इलाम र बझाङको उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशित

डिसी नेपाल
२२ चैत २०८० १४:२४

काठमाडौं। निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ।

आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ। आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ।

त्यस्तै बझाङको  निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकरी दिएको छ ।

निर्वाचन आयोगले अध्यावधिक गरेको देशभरको पछिल्लो मतदाता संख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ। जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन्।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन्।

त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन्। जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन्।

आयोगले यस अघि २०८० बैशाख १० गते अध्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *