बन्धक बनेको नेपाल

शंकरप्रसाद रिजाल
२३ चैत २०८० ७:१९

भनिन्छ-नेपाल कहिल्यै पराधीन मुलुक बन्नु परेको छैन। तर देशको बिद्यमान परिस्थिति, राजनीतिक अनिष्ठ, आर्थिक अस्थिरता धार्मिक बेमेल, सामाजिक विभेद, सांस्कृतिक लोप, शिक्षा, सणक्षरताको न्यूनता, बेरोजगारको उत्पीडन र सम्पूर्ण जनताको दुःख पीडा र गरिबीको दूराबस्था हेर्दा अझै नेपाल बन्धक बनिरहेको देखिन्छ।

इतिहास अलिकति खोतल्ने हो भने नेपाललाई मूल रुपमा १०४ बर्षसम्म राणाको एकलौटी पारिवारिक शासनले बन्धक बनायो। त्यो १०४ वर्षको अबधिमा राणाहरुले उद्योग, कलकारखाना, बिजुली, स्वास्थ्य, शिक्षा र उत्पादनमा महत्त्वपूर्ण काम गरिदिएको भए देश नेपाल आजको चौगुना बिकास भई यस्तो दूराबस्थामा पुग्ने थिएन।

बुद्धिमान र बिबेकी शासक भइ दिएको भए नेपालको बिकास र समृद्धि आजभन्दा १०० वर्ष अगाडि नै हुन्थ्यो होला। तर जनतालाई सयौं वर्षसम्म अज्ञानी र निर्धन बनाइ आफू सधैं आलेसान महलमा सुरा र सुन्दरीहरुको माझमा अमन चयन गरी यत्तिकै १०४ वर्ष बिताएकोले त्यसको खराब परिणाम र परिणती आज हामीले भोग्नु परेको छ।

यसको दोष प्रथमतः राणा परिवारका शासकलाई नै जान्छ जसले देशलाई लामो समयसम्म बन्धक बनाए। बि.सं.२००७ सालमा राणा शाशनको अन्त्य भए पश्चात देशमा प्रजातन्त्रको आगमनपछि देश द्रुततर गतिमा फेरि बिकसित हुँदै जानु पर्ने थियो।

तर देश बिकास गर्छु भनी बनेका शासकले देशको न्युनतम आवश्यकता पूर्ति गर्न पट्टि नलागी राजनीतिक खिचातानीमा नै अल्मलिइ राष्ट्रको अमूल्य समय व्यतित गरे र देश बिकासको गतिबाट पछाडि धकेलिँदै गयो।

छिमेकी देशहरु चीन र भारतले आफूलाई धमाधम बिकास गर्दै गए र त्यो बिकासको फाइदा कुनै नेता र शासकले लिन सकेनन्। उल्टो शासकहरु चीनमुखी, भारतमुखी र पश्चिमामुखी बन्दै आफूलाई बिस्तारै पराधीन र बन्धक बनाउँदै सिंगो देश नेपाललाई नै बन्धक बनाउँदै गए।

यो असैह्य बातावरण र देशको दुर्गति सहन नसकी २०१७ सालमा राजा महेन्द्रले सम्पूर्ण बागडोर आफ्नो हातमा लिइ उनको १०-११ वर्षको सक्रिय शासन अवधीभरमा नेपालले सयौं उपलब्धि हासिल गर्न सफल भयो।

निडर, साहसी र दूरदर्सी राजा भएकाले त्यो अबधिभरमा देश बन्धक भइ बस्नु परेको थिएन र बिकास र समृद्धिले गति लिइ सकेको थियो। राजा महेन्द्र बास्तबमा एक राजनेता नै थिए। किनकि उनि आफ्नो हरेक काम राष्ट्रिय स्वार्थलाइ प्राथमिकता दिइ गर्दथे। संसारका राष्ट्राध्यक्षहरुले उनको व्यक्तित्व, बिबेकीपना र दूरदर्शितालाई निक्कै सम्मान दिएका थिए।

त्यस पछिका राजा वीरेन्द्रपनि राजा महेन्द्र जस्तो यथार्तबादी नभई आदर्शबादी राजा थिए। उनमा ढाँट र छल भन्ने केही थिएन। राज्य संचालनमा उनको पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा राम्रो छबी थियो र, २०४७ सालको निर्मित संबिधान अनुसार उनि संबिधान भन्दा मुनि रहन पनि राजी भएका थिए। बिकासले गति लिइनै रहेको थियो। देश राष्ट्रिय ऋणमा थोरैमात्र परेको थियो।

भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्नेमात्रा कम थियो। अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो र बलियो थियो।

तर देश भित्रका नेताहरुले राजसंस्था फाल्न भित्र भित्र षड्यन्त्र गरिनै रहेको सन्दर्भमा आखीर बिदेसीको इशारामा नेताहरुको साथ र सहयोगमा राजसंस्था फालेरै छोडे र आफूहरु राजाको तहमा बसी सयौं नक्कली राजा बनेर मनपरी राजनीति गरी अर्थतन्त्रलाई आफ्नो हातमा बन्धक बनाई लुटतन्त्रको शासन चलाइ सयौं अनैतिक काण्डहरु गुप्त रुपमा गरी नेपाललाई हरेक कुरामा बन्धक बनाइ राख्ने कामको बिकास भयो।

आफू देशमा केही नगर्ने र खाली भारत, चीन र पश्चिमेली देशलाई दोष दिई आफू सधैं राज्य सत्तामा टिकिरहने कुचाल र रणनीतिले देश आफैं बन्धक बन्न गएको हो। सारा विद्वान र बिबेकी मानिस र बिज्ञलाई जिम्मेवारी पदमा नराखी आफ्नै नातागोतालाई आफ्नो इच्छा अनुसारको काम गर्न उत्प्रेरित गर्ने देशका नेता तथा शासकहरुले नै यो देशलाई अहिलेसम्मपनि बन्धक बनाइ रहेको देखिन्छ।

नेपाल जस्तो देशका नेताहरुले ४ करोड, ५ करोड र ६ करोडको गाडीमोटर चढेर हिँड्ने र आलेसान महलमा बेफिक्रीसँग आफ्नो जीवन बिताइ रहेका शासकहरुकै कारण देश बन्धकमा सदियौंदेखि रहेको देखिन्छ। देशलाई सक्षम बनाउन कहिलेपनि कुनै गणतन्त्र पछिका नेताहरु र शासकले प्रयत्न गरेको देखिँदैन।

१० वर्षको माओबादी जनयुद्धले देशको ६० प्रतिशत आर्थिक स्थिति ध्वस्त पारिसकेकोले यसलाई पुनर्ताजगी गराउन अझै सकिरहेको छैन। यसको प्रभाव निरन्तर परिनै रहेको छ। तर ०६२-०६३ को गणतन्त्र पश्चात हाल २०८० सालको अन्त्यसम्म पनि झन् देशको हरेक क्षेत्र करुण अबस्थामा गुज्रिरहेको देखिन्छ र बुझिन्छ। देशमा पानीको हाहाकार बिद्यमान नै छ।

आयात ९५% प्रतिशत छ भने निर्यात ५% मात्र छ। उत्पादनको कुनै कुरामा पनि आत्मा निर्भर देखिँदैन। उद्योग कलकारखाना सबै बन्द छन्। सारा युवाहरु काम खोज्न बाहिर गएका छन्। हरेक सामानको एक दररेट छैन। मुद्रा स्फीति बढ्दै गइरहेको छ। शिक्षाको गुणस्तर न्यून छ। प्रशासन संयन्त्र सबै पार्टीकै मुट्ठीमा रहेको छ।

दण्ड सजाय न्यून छ। ठुला र नेताहरु समातिन्छन् र छोडिन्छन्। कुनै उम्किएका छन्। अदालत र अख्तियार शासकहरुको भागबण्डामा परेका छन्। पुलिस प्रशासन एकदम कमजोर देखिएको छ। घाँटी रेटी छुरी हानि मान्छे मार्ने उम्किएका छन्। भ्रष्टाचार झनझन् बढिरहेको छ। सरकार राजनीतिको खिचातानीमै व्यस्त रहेको छ।

समष्टिगत रुपमा भन्ने हो भने यो देशमा सरकार छ भन्ने आभाष सायद छैन भने पनि हुन्छ। महत्वपूर्ण पदमा जतिसुकै अनविज्ञ र खराब र अयोग्य भएपनि आफ्नै पार्टीका झोले झाम्टाहरुलाई घुसाउने चलनले गर्दा देश सबै कुरामा बन्धक बनिरहेको छ।

देश नेपाल कहिले बन्ने हो र कसले र कसरी बनाउने हो भन्ने कुरा अझै अन्यौलमा रहेको छ। गणतन्त्र आएको २० बर्ष बितिसक्दासम्म पनि देशमा कुनै पक्षको पनि बिकास र प्रगति हुन नसक्नु कुनै अन्य देशको दोष र दबाब बिल्कुल होइन बल्कि देश भित्रकै नेताहरुको, शासकको र कर्मचारीतन्त्रको हेपाहापन र अनुत्तरदायी र जवाफदेही हीनताको पराकाष्टा हो।

आज यसैको कारण देश हरेक मानवीय पक्षमा बन्धक बनिरहेको छ। तसर्थ समय धेरै बितिसकेको छ। संसार धेरै अगाडि बढिसकेको छ।

सधैं बोलेर, सधैं सम्मेलन गरेर, सधैं एकले अर्कालाई गाली गलोज गरेर विश्वलाई हँसाउने काम गरी फेरि विदेसीलाइ नै बिकासको बाधक बनाउने काम कसैले नगरी आफू निष्ठा र इमान्दार बनेर देशलाई यी बन्धनबाट अबिलम्ब छुटकारा दिइ देशलाई अग्रगमनको दिशातिर लैजानु आजका प्रत्येक नेता र शासक भनाउँदाको जवाफदेहिता र उत्तरदायित्व रहेको कुरा सबैमा हेक्का रहोस् र दिन दुई गुणा र रात चौगुनाको हिसाबले सम्पूर्ण नेपालीले काम गर्नु पर्ने बेला आएको छ।्र




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *