार दर्शन देसाई मोदीले धेरै टाढासम्म सोच्ने गरेको बताउँछन्। “मोदी धेरै पछिसम्म सोच्छन्,” उनी भन्छन्।

“मोदीले देशको प्रधानमन्त्री बन्ने लक्ष्य धेरै अघि बनाएको मलाई थाहा छ।”

नरेन्द्र मोदी किन विवादास्पद छन्?

विवादमा फस्दा अरूको बाटो छेकिन सक्थ्यो। तर योजनाबद्ध राजनीति र सञ्चार गर्ने सीपका कारण मोदी तिनबाट निस्किन सके।

मोदीको नाम जोडिएको सबैभन्दा ठूलो विवाद सन् २००२ को गुजरात हिंसा हो। त्यस बेला उनी त्यहाँका मुख्यमन्त्री थिए।

हिन्दू तीर्थयात्रीहरू बोकेको रेलमा गोधरामा आगजनी भएपछि गुजरातमा मुस्लिमविरोधी हिंसा फैलियो। हिंसामा धेरै मानिसको ज्यान गयो र त्यसरी मारिने अधिकांश मानिस मुस्लिम थिए।

मोदी नेतृत्वको राज्य सरकारमाथि हिंसा नियन्त्रण गर्न नसकेको आरोप लाग्यो। तर मोदीले सरकारले गल्ती नगरेको भन्दै हिंसा व्यवस्थापनमा राज्य सरकारको भूमिकाको प्रतिरक्षा गरे। उक्त घटनाबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमै छानबिन भयो र मोदीको छविमा पनि दाग लाग्यो। पछि भारतको सर्वोच्च अदालतले उक्त घटनामा मोदीलाई सफाइ दियो।

आलोचकहरू मोदीका नीतिहरू आफूलाई लागेको कुरा अरूमाथि थोपर्ने किसिमका भएको र तिनले मानिसहरूलाई विभाजन गर्ने अनि हिन्दू अजेन्डालाई सघाउने दाबी गर्छन्। उनीमाथि बहुसङ्ख्यक हिन्दूहरूको समर्थन जुटाउने र हिन्दू राष्ट्रवादी समूहहरूलाई सहयोग गर्ने नीति लिएको आरोप पनि छ।

कैयौँ समर्थक मोदीलाई “हिन्दू हृदयसम्राट” पनि मान्छन्। यो मोदीको हिन्दू मूल्यमान्यताप्रतिको समर्पण र प्रेमप्रति प्रशंसा देखाउनका लागि दिइएको उपमा हो।

लेखक परकला प्रभाकर मोदीले भारतीय जनता पार्टीलाई धर्मनिरपेक्षताबाट टाढा लगेको ठान्छन्। उनी मोदी सरकारमा अर्थमन्त्री रहेकी निर्मला सीतारमणका पति पनि हुन्।

आफ्नो पुस्तक ‘द क्रुक्ड टिम्बर अफ न्यू इन्डियामा प्रभाकरले लेखेका छन्, “भारत विभाजनपछिका वर्षहरूमा भन्दा पनि अहिले अझै बढी हिन्दू बहुसङ्ख्यावादी विचारधारा स्वीकार्य हुँदै गएको बुझ्न निकै कठिन छ।”

“यो कुनै काम गराइबाट नभई अहिलेको व्यवस्थाले हिन्दू पहिचानप्रति बढाएको आकर्षण र गैरहिन्दू पहिचानलाई गरेको फरक व्यवहार हो।”

तर मोदीले आफू सबै १.४ अर्ब भारतीयको नेता भएको दाबी गर्ने गरेका छन्। उनले आफू प्रधानमन्त्री बनेपछिको पहिलो कार्यकालमा सन् २०१६ मा ठूलो दरका भारतीय ब्याङ्क नोटहरू नचल्ने विवादास्पद घोषणा गरे। उनको उद्देश्य भ्रष्टाचार, कालोबजारी र नक्कली नोट नियन्त्रण गर्नु थियो।

तर उनको कदमले देशमा अस्तव्यस्तता उत्पन्न भयो। ब्याङ्कहरूमा मानिसहरू लामालामा लाइनमा बस्न बाध्य भए भने नगदको अभावले अनौपचारिक अर्थतन्त्र र व्यापार व्यवसाय प्रभावित भए।

मोदी आफ्नो लक्ष्य पूरा गर्न विफल भएको तथा विशेष गरी नगदमै कारोबार गर्नुपर्ने र ग्रामीण भेगका मानिसहरूको जीवन निकै कष्टकर बनेको आलोचकहरू औँल्याउँछन्।

गुजरात हिंसापछि मोदीलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। तर त्यसको दुई दशकपछि गत वर्ष जुनमा उनलाई अमेरिकाले राजकीय भ्रमणमा आउन निम्तो दियो।

अमेरिकी संसद्‌को संयुक्त बैठकमा दिएको मन्तव्यमा उनले ताली र प्रशंसा पाए। ओभल अफिसमापनि उनले न्यानो स्वागत पाए।

उनका समर्थकहरूले यसलाई वैश्विक मामिला प्रभावित गर्न सक्ने मोदीको विश्वनेताको रूपमा उदय भएको ठाने। भारतीय सञ्चारमाध्यमहरूले दौडादौड गरेर उनका सबै गतिविधि देखाए। अमेरिकामा गरिएको स्वागतलाई मोदी आफैँले पनि आफ्नो व्यक्तिगत विजय मानेको हुन सक्छ। यसलाई उनले आफूलाई पश्चिमले बेवास्ता नगरेको बरु सम्मान दिएको सन्देश दिन प्रयोग गरे।

भारतमा मोदीको उदयपछि हिन्दू राष्ट्रियता र जातीय प्रजातन्त्रबारे पुस्तक लेखेका प्राध्यापक क्रिस्टोफ ज्याफर्लट यो त्यति सरल विषय नभएजको बताउँछन्।

“गत जुलाईमा नरेन्द्र मोदी फ्रान्स भ्रमणमा आउँदा सर्वसम्मत समर्थन देखियो भन्ने हैन,” उनी भन्छन्।

“त्यो बेला भारतको मणिपुरमा भएको हिंसामा युरोपेली संसद्ले सङ्कल्प प्रस्ताव पनि पारित गरेको थियो। त्यसले मणिपुर र अन्यत्र पनि भारत र भारतीय सरकारको मनोवृत्तिको कडा शब्दमा भर्त्सना गरेको थियो।”

तर भारतमा मोदीले व्यक्तिगत समर्थन पाए जस्तो देखिन्छ। कैयौँ मानिस मोदी उनको पार्टीभन्दा ठूलो ब्र्यान्ड बनेको ठान्छन्।

“यदि परिदृश्यबाट मोदीलाई हटाउने हो भने भाजपा केही पनि होइन,” पत्रकार दर्शन देसाई भन्छन्।

“भाजपाको नीति नै उनको नीति हो। उनलाई पार्टीभन्दा बढी भाजपालाई मोदी चाहिन्छ।”

ब्र्यान्डविज्ञ सन्तोष देसाई मोदीले आफ्नो कद निकै उच्च राखेको र उनी अरूभन्दा माथि देखिने बताउँछन्।

“मन्त्रिपरिषद् बैठकमा बस्दा पनि उनी अलग्गै बस्छन्। उनी आफू नेता हो र बाँकी सबै समर्थक हुन् भन्नेमा आफू प्रष्ट छन्,” उनी भन्छन्।

“उनीमा म नेता हुँ, म तिमीहरूभन्दा फरक छु र अरूभन्दा धेरै बुझेको छु भन्ने आभास पनि छ।”

अमेरिकाको मिशिगन विश्वविद्यालयका प्राध्यापक जोयजीत पालले सामाजिक सञ्जालको प्रयोगबाट मोदीले निर्माण गरेको आफ्नो छवि र आफ्ना समर्थकहरूमाझ बलियो बनाएको आफ्नो ब्र्यान्डबारे गहिरो अध्ययन गरेका छन्। प्राध्यापक पालले सन् २००९ देखि २०१५ सम्मका मोदीका ६,००० ट्वीटको विश्लेषण गरेका छन्।

“मोदीले आफ्नो ब्र्यान्ड बनाउने क्रममा आफूलाई सबै कुरा गर्न सक्ने मान्छेको रूपमा प्रस्तुत गरेका छन्। उनी रेडिओमा मनको कुरा (मासिक कार्यक्रम) चलाउन सक्छन्, योग गर्न सक्छन्, राजनीतिक भाषण गर्न सक्छन्, परीक्षा दिन जान लागेका विद्यार्थीहरूको शिक्षक जस्तो बनिदिन सक्छन्। उनको मस्तिष्क सबै कुरामा पुगेको हुन्छ। यदि आज देश अघि बढिरहेको छ र समृद्ध भइरहेको छ भने त्यो अरू कसैका कारण नभई मोदीकै कारण हो,” उनले भने।

गुजरातको मुख्यमन्त्री हुँदादेखि नै मोदीले आलोचना खेप्ने गरेको विषय उनले सञ्चारमाध्यमसँग गर्ने व्यवहार र पत्रकारहरूका प्रश्नको उत्तर दिनका लागि विरलै गर्ने पत्रकार सम्मेलन पनि हो।

“गुजरातमा उनले धेरै कम पत्रकार सम्मेलन गरे, वर्षमा एक वा दुई पटक मात्रै,” संवाददाता दर्शन देसाई भन्छन्।

“उनले सञ्चारमाध्यमको प्रयोग र दुरुपयोग पनि गरे। अनि उनी आवश्यक पर्दा दुर्व्यवहार पनि गर्थे।”

“अहिले पनि उनले सञ्चारमाध्यमको प्रभावकारी व्यवस्थापन गरिरहेका छन्। मैले यसलाई नकारात्मक अर्थमा भनिरहेको छैन। सञ्चारमाध्यम उनको इरासामा चल्ने भएका छन्। उनी जे चहान्छन्, उनीहरू त्यही गर्छन्। सञ्चारमाध्यम सीमान्तीकृत भएका छन्। हामी त्यही महसुस गर्दै छौँ।”

आलोचकहरूले मोदी सत्तामा आएपछि भारतमा सञ्चारमाध्यमको स्वतन्त्रतामा जोखिममा परेको र पत्रकारहरू आफ्नो कर्तव्य पालना गर्दा ट्रोल र उत्पीडनको शिकार हुनुका साथै पक्राउ समेत परेको बताउने गरेका छन्।

पछिल्ला वर्षहरूमा विश्व प्रेस स्वतन्त्रताको सूचकांकमा भारतको अवस्था निरन्तर खस्कँदो देखिएको छ। रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०२३ मा प्रकाशित गरेको पछिल्लो प्रतिवेदन अनुसार भारतको स्थान खस्किएर १८० देशहरूमध्ये १६१ औँ स्थानमा पुगेको छ। सन् २०१६ मा भारत १३३औँ स्थानमा थियो।

हालै मात्र मोदी सरकारले सामाजिक सञ्जालको निगरानी गरेर तथ्य जाँच गर्ने र भ्रामक सूचनालाई ‘फेक न्यूज’को चिन्ह दिने एकाइ प्रस्ताव गरेको छ। तर यसले प्रतिबन्धहरूको सम्भावना निम्त्याउने भन्दै कैयौँ पत्रकारहरूले यसबारे चिन्ता व्यक्त गरेका छन्।

सञ्चार माध्यमहरूमाथि हुने दुर्व्यवहारका आरोप नयाँ होइनन्। भाजपा बाहेकका पार्टीले नेतृत्व गरेको समयमा पनि प्रेस स्वतन्त्रता खुम्च्याउने प्रयास गरेको भन्दै विगतमा आलोचना हुने गरेका थिए। विशेष गरी इन्दिरा गान्धी प्रधानमन्त्री भएको समयमा धेरै आलोचना भएको थियो।

मोदीका विपक्षीहरू लगभग छिन्नभिन्न छन्। तर गत जुलाईमा कांग्रेससहित २६ वटा प्रतिपक्षी दले उनलाई सामूहिक चुनौती दिने उद्देश्य राख्दै एउटा गठबन्धन बनाएका थिए।

उनीहरूले उक्त अभियानको नाम ‘इन्डिया’ राखेका थिए। त्यो ‘न्याश्नल डिभलपमन्ट इन्क्लुसिभ अलाइअन्स’ को सङ्क्षिप्त रूप हो। तर भाजपालाई चुनौती दिने भनेर गठन भएको उक्त गठबन्धनमा विभाजन सुरु भएको स्पष्ट सङ्केत देखा परिसकेको छ।

राजनीतिक रणनीतिकार प्रशान्त किशोर मोदी अजेय नभएको तर प्रतिपक्षी पार्टीहरूमा देखिएको एकताको अभाव र रणनीतिको कमीले उनी बलियो देखिएको बताउँछन्। मोदी तत्कालका लागि अजेय हुनुका चार कारण रहेको उनको ठम्याइ छ।

“हिन्दूत्वमा आधारित विचारधारा र हिन्दूहरूको ठूलो जनसङ्ख्याले उनलाई हिन्दूत्वका लागि समर्थन गर्नु। नवराष्ट्रवाद वा अतिराष्ट्रवाद जे भने पनि। लाभग्राहीहरूलाई सीधै सहयोग गर्नेव्यवस्था चाहे त्यो शौचालय निर्माणमा होस्,किसानहरूलाई सहयोग दिन होस् वा आवास योजना होस्। अनि उनको चुनावी र आर्थिक सामर्थ्य।”

“यदि मोदी वा भाजपालाई हराउने हो भने उसका दुई वा तीन सबल पक्षमाथि प्रहार आवश्यक छ।”
भारतमा राजनीति र अन्य क्षेत्रमा सफल हुन पारिवारिक सम्बन्ध महत्त्वपूर्ण हुने ठानिन्छ। मोदी आफ्नै बलबुतामा सफल भएको तथ्यलाई मतदाताहरूले निकै रुचाएको पाइन्छ। मोदी सामान्य पृष्ठभूमि र दिल्लीको अभिजात्य राजनीतिक वृत्तबाहिरबाट आएको हुनाले मतदाताहरू उनीसँग सहभाव राख्छन्।

मोदीले बाल्यकालमा आफूले बुवालाई वडनगर रेल्वे स्टेशनमा चिया बेच्न सघाएको प्रसङ्ग बारम्बार सुनाएका छन्। उनका आमाबुवाका छ सन्तान थिए। मोदी तीमध्ये चार जनासँगै हुर्किए। झन्डै अठार वर्षको उमेरमा जशोदाबेनसँग उनको मागी विवाह भयो। तर अहिले उनी गुजरातमा एक्लै बस्छिन्। मोदीले धेरैपछि आफ्नो बिहे भएको कुरा सार्वजनिक रूपमा स्वीकारे। राजनीतिमा प्रवेश गरेपछि वैवाहिक स्थितिबारे जानकारी दिनैपर्ने भएपछि उनले त्यसो गरेका हुन्। उनीहरूका सन्तान छैनन्।

भिन्नाभिन्नै व्यक्तिका लागि नरेन्द्र मोदीले फरकफरक अर्थ राख्न सक्छन्। कसैका लागि उनी भारतका सबैभन्दा बलिया व्यक्ति हुन्। मोदीका धेरै समर्थक उनको नेतृत्वका कारण भारत विश्वमञ्चमा प्रभावशाली रूपमा देखा परेको भन्ठान्छन्।

मोदीका आलोचकहरू उनलाई अधिनायकवादी मान्छन्। फरक मत र प्रेस स्वतन्त्रतामाथि दमन गरेको भन्दै उनीहरू मोदीको नेतृत्वमा प्रजातन्त्र पतनोन्मुख भएको आरोप लगाउँछन्। उनीहरूका अनुसार बहुलवाल र धर्मनिरपेक्ष राजनीतिका मान्यताहरू मोदीको हिन्दूत्व र अतिराष्ट्रवादी मान्यताका कारण अप्ठ्यारोमा परेका छन्।

तटस्थ मानिसहरू मोदीलाई प्रविधिको प्रयोगमा रमाउँदै व्यापार तथा विकासअनुकूल शासन गर्न खोज्ने नेता मान्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *