हनुमानढोका दरबारको सेरोफेरो र संग्रहालयको घुमघाम

कपिल लोहनी
१७ चैत २०८० ७:५८

निकै समय पछि केही फुर्सदको श्वास फेर्न पाएकोले कतै घुम्न जाने कुरा मनमा सुझ्यो। तर काठमाडौँ बाहिरका नागढुंगादेखिकै मोटरबाटोबाट यात्रा गर्न हाल अति नै कठीन भएकोले केही समय काठमाडौं उपत्यका कै महत्वपूर्ण स्थानहरूको भ्रमण गर्ने मनस्थिति बन्यो।

यही सिलसिलामा उपत्यकाभित्रका केही ठाउँहरूको भ्रमण पश्चात् हालै एक दिन हनुमानढोका क्षेत्रको दिनभरीको भ्रमणमा निस्केँ म।

हनुमानढोका क्षेत्रको इतिहास नेपालमा लिच्छवी शासनको इतिहास जति नै पुरानो छ। हनुमानढोका दरवारका कैयन् भाग लिच्छवी कालमा नै बनेका हुन्। अझै भन्ने नै हो भने आजको हनुमानढोका दरबार क्षेत्रभन्दा मुनीका धेरै स्थानमा एक विशाल सभ्यता नै पुरिएर बसेको छ।

काष्ठमण्डपसँगै, गद्दी बैठक र कुमारी घरको बीचमा र तलेजु भवानीको मन्दिर पछाडिको पुरानो मन्दिर परिसरमा पुरिएर छतमात्र देखिने केही मन्दिरहरू भेट्न सकिन्छ। त्यस्तै काठमाडौंको नक्साल भगवतीको मन्दिर अगाडिको सडकमा पनि त्यस्तै पुरिएर रहेको मन्दिरको छत देखिने सानो प्वालमा अझैपनि पुरानिया मानिसहरू पानी चढाउने र पूजा गर्ने गर्दछन्।

सुन्नमा आए अनुसार त नक्सालको बालमन्दिरको ढोका अगाडिको दूरसञ्चार कार्यालयको भवनको मुनि पनि लिच्छवीहरूको विशाल दरवारको भग्नावशेष पुरिएर रहेको छ रे। यो कुरा बारे पुरातत्वविद्हरूको अडान रहँदा रहँदै पनि सो नयाँ भवन ठड्याइएको थियो रे।

केही वर्ष पहिलेको एक पटकको भेटमा इतिहास तथा संस्कृतिविद् सत्यमोहन जोशीले समेत लाजिम्पाटदेखि नक्साल, हाँडीगाउँ हुँदै गुह्येश्वरीको देउपाटनसम्मै लिच्छवी सभ्यताका विशाल अवशेषहरू जमीनमुनी ढाकिएर बसेका छन् भन्ने कुरा बताएका थिए। लिच्छवी राजा अंशुवर्माले बनाउन लगाएको प्रख्यात राजप्रसाद कैलाशकुट भवन नै यही क्षेत्रमा थियो रे।

२००७ सालको क्रान्तिपश्चात् नयराज पन्तको संशोधन मण्डललाई पुरातात्विक इतिहासको खोज गर्ने जिम्मा सरकारले दिएपछि सो संस्थाले काठमाडौंका विभिन्न स्थानमा उत्खनन गर्न खोज्दा स्थानीय जनता र अन्य स्वार्थ तथ्वहरूले पनि विरोध गरेका थिए रे। केही समय अघि हाँडीगाउँ क्षेत्रमा उत्खनन गर्न खोज्दा पनि त्यहाँका स्थानीय जनताको विरोधले गर्दा उत्खनन कार्य नै बन्द गर्नु परेको थियो रे।

अरु मुलुकमा यस्ता पुरातात्विक महत्वका क्षेत्रहरू फेला परे भने विश्वकै आधुनिक प्रविधिको प्रयोग गरेर उत्खनन गरिने परिपाटी छ तर नेपालमा सकेसम्म त्यस्ता कुरालाई लुकाएरै त्यसमाथि नयाँ संरचना बनाउने होड नै चलेको हुन्छ। त्यसैले पनि हनुमानढोका क्षेत्रमा फेला परेका त्यस्ता जमीनमुनीका मन्दिरहरूको खोजी कार्य आजसम्म पनि हुन सकेको छैन।

उत्खनन गर्ने भनेको सो ठाउँमा हाल भएका जमीन माथिका सबै ऐतिहासिक र आधुनिक संरचना भत्काउने भनेको पनि होइन। बाहिरी संरचना नबिग्रने गरी केही फिटको परिधिमा खनेर त्यस्ता मन्दिर तथा पुरातात्विक महत्वका संरचनाहरूलाई बाहिरबाट अवलोकन गर्न सकिने बनाउने मात्र हो। तर त्यसो हुन सकेको छैन। बरु जति पुरातात्विक महत्वका संरचनाहरू जमीनमा देखिने अवस्थामा छन्, तिनको भने जेनतेन संरक्षण भइरहेको छ।

हनुमानढोका क्षेत्रको नाम राजा प्रताप मल्लले आफ्नो दरबार बाहिर हनुमानको मूर्ति स्थापना गरेपछि जुरेको हो। विगत १०० वर्षमा दुई महाभूकम्पको तोडले तहसनहस हुन पुगेको थियो हनुमानढोका दरवार क्षेत्र।

वि.सं. १९९० सालको महाभूकम्प पछि पुनर्निर्माण गरिएको यो क्षेत्र पछि निकै जीर्ण हुँदै गएकोले २०३० को दशकमा जर्मन सरकारको सहयोगमा जिर्णोद्वार तथा रिट्रोफिट गरिएको थियो। तर २०७२ सालको महाभूकम्पमा फेरि यहाँभित्रका अधिकांश संरचनाहरू नराम्ररी क्षतविक्षत हुन पुगे।

काष्ठमण्डप त भत्किएर पाताल नै भएको थियो भने नौतले दरबारसमेत ढल्ने नै स्थितिमा पुगेको थियो। आज सो पछिल्लो भूकम्प गएको ९ वर्ष बित्दा काष्ठमण्डप तथा कैयन् मठ-मन्दिर तथा गद्दीबैठक र नौतले दरवार पनि आफ्नो पुरानै स्वरुपमा फर्किएका छन् भने कैयन् दरवार तथा मन्दिरहरू पुनर्निर्माणको चरणमा छन्।

लिच्छवी तथा मल्लराजाहरूदेखि धेरै शाहवंशीय राजाहरूसमेत हनुमानढोका राजप्रासादबाट नै राज्य गरे। गगनसिंहको हत्यारा पत्ता लगाउने बहानामा यो दरबारसँगैको कोतमा जंगबहादुरले आधा रातमा आफ्ना भाइहरू र समर्थकको मद्दतले कोतपर्व रचेर दर्जनौँ उच्च भारदारहरूलाई एकै चिहान हुने गरी रक्तपात मच्चाएका थिए।

निकै महत्वाकांक्षी रानी र जोइटिंग्रे निकम्मा राजालाई मूर्ख बनाएर रचेको यो पर्व पश्चात् जंगबहादुरले नेपालको सत्ता कब्जा गरेर १०४ वर्षे राणाशासनको सुत्रपात गरेका हुन्। उनी आफू थापाथलीमा विशाल दरबार बनाएर बसे पनि पृथ्वी वीर विक्रम शाह नेपालका राजा होउञ्जेलसम्म हनुमानढोका नै नेपालको राजदरबार थियो।

पछि प्रधानमन्त्री रणोद्दिप सिंहले आफ्नो नारायणहिटी राजदरबारकै एउटा लङमा राजा पृथ्वी वीर विक्रम शाहको दरबार बनाइदिए पश्चात् हनुमानढोका दरबार औपचारिक समारोह स्थलमा मात्र सीमित हुन थाल्यो।

राणा प्रधानमन्त्रीहरू मध्ये जंगबहादुर थापाथलीमा, रणोद्दिप सिंह नारायणहिटीमा, वीरशमशेर लालदरबार यानी हिटीदरबारमा र सेतोदरबारमा, देवशमशेर लालदरबारमा, चन्द्रशमशेर लालदरवार र सिंहदरबारमा, भिमशमशेर र पद्मशमशेर टंगाल दरबारमा, जुद्धशमशेर जावलाखेल दरबार र सिंहदरबारमा र मोहनशमशेर महाराजगञ्ज र सिंहदरबारमा बस्ने गर्दथे।

पछि राज्यारोहण, राज्याभिषेक, फूलपाती भित्र्याउने, दशैंको पूजा र कालरात्री, बसन्त श्रवण, इन्द्रजात्रा, गाइजात्रा, फागु जस्ता पर्वहरूमा मात्र हनुमानढोका दरबारमा राजा र प्रधानमन्त्री जान थाले।

हनुमानको मूर्ति र सुवर्णद्वार भएको स्थानको दायाँ-बायाँका दरवारहरूको पुनर्निमाण भइरहेकोले त्यताबाट नाशल चोक पस्न हाल मिल्दैन रहेछ। नाशलचोक पस्ने सुवर्णद्वार भिमसेन थापाले बनाउन लगाएका रहेछन्।

पछिल्लो महाभूकम्प अघिसम्म हनुमानढोका दरबार संग्रहालयमा जान सुवर्णद्वारबाट पस्नु पर्थ्याे र सीमित स्थानको मात्र भ्रमण गर्न सकिन्थ्यो भने हाल अवलोकनको दायरालाई निकै बढाइएको रहेछ।

श्वेत भैरवको मन्दिर नाघेर गद्दी बैठक पुग्ने बित्तिकै त्यहाँस्थित टिकट घरबाट ५० रुपैयाँको टिकट खरिद गरेर म हनुमानढोका दरबार संग्रहालयको अवलोकन गर्न भित्र पसेँ। भित्रपट्टीको निकै कलात्मक पुराना भवनहरूले घेरिएको न्हुछेँ चोक पनि जिर्णोद्वारकै क्रममा रहेछ।

त्यो चोकको उत्तरपट्टि रहेको मसान चोकमा त आजसम्म जनसाधारणलाई पस्न दिइएको छैन। त्यहाँ मल्लकालदेखि नै दरवारिया षड्यन्त्रका क्रममा गुप्त तवरले मारिएका धेरैलाई गाडिएको तथा जलाइएको कथन पनि सुन्नमा आइरहन्छ। मसान चोक भन्दा पनि भित्र पूर्वतर्फ दाख चोक रहेको छ।

वीर शमशेरले आफ्ना छोराहरूको निम्ति बनाउन लगाएको पश्चिमा शैलीको भवनको पहिलो तल्लाको विशाल कोठामा पछि गद्दीबैठक बनाइएको थियो। निकै ठूलो हलमा ठाउँ ठाउँमा झाडपानस जडान गरिएको तथा दलिनमा निकै आकर्षक कलाकृति कुँदिएको र महँगा ऐना तथा सजावटका सामान राखिएको थियो यो बैटकमा।

अझैपनि धेरै सामान यथावत नै छन्। इन्द्रजात्रामा राजा-महाराजाहरू कुमारीको दर्शन गर्न जाँदा स्वदेशी भारदार र विदेशी पाहुनासँग यही बैठकमा बसेर चियापान गर्ने र त्यहाँको पटांगिनीबाट बाहिर कुमारीको दर्शन गर्ने परम्परा थियो र यो आजसम्म पनि चलिरहेकै छ।

वीर शमशेरले यही गद्दीबैठक रहेको दरबारको टुप्पामा घण्टाघर बनाउन खोजेका थिए तर बेलायतबाट घडीहरू निकै ठूला आइपुगेकाले देवशमशेरले वीरलाई उनको लालदरबारबाट देखिने गरी हालको घण्टाघर परिसरमा टावर ठड्याउने सुझाव दिएकाले घण्टाघर हालको ठाउँमा बनेको रे।

२०७२ सालको भूकम्पले निकै क्षति पुर्‍याएको गद्दीबैठक भवन पछि अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको थियो। बसन्तपुर चोकतिरबाट उत्तरमा हेर्दा हामी चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको मल्लकालीन नौतले रातो दरवार, शाहकालीन लामो सेतो दरबार र राणाकालीन गद्दीबैठक रहेको सेतो दरबार लहरै उभिएको पाउँछौं। यो कारणले पनि यो तीन प्रकार र समयको वास्तुकलासहितको दरबार क्षेत्रको महत्व निकै उच्च छ।

गद्दीबैठकको छिँडीबाट शुरु भएर शाहकालीन सेतो रंगको लामो दरवार नसकियुञ्जेलसम्म नेपालको एकीकरणदेखि सुगौली सन्धि, राणाशासन, सन् १९२३ को नेपाल र बेलायतबीच भएको ऐतिहासिक मैत्री सन्धि, राणाहरूद्वारा मारिएका वीर शहिदहरू, राणाशासन विरोधी क्रान्ति र २००७ साल पछिको नेपाल, आम निर्वाचन, राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मका शासन, जनआन्दोलन र हालको गणतान्त्रिक नेपालको इतिहास बारेका सचित्र वर्णन निकै रोचक पाराले सङ्ग्रहित गरिएका रहेछन्। यो भवनको ठीक उत्तरपट्टि लामोचोक रहेको छ।

यो चोक हनुमानढोकाको स्वर्णद्वारबाट शुरु भएको शाहकालीन दरवारको अझै दक्षिणपट्टि अवस्थित दाख चोकसँग जोडिएको तथा चतुर्भुज आकारमा निर्माण गरिएको भवनको बिचोबीच पर्दछ।

राणा र शाहकालीन दरबार कटेर मसहित ठूलै संख्यामा विदेशी पर्यटकहरू अब मल्लकालीन नौतले दरबार र सो भित्रको लोहन चोकमा पुग्यौं। यो चोक र यसको वरीपरीका सबै ऐतिहासिक भवनहरूको वास्तुकला मल्लकालीन रहेछ।

यही दरबारबाट मल्लराजा प्रताप मल्लले शासन गरेका थिए। आफ्ना छोराको मृत्युबाट बिचलित भएकी रानीको मन बहलाउन र आफ्नो मात्र नभई वर्षेनी धेरैजनाको घरमा यस्ता बिछोड र विपत्ति आइपर्छन् भन्ने कुरा सम्झाउन गाईजात्रा पर्वको शुरुवात गरेका रहेछन् र रानीपोखरीको पनि निर्माण गर्न लगाएका रहेछन्।

निकै चित्ताकर्षक कलाकृति भएको यो चोकभित्रका घरहरू कम समयमा नियालेर पुग्दै नपुग्ने रहेछ। तर पनि अझैधेरै कुराको अवलोकन गर्न बाँकी भएकोले सो चोकभन्दा पनि पुर्वमा अवस्थित शाहवंशीय राजाहरूको शयनकक्ष भएको मुख्य भवन र त्यसको छिँडीमा रहेको ढुंगाको भर्‍याङ जहाँ जंगबहादुरले तत्कालीन राजा र रानीको आदेशमा मुख्तियार तथा आफ्नै सहोदर मामा माथवरसिंह थापालाई गोली हानेर मारेका थिए, सोही भर्‍याङको पनि अवलोकन गरेँ।

सोभन्दा माथिको तल्लामा जान निषेध रहेछ र त्यो भर्‍याङको माथि विशाल घोप्टे लगाइएको थियो।

लोहनचोक नजिक नै महिला र पुरुषको निम्ति भिन्दा भिन्दै आधुनिक शौचालय बनाइदिएको रहेछ।  लोहनचोकको उत्तरतर्पm मूलचोक रहेको छ। राजाहरू बस्ने क्षेत्र भएकोले त्यतिबेला पनि सो चोक र सँगै रहेको दशैँ घर तथा दशैँ चोकमा जो कोहीलाई प्रवेश अनुमति हुँदैनथ्यो।

यो दशैंघरमा अझैपनि गोरखा दरबारदेखि जमरा ल्याएर राज्यस्तरको दशैं पूजा गरिन्छ। लोहन चोकबाट बाहिर खुला बगैँचामा पुग्ने वित्तिकै राजा महेन्द्रलाई जनकपुरमा बम प्रहार गरिएको ल्याण्डरोभर जीप प्रर्दशनमा राखिएको रहेछ। सो भन्दा पुर्वमा रहेको नागपोखरी पनि निकै मनमोहक ढङ्गले बनाइएको रहेछ।

गहिरो पोखरीको बीचमा विशाल काठे लिंगोमाथि फडा सहितको नागको आकृति। यो नागफडा राजा प्रताप मल्लले भक्तपुरमा आक्रमण गरेपछि त्यहाँको तबपोखरीबाट झिकेर यहाँ ल्याई स्थापना गरेको इतिहास छ।

तलेजु भवानीको मन्दिरको दक्षिण र मुलचोकको उत्तरमा त्रिशुल चोकको मध्य भागमा तलेजु भवानीको मन्दिरतर्फ फर्काएर तीन वटा पत्थरको स्तम्भमा क्रमशः राजा प्रताप मल्ल र उनका छोराहरू नृपेन्द्र मल्ल र चक्रवर्देन्द्र मल्लका सूनले लिपिएका मूतिहरू राखिएका छन्, जुन प्रताप मल्ल आफैंले स्थापना गर्न लगाएका थिए। हाल पुनर्निर्माण कै क्रममा रहेकाले लोहनचोकबाट उत्तरतर्फ पर्ने मूलचोक, त्रिशुलचोक, वा ती भन्दा पुर्व पट्टिको नारायण पोखरी र भण्डारखालको सुरक्षार्थ बस्ने सैनिकहरूको इलाकामा प्रवेश निषेध गरिएको छ।

हनुमानढोका दरबार क्षेत्रको सबैभन्दा पूर्वी क्षेत्रमा दुईवटा ढुकुटी घरहरू रहेका छन् र यो क्षेत्रलाई भण्डारखाल भनेर चिनिन्छ। यही भण्डारखालको बगैंचामा जंगबहादुर प्रधानमन्त्री छँदा कोतपर्व पछिको सबैभन्दा ठूलो रक्तपात भएको थियो, जसलाई भण्डारखाल पर्व भन्ने गरिन्छ।

मल्ल तथा शाहकालीन नेपालको मूल ढुकुटीको रूपमा रहेका यी भवनहरूमा सेनाको निकै कडा सुरक्षा पहरा रहने चलन थियो र हालसम्म पनि छँदैछ। तर हाल एउटा ढुकुटीमा भने विभिन्न समयका बहुमूल्य गरगहना तथा धातुहरूको संग्रहालय बनाइएको छ भने सोभन्दा पनि पुर्वको भवनमा त अभैmपनि ढुकुटी छँर्दैछ।

राज्यमा पर्न सक्ने विपत्तिका बेला तथा राजाहरूका विवाह आदिमा त्यहाँबाट रकम झिक्न पाइने, नत्र त्यहाँ रकम जम्मा गर्ने मात्र बन्दोबस्ती रहेछ पहिले। जंगबहादुरले आफू प्रधानमन्त्री भएपछि सो ढुकुटी खोलेर दैवीप्रकोप तथा लडाईमा खर्च गर्न ११ करोड रूपैयाँ राखेका थिए।

साथै राणाकालसम्म नेपालभरबाट उठेको कर तथा बाली वापतको आम्दानी राणा प्रधानमन्त्री तथा भारदारहरूले बाँडेर खाएपछि बाँकी रहेको केही रकम त्यहाँ राख्ने गरिएको थियो। त्यस्तै राज्यको सम्पतिको रूपमा रहेका हिरा, जवाहरात र कम्पनी पैसा पनि त्यहाँ राखिएका थिए।

राणाशासन पछि सो ढुकुटी खोल्नु परेमा राजदरबारका प्रतिनिधि, अर्थ सचिब र नेपाल राष्ट्र बैंककका गभर्नरसँग रहेका ३ वटा साँचो खोलेर तिनकै रोहबरमा राणाकालीन ढड्डा (रजिष्टर)मा रेकर्ड राखेर मात्र खोल्ने बन्दोबस्ती रहेछ।

वि.सं. १९७१ मा चन्द्रशमशेरले भण्डारखालको ढुकुटीबाट १७ हजार पाउण्ड निकालेर त्यसमा आफ्नो तर्फबाट २० हजार पाउण्ड थपेर प्रथम विश्वयुद्धको निम्ति खर्च स्वरुप बेलायतलाई ३७ हजार पाउण्ड पठाएका थिए।

त्यस्तै चन्द्रशमशेरको निधन हुनुभन्दा केही समय अघि तिब्बतसँग लडाईँ होला जस्तो भएको बेला भण्डारखालबाट अढाई करोड निकालिएको तर लडाई टरेपछि नयाँ प्रधानमन्त्री भीमशमशेरले त्यो पैसा पचाएको कुरा पनि सुन्नमा आएको थियो।

त्यस्तै जुद्धशमशेरले पनि त्यहीँबाट डेढ करोड रुपैयाँ झिकेर १९९० सालको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण कोषमा हालेका थिए रे। जुन रकमको लेखाजोखा पछि केही भएन।

बरु नउठ्ने खालका कतिपय ऋण मिनाहा गरेर उनले नाम कमाए भने धेरै ऋणीलाई भद्रकालीमा ल्याएर थुनेर तथा त्रासमा पारेर ऋण असुल गर्नुका साथै सोबाट उठेको रकम जुद्ध आफैंले राखेका थिए रे।

डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र-परराष्ट्रमा उनी अर्थ सचिव छँदा भण्डारखालको ढुकुटी खोलेर त्यहाँबाट ८९ लाख बराबरको कम्पनी सरकारको पालाको भारु निकालेर मुलुकको त्यसबेलाको आर्थिक संकट टार्ने काम भएको थियो भन्ने कुरा उल्लेख छ।

यी ढुकुटीहरूको दक्षिणतर्फ हनुमानढोकाको इतिहाससँग सम्बन्धित निकै रोचक चित्रकलाको प्रर्दशनी गरिएको छ। सो चित्रकलाको पुस्तक पनि बिक्रीमा छ त्यहाँ तर मूल्य भने झण्डै २५ हजार रुपैयाँ। मेरो वा अधिकांश नेपालीको क्षमताभन्दा बाहिरको मूल्य। हेरेर नै आनन्द लिएँ।

हनुमानढोका परिसर र संग्रहालयको भ्रमणको अन्त्यमा हनुमानढोकामा अवस्थित स्वर्णद्वारबाट भित्र अवस्थित नाशलचोकमा गएँ। तर यसपाली लोहनचोकबाट। त्यहाँका शाहवंशीय दरबारहरूको पुनर्निर्माण कार्य भइरहेकोले हाल राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रको जीवनसँग सम्बन्धित रोचक संग्रहालयहरू केही समयको निम्ति बन्द गरिएका रहेछन्।

त्यस्तै करिव एक दशक अघि नौतले दरबारको माथिल्लो झ्यालबाट फाल हालेर एकजना व्यक्तिले आत्महत्या गरेकोले हुन सक्छ, सो दरबारभित्र जान नपाइँदो रहेछ। नाशलचोकको बीचमा राजाहरूले राज्यारोहण गर्दा राजगद्दीमा बस्ने र उनलाई दाम राखेर अभिवादन गर्ने एक डबली छ।

हाल राजाको राजगद्दी त्यही छेउको एक देवलमा काँचको ढोका राखेर प्रदर्शनमा राखिएको छ। एउटा कुनामा पुस्तक तथा सोभेनियर बेच्ने पसल पनि रहेछ।

वसन्त श्रवण गर्न राजा, राजपरिवार तथा प्रधानमन्त्री बस्ने स्थान जहाँ हिजोआज राष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकायका प्रमुखहरू बस्छन्, सो सत्तलको पनि भ्रमण गरेँ।

नेपालका शाह वंशीय राजाहरूका ठूला फोटा लहरै राखिएको सो सत्तलको भित्तातिर हेर्दै हाम्रो हिमाली क्षेत्रका केही महिला तथा पुरुषलाई उनीहरूकै शिक्षित देखिने चेलीले ‘यी नेपालका शाहवंशीय राजाहरू हुन् र यी मध्ये धेरै राजाहरूले युवराज छँदा सनक र अहंकारका कारण आफ्ना बाबु र काकालाई देश निकाला गरेका, थुनेका र मारेका जस्ता षडयन्त्रपूर्ण कार्य इतिहासमा लेखिएको तथा करिव दुई दशक अघि पनि तत्कालीन राजा वीरेन्द्रलाई आफ्नै छोराले मारेपछि नेपालमा केही समय पश्चात् गणतन्त्र आएको कुरा बताउँदा नयाँ पिँढीको ज्ञानको दायरा कति फराकिलो भइसकेको रहेछ भन्ने लाग्यो मेरो मनमा।

जे होस् ढिलै भए पनि नेपालको राजधानीमा आफ्नो इतिहास झल्काउने एउटा नयाँ दरबार संग्रहालय बनेकोमा मन प्रसन्न भएको छ। यसै गरी अन्य ऐतिहासिक महत्वका संरचनाहरूलाई पनि व्यवस्थित संग्रहालयमा परिणत गर्नु राम्रै कुरा हो। चितवनको दियालो वंगला पनि केही समयमा सार्वजनिक संग्रहालयको रूपमा थपिँदै नै छ।

आफ्नो इतिहास, संस्कृति, कला, रहनसहन तथा बहादुरी झल्किने संग्रहालयहरू मुलुकभर बन्न सके र पु्राना दरबार, मठ, मन्दिर र स्मारकहरूकोे संरक्षण गर्न सके भावी पिँढीले आफ्नो मुलुकलाई राम्ररी चिन्न र मातृभूमि माथि गर्व गर्न पाउने थिए।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *