रेशम चौधरीले हत्या गर्ने धम्की दिएको नाउपाका केन्द्रीय सदस्यको दाबी

डिसी नेपाल
१९ चैत २०८० १६:०९

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका केहि केन्द्रीय सदस्यहरुले रेशम चौधरीले आफुहरुलाई हत्या गर्ने धम्की दिएको जनाएका छन्।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबार काठमाडौंमा पार्टीको संस्थापक केन्द्रीय सदस्यहरुको बैठक सुरु हुनुअघि आफुहरुमाथि कुटपिट भएको र चौधरीले हत्या गर्ने धम्की दिएको जनाएका छन्। पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण भएको बताए। पार्टी कार्यालयभित्रै आफुमाथि कुटपीट हुनु र ज्यान मार्ने समेत धम्की आउनुले असुरक्षा बढेको उनले बताए।

विश्वकर्माले २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बाँडेको र निर्वाचन आयोगमा अध्यावधिक समेत हुन नसकेको कुरा उठाउँदा पार्टी कार्यालयको सबै ढोका बन्द गरेर आफुमाथि आक्रमण भएको जिकिर गरे। सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरुको केहि घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनले बताए।

उनले भने– ‘यदि सुदूरपश्चिममा कमल बहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले र आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन।’

उनले आफुहरुमाथि सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुरोध पनि गरे। आफुहरुमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रंजीता चौधरी नरहेको र घटना भएको करिब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको विश्वकर्माले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *