प्रजातन्त्र र जीवन पद्धति
राष्ट्रियता र प्रजातन्त्र राष्ट्रका आधार स्तम्भ हुन्। राष्ट्रियता र प्रजातन्त्र विना प्रजातान्त्रिक राष्ट्रको कल्पनासमेत गर्न सकिँदैन। यी दुवै तत्वले राजनीतिमा सर्वाधिक महत्व राख्दछन्। सबै राजनीतिक दलको प्रमुख एजेण्डा राष्ट्रियता र प्रजातन्त्र नै हुन्छ। यो तथ्य राजनीतिक दलका घोषणापत्रले यसको पुष्टि गरेको देखिन्छ।
राजनीतिक दलका नेताहरु आफू र आफ्नो पार्टी सर्वाधिक राष्ट्रवादी र प्रजातन्त्रवादी भएको प्रमाणित गर्न ठूलो-ठूलो स्वरले गर्जने गर्दछन्। हुनतः यसको परिभाषा आ-आफ्नै तरिकाले बेग्लाबेग्लै गरेको पाइन्छ।
परिभाषा जस्तो भए पनि राष्ट्रियता र प्रजातन्त्र राष्ट्रका अभिन्न अंग हुन्। राष्ट्रविना प्रजातन्त्र सम्भव छैन। राष्ट्र नभए प्रजातन्त्रको के काम? राष्ट्रका अगाडि प्रजातन्त्र गौण हो। राष्ट्र नै सर्वाेपरी हो। राष्ट्र भए सबै तन्त्र हुन्छ।
राष्ट्रलाई बचाइराख्न जस्तोसुकै तन्त्र अपनाए पनि हुन्छ। तर विद्यमान राष्ट्रलाई बचाइराख्न समयानुसार तन्त्र अपनाउनु उपयुक्त देखिन्छ। राष्ट्रियता विभिन्न तन्त्रमा अटाएको हुन्छ। परिभाषा मात्र फरक हो।
निरंकुशतामा राष्ट्रियता हुन्छ। निरंकुशता शासन भएको देशमा नेतृत्वले मात्र एक्लै राष्ट्रियता बोकेको जस्तो भान हुने भएकोले जनताले जर्बजस्ती राष्ट्रियता बोकेको या कसैले बोकाएको महशुस गर्दछन्। फलस्वरुप राष्ट्रियता निरंकुशता जस्तो बन्न जान्छ।
यो परिभाषा इतिहासले प्रमाणित गरिसकेको छ। मुसोलिएन, हिटलर जस्ता शासक अति राष्ट्रवाद थिए। शासक तानाशाह भए कै कारण राष्ट्रियता निरशंकुशतामा परिणत भयो। यसलाई सिद्ध गर्नुपर्दैैन। अरु कसैले प्रमाणित गरी देखाइसक्यो।
हुनतः मुलुकलाई बाह्य हस्तक्षेप र सिङ्गो मुलुक जोगाई राख्न अति राष्ट्रवाद उपयुक्त देखिन्छ र मुलुकको लागि फलदायक हुन सक्छ। तर मुलुक जोगाउन जति मेहनत गर्नु पर्दछ त्योभन्दा अति राष्ट्रवाद जोगाउन दोब्बर गुणा बढी मेहनत गर्नुपर्दछ। त्यसरी जोगाइराखेको मुलकुलाई सानो गल्तीले पनि क्षणभरमा भताभुङ्ग हुन सक्छ।
त्यसैले प्रजातन्त्रमा पनि राष्ट्रियता अटाएको हुन्छ। प्रजातन्त्रमा सबैले जिम्मेवारी महसुश गर्ने भएकोले राष्ट्रियता जोगाउन सबैको कर्तव्य ठहरिन्छ। समान हक र समान दायित्व बोध भएको कै कारण प्रजातन्त्रमा राष्ट्रियता अटाएको हो। यसमा शासकको मात्र जिम्मेवारी ठहर्दैन। केवल शासकले नीति निर्माण गर्दा सबैलाई समेट्न सक्नुपर्दछ।
यदि नेतृत्वले सबै वर्ग तहलाई समेट्न नसक्नु वा नचाहनु या नसक्नु त्यसको कमजोरी हो। नेतृत्वले राष्ट्रियता र प्रजातन्त्रलाई प्रयोग गरेर सत्तामा जाने षड्यन्त्र पनि हुन सक्छ। हाम्रो मुलुकका शासक प्रजातन्त्रवादी हुन या प्रजातन्त्र, गणतन्त्रलाई सत्तामा जाने भर्याङ बनाएका हुन वुझन कठिन छ।
सरसर्ती नेताको मूल्यांकन गर्दा त्यसै गरेको जस्तो देखिन्छ। सैद्धान्तिक रुपमा राष्ट्रियता र प्रजातन्त्र , गणतन्त्रको पक्षमा वकालत गर्न नथाक्ने नेताहरु व्यवहारमा कति प्रतिबद्ध छन् भन्ने कुरा उनीहरुको चरित्रले देखाइसकेको छ।
राष्ट्रियता र प्रजातन्त्रप्रति कति बफादार छन् भन्ने नाप्ने कसी त उसको व्यवहार नै हो। प्रतिपक्षमा रहुदा राष्ट्रियता र प्रजातन्त्रको विषयमा वकालत गर्न सबैलाई सजिलै हुन्छ तर सत्तामा पुगेपछि आफ्नो व्यवहारबाटै आफू राष्ट्रवादी र प्रजातन्त्रवादी भएको प्रमाणित गर्न भने जो कोहीलाई गाह्रै पर्दछ।
आज हाम्रो मुलुकको राजनीतिमा यही भएको छ। बहुदलीय व्यवस्था पुनः स्थापना पछि मुलकुमा धेरै पार्टी जन्मिए सबैले एउटै नारा लगाए राष्ट्रियता र प्रजातन्त्र खतरामा छ। शिशु प्रजातन्त्रको हत्या हुुँदैछ। मुलकुमा बाह्य हस्तक्षेप बढ्दै छ।
नेपाल अघोषित रुपले उपनिवेश भयो। असमान सन्धी खारेज हुनुपर्दछ। जस्ता कयौं राष्ट्रियताका मुद्दा उठाएर संगठन गरे, जनयुद्ध गरे फलस्वरुप जनआन्दोलन–२ पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको छ।
त्यस पश्चात आन्दोलनकारीका नाइकेहरुले पालैपालो मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् तर उनीहरु विपक्षमा रहुदा र सत्तामा हुुदाको बखतमा बोली व्यवहारमा कति फरक छ? केवल उनीहरु सत्तामा जानको लागि राष्ट्रियताका विषयलाई उठाएको देखिन्छ।
किनकि आजसम्म मुलुकको नेतृत्व गरेका व्यक्तिको कार्यशैली, काम गर्ने तरिका, नीति निर्माण, प्रशासनिक कार्यशैली र कार्यान्वयन प्रक्रियालाई आजका नेतृत्व व्यक्तिले निरन्तरता मात्र दिएका छन्। कुनै नयाँपन ल्याएका छैनन्।
नेपाली जनताको इच्छा भावना व्यवस्था परिवर्तन सँगसँगै सबै परिवर्तन गर्ने थियो तर केवल नाम मात्र परिवर्तन भयो। अरु सबै पुरानै ढर्राबाट राज्य सञ्चालन हुन पुग्यो। त्यसैले भन्ने गरिन्छ जति जोगी आए पनि कानै चिरेका।
हुन पनि आन्दोलन गर्दा मुलुकलाई सिंगाापुर, स्वीटजरल्याण्ड बनाइदिन्छौ भनेर भाषण गर्ने। राष्ट्रियता प्रजातन्त्र सुदृढ हुनेछ भन्ने गुलिया नारा दिएर जनआन्दोलन-२ सफल भएपश्चात पालै पालो सवैले मुलुकको नेतृत्व गरिसकेका छन्।
तर मुलुक र जनताको लागि केही गरौ भन्ने संकल्प त्यसप्रतिको समर्पण देखाउन तिनीहरुले सकेका छैनन्। हुनत तिनीहरुसँग नयाँ भिजन र अनुभवको कमी हुन सक्छ तर राजनीतिक नेतृत्व गर्ने व्यक्ति, शासक, प्रशासक र विधायकसमेतको आचरण व्यवहार र कार्यशैली सबै कुरा प्रजातान्त्रिक नभएकै कारण यसैको कमी आज सर्वत्र देखिएको छ।
थोरै समयमै जनता प्रजातन्त्रप्रति चिन्तनशील भएको देखिन्छ। त्यसैले प्रजातन्त्रको विकल्प छैन। प्रजातन्त्रको माध्यमबाट नै राष्ट्रियता खोज्नु पर्छ। हाम्रा नेता तथा प्रशासकहरुमा प्रजातान्त्रिक संस्कारको कमी भएकै हो।
त्यसैले प्रजातन्त्रको व्याख्या होइन व्यवहारमा उतार्नको लागि प्रजातान्त्रिक संस्कार अबलम्बन गर्नुपर्दछ। तसर्थ प्रजातन्त्रलाई कुनै राजनीतिक पद्धतिको दायराभित्र मात्रै सीमित नराखी जीवन पद्धतिको सिंगो चरित्रको रुपमा अंगीकार गर्नुपर्दछ तबमात्र कुनै भेदभावरहित सबै जनताको इच्छा नै सार्वभौम हुन्छ।
तबमात्र प्रजातन्त्र राज्य वा राष्ट्रको मात्र नभई समाज, व्यक्तिको पनि हुन्छ। त्यसैले समयानुसार प्रजातन्त्रको व्याख्या गर्दै प्रजातान्त्रिक संस्कारको विकास गर्नुपर्दछ। तबमात्र मुलुकले निकास पाउनेछ। यसैमा नै राष्ट्रियता छ।
Facebook Comment