‘ब्रेक थ्रु’को तयारीमा सुनकोसी मरिण डाइभर्सको सुरुङ

सिन्धुली। सुनकोशी-मरिण डाइभर्सन अन्तर्गतको सुरुङ निर्माणको काम एक महिनाभित्रै ’ब्रेक थ्रु’ हुने भएको छ। १३ दशमलव तीन किलोमिटरमध्ये हालसम्म १२ दशमलव ५ सय १७ किलोमिटर सुरुङ निर्माणको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयका अनुसार हालसम्म ९० प्रतिशतभन्दा बढी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ। तीब्रगतिमा निर्माण भइरहेको सुरुङको उर्जा जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतले शनिबार आयोजना स्थलमै पुगेर सुरुङ निर्माण कार्यको निरिक्षण गरेका छन्।
करिब ८०० मिटर मात्रै खन्न बाँकी रहेको सुरुङकाे अवलोकन गर्दै मन्त्री बस्नेलले तीब्रगतिमा सुरुङकाे निर्माण कार्य भइरहेकाले एक महिनाभित्र ब्रेक थ्रु हुने विश्वास व्यक्त गरे।
सुनकोसी गाँउपालिकाको वडा नम्बर ६ र ७ को सिमानामा पर्ने कानढुंग्रीबाट सुनकोसीको पानी मरिणमा खसाल्न सुरुङ निर्माण गरिएको हो। कमलामाई नगरपालिका-२ को कुसुमटारबाट १३ दशमलब ३ किलोमिटर सुरुङ निर्माण भएपछि कानढुंग्रीमा पुगेर सुनकोसी नदी भेट्न सकिन्छ।
२२ महिनामा सुरुङ निर्माणको काम सम्पन्न गर्ने गरी टनेल बोरिङ मेसिनबाट निर्माण गर्न थालिएको सुरुङको भौगोलिक समस्या नआए लक्ष्य भन्दा ६ महिना अगाडीनै ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ।
सुरुङ निर्माणका लागि ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी (कोभेक)ले दैनिक सरदर ३५ मिटर देखि ४० मिटरसम्म टनेल बोरिङ मेसिनले सुरुङ खनिरेहको छ।
सुनकोसी नदीमा ३० मिटर उचाई र १५८ मिटर लम्बाइको बाँध निर्माण गरी सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्यूसेक पानी कमलामाई नगरपालिका-२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ। त्यहाँबाट मरिण खोला हुँदै बागमतीमा पानी मिसाएर बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने यो आयोजनाको मुख्य लक्ष्य रहेको छ।
यसका साथै कमलामाई नगरपालिका-२ कुसुमटारमा सुरुङ् हुँदै ६६ मिटर हेटेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत उत्पादन गरिने अर्को लक्ष्य रहेको छ। सुरुङको ब्रेक थ्रु सँगै ब्यारेज निर्माण सहित अन्य कार्य समेत तीब्ररुपमा अगाडी बढेको आयोजना निर्देशक मित्र बरालको भनाइ छ।
४९ अर्ब ४२ करोड रुपैयाँ लागतमा सम्पन्न हुने यस आयोजना निर्माण पश्चात मुलुककै अर्थतन्त्र ठुलो टेवा पुग्ने स्थानीयको भनाइ छ।
Facebook Comment