खेल क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिन्छ: प्रधानमन्त्री

डिसी नेपाल
२१ चैत २०८० १९:३१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शारीरिक र मानसिक विकासका साथै खेल क्षेत्र देशको बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका हुन्। आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्व दिँदै आएको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे। खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए। उनले पोखरा रंगशाला, बेलझुण्डी रंगशाला, च्यासल रंगशाला निर्माण सम्पन्न गरिएको उल्लेख गर्दै मूलपानी रंगशाला, भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरको रंगशालालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी निर्माणकार्य शीघ्र सम्पन्न गर्न उच्च महत्व दिइएको बताए।

सरकारले पुरस्कारसम्बन्धी कानुन नै निर्माण गरी खेलाडीहरूलाई पुरस्कृत गर्दै आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले खेलाडीहरूमा ठूलो प्रोत्साहन र आत्मविश्वास बढेको बताए। कार्यक्रममा राखेपले उत्कष्ट खेलाडीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *